जैव विकास: सन्तान थरी थरीका

by • • 2072_04, विज्ञान–व्याख्याComments (0)1002

Print Friendly, PDF & Email

माधव गाडगिल

Madhav Gadgil

साँझ्पख शहर बाहिरको डाँडामा घुम्नु मेरो सोख हो । त्यहाँ प्रायः देख्छु, आकाशमा निकै माथि कुनै बाज पखेटा नहल्लाई शिकारको खोजीमा तैरिरहेको हुन्छ । जमीनमा सानो मूसो देख्नासाथ वाण जस्तै सनसनाउँदै तल आइपुग्छ र अचूक तवरमा आफ्नो शिकार टप्प टिपेर सोझै आकाशमा पुग्छ । बाजका तीखा आँखा प्रकृतिको त्यस्तो अद्भुत चमत्कार हो, जसको कुनै तुलना हुन सक्तैन ।

बाजको आँखाले मानव निर्मित कुनै पनि आधुनिक क्यामरालाई बाजीमाथ गर्न सक्छ । क्यामरामा जस्तै आँखामा पनि प्रकाश अपवर्तन गरेर त्यसलाई एक ठाउँमा फोकस गर्ने लेन्स हुन्छन्, आँखाभित्र प्रवेश गर्ने प्रकाशको मात्रा नियन्त्रित गर्ने आँखीझयाल हुन्छन् र यस्ता पर्दा हुन्छन्, जसमा बिम्ब बन्न सक्छ । वस्तुतः क्यामराको निर्माण र विकासका पछाडि आँखाकै प्रेरणा रहेको छ । बाजको आँखाको संरचनाको आधार र उद्देश्य अति टाढाबाट पनि स्पष्ट छवि अंकित गर्नु हो । यो उद्देश्यपूर्ण संरचना आखिर बन्यो कसरी ? जैव विकासको अध्ययन गर्नेहरूका निम्ति यो सबैभन्दा महत्वपूर्ण प्रश्न हो ।

यस प्रश्नको उत्तर आज विज्ञानमा सर्वमान्य त छ तर त्यो निकै जटिल पनि छ । यसलाई बुझन आनुवंशिकतालाई राम्ररी बुझनु जरूरी हुन्छ । उन्नाइसौँ शताब्दीमा डार्विनको समयसम्म पनि पत्ता लागेको थिएन, एउटा पुस्ताका गुणधर्म अर्को पुस्तामा कसरी पुग्छन् भनेर । त्यस वेला डार्विन लगायत सबै वैज्ञानिक यो काम गर्ने पदार्थ एकखाले तरल वस्तुका रूपमा हुन्छ र आमाबाबुका तरल वस्तु मिलेर आउँदो पुस्ताका गुणधर्म निर्धारित हुन्छन् भन्ने मान्थे । स्पष्ट थियो, यसरी तरल वस्तु मिल्न थालेपछि प्रत्येक पुस्तामा विविधता आधा हुँदै जानुपथ्र्यो ।

यक्ष प्रश्न

त्यस वेलाको यक्षप्रश्न थियो— यो सिद्धान्त अनुसार प्रत्येक पुस्तामा विविधता आधा हुँदै जाने भए पछि केही पुस्ता पश्चात् विविधता किन निमिट्यान्न हुँदैन त ? अर्को उत्तिकै महŒवपूर्ण प्रश्न थियो— कुनै प्राणीले आफ्नो जीवनमा स्वयं आर्जित गुणधर्म अर्को पुस्तामा पुग्छन् कि पुग्दैनन् ? ख्याल गर्नुपर्ने कुरा के हो भने, जीवधारीहरूका गुणधर्म दुई प्रकारका हुन्छन् एक पुस्ताबाट अर्को पुस्तामा स्वतः आउने वंशानुगत गुणधर्म अनि उसले आफ्नो जीवनमा स्वयं आर्जन गरेका उपार्जित गुणधर्म । आमाबाबुको कपाल खैरो भएका कारण सन्तानको पनि कपाल खैरो हुनु वंशानुगत गुणधर्म हो भने ठूलो घन चलाउने गरेका कारण कसैको पाखुराका मांसपेशी विकसित हुनु उपार्जित गुणधर्म । यो यक्षप्रश्नको उत्तर मेन्डलको अनुसन्धानले दियो । उनले आनुवंशिकतालाई वहन गर्ने तरल वस्तु होइन, ठोस कण हुन्छन् भन्ने पत्ता लगाए । तिनै ठोस कणलाई पछि ‘जीन’ को नाम दिइयो र अझ् पछि पत्ता लाग्यो, ‘जीन’ डीएनएका अणुका रूपमा रहेका हुन्छन् । ‘जीन’ ठोस हुनाले तरल जस्तो एकअर्कासँग मिसिन सक्तैनन्; तिनको विविधता कायमै रहन्छ ।

अर्को महत्वपूर्ण प्रश्नको जवाफ वाइजम्यानको शोधबाट प्राप्त भयो । उनले प्रमाणित गरिदिए, बहुकोशिकीय जीवहरूमा शरीरका सामान्य कोशिका र प्रजननसँग सम्बद्ध शुक्राणु तथा अण्डाणुहरूबीच कुनै सम्बन्ध हुँदैन । जीवधारीको जीवनकालमा उसका अनुभव र संस्कारबाट शरीरका सामान्य कोशिकाहरूमा परिवर्तन हुन सक्छ तर त्यस्तो परिवर्तनले प्रजननसँग सम्बद्ध कोशिकाहरूमा कुनै असर पर्दैन । त्यसैले उसले स्वयं उपार्जित गरेका गुणधर्म अर्को पुस्तामा पुग्दैनन् । हिजोआज यही सिद्धान्त मान्य छ र सबैले बुझ्का छन्— शारीरिक गतिविधिका कारण कुनै जीवधारीको डीएनएमा भएका परिवर्तन अर्को पुस्तासम्म पुग्न सक्तैनन् । केवल दुर्घटनावश प्रजनन सम्बन्धी कोशिका (शुक्राणु र अण्डाणु) का डीएनएको रासायनिक संरचनामा भएका परिवर्तन अर्थात् उत्परिवर्तन (म्युटेशन) मात्र अर्को पुस्तामा पुग्न सक्छन् । डीएनए नै आनुवंशिकताको वाहक हो भन्ने निर्विवाद रूपमा प्रमाणित भइसकेको छ ।Mayur

जैव विकासको दिशा निर्धारित गर्न परिस्थितिजन्य चुनौतीहरूको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरामा कुनै शंका छैन । परन्तु, चुनौतीहरूसँग सामना हुँदा तिनको समाधानका रूपमा वाञ्छित परिवर्तन हुन्छन् भन्ने पनि होइन । पूर्णतः संयोगवश भएका त्रुटिहरूका कारण अलग–अलग गुणधर्म प्रकट भइरहेका हुन्छन् । कैयौँ पटक यिनका कारण जीवधारीहरूमा दोष देखा पर्छन् तर कहिलेकाहीँ अधिक सक्षम, अधिक गुणवान् अवस्था पनि प्रकट हुन सक्छन् । यस्ता उपयोगी उत्परिवर्तनका कारण त्यो जीवधारी परिस्थितिसँग राम्ररी जुध्न सक्ने, बढी कार्यक्षम हुन पुग्यो भने त्यसको प्रजनन तीव्रतासाथ हुन थाल्छ । अनि त्यस प्रजातिमा उपयोगी उत्परिवर्तनयुक्त सदस्यहरूको संख्या बढ्दै जान्छ र बिस्तारै–बिस्तारै, शायद सयौँ पुस्ता पछि, पूरै समुदायमा यस्ता परिवर्तित ‘जीन’ समाहित हुन जान्छन् । यही त्यो प्राकृतिक चयनको सिद्धान्त हो, जसको खुलासा डार्विनले गरेका थिए । प्रकृति प्रजनन, आनुवंशिकता र विविधताको त्रिआयामी उपायको माध्यमबाट चयन प्रक्रिया सम्पन्न गर्छ, सृष्टिलाई असीम विविधताले सजाउँछ ।

अणुहरूको सहकारी
जीवन के हो ? जैव विकासको दृष्टिबाट हेर्दा, सय–डेढ सय खासखास अणुहरूको एउटा सहकारी संगठन ! आरएनएका अणु यस संगठनमा सबैभन्दा श्रेष्ठ छन् । जीवनको आरम्भिक समयमा आरएनएका अणु प्रजननका निम्ति आवश्यक सूचना पनि प्रदान गर्थे र त्यस सूचनाका आधारमा रासायनिक क्रियाहरू पनि सम्पादन गर्थे । विकासको अर्को चरणमा यी दुई भूमिकाको विभाजन भयो । सूचना दिने काम आरएनएको दाजु डीएनएले गर्न थाल्यो भने रासायनिक क्रियालाई गति दिने काम प्रोटिनहरूले गर्न थाले । प्रत्येक जीवधारीमा सूचना–वाहक डीएनएका कैयौँ खण्ड हुन्छन्, जो उसको आनुवंशिकताका मूल आधार हुन् । यी खण्डलाई नै हामी ‘जीन’ भन्छौँ । मानिसका प्रत्येक कोशिकामा ३० हजार पृथक्पृथक् संरचना भएका ‘जीन’ हुन्छन् । जीवनका प्रक्रियाको सिलसिलामा यी जीनका नयाँनयाँ प्रतिलिपि बनिरहेका हुन्छन् । त्यसैले ‘जीन’ प्राथमिक स्तरका प्रजनक हुन् । जीवनको समग्र प्रक्रिया ‘जीन’ कायम राख्ने र तिनका धेरैभन्दा धेरै प्रतिलिपि बनाउने स्वार्थी प्रयास हो ।

भनिन्छ, कुखुरो एउटा साधन मात्र हो जस मार्फत अन्डाले अरू अन्डा बनाउँछ । आधुनिक विज्ञानको भाषामा भन्ने हो भने, सबै जीवधारीहरू पनि ‘जीन’ अर्थात् डीएनएका अणुबाट अरू धेरैभन्दा धेरै अणु बनाउने साधन हुन् । रमाइलो के भने, यस्ता सबै अणु अर्थात् ‘जीन’ कर्मठ हुँदैनन् । जीन–समूहका केही सदस्य मात्र मरिकुच्ची काम गर्छन्, अरू चाहिँ पाटेअल्छी हुन्छन् । सबै उन्नत जीवधारीहरूको जीवन–प्रक्रियाको सञ्चालन पाँच–दश अथवा बढीभन्दा बढी बीस–तीस प्रतिशत ‘जीन’ ले गरेका हुन्छन् । बाँकी सबै डुकुलन्ठु, आवारा भैगए ! विडम्बना के भने, जोतिएर काम गर्ने जीनकै कारण यी डुकुलन्ठु जीन आफ्ना प्रतिलिपि बनाएर हतारहतार अर्को पुस्तामा पुगिहाल्छन् ।

हाम्रो शरीर अर्बौं कोशिकाहरूले बनेको छ । हरेक कोशिकाले आफ्नो प्रतिलिपि बनाउन सक्छ । सामान्यतः कोशिका–विभाजनको यो प्रक्रिया पूर्णतः जीवधारीहरूको नियन्त्रणमा हुन्छ । तर कहिलेकाहीँ कीटनाशक÷रासायनिक मल जस्ता विष शरीरमा प्रवेश गरेका कारण कतिपय कोशिका उत्तेजित हुन पुग्छन् र तिनको अनियन्त्रित विभाजन हुन थाल्छ । अर्थात् तिनको अस्वाभाविक वृद्धि शुरू हुन्छ । क्यान्सर हुने यसै गरी हो ।

स्वार्थको खेल 

जीनको तहमै शुरू भएको, काम नगरी खाने र अरूको शोषण गरेर अघि बढ्ने अर्थात् आफ्नो स्वार्थका लागि मरिमेट्ने यो प्रक्रिया जीवधारीको तहमा स्पष्ट देख्न सकिन्छ । रूखले स्वयं घाम सहेर अरूलाई छाया दिन्छ भन्ने परोपकारी परिकल्पना केवल कविहरूको दिमागको उपज हो । रूखलाई आफ्नो स्वार्थनिम्ति सूर्यको प्रकाश आवश्यक हुन्छ र त्यही क्रममा उसको छाया जमीनमा पर्छ । सूर्यका किरणबाट ऊर्जा प्राप्त गरेर ऊ आफ्ना प्रतिस्पर्धीलाई मात दिन बढीभन्दा बढी अग्लो हुने प्रयासमा लंलस्ट हुन्छ ।04 April 2015.pmd

स्वार्थका उम्दा उदाहरण चाहिँ जन्तु–जगत्मा देख्न सकिन्छ । एउटा उदाहरण चित्तल हो । सुन्दर आँखा भएको, सुनौलो रंगको, सुकुमारी पाराले हिँड्ने यो सामाजिक जन्तु हो । जंगलका शिकारी जन्तुहरूबाट बच्न चित्तलका ठूलठूला झ्ण्ड राति प्रायः मानव बस्ती नजिक बस्ने गर्छन् । बाघ, चितुवा, जंगली कुकुर लगायत शिकारी जन्तुको अलिकति पनि खतरा महसूस हुनासाथ यिनीहरू सर्वप्रथम ‘कुक्–कुक्’ आवाज निकालेर सबैलाई सतर्क बनाउँछन्, अगाडिका खुट्टा जमीनमा बजार्छन् अनि पुच्छर ठड्याएर साँप्राको सेतो चिह्न फुर्फु¥याउँछन् । त्यसपछि कि शिकारी जन्तुबाट जोगिन भाग्छन् नत्र आफ्ना सीङ र खुट्टाले त्यसको सामना गर्न तयार हुन्छन् । जंगली कुकुरको झुण्ड आउन लागेको देखेपछि सबै चित्तल हतारहतार एक ठाउँमा भेला भएर एउटा जत्था बनाउँछन् । हरेक सदस्य अर्कालाई ठेल्दै–घचेट्तै जत्थाको बीचमा छिर्ने प्रयास गर्छ । यो ठेलाइ–घचेटाइमा प्रेम अथवा वात्सल्य जस्ता भावनाका निम्ति कुनै स्थान हुँदैन । प्रत्येक चित्तल आफूलाई जोगाउन अरूलाई ठेलठाल पारेर आफू जत्थाका बीचमा पुग्ने मात्र ध्याउन्नमा हुन्छ । यसको उद्देश्य एउटै हुन्छ— जंगली कुकुरको आक्रमणमा अरू नै परून्, आफू चाहिँ सुरक्षित रहन सकियोस् । यो घम्साघम्सीमा ठूलो जीउका, बढी बलिया भाले चित्तल बीचमा पुग्छन्; पोथी र बच्चाहरू बाहिर धकेलिन्छन् अनि शिकारीका शिकार हुन पुग्छन् ।

अर्को उदाहरणका रूपमा कालो मुखवाला बाँदरलाई लिन सकिन्छ । यस्ता बाँदरको झुण्ड एउटा सबैभन्दा बलवान् भाले बाँदरको हैकम चल्छ । झ्ण्डका सबै पोथी माथि उसले अधिकार जमाएको हुन्छ र ब्रह्मचारी भएर बस्नु बाँकी भालेहरूको बाध्यता हुन्छ । तर यी ब्रह्मचारीहरू आफ्नो बाध्यता चूपचाप सहेर बसी रहँदैनन्, झुण्डको मुखियासँग निरन्तर लडाइँ–झ्गडा गरिरहन्छन् । कुनै न कुनै दिन मुखिया कमजोर हुन जान्छ र लडाइँमा हार्छ, अनि मुखिया पद गुमाउँछ । त्यसको स्थान कब्जा गर्ने नयाँ मुखियालाई आफ्ना सन्तान जन्माउन बडो हतार हुन्छ । तर, पोथीहरू आफ्ना बच्चालाई दूध खुवाउँदासम्म कामोत्तेजनामा आउँदैनन् । त्यसैले, पुरानो सत्ता पल्टिनासाथ त्यहाँ क्रुरताको पराकाष्ठा शुरू हुन्छ । झुण्डको नयाँ मुखियाले यस्ता, ससाना बच्चा भएका पोथी बाँदरहरूलाई लखेट्छ र बच्चालाई खोसेर मारिदिन्छ । त्यसपछि बिचरा पोथीहरू छिटै कामोत्तेजनामा आउँछन् र नयाँ मुखियाको सन्तान आफ्नो पेटमा हुर्काउन थाल्छन् । यस्ता स्वार्थी भालेहरूको त्रूmर व्यवहारको आनुवंशिक प्रवृत्ति प्राकृतिक चयनद्वारा नयाँ पुस्तामा पुग्छ र निरन्तर फैलिरहन्छ ।

परिवारका लागि स्वार्थत्याग
यति हुँदाहुँदै पनि सारा जीवधारी स्वार्थको एक–आयामिक यात्रामा हुँदैनन् । प्राकृतिक चयनको प्रक्रियाबाट चरम स्वार्थका साथसाथै असीम स्वार्थत्याग र बलिदान, निर्दयताका साथसाथै दया, वात्सल्य र प्रेम जस्ता प्रवृत्ति पनि उब्जेका छन् र निरन्तर नयाँ पुस्तामा फैलिरहेका छन् । त्यसैले यो दुनियाँ बहुरंगी, विविधतापूर्ण र रमाइलो बनेको छ ।

मौरीकै उदाहरण लिऊँ । यिनीहरूको एउटा ‘समाज’ हुन्छ, जस अन्तर्गत विभिन्न ‘जाति’ हुन्छन् । हरेकको काम र भूमिका सुनिर्धारित र फरक हुन्छ । जस्तै, मजदूर अथवा सिपाही अथवा बच्चा जन्माउनेहरू । जसको जुन काम हो, उसले त्यही गर्छ । सिपाहीले मजदूरको काम गर्दैन, न त मजदूरले नै सैनिकको काम गर्छ । फेरि दुवैले ज्यान जाला, प्रजननको काम गर्दैनन् । यसका पछाडि यिनीहरूको विशिष्ट प्रजनन प्रणालीले काम गरेको हुन्छ । सामान्यतः हरेक जीवधारीको शरीरका कोशिकाहरूमा जीनका दुइटा सेट हुन्छन्— एउटा आमातिरबाट आएको, अर्को बाबुतिरबाट । तिनबाट जन्मेका सन्तानमा पनि आमा र बाबु दुवैका आधा आधा जीन हुन्छन् । तर मौरी र कमिलाको प्रजनन प्रणाली यसभन्दा फरक छ । यिनीहरूमा शुक्राणुबाट निषेचित अर्थात् जीनका दुई सेटवाला अण्डबाट पोथी मात्र पैदा हुन्छन् । भाले चाहिँ अनिषेचित अण्डबाटै पैदा हुन्छन् अर्थात् तिनमा जीनको एउटा मात्र सेट हुन्छ । त्यसैले मौरी र कमिलाका सबै भालेका सबै शुक्राणु एकसमान हुन्छन्, तिनमा रत्तीभर पनि विविधता कुनै पुस्तामा पनि हुँदैन । पोथीमा चाहिँ आमा र बाबु दुवैका जीनको सेट हुने भएकाले तिनमा पर्याप्त विविधता हुन्छ । मौरी र कमिला जस्ता कीटहरूमा सामाजिक व्यवस्थाको विकास र नातेदार, परिवारका लागि स्वार्थत्याग गरेर प्राणसम्मको बलिदान दिने प्रवृत्तिका पछाडि प्रजनन प्रणालीको यही रहस्यले काम गरेको छ ।Bird 1

ठूला खालका मौरीहरू भीरका चट्टानमा, अग्ला रूखमा र कहिलेकाहीँ ठूलठूला भवनका भित्तामा पनि महको घार लगाउँछन् । त्यसमा भरिएको मह प्राप्त गर्न भालु, मानिस आदि जीवधारीले आक्रमण गर्छन् । त्यस वेला मौरीहरूले तिनमाथि आक्रमण गर्छन् र चिल्छन् । मानिस वा शत्रुलाई चिल्ने क्रममा मौरीका आन्द्रा बाहिर निस्कन्छन् र त्यो मर्छ । आफ्नो परिवारलाई बचाउन उसले सहर्ष आफ्नो प्राण त्यागिदिन्छ ।

फूलको रस र पराग मौरीको भोजन हो । त्यसलाई भेला गर्न उनीहरू टाढा–टाढासम्म यात्रा गर्छन् । कुनै मौरीले खाद्यान्न भण्डार (प्रशस्त फूल) कहाँ छ भन्ने पत्ता लगायो भने त्यसको जानकारी आफ्नो परिवारलाई सांकेतिक नृत्य–भाषा मार्फत दिन्छ । त्यस्तो ठाउँ पत्ता लगाएर, टन्न पुष्परस र पराग लिएर आफ्नो घारमा फर्केको मौरी घारमाथि नाच्न थाल्छ । यसबाट आकर्षित भएर अरू मौरी ऊसँगै नाच्न थाल्छन् । यो नृत्य यति व्यवस्थित हुन्छ, खाद्यान्न भण्डार कति टाढा र कुन दिशातिर छ भन्ने त्यसबाटै स्पष्ट हुन्छ । नृत्यको दिशा र फूलको भण्डारको दिशाबीच तालमेल हुन्छ भने नाच्ता मौरीले आफ्नो कम्मरलाई दिने झ्ड्काले पुष्पभण्डार कति टाढा छ भन्ने संकेत गरिरहेको हुन्छ । पुष्पभण्डार पत्ता लगाएर आउने मौरी नाच्ता उसले ल्याएको परागको सुगन्धले त्यहाँ कुन प्रजातिका फूल छन् भन्ने पनि अन्य मौरीले थाहा पाउँछन् । र, तुरुन्तै मह संकलन गर्न त्यो नयाँ ठाउँतिर उडान भर्छन् ।

विभिन्न जनावर र कीट–पतंगका आपसी सन्देशहरूमा सामान्यतः बढी गहिरो अर्थ हुँदैन । यस्ता सन्देश खतराको चेतावनी दिने, एकअर्कालाई डराउने अथवा भाले–पोथीले एकअर्कालाई बोलाउने जस्ता अर्थमै सीमित हुन्छन् । तर मौरीहरूको सन्देश प्रक्रिया यसभन्दा उन्नत र गहिरो छ । यो मानिसको भाषा जस्तै एक प्रकारको सांकेतिक भाषा हो । मानव जातिले भन्दा दश करोड वर्ष पहिले नै मौरीहरूले भाषिक संकेतको उपयोग गर्न थालिसकेका थिए ।

पहिले शक्ति प्रदर्शन अनि युद्ध

कमिलाको पारा पनि लगभग मौरीकै जस्तो हुन्छ । यिनीहरूको समूहमा एउटा रानी कमिलो हुन्छ, जो सबैको आमा हुन्छ । बाँकी सबै सिपाही, मजदूर र दिदी–बहिनी हुन्छन् । सबैले मिलेर भोजन जुटाउँछन् र चबाई–चबाई एकअर्कालाई खुवाउँछन् । रानी कमिलाले आफ्नो शरीरबाट एक खालको रस निकाल्ने गर्छ, जसलाई अरू कमिलाले खान्छन् । यसले त्यस समूहलाई अरूभन्दा बेग्लै, विशिष्ट गन्ध प्रदान गर्छ । कतै कुनै कमिलो भेटिनासाथ त्यसलाई सुँघ्ने चलन हुन्छ । आफ्नो समूहको गन्धसँग त्यसको गन्ध मिलेन भने दुश्मन मानिन्छ र आफ्नो इलाकाबाट भगाइन्छ । सामाजिक संरचनामा अत्यधिक बाँधिएका कमिलाहरू आआफ्नो क्षेत्रको सुरक्षाका लागि निरन्तर क्रियाशील रहँदै छिमेकी÷दुश्मनसँग सधैँ लडाइँ–झ्गडा गरिरहन्छन् ।

सम्भव हुँदा, दुश्मनको क्षेत्रमा आक्रमण र कब्जा गरिन्छ । तर, यस क्रममा, कमिलाहरू ‘आयो गोर्खाली’ पारामा ह्वात्तै लडाइँमा होमिदैनन् । पहिले उनीहरूबीच शक्ति प्रदर्शन मात्र हुन्छ । कमिले जीवनपद्धतिका गहन अध्येता एडवर्ड विल्सनले यसको बडो रोचक विवरण प्रस्तुत गरेका छन् ।
“यी दुई दुलाबाट निस्केका कमिलाका गोला एकअर्कासामु पुगे र नाच्न थाले । यो कुनै शृंगार रसको नृत्य थिएन । यो त दुई गोलाले आआफ्नो क्षेत्रको रक्षा गर्दै एकअर्काको क्षेत्र कब्जा गर्ने उपक्रममा गरिएको शक्ति प्रदर्शन थियो । यसमा कुनै पनि कमिलालाई कुतै खतरा थिएन; ज्यान जाने त कुरै छाडौँ, घाइते हुने पनि डर थिएन । यो त दुई पहलमानले एकअर्काका सामु ताल ठोके जस्तो थियो । दुवै समूह शायद सोचिरहेका थिए, आफ्नो शक्ति देखेर दुश्मनका खुट्टा काम्न थाल्नेछन् र उनीहरू लोप्रेकान लगाएर भाग्नेछन् । शक्ति प्रदर्शन एकछिन चल्यो । कोही भागेन । त्यसपछि लडाइँको चरण शुरू भयो । कमिलाहरूले दुई खुट्टामा उभिएर आफ्नो अग्लाइ प्रदर्शन गर्ने अथवा मरुन्जेल भुँडी फुलाएर आफ्नो आकार ठूलो देखाउने प्रयास छोडिदिए । तिनीहरू एकअर्का माथि चढेर आरा जस्ता आफ्ना दाँतले दुश्मनको शरीर छिन्नभिन्न पार्ने कोशिश गर्न थाले । शरीरका ती भागहरूमा, जहाँ कडा कवच छैन, दाँतले प्वाल पारेर विष हाल्न थालियो । घाइते दुश्मनलाई बाँकी राखिएन । एकैछिनमा पूरा मैदान हताहत कमिलाहरूद्वारा भरियो । एउटा समूहले शत्रु सेनाको नाइके कमिलालाई टुक्रा–टुक्रा पारिदियो । दुश्मनमाथि विजय प्राप्त भयो । …. कमिलाका दुई गोलाहरूबीच कहिल्यै युद्धविराम सम्झैता हुँदैन न त मित्रता नै हुन्छ । युद्ध शुरू भएपछि एउटा समूहले अर्कालाई सिध्याए उप्रान्त मात्र समाप्त हुन्छ । आफ्नो दुलाको क्षेत्रको रक्षा कुनै पनि मूल्यमा गरिन्छ, चाहे ज्यान नै किन दिनु नपरोस् ।”

किन लडाइँ गर्ने ?
तर, हात्तीको कथा भने बेग्लै छ । यो पनि परिवारमा बस्ने प्रजाति हो र यसमा पनि शक्तिशालीकै हैकम चल्छ तर यिनीहरू रक्तरञ्जित युद्धमा विश्वास गर्दैनन् । हात्तीको बथानको केन्द्रमा पोथी हुन्छन् आमा, हजूरआमा, फुपू र सानिमा, छोरी, भान्जी–भतीजी आदि । यिनीहरूको एक मात्र उद्देश्य हुन्छ— केटाकेटीको सुरक्षा । कुनै खतरा महसूस हुनासाथ उनीहरू चीत्कार गरेर सबैलाई सतर्क बनाउँछन् अनि खतराको दिशातर्फ फर्केर, काँधमा काँध मिलाएर, आफ्ना छातीहरूबाट एक खालको पर्खाल खडा गर्छन् । केटाकेटीहरू तिनका छाती र पेटमुनि लुक्छन् । भाले बच्चालाई दाँत (गजदन्त) ननिस्केसम्म मात्र सुरक्षा प्रदान गरिन्छ, दाँत निस्केपछि स्वतन्त्र जीवनयापन गर्न छोडिन्छ ।

हात्तीहरूको कुनै निश्चित, निर्धारित इलाका हुँदैन । उनीहरू आआफ्नो झ्ण्डमा स्वतन्त्रतापूर्वक एक ठाउँबाट अर्को ठाउँमा गइरहन्छन् । झ्ण्डहरूबीच लडाइँ वा घम्साघम्सी हुँदैन । संयोगवश दुई झ्ण्डको जम्काभेट भयो भने एकअर्कालाई हाई–हलो गरेर सभ्यतापूर्वक बाटो छोड्दै आफ्नो बाटो लाग्छन् । गजदन्तवाला भालेहरू चाहिँ एक्लाएक्लै पनि हिँड्छन् । एकअर्कासँग जम्काभेट हुँदा ठेलाठेल गरेर आपसमा शक्ति परीक्षण पनि गरिहेर्छन् तर पन्जा लडाएझ्सौम्य पारामा । यौवनले भरपूर कुनै मत्ता ढोई भेटिई भने ऊसँग सम्भोग गर्न भरमग्दुर प्रयास गर्छन्; उसका निम्ति आपसमा लडाइँ पनि गर्छन् तर होश गरेर । त्यसको उद्देश्य एकअर्कालाई घाइते अथवा अपांग अथवा समाप्त पार्न होइन, को चाहिँ बढी बलियो हो भन्ने आजमाइस गर्नु मात्र हुन्छ । अर्को हात्ती बढी बलियो छ जस्तो लाग्नासाथ पहिलो हात्ती चूपचाप पछि हटिहाल्छ । हात्तीका भाले र पोथी कोही पनि ब्रह्मचारी हुँदैनन् तर तिनका झ्ण्ड एकअर्कासँग साँच्चै मित्रतापूर्ण व्यवहार गर्छन् । पोथीका लागि मारामार गर्दैनन् ।

आजभन्दा ३५ वर्ष अघि म मैसूर (भारत) को डाँडामा बाँदीपुरको जंगलमा हात्ती गन्ती गर्दै थिएँ । हामी एउटा पोखरी नजिकै मचानमा थियौँ । साँझ् पर्न लाग्दा ३८ वटा हात्तीको ठूलो झुण्ड पोखरीमा पानी खान आयो । झुण्ड एउटा पोथी कामोन्मत्त थिई र सबैभन्दा ठूला दाँत भएको हात्ती उसका पछाडि थियो । स्पष्ट थियो— अरू भाले हात्तीहरूले ऊ सबैभन्दा बलियो छ भन्ने स्वीकारिसकेका थिए । त्यो जोडी सबैभन्दा पहिले पोखरीमा पस्यो र पानी खाएर प्रणय क्रीडा गर्न थाल्यो । यता, पोखरी बाहिर बीसवटा भाले हात्तीले बराबरी अग्ला हात्तीसँग मिलेर जोडी बनाए र टाउकामा टाउको जुधाएर एकअर्कालाई पछाडि धकेल्ने खेल शुरू गरे । तीनवटा जोडीका त गजदन्त नै निस्केका थिएनन् । ती बच्चाहरू खेलबाड मात्र गर्दै थिए । अरू चाहिँ पूर्ण शक्तिका साथ घम्साघम्सी गर्दै थिए । उनीहरू एकअर्काको तागत कति रहेछ भनेर आजमाइश गर्ने खेलमा थिए । हात्तीहरूबीच यस्तो खेल बीच–बीचमा भइरहन्छ । यसै क्रममा जो सबैभन्दा बलियो ठहरिन्छ, अरूले शान्तिपूर्वक त्यसको प्रभुत्व स्वीकार गर्छन् । त्यो दृश्य देख्ता मलाई लाग्यो, हामी मानिस पनि हात्ती जस्तै भए कति राम्रो हुन्थ्यो ! दुई पक्षका प्रधान सेनापतिबीचको युद्धले नै सबै छिनाफानो हुन्थ्यो, असंख्य सैनिकको संहार हुने थिएन । कौरव–पाण्डवको लडाइँ केवल भीम र दुर्योधनको गदायुद्धमा सीमित हुन्थ्यो अनि महाभारतको युद्ध जस्तो भीषण नरसंहार हुने नै थिएन ।

रवाफको मूल्य
आपूmलाई अरूभन्दा उत्कृष्ट साबित गर्न रक्तरञ्जित युद्ध, झ्गडा अथवा घम्साघम्सी नै गर्नुपर्छ भन्ने पनि होइन । अरूको भन्दा असहज अवस्थामा रहेर उत्तिकै वा अझ् राम्ररी क्रियाशील हुन सक्नु पनि त्यसको एउटा उपाय हुन सक्छ । मुजूरको उदाहरणबाट यो कुरा स्पष्ट हुन्छ ।

पोथी मुजूरका प्वाँख साना र छरिता हुन्छन् भने भाले मुजूरका प्वाँख उसको जीउभन्दा धेरै लम्बाचौडा । त्यसले उसलाई असजिलो सिवाय केही गर्दैन । खतरा महसूस हुँदा पोथी त तुरुन्तै उडिहाल्छ तर भालेलाई आफ्ना प्वाँखका कारण तत्काल उड्न सम्भव हुँदैन । हवाईजहाज जस्तै, अलिक परसम्म दौडिएपछि मात्र ऊ उड्न सक्छ । प्वाँखका कारण रूख, झडीहरूका बीच आफ्नो जीउ घुमाउन उसलाई उत्तिकै अप्ठ्यारो हुन्छ । हरेक वर्ष थुप्रै प्वाँख झ्र्छन्, तिनको ठाउँमा नयाँ प्वाँख हुर्काउन पनि उसको थुप्रै ऊर्जा खर्च हुन्छ । कुनै उपयोगिता नभएको र असजिलो मात्र सृजना गर्ने यस्तो प्वाँख, प्राकृतिक चयनको सिद्धान्त अनुसार, भाले मुजूरको जीउबाट उहिल्यै हराइसक्नुपर्ने हो । तर प्रश्न उठ्छ, सुरक्षा र प्रजनन, दुवैमा सहयोगी नहुने यो जिनिस उसको जीउमा किन कायम छ त ?
यसको उत्तर इज्रायली वैज्ञानिक आमोट्स जाहावीले दिएका छन् । उनले के पत्ता लगाए भने, अत्यन्त असुविधाजनक यी प्वाँखकै कारण भाले मुजूर पोथी मुजूरहरूबीच आकर्षणको केन्द्र हुन्छ । यस्तो असुविधा पनि पचाएर प्वाँख फैलाई नाच्न सक्नु र प्वाँखको त्यत्रो भारी सहजै वहन गरेर फुर्तीसाथ हिँडडुल गर्न सक्नु उसको शक्ति र विशिष्टताको, श्रेष्ठताको प्रमाण बनेको हुन्छ । उसको रवाफै बेग्लै हुन्छ; पोथीहरूले उसैलाई चयन गर्छन् । यसलाई जाहावीले ‘असुविधाको सिद्धान्त’ (ह्यान्डिक्याप प्रिन्सिपल) नाम दिएका छन् ।Elephant

असहजतालाई नै रवाफ र श्रेष्ठताको माध्यम बनाउने जन्तु मुजूर मात्र होइन । मीठो स्वरमा गाउने गोल्डन ओरिओल र म्याग्पाइ रोबिन आदि पक्षीहरू पनि यसै वर्गमा पर्छन् । प्रजननको मौसम आउनासाथ भाले पक्षी एउटा क्षेत्रको सबैभन्दा अग्लो रूखको टुप्पामा बसेर गाउन थाल्छ । त्यसरी बस्ता उसमाथि पोथीको ध्यान आकर्षित हुन्छ तर त्यसका साथसाथै शिकारीको आँखा सजिलै पर्न सक्ने खतरा पनि हुन्छ । तर त्यो खतरा मोलेर भए पनि ऊ पोथी पक्षीलाई ‘सबैभन्दा अग्लो रूखको टुप्पामा बसेर गाउन सक्ने म मात्र छु’ भन्ने देखाउँछ । नभन्दै त्यस्ता भालेहरूलाई पोथीहरूले मन पराउँछन् र ऊसँग मिलेर गर्भाधानको प्रक्रिया शुरू गर्छन् । चिंकारा मृगको व्यवहार पनि यसकै उदाहरण हो । दुश्मनबाट बच्न कुलेलम ठोकिरहेको चिंकारालाई देख्ता तपाईंलाई लाग्न सक्छ, ऊ सकेसम्म चाँडो कुदेको कुद्यै गरेर दुश्मनको पहुँचबाट उम्कन प्रयत्नशील छ । तर कुद्दा कुद्दै ऊ अचानक रोकिन्छ र अगाडि–पछाडिका खुर एकअर्कामा ठोक्तै बुरुक–बुरुक उफ्रिन थाल्छ ! अनि, दुश्मन अलिक नजिकै आइपुगेपछि फेरि छाड्तोस कसेर कुलेलम ठोक्छ । चिंकारा मृगमध्ये पनि झुण्ड सबैले यसो गर्दैनन्, कुनै–कुनै विशेष बलियाहरूले मात्र गर्छन् । तिनीहरू किन यस्तो असुविधापूर्ण (खतरा निम्त्याउन सक्ने) व्यवहार गर्छन् त ? यसबाट उनीहरू चितुवा र बाघ जस्ता आफ्ना दुश्मनलाई सन्देश दिन्छन्— ‘म यति तेजिलो र बलियो छु कि तैँले मलाई कसै गरी पनि भेट्न सक्तैनस् । त्यसैले, खुरुक्क अर्को शिकार खोज्नतिर लाग् !’
असुविधा अपनाएर आपूलाई अरूभन्दा श्रेष्ठ देखाउने यो प्रवृत्ति मानिसमा झ्न् टड्कारो छ । सिनेमामा हिरोले एउटा हात निष्क्रिय राखेर एउटा मात्र हातले चार जना दुश्मनलाई ढाल्नु यसको एउटा उदाहरण हो । थोस्र्टाइन ह्वेबलेन नामक अर्थशास्त्रीले सन् १८९९ मा यस प्रवृत्तिको सटीक विवेचना गर्दै भनेका थिए, गोजीमा टन्न पैसा आएपछि जथाभावी खर्च गरेर रवाफ देखाउनु यसैको अभिव्यक्ति हो । पैसावाल मानिसले आफ्नो धनको उपयोग वास्तविक आवश्यकताको पूर्तिका निम्तिभन्दा पनि अनावश्यक कुरामा र वाहियात किसिमले गर्नुको एउटै कारण अस्वाभाविकता मार्फत अरूलाई प्रभावित गर्न खोज्नु हो भन्ने उनको निष्कर्ष थियो । रवाफ देखाउन असुविधालाई हाँसी–हाँसी सहने एउटा उदाहरण मैले आफ्नी नातिनी शान्तामा पनि देखेँ । दश वर्षकी त्यो बच्चीले एक दिन छिमेककी दिदीले मोटा–मोटा चाँदीका कल्ली लगाएको देखिछ र ‘मलाई पनि कल्ली चाहियो’ भनेर जिद्दी गर्न थाली । रोएर नपुगेपछि खाना पनि खान छोडी । कुनै उपाय नलागेपछि उसकी हजूरआमाले चाँदीका पुराना गहना पगालेर उसका लागि मोटा कल्ली बनाइदिइन् । उसले लगाइरहेका पाउजू फुकालेर कल्ली त लगाई तर तिनको भारीले उसलाई हिँड्न गाह्रो हुन थाल्यो । तैपनि ऊ साथीहरूलाई बडो रवाफ देखाउँदै हिँड्न थाली । उसका साथीहरूसँग कल्ली थिएनन्, त्यसैले उनीहरूबीच शान्ताको रवाफ बढ्ने नै भयो । एक दिन को टाढासम्म उफ्रने भनेर खेल्न लाग्दा कल्ली अल्झ्र शान्ता नराम्रोसँग लडी । चिउँडो भुइँमा जोतिएर घाउ भयो, घुँडा रक्ताम्य भए र दुइटा दाँत नै फुस्किए । तर, घाउ लागेर ओछ्यानमा सुत्नुपर्दा पनि उसले कल्ली खोल्न मानिन । मान्दै मानिन । ऊ रवाफका लागि मूल्य चुकाउन खुशीसाथ तयार थिई ।

परिस्थितिसँग तालमेल
प्रजातिपिच्छे फरक र कतिपयमा त निकै अनौठा व्यवहार देखिए पनि तिनमा अन्तर्निहित जैव विकासको केन्द्रीय प्रवृत्ति भनेको परिस्थितिसँग तालमेल नै हो । यो निशाचर पक्षी निकै प्रेमासक्त प्रकृतिको हुन्छ; भाले र पोथी बिहान सबेरदेखि राति अबेरसम्म एकअर्कासँग चपक्क टाँसिएर बसेका हुन्छन् । पक्षी विशेषज्ञ सुगतनले एक दिन मलाई यो पक्षी देखाउन जंगल लगे । यिनका जोडी कहाँ प्रेमालापमग्न हुन्छन् भन्ने उनलाई कण्ठ थियो । झडीहरू पन्छाउँदै निकै वेर हिँडाएर एउटा रूख नजिकै पु¥याए र अगाडितिर चौर औँलाले देखाउँदै भने— यीः ल हेर्नोस् भ्यागुतामुखेको जोडी । दिउसै अँध्यारो जस्तो लाग्ने त्यो घना जंगलमा मैले आँखा च्यातेर एकछिन नियालेपछि बल्ल देखेँ, भ्यागुतामुखेको प्रेममग्न जोडी त मेरो नजिकै, तीन फीट मात्रको दूरीमा संसार बिर्सेर बसिरहेको रहेछ । एउटा हाँगाका पातले अलिकति छेकिरहेको थियो । त्यसलाई एकातिर पन्छाएर हेर्छु त जोडी गायब ! फेरि एकछिन आँखा च्यातेपछि देखेँ— उनीहरू त त्यहीँ रहेछन्, मूर्ति जस्तै निश्चल भएर टुलुटुलु हामीतिर हेरिरहेका । रूखपात र वातावरणसँग यसरी घुलमिल भएका कि सामुन्ने पुग्दा पनि देख्न–ठम्याउन गाह्रो हुने ! दुश्मनलाई झ्क्याउने क्या उम्दा तरीका ! सुगतनले भने, “तीन वर्ष भैसक्यो, यो जोडी यसै गरी यहाँ बसिरहेको छ ।”

स्तनधारीहरूमा बच्चाको पालनपोषणको जिम्मा पोथीमा हुन्छ । त्यसैले पोथीहरू एकनिष्ठ हुन्छन् र भालेहरू, अपवाद बाहेक, बहुस्त्रीगामी । एकचोटिमा एउटाभन्दा बढी भालेसँग प्रजनन गर्नु पोथीका लागि असम्भव हुन्छ तर भालेले जति पोथी पट्याउन सक्यो उति बढी सन्तान उत्पादन गर्न सम्भव हुन्छ । यसैले, प्राकृतिक चयनको प्रक्रियामा स्तनधारीमा बहुपत्नीत्वको विकास हुन पुग्यो । तर पक्षीहरूमा बच्चा हुर्काउने प्रक्रियामा भाले र पोथीको भूमिकामा खासै फरक हुँदैन । तिनका लागि खाना जुटाउने र तिनलाई शिकारीहरूबाट बचाउने काम सामान्यतः दुवैले गर्छन् । अझ् कतिपय प्रजातिमा त यसको मुख्य जिम्मेदारी भालेमा हुन्छ । सत्याद्रि पर्वतका जंगलमा रहने धनेषको एउटा प्रजाति ‘ग्रेट पाइड हर्नविल’ यस्तै पक्षी हो । यसले कुनै अग्लो रूखको टोड्को खोज्छ, जसमा पोथीले फुल पार्छे र सुत्केरी भएर त्यहीँ बस्छे । भालेले माटो ल्याएर सानो प्वाल मात्र बाँकी राखेर टोड्को टम्म टालिदिन्छ । त्यसपछि टोड्काभित्र पोथीले ओथारो बसेर बच्चा जन्माई त्यसलाई हुर्काएर उड्न सक्ने बनाउन्जेलसम्म भालेले टाढा–टाढाबाट खानेकुरा ल्याएर उनीहरूलाई खुवाइरहन्छ । यस्ता एकपत्नीव्रती पक्षीहरूमा पोथीका लागि प्रतिस्पर्धा हुँदैन र भाले–पोथीको रूप–रंग पनि प्रायः समान हुन्छ ।

पक्षीहरूमा मुख्यतः दुई किसिमको जीवनप्रणाली पाइन्छ । पहिलो हो, खग अर्थात् आकाशगामी । यी उडाइमा बढी निर्भर हुन्छन् । यीमध्ये गिद्ध, बाज जस्ता पक्षीले उड्दाउड्दै आफ्नो शिकार हावामै पक्रन सक्छन् । सुगा, मैना, काग, भँगेरा जस्ता पक्षी चाहिँ जमीन र रूखमा खाना खोज्छन् र पर्याप्त उड्छन् पनि । खगहरू जमीनभन्दा धेरै माथि, रूखमा वा चट्टानको कापमा गुँड बनाउँछन् र आफ्ना बच्चा हुर्काउँछन् । बच्चाहरू निकै तीव्रतासाथ बढ्ने भएकाले तिनलाई निक्कै खानेकुरा चाहिन्छ । पोथीले मात्र त्यत्तिको खाना जुटाउन नसक्ने भएकाले यस कार्यमा भालेको पनि उत्तिकै सहभागिता रहन्छ ।

पक्षीहरूको अर्को जीवनप्रणाली हो— जल–थलगामी । यीमध्ये तित्रा, बट्टाइ, वनकुखुरा आदि सुक्खा जमीनमा र पानीहाँस, ‘पीयू’ आदिले पानी नजिक आफ्नो ‘गुँड’ बनाउँछन् । यी सबैका बच्चा अन्डाबाट निस्कनासाथ सक्रिय हुन्छन् र जमीनमा हिँड्न अथवा पानीमा पौडिन सक्छन् । तिनले आफ्नो खाना आफै खोज्न सक्ने भएकाले आमाबाबुलाई त्यसको उतिसारो चिन्ता हुँदैन । दुईमध्ये एउटा जोसुकैले सहजै बच्चा हुर्काउन सक्छ । त्यसैले यिनीहरूमध्ये कुनै प्रजातिमा भालेले धेरै पोथी खोज्छ भने कुनै प्रजातिमा पोथीले धेरै भाले खोज्छ । परिणामस्वरूप कहीँ भालेहरू पोथीका लागि मारामार गर्छन् त कहीँ पोथीहरू भालेका लागि लडाइँ गर्छन् । जसले अर्कालाई आकर्षित गर्नुपर्ने हो, उसमा प्राकृतिक चयन मार्फत आकर्षक रंग–रूपको विकास हुन्छ । जस्तै धेरै पोथी खोज्ने मुजूरको भाले पोथीभन्दा आकर्षक हुन्छ त धेरै भाले खोज्नुपर्ने पीयूको पोथी भालेको तुलनामा बढी आकर्षक हुन्छ; तरवार जस्तो लामो पुच्छरले उसको सुन्दरता चम्काइदिन्छ । यसको अर्थ आकाशगामीजति एकनिष्ठ र जल–थलगामीजति बहुपत्नीक÷बहुपतिक हुन्छन् भन्ने चाहिँ होइन । सबैतिर अपवाद छन् । जस्तै ः तोपचरो हुन त आकाशगामी हो तर यसको भाले बहुपत्नीक हुन्छ । झ्ण्डेको डल्ले लौका जस्तो देखिने यसको आकर्षक गुँडभित्र पोथी आरामसाथ बच्चा हुर्काइरहेकी हुन्छे र त्यही वेला भाले चाहिँ हतारहतार अर्को गुँड बनाएर, अर्की पोथीलाई फकाएर भिœयाई घरजम गर्न थालिहाल्छ । यसरी एउटा मौसममा तीन–चार वटा गुँड बनाएर त्यति नै पोथी भिœयाउन भ्याइसक्छ र १०–१२ वटा बच्चाको बाबु बन्न सक्छ ।

संक्षेपमा भन्दा, जैव विकासको क्रममा प्राकृतिक चयनले देखाएको अनौठो जादूगरीले जीवधारीहरूको विविध रंग–रूप र जोडी बाँध्ने प्रणालीदेखि लिएर अनन्त आनीबानी तथा स्वभावको निर्माण गरेको छ । साथै, के पनि पक्का हो भने, जीवनतन्तुलाई सुदृढ बनाउन तथा पर्याप्त सन्तान पैदा गरेर तिनको पालनपोषण गर्न परिस्थितिसँग तालमेल गरेर रहनुको कुनै विकल्प पनि त छैन !

(साभार स्रोत विज्ञान एवं टेक्नोलोजी फीचर्स, मार्च÷अप्रिल २०१५)
भाषान्तर तथा सम्पादन शरच्चन्द्र वस्ती

Related Posts

/*sign up form*/