गुणस्तरीय शिक्षाः केलाई मान्ने मापदण्ड ?

by • • मनका कुरा (ब्लग)Comments (0)950

Print Friendly, PDF & Email

रामहरि ओझा
‘मेरो छोरा त अंग्रेजीमा कुरा गर्छ, खै बाबु आफ्नो नाम अंग्रेजीमा भन्दे त ।’
गाउँ घुमघामका क्रममा भेटिएका; हेर्दा धेरै सुन्दर, सुशील करीब पाँच वर्षीय एक बालकसँग ‘नाम के हो बाबु’ भनेर सोध्दा उनले उत्तर दिन नपाउँदै उनकी आमाले छोरालाई अंग्रेजीमा नाम भन्न लगाइन् । छोराले पनि सहजै भने,’My name is . . .’

ती बालकलाई पंक्तिकारले अंग्रेजीमा नाम भन्न लगाएको थिएन र बालकले अंग्रेजीमा नाम भन्दा पंक्तिकारलाई त्यति खुशी पनि लागेन । तर ‘मेरोे छोरा अंग्रेजीमा नाम भन्न सक्ने भयो’ भनेर गर्व गर्ने ती आमाको मुहारमा आएको चमकले भने पंक्तिकारलाई पनि आनन्दित बनायो । आफ्ना छोराछोरीको सानो उपलब्धिमा पनि आमालाई कति खुशी हुँदोरहेछ भन्ने प्रष्ट भएको थियो ।

गाउँकै निजी विद्यालयमा युकेजीमा अध्ययनरत ती बालक र तिनी जस्तै अन्य बालबालिका पनि अंग्रेजीमा नाम भन्न सक्ने भएका आधारमा गाउँभरि “सरकारी विद्यालयभन्दा बोर्डिङमा राम्रो पढाइ हुन्छ” भन्ने हल्ला व्यापक छ । त्यसैले, आर्थिक रूपमा सक्ने जतिले सामुदायिक विद्यालयबाट छोराछोरी निकालेर निजी विद्यालयमा हाल्ने गरेका छन् । गाउँगाउँमा निजी विद्यालयको व्यवसाय फस्टाउनुको एउटा प्रमुख कारण यो पनि रहेछ ।

अचेल जताततै गुणस्तरीय शिक्षाको कुरा उठिरहेको छ । तर गुणस्तरीय शिक्षाको परिभाषा के हो ? यस्तो यस्तो भयो भने गुणस्तरीय शिक्षा हुन्छ भनेर कसैले पनि परिभाषित गरेको पाइँदैन । सरकारले परीक्षामा नतिजा राम्रो ल्याउन सक्नेलाई गुणस्तरीय मान्ने गरेको छ । सरकारले पुरस्कार दिन स्कूल छान्दा मूलतः परीक्षाको नतिजालाई नै आधार बनाउने गरेको छ ।

के भयो भने गुणस्तरीय शिक्षा मान्ने त ? तोकिएको पाठ्यक्रम अनुसार विद्यार्थीलाई रटाएर परीक्षामा राम्रो अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीको संख्यालाई आधार मानेर गुणस्तरीय शिक्षा भएको निर्धारण गर्ने वा विद्यार्थीले सिकेका कुराहरू व्यवहारमा उतारेपछि गुणस्तरीय शिक्षा मान्ने ? शिक्षकले कक्षाकोठामा गएर तोकिएको पाठ्यक्रम अनुसार बनाइएका पाठ्यपुस्तकको आधारमा सरसर्ती पढाएको कुरालाई आधार मान्ने वा पाठ्यपुस्तकका साथसाथै व्यावहारिक ज्ञान दिएर विद्यार्थीलाई आफ्नो जीवनसँग शिक्षालाई जोड्न सक्ने बनायो भने गुणस्तरीय मान्ने ? वा पृष्ठभूमिमा उल्लेख गरिए जस्तै छोराले आफ्नो नाम अंग्रेजीमा भन्दा आमा खुशी भएको कुरालाई गुणस्तरीय शिक्षा मान्ने ?

अहिले हामी गुणस्तरीय शिक्षा पढाइ र परीक्षा प्रणालीमा सुधार गरेर होइन, परीक्षाको नतिजा सार्वजनिक गर्ने तरीकामा सुधार गरेर खोज्दैछौं । परीक्षा प्रणाली उस्तै छ, अध्ययन-अध्यापन प्रणाली पनि उस्तै छ, पाठ्यक्रम उस्तै छ, पाठ्यपुस्तक उस्तै छ, विद्यालयमा शिक्षण सिकाइ सामग्रीको अवस्था उस्तै छ, शिक्षकको अवस्था पनि उस्तै छ, विद्यालयको भौतिक पूर्वाधारको अवस्था पनि उस्तै छ, अनि हामीले ९० अङ्कको ठाउँमा ‘ए’ लेखिदिने वित्तिकै कसरी गुणस्तरीय शिक्षा हुन सक्छ ? तोकिएको पाठ्यपुस्तक अनुसार एक विद्यार्थी वर्षभरि कक्षाकोठामा उत्कृष्ट हुन्छ, त्रैमासिक, अर्धवार्षिक परीक्षामा उसले नतिजा पनि राम्रै ल्याएको हुन्छ । तर अन्तिम परीक्षा सञ्चालनको क्रममा कुनै एक विषयको परीक्षाको दिन बिरामी भयो भने ऊ असफल हुन्छ । उसको उत्कृष्टता, उसको योग्यता, उसको क्षमता कुनै काम लाग्दैन । ऊ अक्षम घोषित हुन्छ, ऊ चिन्तित हुन्छ, साथीहरूका बीचमा आफू एक्लो महसूस गर्छ अनि पढाइ छोड्छ र भारतका गल्लीहरूमा डण्डा बजाउन पुग्छ । तर हामी परीक्षाको नतिजा प्रकाशन प्रणालीलाई परिवर्तन गरेर उत्कृष्ट भन्दैछौं ।
अर्को कुरा हामी अंग्रेजीमा आफ्नो नाम भन्न सक्ने वा अंग्रेजीमा कुरा गर्न सक्ने जनशक्ति उत्पादन भयो भने गुणस्तरीय शिक्षा भएको मान्दछौं । तर अंग्रेजी बोल्नु नै गुणस्तरीय शिक्षाको आधार हुन सक्दैन । गुणस्तरीय शिक्षा हुनका लागि भाषाले होइन, व्यक्तिको व्यवहारले अर्थ राख्छ ।

त्यसैले गुणस्तरीय शिक्षालाई व्यक्तिको जीवनसँग प्रत्यक्ष रूपमा जोडिनु जरूरी छ । अहिलेको शिक्षाले अटेरी, समाजप्रति अनुत्तरदायी, बेरोजगार जनशक्ति उत्पादन गरेको छ । साधारण शिक्षाका उत्पादनहरूमध्ये धेरै थोरै मात्रै, त्यो पनि आफ्नै परिश्रमले गर्दा सफल भएका देखिन्छन् । अन्यथा, प्रमाणपत्र बाकसमा थन्काएर मजदूरीका लागि भारत र तेस्रो मुलुकमा भौंतारिहनुपर्ने अवस्था छ । शिक्षित व्यक्ति सामाजिक हुन सक्नुप¥यो । शिक्षा त्यस्तो हुनुप¥यो व्यक्तिमा भएका सबै प्रकारका मानसिक विकारको अन्त्य गर्न सक्ने । हाम्रो शिक्षा प्रवेशिका उत्तीर्ण गर्ने बित्तिकै हलो जोत्नु हुन्न भन्ने खालको छ । यसमा सुधार हुनु जरूरी छ ।

अर्को कुरा; शिक्षा जागिर गर्नका लागि मात्रै होइन भन्ने सन्देश पनि हाम्रो शिक्षा प्रणालीले दिन सकेको छैन । शिक्षा, सामाजिक जीवन हो, शिक्षा नैतिक मूल्यमान्यता हो, शिक्षाले व्यक्तिलाई सामाजिकीकरण गर्छ भन्ने खालको विश्वास हामीले जगाउन सकेका छैनौं । समाजमै पनि ‘फलानाको छोरो यति पढेर पनि हलो जोत्नु परेको छ, पढेर के काम ?’ वा ‘फलानाको छोरी यति पढेर पनि घरधन्दामै लागेकी छे, पढेर के गर्नु ?’ यस्ता यस्तै कुराहरू सुनिन्छिन् । मानौं, पढेर हलो जोत्नु वा घरधन्दा गर्नु अपराध हो । यो सामाजिक बुझइलाई चिर्न सके मात्रै हामीले गुणस्तरीय शिक्षा मान्न सक्छौं । अर्थात् शिक्षाबाट आर्जन गरेको ज्ञान व्यावहारिक जीवनमा उतार्ने बनाउन सक्यौं भने त्यतिवेला शिक्षा गुणस्तरीय भएको मान्न सकिन्छ ।
  (सम्पादक, विम्ब साप्ताहिक, डोटी)

 

Related Posts

/*sign up form*/