घरकै खाजा मीठो ! श्रृङ्गेरी माविले शुरु गरेको भिन्न अभ्यास

by • • रिपोर्टComments (0)2383

Print Friendly, PDF & Email

रोश्ना सुब्बा


ललितपुर जिल्लाको ग्वार्कोबाट ९ किलोमिटर टाढा लामाटारस्थित श्रृङ्गेरी सामुदायिक माध्यमिक विद्यालयमा भदौ १९ गते दिउँसोे शिक्षक संवाददाता पुग्दा विद्यार्थी खाजा खाइरहेका थिए । तर आमरूपमा अन्यत्र देखिने भन्दा यहाँको दृश्य फरक थियो— विद्यार्थीको हातमा न चाउचाउ थियो न त कुरकुरे र लेज जस्ता जंकफूड नै । कसैले दालभात, चनाको तरकारी ल्याएका थिए भने कसैले रोटी, तरकारी र चिउरा, दालमोठ । यसरी घरबाट खाजा ल्याउन शिक्षकले नै विद्यार्थीलाई प्रेरित गरेका छन् अभिभावकमार्फत ।
शहर, बजार क्षेत्रका अधिकांश र गाउँघरका पनि कतिपय स्कूलमा जंकफूडले जरा गाडेको सन्दर्भमा लामाटारको श्रृङ्गेरी माविले जंकफूडमा रोक लगाएर विद्यार्थीलाई आफ्नै घरमा बनाइएको ताजा खाजा खानका लागि प्रेरित गरेको छ ।
यहाँ हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलाप कक्षागत रूपमा विद्यार्थी आफैं आयोजना गर्छन् । वक्तृत्वकला, चित्रकला, वादविवाद, हाजिरीजवाफ के गर्ने भनेर उनीहरू आफैं कार्यक्रम तय गर्छन् । आफैं उद्घोषण गर्छन् । विद्यार्थीकै प्रयासमा हुने कार्यक्रममा विजेतालाई पुरस्कारको व्यवस्था पनि उनीहरूले मिलाउँछन् । अभिभावक तथा समुदायलाई दशैंको शुभकामना दिन कक्षा ९ र १० का विद्यार्थीले दशैं कार्यक्रमको योजना बनाइसकेका छन् । यसअन्तर्गत उनीहरूले तीन ठाउँमा शुभकामना कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिरहेका छन् । आफ्ना छोराछोरीको प्रस्तुतिबाट अभिभावक त मक्ख पर्ने नै भए, साथै यस्ता कार्यक्रमले स्थानीय समुदायलाई विद्यालयसँग जोड्ने काम पनि गर्छ ।
विद्यालयमा गरिने यस्ता गतिविधिमा विद्यार्थी सहभागी हुँदा उनीहरू पछि विभिन्न कार्यक्रममा भाग लिन अग्रसर हुने प्रअ माधव चन्दको अनुभव छ । लिटिल एन्जल्स स्कूल, ललितपुरबाट यो वर्ष १२ कक्षा उत्तीर्ण भएकी श्रृङ्गेरीकी पूर्व विद्यार्थी सुजाता घिमिरे यहाँ पनि विभिन्न कार्यक्रममा भाग लिन तथा अंग्रेजीमा उद्घोषण गर्न अघि सर्थिन् । लिटिल एन्जल्सका शिक्षकहरूले उनलाई ‘सरकारी स्कूलबाट आएर पनि तिमी कति फरवार्ड छौ’ भन्ने गरेको उनले सुनाइन् । आत्मविश्वासका साथ उनी भन्छिन्, “मलाई डर लाग्दैन । मासको अगाडि आफूलाई प्रस्तुत गर्ने आत्मविश्वास श्रृङ्गेरी माविमा हुने कार्यक्रममा भाग लिंदा बढेको हो ।”

ईसीडी कक्षामा स–साना नानीलाई गीत गाउन सिकाउँदै बाल विकास सहयोगी कार्यकर्ता दुर्गा श्रेष्ठ ।

श्रृङ्गेरी माविले आफ्ना विद्यार्थीलाई सामाजिक सेवामा उत्प्रेरित गर्न वर्षको दुईपटक विभिन्न गतिविधिमा सहभागी गराउँदै आएको छ । यो वर्ष उनीहरूले बौद्धिक अपांग केन्द्र लुभूका केटाकेटीलाई सहयोग गरे । यो कार्यक्रमअन्तर्गत टीका लगाएर दक्षिणा पाएको वा अन्य कुनै अवसरमा आफन्तले दिएको पैसा उनीहरूले घरबाट ल्याए । यसरी संकलन गर्दा रु.७ हजार विद्यार्थीले जम्मा गरे । अपांग केन्द्र लुभूका विद्यार्थीलाई गाउन, नाच्न र कलर पेपरबाट विभिन्न सामग्री बनाउन पनि उनीहरूले सिकाए । यति मात्र होइन, भैरवथान मन्दिरको सिंढी निर्माणका लागि पनि शिक्षक र विद्यार्थीले केही पैसा जुटाए । यस्तो अभ्यासबाट प्रेरित भएर पूर्व विद्यार्थीहरू पनि बाढीपीडितका लागि जुटेको प्रअ माधव चन्दले बताए ।

ललितपुरको एउटा अग्रणी
श्रृङ्गेरी सामुदायिक मावि ललितपुर जिल्लाबाट एसएलसीमा शतप्रतिशत विद्यार्थी पास गराउने थोरै सामुदायिक विद्यालय मध्येमा पर्दछ । २०६७ देखि एसएलसीमा सहभागी भएको यो विद्यालय २०६९ सालमा सबै विद्यार्थी पास गराउने ललितपुरकै एकमात्र सामुदायिक विद्यालय थियो । यस्तै २०७१ मा सामुदायिक विद्यालयका छात्रातर्फ यसै विद्यालयकी अनुपमा घिमिरेले सर्वोत्कृष्ट अङ्क ल्याएकी थिइन् । उनी ललितपुरको जेम्स स्कूलबाट विज्ञान विषयतर्फ यो वर्ष ८५.५ प्रतिशत अङ्क ल्याउँदै सर्वोत्कृष्ट विद्यार्थी बन्न सफल भएकी छन् ।
कक्षा ८ सम्म काठमाडौंको डनबस्को स्कूल पढेकी अनुपमा भन्छिन्, “पढाइ र विद्यार्थीलाई प्राथमिकता दिने यहाँको वातावरण असाध्यै राम्रो छ ।” लुभू माविमा पढाउने उनका बुबा हरिहर घिमिरेले श्रृङ्गेरीमा अंग्रेजी माध्यमबाट राम्रो पढाइ हुने भएकोले छोरीलाई यहाँ पढाएको बताए ।
यहाँ बाल विकास केन्द्र (ईसीडी) देखि कक्षा १० सम्म २८७ जना विद्यार्थी छन् । माविमा ऐच्छिक विषय अर्थशास्त्र पढाउने एक जना शिक्षकको दरबन्दी छ । विज्ञान, गणित र अंग्रेजीका विषय शिक्षक चाहियो भनेर जिल्ला शिक्षा कार्यालयमा पटक–पटक माग गर्दा आश्वासन मात्र पाएको प्रअ चन्दले बताए । यहाँ मावि एक, निमावि राहत तीन, प्रावि स्थायी दुई, प्रावि राहत तीन, अस्थायी दुई र निजी स्रोत सात गरी १८ जना शिक्षक छन् । बाल विकास सहयोगी कार्यकर्ता दुई जना । प्रअ चन्द भन्छन्, “यहाँका सबै शिक्षक स्नातकोत्तर छन् । त्यसैले पनि यहाँको पढाइ गुणस्तरीय भएको हो ।”

बूक कर्नरः श्रृङ्गेरी माविका हरेक कक्षामा यसैगरी कोर्स बाहिरका किताब राख्ने व्यवस्था मिलाइएको छ

मावि चलाउने अनुमति पाए बाँकी व्यवस्थापन आफैं गर्ने जिम्मेवारी लिंदा कतिपय सामुदायिक विद्यालय निजी स्रोतका शिक्षक राख्न बाध्य छन् । विद्यालयमा आम्दानीको स्रोत नहुँदा प्रअलाई व्यवस्थापनको चुनौती थपिएको छ । प्रअ चन्दको भनाइमा विद्यालयले यहाँका विद्यार्थीसँग कुनै पनि शीर्षकमा सहयोग वा शुल्क उठाउँदैन । निजी स्रोतका शिक्षकका लागि प्रअ चन्दसहित चार जना शिक्षक र व्यवस्थापन समितिका चार जना सदस्यले मासिक रु.१ हजार उठाउने गरेका छन् । एउटा निजी स्कूलले मासिक रु.२० हजार दिने गरेको छ । यसबाहेक अन्य संघसंस्थाको सहयोगबाट निजी स्रोतका शिक्षकहरूको तलब व्यवस्थापन गरिएको प्रअ चन्दले बताए । उनको भनाइमा ती शिक्षकलाई सरकारी स्केल अनुसारकै पारिश्रमिक दिइएको छ ।
निजी स्रोतका शिक्षकको तलब व्यवस्थापन र शैक्षिक सुधारका लागि रु.१ करोडको अक्षयकोष स्थापना गर्ने प्रअ चन्दको योजना छ । यस्तो योजना सुनेपछि सहयोगी हात अघि बढिसकेका छन् । विद्यालयका सल्लाहकार डा. माणिकलाल श्रेष्ठले आफ्नी छोरीको सम्झ्नामा समानता मनिषा स्मृति अक्षय कोषका लागि रु.१० लाख दिइसकेका छन् ।
प्रअ माधव चन्दको अनुभवमा शिक्षकबीचको एकता नै विद्यालयको सबभन्दा बलियो पक्ष हो । विद्यालयमा अपसमा मनमुटाव हुन नदिन प्रअ खुला र पारदर्शी हुनुपर्ने उनको अनुभव छ । उनले विद्यालयको आर्थिकदेखि हरेक विषयको खुला छलफलमा सबै शिक्षकलाई सहभागी गराउने गरेका छन्, उनी आफूलाई सहजकर्ता ठान्छन् ।
श्रृङ्गेरी मावि महालक्ष्मी मावि स्रोतकेन्द्रअन्तर्गतको राम्रो विद्यालयमा पर्छ । श्रोतव्यक्ति हिमबहादुर थापाको मूल्याङ्कनमा यो विद्यालय राम्रो हुनुमा मुख्य तीनवटा कारण छन््– प्रअ चन्दको सक्रियता, राम्रो टीमवर्क र राम्रो पढाइ–लेखाइ । यसबाहेक एकाइ परीक्षा र निरन्तर विद्यार्थी मूल्याङ्कन जस्ता मूल्याङ्कन प्रक्रिया, अभिभावक सहभागितामा जोड र विभिन्न संघसंस्थाबाट सहयोग जुटाउन सक्नु विद्यालयका अरू सबल पक्ष रहेको स्रोतव्यक्ति थापाको ठम्याइ छ ।

लोभलाग्दो इसीडी
विद्यालयमा प्रशस्त खुला ठाउँ नभए पनि ईसीडी कक्षा फराकिलो र ठूलो छ । उज्यालो कोठामा विद्यार्थीलाई खेल्न, उफ्रन मज्जाले पुग्छ । साढे दुईदेखि चार वर्षसम्मका नानीहरूलाई नर्सरी र एलकेजी समूहमा राखिएको छ । कक्षाकोठाको भित्तामा विभिन्न शैक्षिक सामग्री तथा केटाकेटीले रंग भरेका चित्रहरू टाँगिएका छन् । कोठाको अर्को छेउमा अक्षर मिलाउने ब्लक, भाँडाकुटी, बाजा, गुडिया जस्ता सामग्री छन् । बाल विकास सहयोगी कार्यकर्ता उर्मिला केसी र दुर्गा श्रेष्ठले पालैसँग उनीहरूलाई विभिन्न क्रियाकलाप गराउँछन् । भदौ १९ गते त्यहाँ पुग्दा सहयोगी कार्यकर्ता श्रेष्ठले अभिनय गर्दै ‘म्याऊँ म्याऊँ बिरालो’ बाल गीत गाइन् र उनीहरूलाई पनि गाउन लगाइन् । साना केटाकेटीहरू हाँस्दै रमाउँदै आफ्ना हातखुट्टा पनि चलाउँदै गाउन थाले । हेर्दा नाचे, गाए जस्तो लाग्ने यो क्रियाकलापले उनीहरूलाई बाल विकास केन्द्रमा रमाएर बस्न र शारीरिक रूपमा सक्रिय रहन सहयोग गर्ने श्रेष्ठले उल्लेख गरिन् ।
गीतपछि अर्की बाल विकास सहयोगी कार्यकर्ता केसीले साना बालबालिकालाई उनीहरू के–के काम आफैं गर्न सक्छन् भनेर सोधिन् । कोही दाँत माझछु, पाउडर लाउँछु, कपाल कोर्छु भन्ने जवाफ दिंदै थिए । कसैको जवाफ थियो ‘एक्लै ट्वाइलेट जान्छु । मलाई त डर नै लाग्दैन ।’
सहजकर्ता केसी भन्छिन्, “यसको मुख्य उद्देश्य उनीहरूमा बोल्ने बानी विकास गर्नु हो ।” यो क्रियाकलापमा सहभागी गराउनुअघि सहजकर्ता उर्मिला केसीले ‘मेरो लुगा’ भन्ने निकै ठूलो आकारको किताब शैक्षिक सामग्रीका रूपमा प्रयोग गरेकी थिइन् । यो किताबको आकार ए फोर साइजभन्दा ठूलो छ । यति ठूलो आकारको किताब प्रयोग गर्नुको कारण यसमा भएका चित्रहरू केटाकेटीहरू प्रष्टसँग देख्न सक्छन् ।
ईसीडीमा केही केटाकेटी भाँडाकुटी खेल्दै थिए, केही बाजा बजाउँदै । केही केटाकेटी काठको टुक्रामा लेखिएका अंग्रेजी अक्षर कहाँ राख्दा मिल्छ भनेर काठको बोर्डमा मिलाउने प्रयास गर्दैथिए । बोर्डमा ए देखि जेड अल्फाबेटको आकार अनुसारका खाली ठाउँ बनाइएको छ । अक्षर कहाँ–कहाँ फिट हुन्छ भनेर उनीहरू ध्यानकेन्द्रित गर्दैथिए । कोही चाहिं कहाँ राख्ने भनेर सहयोग माग्दैथिए । यसरी बौद्धिक विकासका साथै खेल्दाखेल्दै उनीहरूले रङ चिन्ने, पेन्सिल र अन्य सामान समात्न अनि घुलमिल हुन सिक्ने बाल विकास सहयोगी उर्मिला केसीको भनाइ छ ।
बाल विकास सम्बन्धी तालीम पाएका केसी र श्रेष्ठ बालबालिकालाई अक्षर, अंक पढाउनु, लेखाउनुभन्दा पनि खेल र गीतको माध्यमबाट शारीरिक, सामाजिक, मानसिक र बौद्धिक विकासमा जोड दिन आवश्यक ठान्छन् । केसी भन्छिन्, “जिल्ला शिक्षा कार्यालय र शान्ति शिक्षा अभियान नेपालबाट दिइएको तालीममा यही सिकाइएको छ । तर स्कूल आएपछि लेख्न जान्नै पर्छ भन्ने अभिभावकको चाहनाले गर्दा लेख्न पनि सिकाउँछौं ।”

ईसीडी कक्षाका स–साना नानीहरु पढ्दै ।

रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा साथमा भएको रेकर्डर देखेर ईसीडीका केटाकेटीहरू यो के हो भन्दै सोधिरहेका थिए । यस्तै, फोटो खिच्दा म पनि खिच्ने भन्थे । कसैलाई तोकेर कुनै प्रश्न सोध्यो भने अरू म पनि भन्ने भन्थे । उनीहरूमा संकोच र डर थिएन । भन्न नचाहनेले भन्नैपर्छ भने दबाब त्यहाँ थिएन । प्रारम्भिक बाल्यावस्थाका केटाकेटीलाई नयाँ कुरा देख्दा त्यसप्रति उत्सुकता प्रकट गर्न र आफूलाई मन लागेको कुरा भन्न दिने वातावरण दिनुलाई धेरै महत्वपूर्ण मानिन्छ । यो बेला यस्तो वातावरण पाए भने हुर्कंदै जाँदा उनीहरू आफ्ना जिज्ञासा वा विचार अरूसामु व्यक्त गर्न संकोच मान्दैनन् । यस्तो सकारात्मक अनुभवले उनीहरूको पढाइ सिकाइमा समेत बल पु¥याउँछ । त्यसैले प्रारम्भिक बाल्यावस्थालाई महत्वपूर्ण र संवेदनशील अवस्था मानिन्छ । श्रृङ्गेरी माविको ईसीडीका बालबालिकाले यस्तो सकारात्मक वातावरण पाएका छन् ।

शिक्षक  मासिक, २०७४ असोज अंकमा प्रकाशित

सवै तस्वीरः खड्गबहादुर मगर

 

Related Posts

/*sign up form*/