जबसम्म शिक्षक तयारी पुग्दैन, व्यावहारिक सिकाइ कक्षा कोठासम्म पुग्दैन

by • • HighlightComments (0)1709

Print Friendly, PDF & Email

सबभन्दा पहिलो कुरो हाम्रो शिक्षक तयारी पुगेको छैन । अहिलेको सन्दर्भमा शिक्षक तयारी गौण भएको देख्छु । अहिले पुनःसंरचना भएर तालिम केन्द्रहरू घट्दैछन् । यसमा पनि आफ्नै कमजोरीहरु होलान् । तर जे भएपनि पाँच वर्षभित्र शिक्षकले तीनवटा तालिम त लिन पाएका थिए । अन्तरक्रियामा भाग लिन र अन्य शिक्षक वा शिक्षा क्षेत्रमा काम गर्नेहरूसँग भेटघाट गर्न पाउथे । तर यसमा कमी आयो । यसले शिक्षक तयारीमा अझ कमी आउँछ । जबसम्म शिक्षक तयारी पुग्दैन, तबसम्म व्यावहारिक सिकाइ कक्षाकोठासम्म पुग्दैन ।

जीवन उपयोगी शिक्षा भनेको के हो र यो किन व्यवहारमा लागू भएको छैन । यसै विषयमा शिक्षक  मासिकको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षक–सम्वाद  को लागि महेन्द्र विष्टसँग कुराकानी गरिएको थियो । महेन्द्र विष्ट बज्रबाराही माध्यमिक विद्यालय, चापागाउँ, ललितपुरमा स्रोत व्यक्तिको रूपमा कार्यरत छन् । विष्टसँग गरिएको कुराकानीको सम्पादित अंश

हाम्रो शिक्षा जीवन उपयोगी भएन भनिन्छ । जीवन उपयोगी शिक्षा भनेको छुट्टै विषय हो कि, भएकै विषयलाई पढाउने शैली मात्र हो ?
अहिले पाठ्यक्रम बनिरहेको सन्दर्भमा जीवनउपयोगी शिक्षा भनेर जुन आइरहेको छ, यसलाई दुई तरिकाले हेरिएको छ । एउटा बालकक्षा देखि कक्षा–१० सम्मको पढाइलाई जीवनउपयोगी शिक्षा सँगसँगै जोडेर लगिने भनिएको छ । त्यो भनेको जुन विषय पढाइन्छ, त्यहि विषयसँगै सम्बन्धित क्रियाकला गराएर जीवनमा काम लाग्ने, जस्तो सञ्चार सीप, कुराकानी गर्ने सीप, सहयोग लिने–दिने सीपलाई क्रियाकलापको माध्यमबाट सिकाउने । अर्को कुरा अहिले कक्षा ११, १२ को पाठ्यक्रम बन्दैछ । कक्षा ११, १२ मा चाहिं ‘सफ्ट स्किल’ भनेर जीवनउपयोगी सीपसँग सम्बन्धित छुट्टै विषय आइरहेको छ । अहिले यसको प्रारुप बनिसकेको छैन । यसले पनि जीवनसँग सम्बन्धि सीपकै कुरा गर्छ ।

महेन्द्र विष्ट

कक्षा–१० सम्म र ११, १२ मा पढाइ हुने जीवन उपयोगी शिक्षामा के फरक छ ?
अहिले हामीले कुरा गरिरहेको जीवन उपयोगी सीपलाई ‘सफ्ट स्किल’ भन्छौं । विश्वभरि नै सिकाउँदै आइरहेको छ । यो भनेको जुनसुकै विषय पढाए पनि विद्यार्थीहरुलाई क्रियाकलापबाट सिकाउनु हो । यस अर्थमा, साथीहरुसँग सहयोग लिने–दिने कुरा, आइपरेको समस्या समाधान गर्ने, नयाँ कुरा, दृष्टिकोण निर्माण गरेर सृजनात्मक हुने तथा समालोचनात्मक चिन्तन गर्ने सीपको विकास गराउनु हो । यस्ता कुरा छुट्टै विषय नभएर भएकै विषय पढाउँदा सिकाउनु हो । यो चाहिं कक्षा–१० सम्म पढाउने जीवन उपयोगी सीपको कुरा भयो । अर्को कक्षा ११, १२ मा ल्याउन खोजिएको ‘सफ्ट स्किल’ भनिएको छ । यो तहको जीवन उपयोगी शिक्षामा चाहिं सैद्धान्तिक पक्षको बारे पनि भनिन्छ । तसर्थ, कक्षा–१० सम्मको शिक्षाले पहिले थाहा नदिइ व्यवहारमा सिकाउने भयो । अर्कोले पहिले नै सैद्धान्तिक पक्षमा थाहा दिएर क्रियाकलापमा संलग्न गराउने भयो । समस्या कस्ता हुन्छन् र कसरी समाधान गर्न सकिन्छ भनेर सैद्धान्तिक तथा व्यावहारिक सीपहरु सिकाउने काम माथिल्लो तहको सिकाइमा हुन्छ जस्तो लाग्छ ।

तल्लो तहको कक्षामा थाहा नदिइ सीप सिकाउने कुरा गर्नु भयो । यो कुरा उठ्दै आए पनि व्यवहारमा भने लागू भएको देखिएको छैन । व्यवहारमा लागू नहुनुमा केले रोकिरहेको छ ?
ठूलो चुनौति भनेको हाम्रो शिक्षण पद्धति नै हो । अर्काे मूल्याङ्कन पद्धति । विद्यार्थीले के सिक्यो, के सिकेन भनेर कसरी थाहा पाउँछौं त भन्दा परीक्षा लिएर परीक्षाको परिणामबाट थाहा पाउँछौं । दुइ-तीन घन्टाको परीक्षा लिने र त्यसमा लेखेको आधारमा सिकाइ जाँच्ने हाम्रो परम्परा छ । त्यो परम्परा तोड्नको लागि निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धति भनेर ल्याइयो । तर यसलाई शिक्षकले आत्मसाथ गर्न सकेन । उही किताब पढाउने वा घोकाउने अनि पुरानै ढर्रामा परीक्षा लिने काम नै सबभन्दा ठूलो चुनौति हो । शिक्षालाई जीवन उपयोगी बनाउन शिक्षण पद्धति बढीभन्दा बढी विद्यार्थी केन्द्रित हुनुपर्छ ताकि विद्यार्थीले आफैं गरेर सिक्ने अवसर पाओस् । अहिलेसम्म पाठ्यक्रमसँग जोडिएका विषयको क्रियाकलाप कक्षाकोठामा पु¥याउन सकेनौं । विद्यार्थीलाई पढाएको विषयमा अभिनय गराउने, समूह कार्य गराउने र प्रोजेक्ट कार्य गराउने गर्नुपर्छ । विद्यार्थीलाई नयाँ कुरा खोज्न वा तर्क गर्न लगाउने गर्नुपर्छ । यसो गरेपछि विद्यार्थीले आत्मसाथ गर्थे । यसो गराउन सकेको भए शिक्षा आफैं जीवन उपयोगी हुन्थ्यो ।

यसको लागि बढी अग्रसर त शिक्षक नै हुनु प¥यो नि हैन ?
शिक्षक नै हो । सबभन्दा पहिलो कुरो हाम्रो शिक्षक तयारी पुगेको छैन । अहिलेको सन्दर्भमा शिक्षक तयारी गौण भएको देख्छु । अहिले पुनःसंरचना भएर तालिम केन्द्रहरू घट्दैछन् । तर जे भएपनि पाँच वर्षभित्र शिक्षकले तीनवटा तालिम त लिन पाएका थिए । अन्तरक्रियामा भाग लिन र अन्य शिक्षक वा शिक्षा क्षेत्रमा काम गर्नेहरूसँग भेटघाट गर्न पाउथे । तर यसमा कमी आयो । यसले शिक्षक तयारीमा अझ कमी आउँछ । जबसम्म शिक्षक तयारी पुग्दैन, तवसम्म व्यावहारिक सिकाइ कक्षा कोठासम्म पुग्दैन । कक्षा कोठामा शिक्षकले सिकाउने र विद्यार्थीले सिक्ने हो, तर शिक्षकले नै नसिकाएपछि विद्यार्थीले के सिक्छ ?

शिक्षक तयारी नुपुग्नुमा राज्यको वेवास्ताले बढी जिम्मेवार छ कि शिक्षकको अल्छिपना ?
शिक्षणलाई जीवन उपयोगी बनाउने अध्यापन हुनको लागि आवश्यक शिक्षक एकदमै कम छन् । यस्तो हुनुमा राज्य र शिक्षक दुवै जिम्मेवार छन् । शिक्षा विषय नपढेका शिक्षक छैनन् । शिक्षा नपढेकालाई पनि विभिन्न तालिम दिएर शिक्षाको बारे बुझाइएको छ । सबै शिक्षक शिक्षाको मनोविज्ञान, तरिका र विधिबारे जानकार छन् । त्यसकारण शिक्षकको तर्फबाट प्रयास पनि पुगेको छैन । शिक्षकले आत्ममूल्याङ्कन गर्दै समय सुहाउँदो हिसाबले तयारी गर्नु प¥यो । राज्यले पनि वातावरण बनाइदिनु प¥यो ताकि कुनै शिक्षकले ‘म सक्षम शिक्षक हुँ र मैले पढाएका सबल विद्यार्र्थीहरु राम्रा छन्’ भनेर प्रचार हुने वातावरण राज्यले तयार गरिदिनु प¥यो । राज्यमा अहिले तीन तहको सरकार वा संरचना छ । तीनवटै संरचनाले वातावरण बनाउने काम गर्नुपर्छ । तर अहिले चुनौति पनि देखिएको छ । अहिले शिक्षाको रेखदेख र अनुगमन गर्ने अधिकार स्थानिय तहलाई छ । यसको लागि आवश्यक जनशक्ति स्थानिय तहमा छैन । आवश्यक संरचना र वातावरण तयार भइसकेको अवस्था छैन । यो अर्को ठूलो चुनौति छ ।

वातावरण बनाउनका निम्ति स्थानिय तहले के गर्नु पर्छ त ?
अहिले स्थानिय तहले शिक्षकलाई कक्षा कोठामा पु¥याउनेमा जोड दिइरहेको छ । धेरैजसो नगरपालिका तथा गाउँपालिकाको ध्येय शिक्षकले विद्यार्थीलाई कक्षामा पूरा समय दियोस् भन्ने देखिन्छ । यसको लागि अनुगमन गर्ने, योजनाहरु तथा नीतिहरू बनाउने काम गरिरहेको देखिन्छ ।

जनप्रतिनिधिले बनाएका नीतिहरु शिक्षणलाई जीवन उपयोगी बनाउनेमा केन्द्रित छ कि छैन ?
त्यो खालको शिक्षणको लागि जनप्रतिनिधिहरू पुगिसक्नुभएको छैन । जनप्रतिनिधिलाई यो बारे थाहा पनि छैन । हामीले एकपटक जनप्रतिनीधिलाई नै यसबारे सुशिक्षित गराउनु पर्ने अवस्था छ । शिक्षकको गुणस्तर भनेको यो हो है । ‘सफ्ट स्किल’ सहितको जीवन पर्यन्त चल्ने जीवन उपयोगी शिक्षा भयो भने विद्यार्थीले भोलि गरीखान सक्छ । खाली अंक मात्र बढाएर हुँदैन भनेर जनप्रतिनिधिलाई पनि बुझाउनु पर्ने छ । तसर्थ, सम्बन्धित स्थानिय तह वा प्रदेशले अबको २० वर्षपछि कस्तो जनशक्ति चाहिन्छ । त्यस्तो जनशक्ति तयार हुन अहिलेको बालबालिकाले कस्तो शिक्षा पाउनु पर्छ । त्यतातिर चिन्तन मनन गरेर जनप्रतिनिधिले शैक्षिक कार्यक्रमहरु बनाउनु पर्छ ।

Related Posts

/*sign up form*/