‘गर्ने’ र ‘पढाउने’ शिक्षक

by • • आलोपालोComments (0)271

Print Friendly, PDF & Email

जोन हल्ट

‘गर्ने’ शिक्षक ती हुन्, जसले गर्नेवाला केटाकेटीलाई तिनको आफ्नो मर्जीले आफ्ना लागि तय गरेको काम गर्न मदत गर्छन् । ‘पढाउने’ शिक्षक ती हुन्, जसले आफ्ना विद्यार्थीलाई अरू कसैले तिनका लागि तय गरिदिएको कुरा सिकाउने प्रयास गर्छन् ।सिकाउने प्रयास गर्छन् ।

जसरी ‘स्कूल’ भन्ने ठाउँ गर्ने र पढाउने गरी दुई किसिमका हुन्छन्, त्यसैगरी ‘शिक्षण’ नामक कार्य गर्ने ‘शिक्षक’ भन्ने व्यक्ति पनि दुई किसिमकै हुन्छन् । ‘गर्ने’ शिक्षक ती हुन्, जसले गर्नेवाला केटाकेटीलाई तिनको आफ्नो मर्जीले आफ्ना लागि तय गरेको काम गर्न मदत गर्छन् । ‘पढाउने’ शिक्षक ती हुन्, जसले आफ्ना विद्यार्थीलाई अरू कसैले तिनका लागि तय गरिदिएको कुरा सिकाउने प्रयास गर्छन् । कुनैवेला यी दुईखाले शिक्षक मलाई उस्तै लाग्थे । म सोच्थें, शिक्षक भन्नुको आशय त्यस्तो व्यक्ति हो, जो कुनै छात्रलाई कुनै कुरा सिकाउने प्रयास गर्छ । छात्र उत्सुक र ग्रहणशील भयो भने शिक्षकको काम सजिलो हुन्छ । सामान्यतः छात्र उदासीन, अनिच्छुक र प्रतिरोधी हुन्छ । दुवै स्थितिमा शिक्षकको काम मलाई उस्तै–उस्तै लाग्थ्यो । तर, अब यी दुवै काम यति फरक लाग्न थालेका छन्, यिनलाई एउटै नाम दिनै सकिंदैन । विद्यार्थीले जे गर्न चाहन्छन्, त्यसमा सहयोग पु¥याउने कार्यका लागि एउटा बेग्लै शब्द चाहिन्छ । तर, ‘शिक्षण’ र ‘शिक्षक’ परम्परागत, सम्मानजनक शब्द हुन् । म यिनलाई तिनीहरूका निम्ति खर्च गर्नुहुँदैन भन्ने ठान्छु, जो जबर्जस्ती पढाइने स्कूलमा ‘पढाउने’ काम गर्छन् ।

गर्ने र पढाउने स्कूलको अन्तर छुट्याएर जसरी ‘गर्ने’ र ‘पढाउने’ शिक्षकका बीचको फरक स्पष्ट पार्न भने त्यति सजिलो छैन । कतिलाई लाग्छ, ‘गर्ने’ शिक्षक भन्नुको मेरो आशय सज्जन तथा सहानुभूतिपूर्ण शिक्षक भन्ने हो— जसले विद्यार्थीलाई स्वतन्त्रता र प्रशस्त विकल्प प्रदान गर्छ । तर, कुनै पनि ‘पढाउने स्कूल’ को शिक्षक ‘पढाउने’ शिक्षक नै हुन्छ । अँ, पाठ्यक्रम बाहिरको कुनै पूर्णतः स्वैच्छिक गतिविधि सञ्चालन गर्दा भने, जसमा कुनै ग्रेड अथवा अंक दिइँदैन, उसको स्थिति फरक हुन सक्छ । अर्थात्, स्कूलको नाटक मण्डलीको नाइके, स्कूलको औपचारिक खेल नमानिने कुनै खेलकूद–टोलीको नेता अथवा कुनै किसिमको कलात्मक गतिविधि, सोख वा छलफल समूहको नेतृत्व गर्ने व्यक्तिले सम्भवतः ‘गर्ने’ शिक्षकले जसरी काम गरिरहेको हुन सक्छ । तर, कुनै पनि ‘पढाउने’ स्कूलका सबैभन्दा रोचक र रमाइला कथा पनि विवशता र दबाब, घूस र धम्कीकै व्यवस्थाका अंग हुन् र यस्ता कक्षाको नेतृत्व गर्ने व्यक्ति ‘पढाउने’ शिक्षक नै हो । ‘पढाउने’ स्कूलमा १४–१५ वर्ष पढाउँदा म पनि यस्तै थिएँ ।
‘गर्ने’ र ‘पढाउने’ स्कूलको झैं यी शिक्षकहरूका बीचको अन्तरको पनि शिक्षण विधि, दर्शन, व्यक्तित्व आदिसँग कुनै सम्बन्ध छैन । शिक्षक सहज छ कि कठोर, दयालु छ कि निर्मम, रमाइलो छ कि नीरस, मित्रवत् छ कि रूखो भन्ने कुराले पनि यसमा केही फरक पर्दैन । यसको सम्बन्ध त ऊ (शिक्षक) सँग समय बिताउने कि नबिताउने, उसले भनेको मान्ने कि नमान्ने, उसको मदत लिने कि नलिने, उसको कुरा सुन्ने कि नसुन्ने अनि उसको विचार स्वीकार गर्ने कि नगर्ने भन्ने विद्यार्थीले आफ्नो मर्जीले कति हदसम्म तय गर्न सक्छन् भन्ने कुरासँग मात्र छ । म डेस्क–बेन्च भएका भन्दा नभएका कक्षा कोठा मन पराउँछु । यसैगरी मलाई ती शिक्षक बढी मन पर्छन्, जो दयालु छन्, रोचक छन्, संवेदनशील छन्, चतुर छन्, सहानुभूतिपूर्ण छन् र आफ्ना विद्यार्थीलाई स्नेह गर्छन् । तर, यी सब गुणका बावजूद कुनै शिक्षक ‘पढाउने’ शिक्षक हुन सक्छ र यीमध्ये कुनै गुण नभए पनि ऊ ‘गर्ने’ शिक्षक हुन सक्छ । ऊ ‘गर्ने’ शिक्षक भयो भने ऊसँग धेरै विद्यार्थी नहुन सक्छन् । तर, उसले साझ गर्न अठोट गरेका बोध र सीप मुश्किलले प्राप्त हुने केही विद्यार्थी आफ्नो मर्जीले उसकहाँ आउन सक्छन् ।
(लेखक हल्टको पुस्तक ‘द अण्डरएचिभिङ स्कूल’को हालै प्रकाशित नेपाली संस्करण ‘असफल स्कूल’ बाट साभार)

२०७३ कात्तिक अंकमा प्रकाशित

Related Posts

/*sign up form*/