ज्ञान निर्माणका केही उपाय

by • • कक्षाकोठाComments (0)353

मेदिन लामिछाने

कुनै पनि विद्यार्थीले निर्माण गर्ने ज्ञान र सिक्ने सीपको सम्बन्ध त्यो विद्यार्थीले सिकाइ क्रियाकलापमा जनाउन पाएको सक्रिय सहभागितामा निर्भर गर्छ । दक्ष र सक्षम शिक्षकका कक्षामा अध्ययन गर्ने हरेक विद्यार्थी सबैजसो क्रियाकलापमा सक्रिय रूपमा सहभागी रहन्छन् । त्यस्ता शिक्षकले विद्यार्थीको सहभागितालाई बानीको रूपमा विकास गरेका हुन्छन् । शिक्षण सिकाइ क्रियाकलापमा प्रत्येक विद्यार्थीको अनिवार्य सहभागिता भन्न जति सजिलो छ त्यसको व्यावहारिक प्रयोग त्यतिकै कठिन पनि छ ।
प्रगतिशील शिक्षण कार्यमा शिक्षकको भूमिका परम्परागत शिक्षण सिकाइ क्रियाकलापमा भन्दा बढी हुन्छ । शिक्षकको सफलता उसले विद्यार्थीलाई शैक्षणिक क्रियाकलापमा कत्तिको सहभागी गराएको छ भन्ने कुराले निर्धारण गर्दछ । तर शिक्षकको सफलता वा असफलता जाँच्ने कसी यो मात्र भने होइन । यहाँ एउटा मनन् गर्नुपर्ने कुरा के हो भने; जति धेरै विद्यार्थीलाई शिक्षण सिकाइ क्रियाकलापमा सक्रिय रूपमा सहभागी गराउन सकिन्छ, उति धेरै विद्यार्थीले ज्ञान निर्माण प्रक्रियामा सहभागी हुने मौका पाउँछन् । यसले थप ज्ञान निर्माण गर्न आवश्यक सीपहरू सिक्ने अवसर जुटाइदिन्छ र साथै विद्यार्थीले सिकेका सीपमा निखारपन ल्याई दक्षता हासिल गर्ने मौका प्रदान गर्दछ ।
तलका परिच्छेदमा विद्यार्थीलाई सिकाइ क्रियाकलापमा सक्रिय सहभागी गराउने पाँच वटा सूत्रबारे छलफल गरिन्छः

क) कोल्ड कल (Cold Call)
कुनै शिक्षकले विद्यार्थीको नाम बोलाएर प्रश्न सोध्छन् र नाम बोलाएको विद्यार्थीलाई उत्तर भन्न लगाउँछन् । कुनै शिक्षकले प्रश्न समूहमा सोध्छन् र उत्तर थाहा भएका विद्यार्थीलाई हात उठाउन भन्छन् । हात उठाएका मध्येबाट एकजना छानी उत्तर भन्न लगाउँछन् । अनि कुनै शिक्षकले चाहिं समूहमा प्रश्न सोध्छन्, हरेक विद्यार्थीलाई उत्तर सोच्न केही समय दिन्छन् र समूहबाट एकजना विद्यार्थी छानी उत्तर भन्न लगाउँछन् । माथिको पहिलो र दोस्रो उदाहरणमा कुनै एकजना विद्यार्थीले मात्र शिक्षकले सोधेका प्रश्नको उत्तर दिन्छ । तर तेस्रो उदाहरणमा भने शिक्षकले सोधेका प्रत्येक प्रश्नको उत्तर प्रत्येक विद्यार्थीले दिएका हुन्छन् । यो पद्धतिलाई ‘कोल्ड कल’ भनिन्छ ।
विद्यार्थीले हात उठाओस् वा नउठाओस्; विचार वा उत्तर अभिव्यक्त गर्न तत्परता देखाओस् वा नदेखाओस्; शिक्षकले विद्यार्थीलाइ नाम बोलाएर उत्तर भन्न वा उसको विचार व्यक्त गर्न बाध्य पार्ने विधि नै ‘कोल्ड कल’ विधि हो । यो विधि अपनाउँदा एउटा वा केही विद्यार्थीको विचारले मात्र कक्षा निर्देशित वा प्रभावित हुँदैन । कक्षाका प्रत्येक सदस्यले उत्तिकै मौका पाउँछन् ।
एउटा शिक्षकको नाताले हामीले कक्षामा यस्तो पद्धति अपनाउनु पर्छ, जसले गर्दा हरेक विद्यार्थीले हरेक प्रश्नको उत्तर दिनुपर्ने होओस्– चाहे उसले हात उठाओस् वा हात नउठाओस्, चाहे उसलाई उत्तर थाहा होस् वा नहोस् । यसरी प्रश्न सोध्नाले विद्यार्थीहरू जहिले पनि ध्यान दिने र जति बेला पनि उत्तर दिन तयार हुने गर्दछन् । प्रश्नको उत्तर सही र गलत भन्दा पनि विद्यार्थीले जानेको कुरा समूहमा व्यक्त गर्ने र नजानेको कुरा विना हिचकिचाहट सोध्ने कुरा अत्यन्त महत्वपूर्ण हुन्छ । यसरी प्रश्न सोध्नाले निम्न फाइदा हुन्छः
१. यसले विद्यार्थीको बुझइ जाँच्न सहयोग गर्दछ । हामीले जुन विद्यार्थीको बुझइ जाँच्न चाहेको हो ‘कोल्ड कल’ पद्धतिको सहायताले उसको बुझइ जाँच्न सकिन्छ । नत्र त्यो विद्यार्थीले हात नउठाउन र सहभागिता नजनाउन पनि सक्छ । मानौं कुनै विद्यार्थी कक्षामा शिक्षकले प्रश्न सोध्दा पनि बोल्दैन र हात पनि उठाउँदैन । अब कसरी त्यस्ता विद्यार्थीको बुझइ जाँच्ने ? यो समस्याबाट मुक्ति पाउने उपाय भनेको ‘कोल्ड कल’ नै हो ।
२. ‘कोल्ड कल’ ले शिक्षक र विषयवस्तु दुवैको गति वृद्धि गर्छ । कसलाई उत्तर भत्र दिने, कसलाई आफ्नो विचार अभिव्यक्त गर्न दिने भत्रे कुरा शिक्षकको स्वविवेकमा भर पर्ने भएकोले यो विधि अपनाउँदा समयको बचत हुन जान्छ, जसले कक्षालाई छिटो अगाडि बढ्न मद्दत गर्दछ ।
३. ‘कोल्ड कल’ ले शिक्षकलाई कक्षाकोठाभित्र बृहत् रूपमा कार्य विभाजन गर्न समेत मद्दत गर्दछ । शिक्षकले विद्यार्थीलाई क्रियाकलापमा सहभागी गराउन मात्र उनीहरूको नाम बोलाउँदैनन् । विद्यार्थीले व्यक्त गरेका विचारलाई पनि मूल्य प्रदान गर्दछन् । कक्षामा धेरै विद्यार्थी आफूले जानेका कुरा व्यक्त गर्न र नजानेका कुरा सोध्न इच्छुक हुन्छन् । शिक्षकले आफूलाई विकसित नगर्ने हो भने यस्ता इच्छुक विद्यार्थी स्वतः निष्क्रिय बन्दै जान्छन् ।
४. ‘कोल्ड कल’ ले शिक्षकलाई बृहत् रूपमा कामको बाँडफाँड गर्न र हरेक विद्यार्थीमा पुग्न मद्दत गर्दछ । यदि ‘कोल्ड कल’ लाई कक्षाकोठाको संस्कृति बनाउन सकियो भने विद्यार्थीको नेतृत्व क्षमता र दक्षता पनि अभिवृद्धि गर्न सकिन्छ । यो विधि कक्षाकोठामा अनुशासन कायम गर्न भन्दा पनि विद्यार्थीलाई सक्रिय सहभागी तुल्याउन प्रयोग गरिने विधि हो । यदि ‘कोल्ड कल’ विधि केही समयको लागि मात्रै भए पनि कक्षाकोठामा प्रयोग गरियो भने यसले विद्यार्थीको व्यवहारमा नै परिवर्तन ल्याइदिन्छ । यसले विद्यार्थीलाई कुनै पनि बेला सोधिने प्रश्नको लागि तयार पारिदिन्छ । जब शिक्षकले प्रश्न सोध्छन् त्यसले हरेक विद्यार्थीलाई सोच्न बाध्य पारिदिन्छ । तर ‘कोल्ड कल’ कहिलेकाहीं मात्र अभ्यास गर्नु भन्दा निरन्तर या दैनिक प्रयोग गर्नु फलदायी हुन्छ ।
‘कोल्ड कल’ नियमबद्ध हुन्छ । शिक्षकले सोध्ने हरेक प्रश्न कुनै एक विद्यार्थीप्रति लक्षित नभई कक्षाका सबै विद्यार्थीप्रति लक्षित हुन्छ । यो पद्धतिको प्रयोग कुनै विद्यार्थीलाई दण्डित गर्नका निम्ति गरिंदैन; बरु विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटित गर्न प्रयोग गरिन्छ । यो विधि नितान्त सकारात्मक छ । किनभने यसले विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय सहभागी बनाउँछ र उसको सिकाइमा प्रगतिको लागि लजालु र चुप लागेर बस्ने विद्यार्थीहरू समेतलाई उत्तर दिन सक्षम बनाइदिन्छ ।
यदि शिक्षकले ‘कोल्ड कल’ विधि प्रयोग गर्ने हो भने शुरूमा न्यूनस्तरका प्रश्न र विस्तारै उच्चस्तरका प्रश्न सोध्नुपर्दछ । यो विधि अपनाउँदा पहिले जानेका वा उनीहरूको पूर्व ज्ञानबाट शुरू गरेर विस्तारै बृहत्, चुनौतीपूर्ण र कठिन क्षेत्रतर्पm लैजानु श्रेयष्कर हुन्छ ।
तलको उदाहरण हेरौं । कक्षा ६ का शिक्षकले ४ वटा वाक्यहरूमध्ये कुन चाहिं वाक्य पूर्ण भनेर छलफल शुरू गर्दछन् ।
शिक्षकः मन्दिप तलको एउटा प्रश्न पढ त ।
मन्दिपः (मन्दिप कार्यपत्र हेर्छ) के तिमीहरूले फर्सीको बियाँ देखेका छौ ?
शिक्षकः विदित, यो प्रश्नमा कर्ता छ ?
विदितः छ, सर ।
शिक्षकः उसो भए यो वाक्यको कर्ता के हो ?
विदितः ‘तिमीहरू’ सर ।
शिक्षकः एकदम ठीक, सुवान के यो वाक्यमा क्रिया छ ?
सुवानः छ, सर ।
शिक्षकः उसो भए यस वाक्यको क्रिया के हो ?
सुवानः ‘देखेका छौं’ ।
शिक्षकः ‘देखेका छौं’ धेरै राम्रो । के माथि प्रस्तुत गरिएको वाक्य पूरा छ ? लक्ष्मी ।
लक्ष्मीः छ, सर
शिक्षकः के यो विकल्प हामीले खोजेको पूर्ण वाक्य हो ?
लक्ष्मीः हो सर । किनभने यो वाक्यमा उद्देश्य र विधेय कर्ता र क्रिया दुवै पक्ष छन् ।
शिक्षकः ल उसो भए अगाडि बढौं । अब के गर्नुपर्दछ, प्रिया ।
प्रियाः अब हामी बाँकी रहेका तीन वटा विकल्प पनि पढौं सर ।
माथिको उदाहरणमा छोटो समयमा पाँच जना विद्यार्थीलाई सहभागी गराइएको छ । यहाँ चलाखीपूर्ण तरीकाले सजिलोबाट जटिलतातर्फ विद्यार्थीलाई डो¥याइएको छ । पहिलो विद्यार्थीलाई उसको अगाडि भएको कुरा सोधिएको छ । दोस्रो विद्यार्थीलाई हो-होइन प्रश्न सोधिएको छ । तेस्रो विद्यार्थीलाई के, किन जस्ता प्रश्न सोधिएको छ । चौथो, विद्यार्थीलाई एउटा पूर्ण वाक्य हुन आवश्यक पर्ने तत्वहरू के के हुन् र यस वाक्यमा ती तत्व के के हुन्, उदाहरणसहित बताउन भनिएको छ । पाँचौं विद्यार्थीलाई पहिलो विकल्प परीक्षण गरेपछि अब के गर्ने भन्ने प्रश्न सोधिएको छ । यहाँ प्रश्नहरू तहगत रूपमा सरलबाट जटिलतर्फ न्यूनतहबाट उच्चतहतर्फ सोधिएका छन् ।
यो विधि पहिलो पटक प्रयोग गर्दा विद्यार्थीहरू असमञ्जसमा पर्न सक्छन् । जब उनीहरू ‘कोल्ड कल’ र सिकाइबीच सम्बन्ध देख्छन्, तब उनीहरू सहज र सिकाइको पूरकको रूपमा ग्रहण गर्न थाल्छन् ।

ख) बोलाउने र प्रतिक्रिया व्यक्त गर्ने (Call and Response)
यस विधिमा शिक्षकले प्रश्न सोध्छन् र कक्षाका सम्पूर्ण विद्यार्थीले एकैपटक उत्तर दिन्छन् । सुन्दा यो विधि साधारण लाग्दछ तर यसलाई व्यवस्थित र तरीकाबद्ध बनाइयो भने विद्यार्थीको सीप सिकाइ र ज्ञान निर्माणमा वरदान सावित हुन सक्छ । बोलाउने र प्रतिक्रिया व्यक्त गर्ने (Call and Response) विधि तलका तीन उद्देश्य हासिल गर्न प्रयोग गरिन्छः
१) शैक्षिक पुनरावलोकन र पुनरबलको लागि समूहलाई प्रश्न सोध्दा सबैले उत्तर दिने मौका पाउँछन् । कहिलेकाहीं कुनै एक विद्यार्थीले दिएको उत्तर वा अभिव्यक्त गरेका विचार मनन्योग्य भएको अवस्थामा सम्पूर्ण कक्षालाई पुन दोहो¥याउन लगाएर पुनरबल प्रदान गर्न सकिन्छ । यसले कुनै एक सहपाठी साथीले व्यक्त गरेको विचार कति महत्वपूर्ण रहेछ भनेर अरू विद्यार्थीलाई बुझन-बुझउन पनि मद्दत गर्दछ ।
२) समूहमा प्रशन्नता व्यक्त (Cheer Up) गर्दा त्यसले बेग्लै शक्ति प्रदान गर्दछ । यसरी नै कक्षामा सामूहिक उत्तर दिंदा त्यसले कक्षाकोठाको वातावरणलाई नै जीवन्त बनाइदिन्छ ।
३) यो विधिलाई विद्यार्थीको सिकाइ र ज्ञान निर्माणमा मात्र नभई व्यवहारमा पनि ल्याउन सकिन्छ । किनभने शिक्षकको एउटा सोधाइलाई सम्पूर्ण कक्षाले एकै पटक प्रतिक्रिया व्यक्त गर्नुपर्ने हुन्छ । जब लामो समय यो विधि अपनाइन्छ तब यो कक्षाकोठाको संस्कृति बन्न जान्छ ।
बोलाउने र प्रतिक्रिया व्यक्त गर्ने (Call and Response) विधिका पाँच तह हुन्छन्ः
१. पुनः वाचन (Repeat): शिक्षकले दिएको उत्तर वा अभिव्यक्ति विद्यार्थीले पुनः वाचन गर्ने ।
२. प्रतिवेदन (Report): जुन विद्यार्थीले पहिला समस्याको समाधान गर्छ, उसको उत्तर साथीहरूमा अभिव्यक्त गर्न दिने ।
३. पुनरबल (Reinforce): कुनै विद्यार्थीले दिएको उत्तर वा व्यक्त गरेको विचार सम्पूर्ण कक्षाले पुनः वाचन गर्ने वा दोहो¥याउने ।
४. पुनरावलोकन (Review): अगाडि छलफल गरिएका कुरा पुनः छलफल गर्ने ।
५. समस्याको समाधान (Solve): समूहमा समस्याको समाधान गर्ने र सामूहिक रूपमा एकै पटक उत्तर व्यक्त गर्ने ।
बोलाउने र प्रतिक्रिया व्यक्त गर्ने विधि प्रयोग गर्दा शिक्षकहरू निम्न कुरामा सतर्क भने हुनै पर्दछः
१) यदि विद्यार्थीलाई उत्तर आएन भने ओठ मात्र हल्लाएर उत्तर दिएको नक्कल गर्न सक्दछन् ।
२) यस विधिद्वारा कुनै विद्यार्थीको बुझइ कस्तो छ भनेर जाँच्ने काम प्रभावकारी रूपमा गर्न सकिंदैन ।
३) यो विधि प्रयोग गर्दा विद्यार्थीले अनावश्यक रूपमा ठूलो स्वर निकाल्ने वा अनावश्यक हाउभाउ प्रयोग गर्न सक्छन् । यस्तो अवस्थामा विद्यार्थीले प्रदर्शन गरेको शक्तिको प्रशंसा गर्दै पुनः उत्तर भन्न लगाएमा समस्याको समाधान गर्न सकिन्छ ।

ग) पेपर (Paper) विधिः 
परिचित सूचना र आधारभूत सीप जाँच्न यो विधि लक्षित समूहमा छिटो गतिमा प्रयोग गरिन्छ । यसको उद्देश्य भनेकै सिकाइमा गति प्राप्त गर्नु हो । शिक्षकले समूहमा एउटा प्रश्न राख्छन् विद्यार्थीले उत्तर दिन्छन् । यदि उत्तर ठीक छ भने तुरुन्त शिक्षकले अर्को प्रश्न सोध्छन् । विद्यार्थीले दिएको उत्तर किन ठीक छ भनेर छलफल गराइँदैन । यदि विद्यार्थीले दिएको उत्तर गलत भयो भने त्यो प्रश्न पुनः समूहमा राखिन्छ र अर्को विद्यार्थीलाई उत्तर भन्ने मौका दिइन्छ । तर कहिलेकाहीं उही विद्यार्थीलाई पुनः दिन पनि सकिन्छ ।
यस विधिमा ‘कोल्ड कल’ मा जस्तो विद्यार्थीको नाम बोलाइँदैन । जसले जानेको छ उसले उत्तर दिन्छ र विद्यार्थीले हात उठाएर वा शिक्षकले निश्चित विद्यार्थीलाई तोकेर सोध्न सक्दछन् । ‘पेपर’ विधिमा छिटो छिटो त्यस्ता आधारभूत प्रश्नहरू मात्र सोधिन्छ, जसको उत्तर सूचना तथा तथ्यहरू मात्र हुने गर्दछ । ‘पेपर’ विधि प्रयोग गर्ने केही तरीका तलको उदाहरणमा हेरौंः
१. पिक स्टिक (Pick Stick): यो तरीका प्रयोग गर्दा विद्यार्थीको नाम लेखेको वाक्लो कार्डबोर्ड कागज एउटा बट्टामा राख्ने । शिक्षकले प्रश्न सोध्ने र बट्टाबाट एउटा छडी निकाल्ने । त्यसमा जसको नाम लेखेको छ उही विद्यार्थीलाई प्रश्नको उत्तर दिने मौका प्रदान गर्ने ।
२. हेड टु हेड (Head to Head): यो तरीकामा दुई जना विद्यार्थीलाई उठाएर एकै समय प्रश्न सोधिन्छ । जसले पहिला ठीक उत्तर दिन्छ ऊ अर्को विद्यार्थीसँग प्रतिस्पर्धा गर्न उठिरहन्छ । जसले ठीक उत्तर समयमा वा पहिला दिन सक्दैन उसले अर्को विद्यार्थीसँग प्रतिस्पर्धा गर्ने मौका गुमाउँछ ।
३. सिट डाउन (Sit Down): शुरूमा कक्षाका सबै विद्यार्थीलाई उठाइन्छ । शिक्षकले क्रमशः प्रश्न सोध्दै जान्छन् जसले ठीक उत्तर दिन सक्छ उसले पहिला बस्ने मौका पाउँछ ।

घ) प्रतीक्षाको समय (Wait Time)
‘प्रतीक्षाको समय’ भन्नाले शिक्षकले प्रश्न सोधिसकेपछि र विद्यार्थीले उत्तर दिनु अगाडिको समय भन्ने बुझ्न्छि । प्रश्न सोधिसकेपछि विद्यार्थीलाई उत्तर दिन (Wait Time) समय प्रदान गरियो भने विद्यार्थीले दिने उत्तरको स्तर माथिल्लो तहको हुन्छ । यदी हामीले विद्यार्थीलाई तीनदेखि सात सेकेण्डको प्रतीक्षाको समय दियौं भने यसले सिकाइको धेरै कुरामा असर पार्दछ ।
‘प्रतीक्षाको समय’ ले विद्यार्थीको प्रतिक्रिया वा उत्तरको लम्बाइ र शुद्धतामा अभिवृद्धि गर्दछ । विद्यार्थीमा ‘मलाई आएन’ वा ‘थाहा भएन’ भन्ने प्रवृत्तिमा कमि आउँछ । धेरै भन्दा धेरै विद्यार्थीले उत्तर दिन तत्परता देखाउँछन् । विद्यार्थीले सोध्ने प्रश्नको संख्यामा पनि वृद्धि हुन्छ । सिकाइमा समय लाग्ने वा सिकाइ समस्या भएका विद्यार्थीहरूको उत्तरको संख्या र गुणस्तरमा पनि सुधार आउँछ । यसले विद्यार्थी विद्यार्थी बीचको अन्तरक्रिया पनि बढाउँछ । ‘मलाई थाहा भएन सर’ वा ‘यसको उत्तर मलाई आएन सर’ भन्ने वाक्यहरू कक्षाबाट विस्तारै हराउन थाल्दछन् ।
प्रतीक्षाको समय कति दिने भन्ने कुरा चाहिं प्रश्नको बौद्धिकस्तर कति छ भन्ने कुराले निर्धारण गर्दछ । यदि शिक्षकले सूचना वा तथ्य जस्ता प्रश्न सोधेका छन् भने कम समय र उच्च तहको प्रश्न सोधेका छन् भने प्रतीक्षाको समय अलि बढी दिनुपर्दछ । कक्षाकोठाको वातावरणमा प्रतीक्षाको समय विधि प्रयोग गर्दा केही अप्ठ्यारो अवस्था पनि सृजना हुनसक्छ । जस्तै शिक्षकले प्रश्न सोध्ने; केही समय चुप लागेर बस्ने अनि विद्यार्थीलाई उत्तर भन्न दिंदा शून्यता महसूस गर्न सकिन्छ । त्यो शून्यतालाई निम्न भनाइहरू राखी निरन्तरता दिन सकिन्छः
१. म अलि धेरै हातहरू उठेको हेर्न चाहन्छु ।
२. म प्रश्नको उत्तर दिनुभन्दा अघि कम्तीमा दशवटा हातहरू उठेको हेर्न चाहन्छु ।
३. म तिमीहरूलाई तीन मिनेटको समय दिन्छु किनभने यो प्रश्न अलि कठिन खालको छ ।
४. म तिमीहरूलाई आफ्नो विचार लेखेर समूहमा अभिव्यक्त गर्न केही समय प्रदान गर्छु ।
५. म अबको १० सेकेण्डमा तिमीहरूको उत्तर संकलन गर्छु, आदि ।

ङ) हरेक विद्यार्थीले लेख्नै पर्ने विधि (Every Body Writes)
विद्यार्थीले विचार गरेको कुरा छलफल गर्नुअघि लेखेर अभिव्यक्त गर्ने मौका दिनु नै हरेक विद्यार्थीले लेख्नै पर्ने विधिको विशेषता हो । विद्यार्थीहरूले के विचार गरेका छन् भन्ने जान्न उनीहरूलाई लेख्न लगाउनु नै यसको मूल भाव हो । जति लेख्न दियो उति उसको विचार प्रष्ट र बलियो हुन्छ । दक्ष शिक्षकले जहिले पनि विद्यार्थीहरूलाई कुनै कुरा छलफल गर्नुअघि लेख्ने मौका दिन्छन् ।
यसरी लेखेर छलफलमा सहभागी गराउँदा प्रत्यक्ष वा परोक्ष रूपमा निम्न फाइदाहरू हुन्छन्ः
१. शिक्षकललाई जुन उत्तर वा विचार प्रभावकारी छ त्यो छानेर समूहमा छलफल गराउन सजिलो हुन्छ ।
२. शिक्षकले कुनै पनि विद्यार्थीलाई उठाएर उसको विचार वा अभिव्यक्ति कक्षाकोठामा व्यक्त गर्न लगाउन सक्छन् ।
३. हरेक विद्यार्थीलाई छलफल वा अन्य क्रियाकलापमा अनिवार्य सहभागी गराउन मद्दत पुग्छ ।
४. लेखेर व्यक्त गर्दा विचारलाई झ्न् प्रष्ट र शुद्ध बनाउन मद्दत पुग्छ । साथै विद्यार्थीले आफ्नो पूर्व व्यक्त विचार, भावनामा पुनः विचार गर्ने; सच्याउने मौका पनि पाउँछन् ।
५. यसरी लेखेको चिज विद्यार्थीले लामो समय सम्झ्न सक्छन् र सजिलै बिर्सदैनन् ।
यो विधि विद्यार्थीको लेखाइ सुधार गर्न भन्दा पनि उनीहरूको सोचाइ व्यवस्थित गर्न बढी उपयोगी हुन्छ । यसले विद्यार्थीको विचारको स्तर वृद्धि गरी धेरैभन्दा धेरै विद्यार्थीलाई छलफलमा भाग लिन प्रोत्साहित गर्दछ । विद्यार्थीलाई यो विधि प्रयोग गरेर छलफल वा प्रश्न उत्तर क्रियाकलापमा सहभागी गराउँदा छलफलमा आफ्नो विचार व्यक्त गर्नुअघि वा प्रश्नोत्तरमा प्रश्नको उत्तर दिनुअघि केही समय सोच्न र सोचेका कुरा लेख्न दिइन्छ । यसरी सबै विद्यार्थीले अनिवार्य रूपमा लेख्नै पर्ने हुनाले कुनै पनि विद्यार्थीले सिकाइ क्रियाकलाप वा ज्ञान निर्माणको प्रक्रियाबाट आफूलाई अलग राख्ने बहाना पाउँदैनन् । यसरी लेख्नै पर्ने बाध्यता सिर्जना गर्दा विद्यार्थीको ध्यान विषयवस्तुभन्दा बाहिर जान पाउँदैन ।
यो विधि निरन्तर प्रयोग गर्नाले कक्षाकोठाको सिकाइको वातावरण सुध्रन गई विद्यार्थीहरू जहिले पनि विषयवस्तु र शिक्षकप्रति सजग रहन्छन् । यो विधि विषयवस्तुप्रतिको पूर्व ज्ञान-धारणा र विषयवस्तुको बोध दुवै जाँच्न उत्तिकै फलदायी हुन्छ । यस विधिलाई प्रभावकारी रूपमा निम्न बमोजिम प्रयोग गर्न सकिन्छ ।
क. शिक्षकले प्रश्न सोध्ने
ख. विद्यार्थीले केही समय लिएर शिक्षकले सोधेका प्रश्नको उत्तर लेख्ने वा आफ्नो विचार लिखित रूपमा व्यक्त गर्ने ।
ग. त्यसपछि विद्यार्थीले आफ्नो उत्तर वा विचार वा भावना समूहमा प्रस्तुत गर्ने र
घ. सबैको विचार संकलन गरी त्यसलाई चार्टमा प्रस्तुत गर्ने ।
माथि उल्लिखित पद्धतिहरू लेमोभले विद्यार्थीलाई क्रियाकलापमा सक्रिय बनाउन उल्लेख गरेका केही विधि मात्र हुन् । यी विधि मात्रै राम्रा र उपयोगी छन् भन्ने होइन । यिनका अलावा हामीले धेरै अरू विधि पनि प्रयोग गरिरहेका हौंला । माथि उल्लिखित विधिवाहेक सिकाइ कियाकलापमा नियमित रूपमा हामीले मगजपच्छी (Brain Stroming Technique) विधि प्रयोग गरिरहेका छौं । यस विधिमा शिक्षकले समस्याको पहिचान गर्दछन् र यो समस्याको बारेमा विद्यार्थीलाई केही समय छलफल गर्न समय प्रदान गर्दछन्– जस्तैः ट्राफिक नियम नभएको भए के हुन्थ्यो ? भूमण्डलीय तापक्रम वृद्धि (Global Warming) हटाउन के गर्न सक्छौं ? त्यसपछि शिक्षकले विद्यार्थीलाई जति सक्यो धेरै विचारहरू पैदा गर्न प्रोत्साहन दिन्छन् । विद्यार्थीले पैदा गरेको विचार कालोपाटी वा चार्टपेपरमा लेखिन्छ । विद्यार्थीहरूलाई फरक विचार (out of the box thinking) को लागि प्रोत्साहन र दिशानिर्देश गरिन्छ र अन्त्यमा विद्यार्थीहरूलाई नै सबैभन्दा उत्तम र उपयोगी विचार छनोट गर्न दिइन्छ ।
हामीले विद्यार्थीलाई सहभागी गराउने यो अर्को एउटा नमूना मात्र हो । यस्ता थुप्रै विधि हामीले प्रयोग गर्दै आइरहेका छौं । विद्यार्थीको सक्रिय सहभागिताले कक्षाकोठाको सिकाइको वातावरण नै अर्कै बनाइदिन्छ । सबै विद्यार्थीले आत्मैदेखि कक्षा कार्य वा क्रियाकलापमा भाग लिन्छन् भन्ने हुँदैन । लज्जालु स्वभावका वा ‘म अरूभन्दा कम जान्ने छु, मैले भनेको उत्तर वा व्यक्त गरेको विचार नमिल्न पनि सक्छ’ भन्ने हीनभाव बोकेर बसेका विद्यार्थीलाई क्रियाकलापमा सक्रिय सहभागी गराउन शिक्षकले विशेष पहल गर्नै पर्दछ । यदि शिक्षकले बेलैमा यो पहल गरेनन् भने त्यस्ता विद्यार्थी जीवनमा असफल हुने बाटोतिर लम्कन्छन् । शिक्षकले आफूले पढाउने पाठको उद्देश्य शुरूमा नै विद्यार्थीलाई बताउनुपर्दछ । विद्यार्थीलाई ‘हो’ र ‘होइन’ भन्ने प्रश्न मात्र नसोधी उनीहरूलाई सोच्न बाध्य बनाउने प्रश्न सोध्नु पर्दछ । प्रश्न सोधिसकेपछि त्यो प्रश्नलाई विभिन्न तरीकाले विविध सिकाइ भएका विद्यार्थीहरूले बुझने भाषामा बताउनुपर्दछ । कुनै एक वा एक समूहका विद्यार्थीलाई मात्र बोल्न र विचार गर्न दिनुहुँदैन ।
(डो लेमोभको पुस्तक मा आधारित ।)

शिक्षक  मासिक, २०६९ पुस अंकमा प्रकाशित

Related Posts

/*sign up form*/