जाँचका कापी विद्यार्थीलाई फर्काऊँ

by • • Uncategorized, विषय-सन्दर्भ / सम्पादकीयComments (0)3009

राजेन्द्र दाहाल

‘काकी यो बहिनीको पढाइ त साह्रै कमजोर पो रहेछ । अहिले तल्लो कक्षामा हुँदै सुधार गर्न लगाइहाल्नुपर्छ है !’
“हैन, त्यस्तो खराब छ र बाबु ! सबै कक्षा खुरुखुरु पास गर्दै आएकी छ । नम्बर पनि राम्रै ल्याएको देख्छु त म । अँ, यसका अक्षर चाहिं राम्रा छैनन्, लेख्न अल्छी गर्छे ।”
“मैले मार्कशीटको नम्बर होइन, बहिनीका जाँचका कापी हेरेर भनेको । मार्कशीटमा भएको जस्तो नम्बर उसले जाँचमा ल्याएकी छैनन् । तर, खै किन हो; स्कूलले कापीमा गोलै गोलो लगाए पनि मार्कशीटमा राम्रो देखाएर कक्षा चढाइदिने गर्दोरहेछ !”
माथिको संवाद शिक्षक  को यसै अंकमा समावेश गरिएको ‘पढाइ र परीक्षाको सम्बन्ध’ (पृष्ठ १२–२५) सम्बन्धी यथार्थ सन्दर्भसँग गाँसिएको छ । सामान्य लेखपढ गर्न सक्ने काकी अर्थात् अभिभावक छोरीको पढाइ अवस्था बारे सामुदायिक विद्यालयले वर्षान्तमा दिने लब्धाङ्कपत्रमा निर्भर छन् । मार्कशीटमा लेखेको ‘पास’ र कक्षोन्नतिका आधारमा उनी छोरीले पढाइमा ठीकै गर्दै आएको ठान्छिन् । कक्षा ७ उत्तीर्ण गरेर हाल कक्षा ८ मा अध्ययनरत छोरीले कुन विषयमा के कति ज्ञान र सीप प्राप्त गरेको अथवा उनको सिकाइ उपलब्धि कति पुगेको हुनुपर्दथ्यो भन्ने ज्ञान ती आमालाई हुने कुरा भएन । छोरीको जाँचमा के कस्ता प्रश्न सोधिएका थिए र त्यसमा छोरीले कस्तो उत्तर दिइन् भन्ने पनि उनलाई थाहा छैन, किनभने जाँचका कापी शिक्षकले हेर्छन् र स्कूलमै राख्छन् । विद्यार्थीले राम्रा अक्षरमा सही र शुद्ध उत्तर लेखेका भए, त्यो देख्दा प्राप्त हुने सन्तोष सम्बद्ध शिक्षकले लिन्छन् अनि; विद्यार्थीका अक्षर र उत्तर हेरिनसक्ना र वैराग लाग्ने रहेछन् भने त्यसको पीडा पनि सम्बद्ध शिक्षकले नै व्यहोर्छन् । यस सम्बन्धमा विशेषतः सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकहरूको कुनै अनुभव या अनुमान हुँदैन; किनभने छोराछोरीका जाँचका कापी उनीहरूले देख्नै पाउँदैनन् । हामीकहाँ जाँचका कापीलाई विशेष वस्तुजस्तो व्यवहार गरी, सकेसम्म गोप्य तवरबाट विद्यालय या परीक्षा लिने निकायमा नै राख्ने प्रचलन छ ।

कक्षा ४ का विद्यार्थीलाई गणितमा १०० मा ७२ अंक दिइएको छ । तर उनको उत्तरपुस्तिका हेर्दा कुल प्राप्ताङ्कमध्ये आधाभन्दा बढी नम्बर त गलत उत्तर लेखिएका दिइएको छ ।

सामुदायिक विद्यालयका केही दर्जन विद्यार्थीका उत्तरपुस्तिका नियालेपछि हाम्रो मनमा अनायास प्रश्न जन्मियो— विद्यार्थीले लेखेका जाँचका उत्तरपुस्तिका गोप्य राखिनुपर्ने वस्तु हुन् ? हुन् भने किन ? आफूले लेखेको उत्तरपुस्तिका हेरेर कुन प्रश्नको जवाफमा कति नम्बर आएछ; आफूले कुन प्रश्नको जवाफ सबैभन्दा राम्रोसँग लेखेको रहेछु र कुनको चाहिं बिगारेछु भनेर सम्बद्ध विद्यार्थीले आफैंलाई समीक्षा गर्न किन नपाउनु ? अझ् त्योभन्दा पनि अहं सवाल– आफ्ना छोराछोरी–भाइबहिनीले कुन विषयमा के कस्तो दक्षता र सीप हासिल गरेछन्; जाँचमा आफूलाई कसरी अभिव्यक्त गरेछन्; उनीहरू कुन पक्ष या विषयमा सबल र कुनमा कमजोर रहेछन् भनेर अभिभावकले तिनका उत्तरपुस्तिका हेर्न किन नपाउनु ? के शिक्षा सम्बन्धी कुनै सिद्धान्त या वादले उत्तरपुस्तिका सम्बद्ध विद्यार्थी र अभिभावकलाई दिनबाट रोक्छ ? यदि कुनै कुराले छेक्दैन भने शिक्षकले जाँचेका उत्तरपुस्तिका सम्बद्ध विद्यार्थीलाई नै फिर्ता दिन किन नथाल्ने ? यस सम्बन्धमा शिक्षा मन्त्रालय, परीक्षा बोर्ड आदिले आवश्यक नीति–नियम बनाएर देशका शैक्षिक संस्थाहरूलाई मार्ग निर्देशन किन नदिने ? हाम्रो निष्कर्ष छ, गृहकार्यका कापी जाँचेर फिर्ता गरेजस्तै शिक्षकले परीक्षण गरिसकेका अन्य परीक्षाका उत्तरपुस्तिका पनि सम्बद्ध विद्यार्थीलाई फिर्ता दिइनुपर्छ । परापूर्वकालदेखिको चलन भनेर यो अनावश्यक प्रथालाई थप निरन्तरता दिइरहनुको औचित्य देखिंदैन ।

जाँचका कापी विद्यार्थी÷अभिभावकलाई फिर्ता गर्दा केही व्यावहारिक अप्ठ्याराहरू आउन सक्छन् । जस्तो, कुनै प्रश्नको विषयगत उत्तर व्यक्तिपिच्छे फरक हुनसक्ने भएकोले त्यसबाट सम्बद्ध शिक्षक र विद्यालयलाई अनावश्यक विवाद र झ्मेला आइपर्न सक्छन् । त्यस्तै, शैक्षिक र प्राज्ञिक बाहेक प्रशासनिक र न्यायिक पक्षसँग समेत गाँसिने सम्भावना भएका परीक्षाका उत्तरपुस्तिका पनि तत्कालै विद्यार्थीलाई दिन सम्भव नहोला । तर, यस्ता अपवादको सूची धेरै लामो हुँदैन । यस प्रक्रियाका चुनौतीलाई निश्चित मार्गदर्शन र नियम बनाएर सहजै सम्बोधन गर्न सकिन्छ । उदाहरणको निम्ति, कक्षा १० को योग्यता परीक्षासम्मका उत्तरपुस्तिका विद्यार्थीलाई फिर्ता दिने, एसईईका चाहिं दिनु नपर्ने नियम बनाउन सकिन्छ ।
एउटा सच्चा शिक्षक विद्यार्थीको सिकाइ र विकासप्रति कति गम्भीर एवं दत्तचित्त छ भनेर थाहा दिने सबैभन्दा भरपर्दो आधार उसले जाँचेका उत्तरपुस्तिका हुन् । तर, बिडम्वना, सम्बद्ध विद्यार्थी र अभिभावकबाट शिक्षकले गर्ने मिहिनेतको त्यही पक्ष चाहिं सधैं ओझेलमा रहने गरेको छ । विद्यार्थी अभिभावकले त शिक्षकले दिएको भनिने अंक मात्र देख्न पाउँछन् । जाँचमा उत्तरपुस्तिकाका पाना पानाबाट त्यति अंक संकलन गर्न हातमा रातो कलम बोकेका शिक्षकको कति समय र संयम लगानी भएको छ; पुस्तिकामा लेखिएका शब्द र वाक्यमार्फत शिक्षक सम्बद्ध विद्यार्थीको मन–मस्तिष्कमा कति भित्रसम्म प्रवेश गरे होलान् ? यी सब कुरा लब्धाङ्कपत्रको अंकबाट मात्र झ्ल्किन सक्दैन । शिक्षकले जाँचेका कापी नै हातमा राखिदिने हो भने मात्र विद्यार्थी र अभिभावकको आँखामा एउटा इमानदार र मिहिनेती शिक्षकको सक्कली र पूर्ण छवि उजागर हुन पाउँछ । समाजमा शिक्षक र शिक्षण पेशाको मर्यादा एवं प्रतिष्ठा पुनस्र्थापित गर्न यो नै सबैभन्दा भरपर्दो, किफायती र न्यायपूर्ण उपाय पनि हो ।

 

Related Posts

/*sign up form*/