छात्र र छात्राः को कसरी सिक्छन् ?

by • • विविधComments (0)502

Print Friendly, PDF & Email

मनेश श्रेष्ठ

श्री नारायणी प्रावि, मुकुन्दपुर, नवलपरासी । तस्वीरः किरण पाण्डे

केही वर्ष अगाडि हार्बर्ड विश्वविद्यालयका अध्यक्ष ल्यारी समर्सले ‘महिलाहरूको मानसिक क्षमता कमजोर हुने हुनाले विश्वविद्यालय तहमा भौतिक विज्ञान र गणित लिने छात्राहरू कम भएका हुन्’ भन्दा शैक्षिक र राजनीतिकजगतमा ठूलो खैलाबैला मच्चियो । उनको यो भनाइ यसअघि स्थापित मान्यता विपरीत थियो । सन् १९६० र ७० को दशकमा विश्वभरमा भएको महिला आन्दोलनले दुई वटा कुरा स्थापित गरेको थियो, जसमध्ये पहिलो थियो, अवसरको कमीले गर्दा मात्र महिला पछाडि परेका हुन्, र अर्को थियो; समान अवसर पाउने हो भने जुनसुकै क्षेत्रमा पनि महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्न सक्छन् ।

यस मान्यताले शिक्षा क्षेत्रमा नयाँ अभ्यासहरू भित्रयायो  । छात्र र छात्रालाई फरक–फरक विद्यालयमा पढाउँदा पढाइको स्तर फरक हुन्छ र छात्राप्रति भेदभाव हुन्छ भन्ने तर्क उठ्यो । अमेरिकामा त सरकारी अनुदानमा चल्ने स्कूलहरूमा सह–शिक्षा (छात्र र छात्रा दुवैलाई एउटै स्कूलमा पढाउने) अनिवार्य नै गरियो ।

विकासोन्मुख देशहरूमा छोरीलाई पनि विद्यालय पठाउने अभियान चलाइयो । महिला उत्थान र सशक्तिकरणका लागि मात्र नभएर सामाजिक विकासका निम्ति पनि छोरीलाई विद्यालय पठाउनुपर्छ भन्ने मान्यता अगाडि आयो । आमा शिक्षित भए परिवार र सन्ततिलाई समेत फाइदा हुन्छ, त्यसैले बालिकाहरूलाई पढाउनुपर्छ भन्ने अभियान नै चल्यो ।

यी सबै प्रयासको फलस्वरुप छात्राहरूले शिक्षामा ठूलो फड्को मारे । धेरै युवतीहरू शिक्षित भए र शिक्षितहरु रोजगारको क्षेत्रमा संलग्न हुँदैगए । नयाँ पुस्ताका लागि ‘रोल मोडेल’ तयार भए ।

१९७० र १९९० को दशकमा बेलायतमा भएका अध्ययनले छात्राहरूको सोचाइमा परिवर्तन आएको देखाएको थियो । सन् १९७० को दशकमा त्यहाँका माध्यमिक विद्यालयका छात्राहरूले परिवार र घरलाई प्राथमिकता दिन्थे भने १९९० को दशकमा उनीहरूको प्राथमिकतामा उच्च शिक्षा, व्यवसाय र करियर परेको थियो ।

सन् १९९० को दशकमा आएर विकसित देशहरूमा पढाइमा छात्राहरूले छात्रलाई उछिन्न थाले । मौका र प्रोत्साहन पाए छात्रा छात्रभन्दा पछि पर्दैनन् र जुनसुकै क्षेत्रमा पनि महिलाहरू पुरुषसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने महिला आन्दोलनको मान्यता सत्य साबित हुन थाल्यो ।

यस्तो बेलामा हार्बर्ड विश्वविद्यालयका समर्सले के आधारमा छात्राको बौद्धिक क्षमतामाथि प्रश्न गरे त ?

सन् १९९० को दशकको अन्त्यतिरदेखि मानिसको दिमागको बनावट र त्यसले काम गर्ने तरिकाको अध्ययन (न्युरो साइन्स) ले केटा र केटीको दिमागको बनावट र त्यसले काम गर्ने तरिका फरक छ भन्ने नयाँ मान्यता स्थापित गर्न खोज्दैछ । यस दशकको शुरुमा अमेरिकामा माइकल गुरिएनद्वारा लिखित “केटा र केटीले फरक किसिमले सिक्छन्” नामक पुस्तक प्रकाशित भयो । चिकित्सक लियानार्ड सक्स त चिकित्सा पेशा छाडेर छात्र र छात्रालाई अलग्गै पढाउनुपर्छ भन्ने मान्यता प्रवद्र्धन गर्न नै लागिपरे । उनका अनुसार ‘केटा र केटीले सिक्ने तरिका फरक छ । कुनै समस्या हल गर्न केटा र केटीले दिमागको फरक–फरक भाग चलाउँछन् । कामको चपेटाको भार थाम्न केटालाई भन्दा केटीलाई गाह्रो हुन्छ ।’ सक्सको सिद्धान्तमा विश्वास गर्ने अमेरिकाको साउथ क्यारोलिना राज्यको शिक्षा विभागमा काम गर्ने डेभिड ¥याडवेलका अनुसार, “केटाहरूलाई भौतिक रूपमा चल्न लगाउनुपर्छ किनभने उनीहरूको स्नायु प्रणाली आँखाले देख्ने र कानले सुन्ने तरिकाबाट प्रभावित हुन्छ । केटीहरूको सिकाइमा विषयवस्तु, विद्यार्थी–विद्यार्थी बीचको सम्बन्ध र विद्यार्थी–शिक्षकबीचको सम्बन्धले प्रभाव पार्छ । केटीहरूलाई एकअर्कासँग कुरा गर्न दिइएन भने उनीहरूले सिक्न सक्दैनन् । केटीहरूलाई आफ्नो जीवनमा घटेको घटनालाई कक्षाकोठाको विषयवस्तुसँग जोड्ने मौका दिनुपर्छ ।” सक्स्का अनुसार केटा र केटीलाई पढाइमा प्रोत्साहन दिन फरक–फरक तरिका अपनाउनुपर्छ ।

 

 

डा. सक्स् पनि पहिले केटा र केटीले सिक्ने तरिकामा फरक छैन र उनीहरूलाई सह–शिक्षा दिनुपर्छ भन्थे । तर सन् २००० मा उनको क्लिनिकमा एकजना १२ वर्षे बिरामी आए । उनी सह–शिक्षा लयमा पढ्थे । उनी एकदम कम बोल्थे । उनलाई केही पनि गर्न रुचाउँदैनथे । केटा मात्र पढ्ने स्कूलमा भर्ना भएपछि उनी पूरै फेरिए । त्यसपछि डा. सक्स्ले केटालाई मात्र पढाउने र केटीलाई मात्र पढाउने स्कूलमा गएर केटा र केटीको दिमागको बनोट सम्बन्धी अनुसन्धान गर्न थाले । अध्ययन पछि उनी भन्न थाले, “मानिसको प्रकृति लिङ्गमा आधारित हुन्छ ।”

छात्र र छात्राले फरक किसिमले सिक्छन् या एउटै किसिमले सिक्छन् भन्ने विवादको टुङ्गो तत्काल लाग्न सक्ने छैन तर पनि अमेरिकामा छात्राभन्दा छात्र पछाडि भएको चाहिँ एउटा महत्वपूर्ण तथ्य नै हो । कक्षा ९ देखि १२ सम्मको माध्यमिक तहको शिक्षा ६५ प्रतिशत केटाहरूले चार वर्षमा मात्र सक्छन् । सोही शिक्षा चार वर्षमा सक्ने केटीहरूको मात्रा केटाहरूको भन्दा बढी अर्थात् ७२ प्रतिशत छ । केटाहरू फेल हुने सम्भावना केटीहरूको भन्दा डेढ गुणा बढी रहेको छ ।

दिमागको बनावट र छात्र–छात्राको विषयवस्तुको रूचि फरक भएपनि सामाजिक वातावरणले सिकाइमा फरक पर्छ भन्ने कुरामा दुईमत हुनसक्दैन । विकसित देशहरू सांस्कृतिक र आर्थिक हिसाबले केटा र केटीलाई समान अवसर प्रदान गर्न सक्ने अवस्थामा पुगिसकेका छन् । उनीहरूको चासो अर्को तहमा पुगिसक्यो । विकासोन्मुख देशमा सांस्कृतिक मान्यता र आर्थिक विपन्नताले गर्दा छात्र र छात्राको सिकाइमा असर पारिरहेको छ । छोरीलाई पनि स्कूल पठाउँ भन्ने नारा एक ठाउँमा छ भने अर्कोतिर विद्यालय पठाएर के त ? भन्ने प्रश्नको जवाफ खोज्न पनि त्यत्तिकै जरूरी देखिन्छ । माथि उल्लिखित बेलायतको अध्ययनले देखाए अनुसार छात्र छात्रालाई स्कूल जाँदा फाइदा हुन्छ भन्ने कुरा देखाउनु जरूरी छ । फेल भएपनि उनीहरूलाई स्कूलमै राख्ने उपाय निकाल्नुपर्छ ।
नेपालका सबै कक्षामा छात्रा कम छन् । यसलाई बढाउनु पर्छ । यसो गर्ने धेरै उपाय छन्— जस्तै विद्यालयमा महिला शिक्षकको सङ्ख्या बढाउने, छात्राहरूको लागि पर्याप्त शौचालयको व्यवस्था गर्ने, डाक्टर, इन्जिनियर, प्रधानाध्यापक आदि पुरुष मात्र हुन्छन् भन्ने भ्रम दिने पाठ्यसामग्रीका ठाउँमा ती काम महिलाले पनि गर्छन् भन्ने सन्देश दिने पाठ्यसामग्री बनाउनु पनि त्यत्तिकै अवश्यक छ । यस बाहेक शिक्षकले छात्रा र छात्रलाई समान व्यवहार गर्नु पनि जरुरी छ । त्यसपछि हामीकहाँ पनि छात्राहरूले पढाइएमा उच्चतम उपलब्धि हासिल गर्न सक्लान् ।
(२ मार्च २००८ को न्यूयोर्क टाइम्समा आधारित)

२०६४ चैत अंकमा प्रकाशित ।

 

 

Related Posts

/*sign up form*/