खानेकुरा किन्दा वा खाँदा यिनी कुरामा ध्यान दिनु हितकारी हुन्छ

by • • आलोपालोComments (0)724

Print Friendly, PDF & Email

आलोपालो
केदार शर्मा
के खाइरहेका छौं हामी ?
healthy-organic-foodहामीले खाने खानेकुराका दुई वटा स्रोत छन्, वनस्पति र जीवजन्तु । वनस्पतिजन्य खानेकुरामा सागसब्जी, फलफूल, गेडागुडी तथा कन्दमूल र अन्न प्रमुख छन् । जीवजन्तुजन्य खानेकुरामा दूध, मह, अण्डा र माछा–मासु प्रमुख हुन् ।
तर कसैलाई माथिको कुरा अपूरो लाग्यो र उसले खानेकुराका तीन वटा स्रोत छन्– ‘वनस्पति, जीवजन्तु र मेशीन’ भन्यो भने ऊ पनि गलत हुँदैन । प्रकृतिले हामीलाई जति किसिमका खानेकुरा दिएको छ, कलकारखानाहरूमा त्यसभन्दा पनि धेरै किसिमका खानेकुरा बन्छन् । कारखानाजन्य खानेकुराहरूको गन्ती गरेर साध्य नै हुँदैन । चाउचाउ, थरीथरीका चिप्स, चकलेट, क्यान्डी मिठाई, जूस, तयारी सूप, पाउरोटी, केक, दालमोठ, सस, चुरोट, खैनी, चिनी, पानमसला, ससेज, क्रिम, बटर … कति कति !
त्यसो त ती खानेकुराका स्रोत पनि वनस्पति र जीवजन्तु नै हुन् र कारखानाले खानेकुरा ‘बनाउने’ होइन, तिनको रूप फेर्ने मात्र हो । यसरी बनाइएका खानेकुरालाई प्रशोधित खाद्य (प्रोसेस्ड फूड) भनिन्छ । ‘खानेकुरा सकभर प्राकृतिक नै राम्रो’ ठान्ने मानिसहरू भने कारखानाले खानेकुरा ‘बनाउँछन्’ होइन, ‘बिगार्छन्’ भन्न रूचाउँछन् ।
कारखानामा बनेका खानेकुराको विरोध गर्नेहरू भन्छन्, “तिनमा प्राकृतिक रूपमा पाइने पौष्टिक पदार्थ पाइँदैन । तिनमा चिनी र चिल्लोपनको अधिकता हुन्छ र धेरै समय टिकाउनका लागि प्रयोग गरिएका प्रिजर्भेटिभहरूबाट स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ ।”
उनीहरूका थप तर्क छन्, कारखानामा प्रशोधित अथवा उत्पादित खानेकुरा वातावरणका दृष्टिबाट पनि राम्रो होइन । खानेकुरालाई प्रशोधन गर्न धेरै इन्धन, टिकाउन रासायनिक पदार्थहरू र प्याकेजिङका लागि प्लास्टिकको प्रयोग हुन्छ । सुन्तला खाएर फ्याँकेको बोक्रो केही दिनमा कुहिएर माटामा मिल्छ, ‘अरेन्ज जूस’ को प्याकेट कुहिन सयौं वर्ष लाग्छ ।

के हाल्दैछौँ हामी हाम्रो पेटमा ?
आफ्नो पेटमा कहाँ बनेको, के–के मिसिएको र फाइदा बेफाइदा के भएका के–के कुराले प्रवेश पाउँदैछन् भन्ने बारेमा हामी अर्थात् उपभोक्ता आफैं सचेत भएनौं भने हामीलाई कसैले पनि जोगाउन सक्दैन ।
त्यसैले खानेकुरा किन्दा वा खाँदा तलका कुरामा ध्यान दिनु हितकारी हुन्छ
१. लेबल पढौं फार्ममा कारखानामा उत्पादित खानेकुराका हरेक प्याकेटमा त्यसभित्र रहेको खाद्यपदार्थ बारेमा विस्तृत जानकारी हुनुपर्छ र हुन्छ । आवश्यक जानकारी नभएको खानेकुरा किनेर खान योग्य होइन भन्ने बुझनुपर्छ । बनेको र पुरानो हुने मिति, मिसाइएका वस्तु, मूल्यका साथै लेबलमा भएका सबै जानकारी पढ्ने गरौं । नबुझ्निे भाषामा लेबल भएका खानेकुरा हाम्रा लागि होइनन्; त्यस्ता खानेकुरा किन्नुहुँदैन, बेच्न पनि दिइनुहुँदैन ।
२. सकभर स्थानीय किनौं ध्यानमा राखौं, खानेकुरा जति स्थानीय हुन्छन् त्यति नै ताजा, पोषणयुक्त, स्वादिला र रासायनिक पदार्थबाट मुक्त हुन्छन् । टाढा बनेका खानेकुरा ओसार्दा ओसार्दै त्यसमा नाफाका तहहरू बढेका हुन्छन् । ती धेरै बासी या पुराना पनि भइसकेका हुन्छन् ।
३. ठिक्क किनौंः खानेकुराका साना प्याकेट महँगा र ठूला सस्ता हुन्छन् । चाहिने खानेकुराको ठूलै प्याकेट किन्दा सस्तो पर्छ । तर ताजै खपत गर्नुपर्ने खानेकुरा थोरै किनेको बेस । सक्नका लागि धेरै खानु पनि खानेकुरा नाश पार्नु मात्र हो । कतिपय खानेकुरा त ‘सक्नका लागि खानु’ भनेको आफ्नै पेटमा ‘फोहोर फ्याँक्नु’ बराबर हो ।
४. सकभर प्राकृतिक किनौं, खाऔंः मिलेसम्म प्याकेटको खानेकुरा कम खाऔं । आलुका मीठा चाना र स्वादिलो तरकारी नै पाइन्छ भने चिप्स किन खाने ? राम्रो मासु पाइन्छ भने ससेज किन खाने ? फलफूलमा पाइने अनेक पोषण, प्राकृतिक गुलियो र खाद्य फाइबर खेर फालेर बनाएको जूस किन खाने ?
५. चिल्लोसित नडराऊँः हिजोआज ‘कोलेस्टेरोल’ भन्ने शब्दको आतङ्क ठूलो छ र त्यसकै डर देखाएर धेरै किसिमका ‘चिल्लोपन मुक्त’ खानेकुरा बेचिन्छन् । तर चिल्लोपन त्यसरी डराउनुपर्ने कुरा होइन, हाम्रो शरीरलाई चाहिने कुरा हो । कतिपय भिटामिन र अन्य पौष्टिक पदार्थ त चिल्लो पदार्थमै घुलेर मात्र शरीरमा प्रवेश गर्छन् । चिल्लोपनका बारेमा सामान्य नीति यस्तो हुनु बेस हुन्छ, ‘म घिउतेल खान्छु, ठिक्क खान्छु, काम गरेर पचाउँछु ।’
६. अन्नमा भन्दा सागसब्जीमा बल गरौंः बजारमा पाइने खानेकुरामा कार्बोहाइट्रेड, चिनी र चिल्लो पदार्थको अधिकता हुन्छ । यी तीनवटा आधारभूत खानेकुरामा मरमसला र फ्लेबरहरू पनि परेपछि ती स्वादिला र अघाएको अनुभूति दिने हुन्छन् । तर तिनमा भिटामिनलगायत प्राकृतिक खानेकुरामा पाइने अनेक किसिमका पौष्टिक पदार्थ पाइँदैनन् । अन्न र अन्नबाट बनेका खानेकुरामा भन्दा सागसब्जी, फलफूल र अन्य विविधतायुक्त खानेकुरामा खर्च गर्नु सबै हिसाबले राम्रो हुन्छ ।
७. घरमा खाऔंः बाहिर खानु अर्थात् होटल रेस्टुराँमा खानु जीवनको आवश्यकतासँगै आधुनिक जीवनशैलीको अङ्ग बनेको छ । तर स्वादका लागि मात्रै घर बाहिर खाने चलन हटाउन सके घरमा स्वादिला खानेकुरा बन्ने सम्भावना बढ्छ । घरमा बिताउने समयको लम्बाइ र स्तर (क्वालिटी टाइम) बढ्छ । सस्तो पर्छ त भन्नै पर्दैन । पारिवारिक वातावरण र सद्भाव पनि बढ्छ ।
(http://commonsensehome.com मा उपलब्ध सामग्रीहरूको सन्दर्भसहित)

Related Posts

/*sign up form*/