‘गरे शिक्षकले हैन प्राध्यापकले सक्छन् !’

by • • आवरणComments (0)2741

Print Friendly, PDF & Email

 

देशलाई चाहिने उच्च निष्ठासहितका शिक्षक उत्पादन गर्ने दायित्व प्राध्यापकहरूको हो । त्यसमा पनि प्रमुख दायित्व विश्वविद्यालयको शिक्षाशास्त्र संकायका प्राध्यापकहरूको हो । यस आधारमा हेर्दा अहिलेको नारा ‘शिक्षकले चाहे’ होइन ‘प्राध्यापकले चाहे गर्न सक्छन्’ राख्नु बढी सान्दर्भिक हुने देखिन्छ ।

राजकुमार बराल

नेपालमा विगत केही वर्षदेखि ‘शिक्षकले चाहे गर्न सक्छन्’ भन्ने एउटा अभियान चलाइएको छ । यो अभियानले विद्यालय शिक्षाको प्रमुख पक्ष शिक्षक हुन् भन्ने मनोविज्ञान थप विस्तार गर्न सघाएको छ । त्यसो त शिक्षा सुधारका एक महत्वपूर्ण पक्ष शिक्षकहरू नै हुन् भन्ने कुरामा विमति छैन । साथै, नेपाली शिक्षकमा विद्यमान कमी–कमजोरीका कारण नागरिकको गुणस्तरीय शिक्षा पाउने हक कुण्ठित भएको छ भन्ने कुरामा पनि दुईमत छैन । यति भन्दाभन्दै पनि शिक्षकले मात्रै समग्र शिक्षा सुधार्न भने संभव हुँदैन । विद्यालय शिक्षा सुध्रिन समग्र शिक्षा–प्रशासन सुध्रिनुपर्छ, सरोकारवालाहरू सचेत र सक्रिय हुनुपर्छ र शिक्षकलाई पढाउने शिक्षकहरू पनि सुध्रिनुपर्छ ।

शिक्षक सुध्रिनुको अर्थ—  उनीहरू योग्य, उत्प्रेरित, अध्ययनशील अनि गतिशील हुनु हो । शिक्षकलाई उत्प्रेरित बनाउन उनीहरूले पाउने सेवासुविधा, वृत्ति–विकासका अवसरलगायत नीति, पद्धति तथा समग्र सामाजिक वातावरणले समेत प्रभाव पार्दछ । तर विद्यालय तहका शिक्षकलाई योग्य र अध्ययनशील बनाउने दायित्व खासमा उनीहरूका गुरु अर्थात् शिक्षक उत्पादन गर्ने विश्वविद्यालयका प्राध्यापकको हुन्छ । विद्वान र व्यक्तित्वशाली प्राध्यापकहरूको संसर्गले नै उनका चेलामा विषयवस्तु, चिन्तन पद्धति एवं जीवन दृष्टिकोणमा बदलाव आउने हो । यसरी योग्य प्राध्यापकको सामीप्यतामा निर्मित शिक्षकले मात्रै विद्यालय शिक्षामा क्रान्ति ल्याउन सक्छन् । अर्थात् विश्वविद्यालयका प्राध्यापकको योग्यता, पेशाप्रतिको निष्ठा, ज्ञान साधनाको गहिराइलगायत उनीहरूको समग्र व्यक्तित्वले विद्यार्थी अर्थात् भविष्यका शिक्षकमा धेरै प्रभाव पार्छ ।

यदि विश्वविद्यालयका प्राध्यापकहरूले नै आफ्ना विद्यार्थीलाई राम्रोसँग पठनपाठन गर्न सकेनन्, शिक्षण–अनुसन्धान र अनुसन्धानलाई शिक्षणसँग जोड्ने ज्ञान, सीप र कला दिन सकेनन् भने विश्वविद्यालयले नै योग्य शिक्षक उत्पादन गर्न नसकेको ठहर्छ । अझै मिहिन रूपमा भन्नुपर्दा देशलाई चाहिने उच्च पेशागत निष्ठासहितका शिक्षक उत्पादन गर्ने दायित्व प्राध्यापकहरूको हो । त्यसमा पनि प्रमुख दायित्व विश्वविद्यालयको शिक्षाशास्त्र संकायका प्राध्यापकहरूको हो । यस आधारमा हेर्दा अहिले चलेको सुधार अभियानको नारा ‘शिक्षकले चाहे’ होइन ‘प्राध्यापकले चाहे गर्न सक्छन्’ राख्नु बढी सान्दर्भिक र उपयुक्त हुने देखिन्छ ।

हाम्रा विद्यालय तहका शिक्षकको मुख्य समस्या ‘मूल्य’ अथवा संस्कारगत हो । आफ्नो पेशाप्रतिको निष्ठाको समस्या हो । जवाफदेही र इमानदारीको समस्या हो । प्राध्यापकले आफ्ना शिष्य अर्थात् भविष्यका शिक्षकलाई दिने सबभन्दा महत्वपूर्ण दीक्षा भनेको पनि खासमा प्राज्ञिक ‘मूल्य’ र ‘संस्कार’ नै हो । प्राध्यापकको प्राज्ञिक संसार भनेको पनि आफ्नो पेशाप्रतिको निष्ठा, समर्पण र जवाफदेही नै हो । यस प्रसंगमा हाम्रा विश्वविद्यालयका प्राध्यापकहरूले आफ्ना शिष्य अर्थात् भविष्यका शिक्षकमा यस्तो संस्कार निर्माण गर्न कति योगदान दिएका छन् अथवा निर्माण गर्न मिहिनेत गरेका छन् भन्ने सवाल उठ्ने गर्छ ।

विद्यालय शिक्षकको दोस्रो समस्या भनेको विषयवस्तु तथा शिक्षण विधि–पद्धति सम्बन्धी ज्ञान र सीपको अभाव हो । त्यस्तै, आफूमा रहेको ज्ञान तथा सीप शिक्षण सिकाइ प्रक्रियामा प्रयोग गरी विद्यार्थीको ज्ञान र सीप वृद्धि गर्ने जाँगरको समस्या पनि हो । विषयवस्तुको ज्ञानका लागि अध्ययनशील संस्कार एवं स्वभावको विकास भएको हुनुपर्छ । शिक्षकहरूमा अध्ययन संस्कारको विकास विश्वविद्यालयको शिक्षाका क्रममा नै हुने हो । त्यस्तो संस्कार देखेर र अनुभव गरेर सिकिने हो । विश्वविद्यालयमा छँदा आफ्ना गुरुहरूबाट अध्ययनशीलताको असल संस्कार सिकेर शिक्षण पेशामा प्रवेश गरेका शिक्षकहरू अल्छी र गैरजिम्मवार हुनै सक्दैनन् । आज आम शिक्षकमाथि लगाइँदै आएको यो आरोप कतै विश्वविद्यालयका प्राध्यापककै कमीकमजोरीका कारण विद्यालय शिक्षकतिर सरेको त होइन ? प्रश्न गर्ने ठाउँ छ ।

अध्ययन, अनुसन्धान र विषय विज्ञताले खारिएर अनि कठोर प्रतिस्पर्धाबाट प्राध्यापक भएका गुरुहरूबाट दीक्षित शिष्यले गर्ने शैक्षिक व्यवहार नै भिन्नै हुन्छ । तर विद्यालय तहमा जस्तै सेवा प्रवेशको प्रक्रिया विश्वविद्यालयहरूमा समेत अस्तव्यस्त र कमजोर बन्दै जाँदा त्यसको असर प्राध्यापकको योग्यता र नैतिकतामा पनि पर्न जान्छ । जब बहुसंख्यक प्राध्यापक नै नियमित पढाउँदैनन्, स्वअध्ययन, अनुसन्धानमा लाग्दैनन्, बरू अन्तै लाभका क्षेत्रतिर लहसिने गर्छन्, त्यस्तो अवस्थामा स्वयं विश्वविद्यालयको गुणस्तर पनि कायम रहन सक्दैन ।

शिक्षकहरूलाई आत्मप्रेरित स्वअध्ययनतिर आकर्षित गर्नु एउटा चुनौतीपूर्ण कार्य हो । यसनिम्ति विश्वविद्यालयका गुरुहरू नमूना बन्न सके मात्रै चेला शिक्षकहरू स्वाध्ययनतिर प्रेरित हुन सक्छन् । तर, लाए-अह्राएको काम मात्र गर्ने, दाताले चाहे अनुसार फाट्टफुट्ट औसत तहको अनुसन्धान गर्ने, वर्षौंसम्म एउटा पनि अनुसन्धान अथवा अनुसन्धानमूलक लेख नलेखेर कपाल फुलाउने गुरु अर्थात् प्राध्यापक नमूना ठहरिन सक्दैनन् । जुन प्राध्यापकले वर्षभरिमा एउटा पनि नयाँ प्राज्ञिक लेख अथवा सामान्य चिन्तन समेत गर्दैन, त्यस्ता प्राध्यापकबाट उनका शिष्यले प्रेरणा लिने अवस्था नै बन्दैन । ‘कपी पेष्ट’ गरेर डाक्टर र प्राध्यापक हुने गुरुहरूको त प्रसंगै बेग्लै हुन्छ । खेताला लगाएर प्राध्यापक, डाक्टर हुने गुरुहरू भए त विश्वविद्यालयको झ्न् बेहाल हुन्छ । यसरी गतिला शिक्षक उत्पादन गर्ने स्वयं विश्वविद्यालयकै बेहाल हुँदा त्यसको असर सोझै विद्यालय प्रवेश गर्ने शिक्षकमा पर्न जान्छ ।

विश्वविद्यालयका प्राध्यापकको दायित्व शिक्षणका अतिरिक्त नेपालका समसामयिक विषयमा घोत्लिनु पनि हो । समाजमा बौद्धिक हस्तक्षेप गर्नु पनि हो । शिक्षाका महत्वपूर्ण विषयको विश्लेषण घटनामा मात्रै आधारित नभई सिद्धान्तको जगमा बसेर गर्ने तागत एउटा प्राध्यापकले राख्नुपर्ने हुन्छ । जोखिम मोलेर सत्य बोल्ने सार्वजनिक बौद्धिक जमात विश्वविद्यालयभित्र देखेका विद्यार्थीबाट नै देशको शिक्षाका सवालमा समीक्षात्मक दृष्टि राख्न सक्ने भावी शिक्षक निर्माण हुनसक्छन् । यसो हुन सक्दा नै प्राध्यापकले साधना गरेको ज्ञान समाजका लागि उपयोगी बन्न सक्छ । शिक्षालाई एकपाखे रूपमा मात्रै हैन समग्रतामा पनि हेर्नुपर्ने हुन्छ । यस्तो दृष्टिकोण आफ्ना शिष्य अर्थात् भविष्यका शिक्षकलाई दिने दायित्व पनि प्राध्यापककै हो ।

विश्वविद्यालयमा सेवा प्रवेशका प्रारम्भिक वर्षमा तयार पारिएका ‘नोट’ पुनर्वाचन गरेर दशौं वर्षसम्म विताउने प्राध्यापक भए भने कक्षाकोठाभित्र ‘पाठ्यपुस्तक वाचन’ गरेर घण्टी कटाउने शिक्षक निर्माण हुन्छन् । यताका दिनमा गुगलबाट डाउनलोड गरेर विद्यार्थीलाई पेन ड्राइभमा ‘नोट’ मात्रै दिने प्राध्यापकले विद्यार्थीलाई ‘होमवर्क’ मात्रै दिने शिक्षक निर्माण गरिरहेका हुन्छन् । विश्वविद्यालयको शिक्षा उत्साहजनक नहुँदा आफ्नो विषयमा अध्ययन–अनुसन्धानको त कुरै छोडौं, आफ्नो कक्षालाई अलिकति सृजनात्मक र कलात्मक बनाउने जाँगर समेत नभएका शिक्षक उत्पादन हुन्छन् ।

कुनै पनि विश्वविद्यालयमा थेसिस किनेर अथवा खेताला लगाएर पीएचडी गर्ने अथवा खुकुला विश्वविद्यालयबाट सजिलै पीएचडी पड्काउने प्राध्यापक हुनु भनेको त्यहाँबाट परीक्षामा विद्यार्थीलाई चिट चोराउने अनि सेवा आयोगका परीक्षामा आफैं चिट चोर्ने शिक्षक उत्पादन हुनु हो । सरकारी कार्यालय, एनजिओ-आईएनजिओ, दातृसंस्थामा कार्यरतलाई अति सजिलै विद्यावारिधि गराइदिने, खेताला लेखक बनेर थेसिस बनाइदिने, अत्यन्त निम्नस्तरको थेसिस लेखाइलाई अथवा आफू कार्यरत परियोजनाको प्रतिवेदनलाई नै थेसिसको रूपमा रातारात अवार्ड गरिदिने, गुपचूप थेसिस डिफेन्सको आयोजना गर्ने अथवा प्रतिप्रश्नै नगर्ने, प्रश्न गर्नै नदिई थेसिस पास गराउने स्वभावका प्राध्यापकहरूबाट दीक्षित शिष्यहरू शिक्षक सेवा प्रवेश गरेपछि ‘गफाडी शिक्षक’ बन्नु अनौठो हुँदैन । आफ्नो अध्ययन अनुसन्धानको साधनाबाट स्थानीय ज्ञानको दस्तावेजीकरण र त्यसलाई सैद्धान्तीकरण गर्ने प्राध्यापक भए मात्रै शिक्षण सिकाइका क्रममा देखापरेका समस्यामा कार्यमूलक अनुसन्धान गर्न सक्षम र प्रभावकारी शिक्षक उत्पादन हुनसक्छन् ।

यसरी, विद्यालय तहका शिक्षक तयार गर्ने प्रमुख भूमिका विश्वविद्यालयका प्राध्यापकहरूको नै भएकाले नेपालको शिक्षा सुधार्न सर्वप्रथम प्राध्यापकले नै चाहनुपर्छ; साथसाथै उनीहरू निष्ठापूर्वक आफू कार्यरत विश्वविद्यालयको गुणस्तर सुधार्न पनि लाग्नुपर्छ । एउटा सक्षम व्यक्ति निर्माण गर्न विभिन्न पक्षको भूमिका हुन्छ । उभित्र रहेका सम्भावनाहरूलाई उजागर गर्न विभिन्न बाहिरी पक्षहरूको सहयोग आवश्यक हुन्छ । यो सन्दर्भमा नेपालका विद्यालय शिक्षक र भावी शिक्षक अर्थात् हाल विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेजहरूमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न र उनीहरूलाई सुयोग्य बनाउन स्वयं विश्वविद्यालयका प्राध्यापकहरू नै अघि सर्नुपर्छ । आफ्ना शिष्यलाई कुनै पनि हालतमा योग्य बनाउने दायित्व प्राध्यापकको नै हो, अरू कसैको होइन ।

प्राध्यापकको भूमिका विश्वविद्यालयका कक्षाकोठामा मात्रै सीमित हुँदैन । मानव सभ्यताको पछिल्लो कालखण्डको समीक्षा गर्दा विश्वविद्यालयका प्राध्यापकलाई शिक्षा मात्र नभएर समग्र समाज सुधारकै अगुवा मान्नुपर्ने हुन्छ । ग्रीक दार्शनिक सुकरातदेखि वैज्ञानकि आइन्स्टाइनसम्म प्राध्यापक नै थिए । प्राध्यापक अथवा अन्तरमनबाटै स्वतन्त्र अनुसन्धान कर्म तथा ज्ञान साधनामा लागेका प्राज्ञहरूको सेरोफेरोमै मानव जातिको बौद्धिक साहित्य घुमेको छ । मानव जातिका पछिल्ला महत्वपूर्ण दर्शन तथा बौद्धिक बहस र आन्दोलन तथा क्रान्तिपछिको विकास अभियानमा अपवाद बाहेक विद्यालय तहका शिक्षकभन्दा प्राध्यापक, स्वतन्त्र चिन्तक तथा ‘थिङ्क ट्याङ्क’ हरूको ज्यादा योगदान रहेको पाइन्छ । राजनीतिकर्मी, दल र अभियन्तालाई ज्ञान, नयाँ तथ्यसहितको नवीन दृष्टिकोण प्रदान गर्दै बाटो देखाउनु नै योग्य प्राध्यापकको सार्वकालिक भूमिका हो ।

कुनै देशको विद्यालयका शिक्षक अथवा शिक्षा कस्तो छ भन्ने बुझन त्यो देशको विश्वविद्यालय तथा त्यहाँका प्राध्यापक कस्ता छन् भन्ने बुझनुपर्छ । आज हाम्रो समाज कस्तो छ भन्ने हेर्ने ऐना भनेकै हाम्रा विश्वविद्यालय, प्राध्यापक र तिनका योगदान हुन् । खासमा विद्यालय तहका शिक्षकहरू विश्वविद्यालयकै उत्पादन हुन् । हाम्रा शिक्षक योग्य र जवाफदेही छैनन् भने; तिनलाई त्यो संस्कार र अयोग्यता हाम्रै विश्वविद्यालयले दिएको हो । त्यसैले; विद्यालय तहका शिक्षकहरू भन्दा पहिले; विश्वविद्यालयका प्राध्यापक सुध्रे हाम्रो विद्यालय शिक्षा अनि देश सुध्रिन सक्ने देखिन्छ । अर्थात् शिक्षकले चाहे हैन; प्राध्यापकले चाहेमा मात्रै नेपालको शिक्षा लगायत समग्र सामाजिक रूपान्तरण संभव छ ।

Related Posts

/*sign up form*/