जिज्ञाशा र जवाफ

by • • 2072_5, जिज्ञासा जवाफComments (0)2439

भाद्र महिनाको जिज्ञाशा र जवाफ

अयोग्य भन्न मिल्दैन ?

नेपालका सरकारी विद्यालयको प्राथमिक तहको अंग्रेजी, गणित र विज्ञान विषयको औसत सिकाइ उपलब्धि ५० प्रतिशतभन्दा कम छ । मेरो विचारमा, प्रमुख कारण यी विषयमा धेरैजसो शिक्षकहरूको अपर्याप्त दक्षता हो कि भन्ने लाग्छ । त्यसैले प्राथमिक तहमा दक्ष जनशक्ति भिœयाउन किन शिक्षक सेवा आयोगले सकिरहेको छैन ? आयोगले स्थायी शिक्षक छनोट प्रक्रियाको पाठ्यक्रम कहिले संशोधन गर्छ ? भविष्यमा संशोधित पाठ्यक्रमले माथि उल्लेख भएका समस्यालाई कसरी सम्बोधन गर्छ ?
विश्वराज भट्ट
श्री माध्यमिक विद्यालय, पाटन नपा—६, बैतडी

शिक्षा ऐन, नियमावली र शिक्षक सेवा आयोगको प्रावधान अनुुसार आई.एड. वा सो सरहका योग्यता भएका शिक्षक प्रावि तहमा अध्यापन गर्न योग्य मानिएको छ । यसरी कानून बमोजिम प्रतिस्पर्धाबाट उत्तीर्ण गरेर आएका शिक्षकलाई अयोग्य भन्न मिल्दैन । सिकाइ उपलब्धि हेरेर सरकारलाई सुझव दिने काम शैक्षिक गुणस्तर केन्द्रको हो । उत्तीर्ण भएकालाई तालीम दिएर दक्ष बनाउने जिम्मेवारी शैक्षिक जनशक्ति विकास केन्द्रको हो । तपाईंले भन्नुभए जस्तै शिक्षक छनोटको पाठ्यक्रम समयानुकूल संशोधित गर्न अत्यन्त आवश्यक भइसकेको छ । शिक्षक सेवा आयोगले हाल तिनै तहका पाठ्यक्रम संशोधनका निम्ति कार्यदल बनाएर प्रक्रिया अगाडि बढाइसकेको छ । पूर्णाङ्क बढाउने र विषयवस्तुको दायरा अझ् फराकिलो बनाउने हाम्रो योजना छ । अर्थात् अझ् प्रतिस्पर्धा गराएर योग्य शिक्षक छनोट गर्ने लक्ष्य छ ।
सुदर्शन मरहठ्ठा
प्रवक्ता, शिक्षक सेवा आयोग

प्रअ हुन पाउँछु ?

२०७१ साउन २९ देखि निमावि तहमा स्थायी नियुक्ति पाएको शिक्षक हुँ । मैले बी.एड. उत्तीर्ण गरेको छु । मैले नियुक्ति पाएको विद्यालयमा मावि (राहत कोटा) शिक्षकले निमित्त प्रअ चलाइरहनुभएको छ । यो विद्यालय निमावि स्वीकृत छ भने मावि र उमावि सम्बन्धन प्राप्त छ । अब मैले यो विद्यालयमा प्रअ हुन पाउँछु कि पाउँदिनँ ?
नरेन्द्रकुमार सिंह
श्री जनता उमावि रसुवा, लाफागाउँ–४, उदयपुर

शिक्षा नियमावलीको नियम ९३ (२) को व्यवस्था अनुसार प्रधानाध्यापक हुनका निम्ति स्थायी शिक्षक हुनै पर्छ । जहाँसम्म निमित्त प्रधानाध्यापकको कुरा छ; नियम ९३ (७) ले विद्यालयमा कार्यरत वरिष्ठ शिक्षकले निमित्त प्रधानाध्यापक भई कामकाज गर्ने व्यवस्था छ । स्थायी शिक्षक नभएको अवस्थामा मात्र वरिष्ठताको आधारमा अन्य शिक्षकले निमित्त प्रधानाध्यापक भई काम गर्न सक्छन् । त्यसैले; तपाईंले प्रअ बन्नका निम्ति विद्यालय व्यवस्थापन समितिसँग कुरा राख्न र जिशिअको पनि सहयोग, सल्लाह लिन सक्नुहुनेछ ।
अम्बिकाप्रसाद रेग्मी
उपनिर्देशक, शिक्षा विभाग

मैले किन आवेदन दिन पाइनँ ?

शिक्षक सेवा आयोगले २०७१÷१२÷२३ मा गरेको विज्ञापन अनुसार २०७१ चैत महीनामा दरखास्त दिन खोज्दा दर्ता फाँटका कर्मचारीले उमेरको कारण देखाएर मेरो आवेदन अस्वीकार गरिदिए । जबकि दरखास्त दिन गएको दिन मेरो उमेर ३९ वर्ष ११ महिना १५ दिन मात्रै भएको थियो । मेरो जन्म २०३२÷०१÷०८ हो । २०७२ वैशाख ८ गतेको दिन मेरो उमेर ४० वर्ष पुग्थ्यो । तर मैले उमेर हुँदाहुँदै पनि आवेदन दिन किन पाइनँ ।
सियाशरण भण्डारी
दुलालेश्वर उमावि, दोलालघाट, काभ्रे

शिक्षक पदमा नियुक्त हुनका लागि आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेका व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था नियममा उल्लेख छ । यो अवस्था कायम रहँदासम्म कसैले पनि उम्मेदवार बन्न पाउने हकबाट वञ्चित हुने सम्भावना हुँदैन । दरखास्त दिने अन्तिम मितिसम्म तपाईंको उमेर ४० वर्ष पूरा भइसकेकोले दरखास्त नलिएको हुन सक्छ ।

सुदर्शन मरहठ्ठा
प्रवक्ता, शिक्षक सेवा आयोग

सम्पत्ति विवरण बुझाउँदा के गर्नुपर्ला ?

म प्रावि द्वितीय श्रेणीमा कार्यरत शिक्षक हुँ । मेरो भाइ स्वास्थ्य सेवामा राजपत्र अनंकित प्रथम श्रेणीमा कार्यरत छ । सबै जग्गाजमीन बुबाको नाममा छ । हामी दाजुभाइको अंशबण्डा भएको छैन । हाम्रा आआफ्नै नाममा बैंक खाता छन् । अब हामी दाजुभाइले सम्पत्ति विवरण बुझउँदा दुवै जनाको नाममा रहेको बैंक खाता तथा बुबाको नाममा दर्ता रहेको सबै जग्गा उल्लेख गर्नुपर्छ कि पर्दैन ? वा आआफ्नो नाममा रहेको बैंक खाता र बुबाको नाममा रहेका जग्गामध्येबाट आधा आधा मात्रै सम्पत्ति विवरण उल्लेख गर्दा हुन्छ ? सम्पत्ति विवरण बुझउँदा जीवन वीमा उल्लेख गर्नुपर्छ कि पर्दैन ?

धीरेन्द्र यादव
ने.रा.प्रावि, पिप्राढी–६, बारा

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार राज्यकोषबाट तलब भत्ता खाने व्यक्तिले आफू र आफ्नो परिवारको नाममा भएको सम्पत्तिको सबै विवरण आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र बुझउनुपर्ने कानुनी व्यवस्था छ । तपाईंले आफ्नो विवरणमा एकाघरका सबै सदस्यको सम्पत्ति उल्लेख गर्नुपर्छ । जीवन वीमाको सन्दर्भमा सम्पत्ति विवरण फारमको २ को (ख) वित्तीय संस्थामा रहेको खाताको विवरणमा उल्लेख गर्दा हुन्छ ।

होमनाथ न्यौपाने
उपनिर्देशक, विद्यालय शिक्षक किताबखाना

कुनचाहिँ सही हो ?

कक्षा ४ को अंग्रेजी किताबमा पासाङ ल्हामु शेर्पाको जन्म वि.सं. २०१७ उल्लेख छ भने कक्षा ५ को सामाजिक अध्ययनमा वि.सं. २०१८ लेखिएको छ । कुनचाहिँ सही हो ?

श्री कालीदेवी प्रावि
ठूलो पर्सेल—९, सिँगटी, काभ्रे

कक्षा ५ को सामाजिक अध्ययनमा लेखिएको जन्म मिति वि.सं. २०१८ सही हो । यही आशयको प्रश्नको आधिकारिक जवाफ शिक्षक, भदौ २०७१ मा छापिइसकेको छ ।
सम्पादक

अवकाश कहिले पाउँछु ?

२०४२/३/९ गते प्राविमा अस्थायी नियुक्ति पाई २०४८÷४÷१ मा स्थायी भएर २०६२÷६÷१४ मा प्रवि द्वितीयमा बढुवा भई हालसम्म कार्यरत छु । मैले नागरिकता लिएको मिति २०३९÷१२÷१६ हो । उक्त मितिमा मेरो उमेर २६ वर्ष लेखिएको छ । नागरिकतामा जन्म मिति २०१३ साल मात्रै लेखिएको छ । महिना र गते उल्लेख गरिएको छैन । नागरिकताको जन्म मिति अनुसार म २०७३÷१२÷१६ मा ६० वर्ष उमेर पुगेर अनिवार्य अवकाश हुने देखिन्छ । तर शैक्षिक प्रमाणपत्रमा जन्म मिति २०१३÷२÷५ छ । अर्थात् साल एउटै, महिना र गते फरक छ । त्यसैले यी दुईमध्ये कुन मितिलाई आधार मानेर अवकाश हुन्छु ?

गिरिराज पोख्रेल
श्री प्रावि कर्जाही, दाङ

कुनै एक प्रमाणपत्रमा वर्ष वा जन्म वर्ष र जारी मिति मात्र उल्लेख भएको र अरू कुनै प्रमाणपत्रमा पूरा जन्म मिति खुलेको रहेछ भने त्यस्तो प्रमाणपत्रमा उल्लेखित जन्म मितिको बीचमा १ वर्षसम्मको अन्तर देखिएमा प्रष्ट खुलेको प्रमाणपत्रको जन्म मितिलाई आधार मान्ने प्रावधान छ । तपाईंको शैक्षिक प्रमाणपत्रमा २०१३/२/५ उल्लेख भएकाले २०७३/२/५ बाट अनिवार्य अवकाश हुने देखिन्छ ।
होमनाथ न्यौपाने
उपनिर्देशक, विद्यालय शिक्षक किताबखाना

कुनचाहिं आधिकारिक हो ?

सहयात्रा प्रिन्टर्स एन्ड पब्लिसर्स प्रालि, विराटनगरले पुनःमुद्रण (२०७०) गरेको कक्षा–३, नेपाली किताबको पाठ–१ मा ‘असल विचार’ शीर्षकको कविता उल्लेख छ । त्यसै गरी एक्सप्रेस कलर प्रेस प्रालि, बुद्धनगरले प्रकाशन गरेको किताबमा पाठ–१ मा ‘मेरो देश’ भन्ने कविता राखिएको छ । अब यी दुई प्रकाशनमध्ये कुनचाहिँलाई आधिकारिक मान्ने ?

जमुना थापा
श्री देवीस्थान मावि, हस्तीचौर, गुल्मी

‘मेरो देश’ कविताका लेखक स्वयंले बौद्धिक चोरी गरेको स्वीकार गरिसकेका छन् । त्यसैले २०६८ सालदेखि पाठ्यक्रम विकास केन्द्रले सो कविता पाठबाट हटाउने निर्णय गरेको थियो । सोही अनुसार मुद्रकहरूलाई जानकारी गराएर २०६९ बाट ‘मेरो देश’ कविताको सट्टा ‘असल विचार’ राखिएको हो । त्यसैले शैक्षिक सत्र २०७२ का लागि आधिकारिक पुस्तक सहयात्रा प्रिन्टर्सद्वारा मुद्रित पुस्तक हो ।

रजनी धिमाल
पाठ्यक्रम विकास अधिकृत,
पाठ्यक्रम विकास केन्द्र

बिरामी बिदाको पैसा पाउँछु ?

मैले २०६५/५/१ देखि २०७१/४/२६ सम्म प्रावि राहत कोटामा अध्यापन गरेँ । हाल स्थायी दरबन्दीमा नियुक्त भएकी छु । त्यो राहत कोटामा रहँदाको बिरामी बिदाको पैसा पाउँछु कि पाउँदिनँ ?

अमृता पौडेल
नुवाकोट—६, अर्घाखाँची

राहत कोटामा रहँदाको सञ्चित बिदाको रकम पाउनु हुन्न । यसको आधिकारिक जवाफ शिक्षक मासिकको २०७१ वैशाख अंकमा छापिइसकेको छ ।
सम्पादक

ग्रेड संख्या र रकम कति हुने ?

म २०६१ असार २ गते स्थायी नियुक्ति पाएको प्रावि तृतीय श्रेणीको शिक्षक हुँ । २०७१ साउनपछिको नयाँ तलबमान ग्रेड सङ्ख्या र रकम समायोजन गर्ने विधि अनुसार ग्रेड सङ्ख्या ५, दर रु. २२० गरी रु. ११०० माग गर्दा मलाई ग्रेड सङ्ख्या ४ र दर रु. २२० गरी रु. ८८० मात्र उपलब्ध गराइयो । सोको बारेमा जिज्ञासा राख्ता किताबखानाबाट यही प्रमाणित हुन आएको भन्ने जवाफ लेखा अधिकृतबाट प्राप्त भयो । २०७१ मंसीरमा जिशिका अछाममा निवेदन गर्दा फेरि फागुनको चौमासिकमा पनि पुरानै रकम उपलब्ध गराइएको छ ? अब मेरो ग्रेड सङ्ख्या र रकम कति हुने ?

चन्द्रबहादुर शाही
श्री महाकाली प्रावि, धमाली–१,
पल्चौर, अछाम

नियमतः २०७१ मा तपाईंले पाउनुपर्ने ५ ग्रेडको रु. २२० का दरले रु. ११०० नै हो । जिशिकाले पठाएको विवरण अनुसार नै किताबखानाले प्रमाणित गर्ने हो । बेतलबी बिदा वा विभागीय कारवाहीमा परेको स्थितिमा पनि ग्रेड वृद्धि हुन्न । यदि जिशिकाले हामीलाई पठाएको विवरणमा गल्ती भए त्यहाँबाट संशोधनका लागि पठाएपछि यहाँ सच्याउनेछौँ ।

होमनाथ न्यौपाने
उपनिर्देशक, विद्यालय शिक्षक किताबखाना

भूकम्प केका आधारमा नामकरण गरिन्छ ?

२०७२ वैशाख १२ गते गएको भूकम्पलाई किन ‘गोरखा भूकम्प’ भनी नामकरण गरिएको हो ?

शिवबहादुर रायमाझि
श्री गणेश मावि, भीमखोरी–८, काभ्रेपलाञ्चोक

आधुनिक भूकम्प मापनयन्त्र जडान भएपछि नेपालमा गएको र रेकर्ड भएको सबैभन्दा ठूलो भूकम्प २०७२ वैशाख १२ को ७.६ रिक्टर स्केलको ‘गोरखा भूकम्प’ हो । भूकम्पको नामकरण प्रायः भूकम्प गएको केन्द्रविन्दु वा स्थानको नाम अनुसार राखिन्छ । त्यस्तो नाम ठूलो या प्रख्यात स्थानका आधारमा राख्ने गरिन्छ । जस्तै ः नेपालमा गएको वि.सं. १९९० सालको भूकम्पलाई ‘विहार–नेपाल भूकम्प’, वि.सं. २०३७ सालको भूकम्पलाई ‘बझङ भूकम्प’ र वि.सं. २०४५ सालको भूकम्पलाई ‘उदयपुर भूकम्प’ भनी नामकरण गरिएको छ । नेपालमा मात्र होइन, अन्य मुलुकमा पनि केन्द्रविन्दुको आधारमा नाम राख्ने चलन छ । सन् १९९९ मा ताइवानमा गएको भूकम्पलाई ‘चिची भूकम्प’, सन् २००१ मा भारतमा गएको भूकम्पलाई ‘भूज भूकम्प’, सन् २००४ मा इन्डोनेसियामा गएको भूकम्पलाई ‘सुमात्रा भूकम्प’ र सन् २०११ मा जापानमा गएको भूकम्पलाई ‘तोहोकु भूकम्प’ आदि यसका केही उदाहरण हुन् । विनाशकारी, ठूला तथा महाभूकम्पहरू पछिसम्म पनि सान्दर्भिक रहिरहने हुँदा तिनको चर्चा गर्न र सम्झ्न सजिलो होस् भनी नाम राख्ने गरिएको हो ।

लोकविजय अधिकारी
प्रमुख, राष्ट्रिय भूकम्प मापन केन्द्र

Related Posts

/*sign up form*/