गतिलो प्रअ पायो, सुधारको बाटोमा लाग्यो

by • • Homepage Mosaic, आवरणComments (0)4635

Print Friendly, PDF & Email

 

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले भौतिक तथा शैक्षिक व्यवस्थापन, शैक्षिक तथ्यांक तथा उपलब्धि, जनशक्ति व्यवस्थापन र विकास, आर्थिक व्यवस्थापन, अतिरिक्त क्रियाकलाप, सरोकारवालाको विद्यालयप्रतिको धारणा जस्ता १६८ वटा सूचकका आधारमा २०७३ वैशाखमा गरेको मूल्यांकनमा ७७.७३ प्रतिशत अंक पाएर झपाको एउटा ‘उत्कृष्ट सामुदायिक विद्यालय’ बन्न सफल आदर्श उमावि, मेची नगरपालिका–१३ मा पर्ने आयाबारीमा अवस्थित छ ।_MG_0691 - Copy

२०६८ सालमा यो विद्यालयको एसएलसी नतीजा १७ प्रतिशत थियो । त्यसै वर्ष प्रअको जिम्मेबारी ग्रहण गरेका हेमकुमार खड्काको अगुवाइमा शिक्षकहरूको टीमले अर्को वर्ष एसएलसी नतीजा शतप्रतिशत वृद्धि गराएरै छाड्ने सामूहिक प्रतिबद्धता जनायो । र, २०६९ सालमा ३२ प्रतिशत विद्यार्थी पास गराएर उनीहरू लक्ष्यको नजिक पनि पुगे । त्यसपछिका वर्षहरूमा आदर्श उमाविको एसएलसीको उत्तीर्ण प्रतिशत निरन्तर बढ्दै गयो– २०७० मा ३३ र २०७१ मा ४५ प्रतिशतसम्म । २०७२ देखि लागू गरिएको गे्रडिङ परीक्षामा सामेल ७४ जनामध्ये तीन जना ‘ए’, दुई जना ‘बी प्लस’, १२ जना ‘बी’, ३२ जना ‘सी प्लस’ र २३ जना ‘सी’ ग्रेडसहित एसएलसी पार गरेका छन् । ‘डी प्लस र डी ल्याउने १/१ जना छन् । हाल यो विद्यालयमा ११ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । परीक्षाफल तथा सिकाइ उपलब्धिका दृष्टिले यो विद्यालय अहिले नै ‘आदर्श’ अवस्थामा पुगिसकेको छैन । तर विगत पाँच वर्षयताको सुधारको रफ्तारले आशावादी हुने आधार यसले पर्याप्त मात्रामा सिर्जना गरेको छ ।

माथिल्लो तहका विद्यार्थीका लागि अतिरिक्त कक्षा र समय मिलाएर एसएलसीको नतीजा सुधारका लागि जोड गर्दै गर्दा तल्लो तहमा झ्न् बढी बल गर्नुपर्ने सोचका साथ प्रअ खड्काको टोली अघि बढेको पाइन्छ । यहाँ १ देखि ३ कक्षासम्म पूर्णरूपमा ग्रेड शिक्षण शुरू गरिएको छ । यसो गर्दा विद्यार्थीको सिकाइमा प्रगति भएको छ । पाँच वर्षअघि थालिएको ग्रेड शिक्षण (ग्रेड टिचिङ) मा पढेका १ कक्षाका विद्यार्थी अहिले ५ कक्षामा पुगेका छन् । शैक्षिक सत्र २०७२ को सिकाइ उपलब्धि हेर्दा; ६ देखि १० कक्षाका विद्यार्थीको भन्दा १ देखि ५ कक्षाका विद्यार्थीको सिकाइ उपलब्धि १३ प्रतिशतले बढी छ ।

कक्षा ३ देखि ५ सम्म चाहिं अर्धग्रेड शिक्षण व्यवस्था लागू गरिएको छ । यस अनुसार एक जना शिक्षकले दुई पिरियड पढाउँछन् । जस्तो, विज्ञान र गणित एकैजना शिक्षकले पढाउँदा गणितलाई बढी जोड दिनुपर्ने भएमा डेढ पिरियड वा दुवै पिरियड गणित सिकाउन सक्छन् ।

खुशी पहिलो शर्त

प्रअ हेमकुमार खड्काको बुझाइमा ‘बालबालिकाको सिकाइका निम्ति सबभन्दा ठूलो कुरा भनेको नानीहरूलाई जसरी हुन्छ खुशी बनाउनु रहेछ ! मनैदेखि खुशी भएका विद्यार्थीले सजिलै सिक्न सक्ने रहेछन् ।’ अमेरिकाका केही विद्यालय घुम्ने क्रममा कक्षाकोठामा शिक्षककै सामुन्ने बालबालिकाले खाजा खाएको देख्दा उनलाई अनौठो लागेको थियो । “त्यहाँ न शिक्षकले उनीहरूलाई गाली गर्थे न त केटाकेटीहरूमा शिक्षकले केही गर्लान् भन्ने डर थियो” खड्का भन्छन्, “हाम्रो विद्यालयमा पनि अब कक्षाकोठामा भएको धाराबाट शिक्षककै अगाडि केटाकेटीले पानी चाहिं पिउन सक्छन् ।” पानीको यो सुविधाले गर्दा गर्मीको हपहपीमा तिर्खा रोकेर कहिले घण्टी बज्ला र पानी पिउन पाइएला भनेर विद्यार्थीले कुरिरहनु पर्दैन ।

त्यस्तै; केही विद्यार्थीले हप्तामा केही दिन आफ्नो सेक्सन अनुसार सर्ट लगाउने इच्छा राखे । उनीहरूको इच्छा पूरा भयो । अहिले ब्लु, ग्रीन र एल्लो सेक्सनले आ–आफ्नो रंगका अर्थात् क्रमशः नीलो, हरियो र पहेंलो रंगका सर्ट लगाउँछन् । त्यसमा पनि सबैलाई बाध्य बनाइएको छैन, आफू अनुकूल गर्न सक्छन् । हेडटिचर र विद्यार्थीको सम्बन्ध आत्मीय छ । स–साना नानीहरू समेत ‘हेड सर’ भन्दै निर्धक्कसँग हात मिलाउँछन् । खुशी बनाउने प्रयास गर्दा नानीहरूले जिम्मेवारी बोध गरेको प्रअ खड्काको बुझाइ छ ।

यो विद्यालयमा सदन अनुसारको फूलबारी छ । केटाकेटीले बिरुवा उखेल्लान्, बगैंचा बिगार्लान् भनेर छेकबार लगाउने विकल्प बारे पनि कुरा भयो शिक्षकबीच । तर रेखदेखका लागि सदन अनुसार विद्यार्थीलाई नै जिम्मेवारी दिएपछि छेकबारको त के कुरा, नयाँ बिरुवा लगाउनु पर्‍यो भनेर अहिले विद्यार्थीहरू आफैं त्यसको व्यवस्थापन गर्छन् ।

विद्यार्थी सँगै शिक्षकलाई पनि खुशी राख्नुपर्ने तथ्य बोध गर्न प्रअ खड्कालाई धेरै समय लागेन । शिक्षकलाई खुशी पार्न कुनै बजेट नै पनि चाहिंदैनथ्यो । वचनको कदर गर्दै सरसल्लाह र निर्णय प्रक्रियामा समावेश गराउँदै जाँदा शिक्षकहरू सन्तुष्ट र खुशी भइहाल्नेथिए । प्रअ खड्काले गरे पनि त्यस्तै । उनी भन्छन्, “अघिल्लो वर्षको समीक्षा गर्दै आगामी वर्षमा के गर्ने भनेर शैक्षिक सत्रको शुरूमा शिक्षकहरूसँग छलफल गर्छु ।” नयाँ शैक्षिक सत्रमा कोही नयाँ शिक्षक आएका हुन्छन्, कोही अवकाश लिने बेलाका । ती शिक्षकहरू पनि विभिन्न तह, क्षमता र उमेरका हुन्छन् । यस्ता सबै कुरालाई ध्यानमा राखी जिम्मेवारी बाँडफाँड (जस्तो आईसीटी विभाग, बचत खाता विभाग, अतिरिक्त क्रियाकलाप विभाग, मनोपरामर्श विभाग) गरिदिंदा शिक्षकहरू खुशी हुने गरेको खड्काको अनुभव छ ।

नयाँनयाँ प्रयोग

यो विद्यालयमा निजी स्रोतका शिक्षकलाई पनि पोशाकका लागि रकम दिने गरिएको छ भने १ देखि ३ कक्षासम्म पढाउने ग्रेड शिक्षकहरूलाई ‘इन्सेन्टिभ’ को व्यवस्था गरिएको छ । उपल्ला कक्षाका शिक्षकहरूलाई भने वर्षको एकपटक अवलोकन भ्रमणको व्यवस्था मिलाइएको छ । अर्को विद्यालयमा गएर केही सिक्ने र शिक्षकहरू ‘फ्रेस’ पनि हुने हुँदा यस्ता भ्रमणबाट फाइदा विद्यालयलाई नै हुने प्रअ खड्काको विश्वास छ ।

यति मात्र होइन, शिक्षकमा सकारात्मक सोचको विकास होस् भनेर उनी बेलाबेलामा यस सम्बन्धी तालीमको व्यवस्था मिलाउँछन् । “नानीहरू जान्दैनन् भनेर गाली गर्नुभन्दा किन जानेनन्, कतै हामी शिक्षकका कारण त होइन” भनेर त्यसको कारण पत्ता लगाउने प्रयास गर्छन् । यस विद्यालयका सबै शिक्षकले गिजुभाईको दिवास्वप्न पढेका छन् । कहीं राम्रो कुरा देखेमा ‘यसो गरौं हो साथी हो !’ भनेर खड्का शिक्षकहरूमाझ् आफैं अग्रसर भएर छलफल चलाउँछन् । “निर्णय प्रक्रियामा सबैको सहभागिता हुँदा अपनत्व बढ्ने रहेछ” भन्दै आफ्नो अनुभव सुनाउँछन् सहायक प्रधानाध्यापक हिमेन्द्र निरौला । उनको भनाइमा स्कूलमा १०–४ बजेसम्म पूरा समय पढाइ हुन थालेपछि विद्यार्थी भाग्ने समस्या आफैं हल भएको छ । विद्यालयमा हुँदै गएको सुधारले रिटायर्ड हुन लागेका शिक्षकमा पनि ‘अब कहाँ सकिन्छ’ को साटो थप चुनौती सामना गर्ने जोश पलाएको पाइन्छ ।

नियमित पढाइ हुनु र कुनै शिक्षकले पनि विद्यार्थीलाई ठूलोस्वरमा नहप्काउनु नै यो विद्यालयको सबभन्दा ठूलो गुण जस्तो लाग्छ व्यवस्थापन समितिकी सदस्य माया श्रेष्ठलाई । विद्यालय सुधारका लागि रातदिन खट्ने हुँदा प्रअ खड्कालाई व्यवस्थापन समितिले हरतरहले सहयोग गरेको छ । केही वर्षअघिसम्म विद्यालयको वार्षिक कार्यक्रममा १५-१६ जना अभिभावक उपस्थित हुन्थे, तर अहिले तीन-चार सय अभिभावक उपस्थित हुन थालेका छन् । तल्लोदेखि माथिल्लो कक्षाका हरेक विद्यार्थीको सिकाइबारे अभिभावकलाई जानकारी गराउन व्यक्तिगत फाइल राख्ने र हरेक त्रैमासिक परीक्षामा अभिभावकलाई बोलाएर छलफल गर्ने परिपाटी बसालिएको छ । यसले पनि विद्यालयप्रति अभिभावकको लगाव बढाउन मद्दत पुर्‍याएको देखिन्छ ।

‘विद्यालय कसरी राम्रो बनाउन सकिन्छ’ भन्ने अनुभव सुनाउन झपाका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेल प्रायः सबैजसो प्रअ भेलामा खड्कालाई साथमा लिएर जाने गर्छन् । जिशिअ लुइँटेल भन्छन्, “प्रअ खड्का विद्यालय बनाउँछु भनेर लगनशील भई लागेको र टीम परिचालन गर्न सक्ने भएकोले नै आदर्श उमावि चार वर्षको अन्तरालमा उल्लेख्य परिवर्तन गर्दै नाम जस्तै ‘आदर्श’ बनेको हो ।” राम्रो गर्नासाथ सबैले साथ दिने बताउने जिशिअ लुइँटेल स्रोत नभएर केही गर्न सकिंदैन भन्नु बहाना मात्र भएको ठान्छन् ।_mg_0739

मनकारीको छैन खाँचो

भौतिक सामग्री कसरी जुटाउने, आर्थिक स्रोतका लागि कहाँ कस्तो पहल गर्ने, विद्यालय सुधार योजना कार्यान्वयनका लागि के गर्ने भन्नेमा आदर्श उमाविका प्रधानाध्यापक हेमकुमार खड्का स्पष्ट छन् । प्रायः सामुदायिक विद्यालयहरू झैं आदर्श उमाविले पनि सरकारी निकाय, गैरसरकारी संस्था, नेता र अभिभावकमार्फत आर्थिक तथा भौतिक सहयोग जुटाउने गरेको छ । यसबाहेक, प्रअ खड्काले विद्यालय या यसको आसपासमा हुने सामाजिक र शैक्षिक प्रकृतिका कार्यक्रमलाई पनि स्रोतका रूपमा उपयोग गर्ने गरेका छन् । उदाहरणका निम्ति; यौन तथा प्रजनन स्वास्थ्य, ट्राफिक नियम, जनस्वास्थ्य शिक्षा जस्ता कार्यक्रम संचालन गर्न आउने संस्थालाई अनुमति दिंदा ‘मायाको चिनो’ को नाममा विद्यालयलाई उपयोगी जिन्सी सहयोग दिनै पर्ने नियम लागू गरेका छन् । परिणामतः कसैले खेल सामग्री, कसैले घडी, कसैले विद्यार्थीका लागि जुकाको औषधि जस्ता सामान दिने गरेका छन् ।

उनी आफूले थाहा पाएका नयाँ नयाँ विचार शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूलाई सुनाउँछन् र त्यसबारे छलफल गराउँछन् । पाँच वर्ष प्रअ भएर काम गर्दाको अनुभव सुनाउँदै खड्का भन्छन्, “स्कूलमा सबै कुरा हेडसरले मात्रै गर्ने हुँदै होइन, यो सम्भव पनि छैन । तर विद्यालयलाई राम्रो बनाउन आफ्नो टीममा कसरी मनोबल र उत्साह जगाउन सकिन्छ भन्ने सोच चाहिं प्रधानाध्यापकमा हुनैपर्छ । विद्यालयमा आउने स्रोतको सदुपयोग गरिएमा मात्रै पनि प्रअलाई सबैले विश्वास गर्दा रहेछन् ।”

आदर्श उच्च माविमा अहिले १ देखि ३ कक्षाका विद्यार्थीका लागि छुट्टै नयाँ भवन बन्दैछ । जहाँ ‘एट्याच’ शौचालय बनाइनेछ, केटाकेटीलाई टाढासम्म जान नपरोस् भनेर । ६० जना जति अटाउने एउटै कक्षाकोठा तयार हुँदैछ । त्यहाँ राउण्ड टेबल राखिनेछ जहाँ टेलिभिजनका साथै शैक्षिक सामग्री हरेर विद्यार्थीहरू रमाउँदै सिक्न सक्छन् । त्यस्ता सामग्री खोजेर देखाउने प्रअ खड्काको योजना छ ।

यसैगरी सबै कक्षाकोठामा साउन्ड सिस्टमको व्यवस्था गर्ने उनको सपना छ ताकि कुनै कक्षा खाली भए अफिसबाटै त्यहाँ राम्रा कविता सुनाउन सकियोस् । अर्को कक्षामा देशका पर्यटकीय तथा धार्मिक स्थलबारे जानकारी दिने ‘डकुमेन्ट्री’ तत्काल प्रदर्शन गर्न सकियोस् । यस्ता सुविधा र उपकरणको प्रयोग कक्षामा महत्तवपूर्ण वा आकस्मिक सूचना दिनु पर्दा झ्नै महत्तवपूर्ण हुनजान्छन् । यसका लागि उनले जिल्लाका केही सांसद्सँग कुरा पनि गरिसकेका छन् । यो सपना पूरा हुनेमा उनी आशावादी छन् ।

साना बालबालिकाका लागि नयाँ भवन, शिक्षकका लागि नयाँ कार्यकक्ष निर्माण जस्ता कार्य हेर्दा जसरी यो विद्यालय भौतिक सुधारमा जुटिरहेको देखिन्छ, त्योभन्दा पनि लोभलाग्दो पक्ष चाहिं यस विद्यालयको बालमैत्री वातावरण हो, जुन यहाँ प्रवेश गर्ने वित्तिकै सजिलै महसूस गर्न सकिन्छ । सामान्यतया धेरैजसो विद्यालयमा हेडसर भन्नेबित्तिकै विद्यार्थी डराउँछन् । कति विद्यालयमा त ‘हेडसरकहाँ लैजाऊँ ?’ भनेर उनीहरूलाई तर्साउने समेत गरिन्छ । तर आदर्श उच्च माविमा साना साना नानीहरू प्रधानाध्यापक र अरू शिक्षकहरूसँग नडराइकन रमाउँदै हात मिलाउँछन् । कक्षाकोठामा रहेको धाराबाट पानी पिउँछन् र चिसो हातले अनुहार भिजाउँछन् अनि कक्षाकोठामै भएको ऐना हेर्छन् । शिक्षकसँग हात मिलाउँदा वा कक्षाकोठामै पानी पिउँदा बदमास वा चकचके भनेर उनीहरूले शिक्षकबाट गाली र पिटाइ खानुपर्दैन ।

आदर्श उमावि, आयाबारीका कुनै पनि कक्षाकोठामा लौरो भेटिंदैन । शिक्षक भएकै बेलामा कक्षाकोठामा पसेर विद्यार्थीसँग कुरा गर्दा उनीहरू आफ्ना कुरा नडराइकन राख्छन् अनि मज्जाले हाँस्ने गर्छन् । शिक्षकहरू विद्यार्थीलाई सिकाइ प्रक्रियामा सहभागी गराउँदा अघिल्लो दिन पढेको कुरा ताजा गराउने, कसलाई थाहा छ भनेर सोध्नेदेखि तोकेर ‘तिमी नै भन त’ भन्दै सबै विद्यार्थीलाई पालैपालो सिकाइमा सहभागी गराउँछन् । साना कक्षाका नानीहरूलाई चित्र देखाउँदै कथा भन्दै रमाइलो वातावरणमा सिकाउँछन् । यहाँ शिक्षकहरूले विद्यार्थीलाई असहज वा लज्जाबोध हुने गरी चर्को स्वरमा बोलेको सुनिंदैन । बालबालिका शिक्षकसँग घुलमिल भए वा नजिकिए मात्र उनीहरू कक्षाकोठामा रमाउन र सिक्न सक्छन् भन्ने कुरा आदर्श उच्च माविका शिक्षकहरूले महशूस गरेको पाइन्छ; जुन आफैंमा ठूलो र अमूल्य उपलब्धि लाग्छ ।

लेख- रोश्ना सुब्बा, तस्बिर- बिनोद पाण्डे

Related Posts

/*sign up form*/