के गर्दा पाइँदो रहेछ पुरस्कार ?

by • • असल अभ्यासComments (0)889

कुनै शिक्षक पुरस्कृत हुनु भनेको मूलतः उनले गरेका राम्रा कामको कदर हुनु हो, उनको सम्मान हुनु हो । साथै, उनको विद्यालय, त्यहाँका शिक्षक समुदाय, विद्यार्थी र अभिभावक पनि गौरवान्वित हुन पाउनु हो । आखिर, राम्रा शिक्षकले विद्यालय, विद्यार्थी र अभिभावकका लागि नै काम गरिरहेका हुन्छन्; असल अभ्यास गरिरहेका हुन्छन् ।
नेपालका अधिकांश सामुदायिक विद्यालयहरूले अपर्याप्त शिक्षक दरबन्दी, न्यून भौतिक पूर्वाधार, शैक्षिक सामग्रीको अभाव, विद्यालयप्रति अभिभावकको कमजोर अपनत्व, शिक्षक तथा विद्यार्थीको अनियमित उपस्थिति जस्ता समस्या झेलिरहेका छन् । तर पनि ‘सकेको गर्छु’ भनेर लाग्ने कतिपय प्रधानाध्यापक र शिक्षकहरूले उम्दा परिणाम निकालिरहेका छन् ।
यसै सन्दर्भमा हामीले २०७३ सालको पीपी प्रसाई शैक्षिक–पुरस्कारबाट सम्मानित हुने तीन जना शिक्षक (संयोगवश तीनै जना प्रअ) लाई शिक्षक मासिकको कार्यालयमा निम्त्याएर सोध्यौं– “तपाईंहरूका पुरस्कृत कार्य के के हुन् ? विद्यालयमा के कस्ता कार्य गर्दा एकातिर विद्यालयको पठन–पाठन राम्रो हुँदोरहेछ, अनि अर्कातिर पुरस्कार पनि पाइँदो रहेछ ?”
प्रस्तुत छ, पुरस्कृत तीनजना प्रअसँग गरिएको कुराकानीको सार संक्षेपः

टेकबहादुर विश्वकर्मा
प्रअ, जनशक्ति निमावि, पुनर्वास नपा–१४, कञ्चनपुर
आफ्ना छोराछोरी आफ्नै विद्यालयमा

जनशक्ति निमावि, कञ्चनपुरको बालउद्यान साँच्चै शीतलता प्रदान गर्ने देखिन्छ ।

जनशक्ति निमावि, कञ्चनपुरको बालउद्यान साँच्चै शीतलता प्रदान गर्ने देखिन्छ ।

आफ्ना छोराछोरी निजीमा पढाउने अनि जागिर सामुदायिक विद्यालयमा खाने भन्ने आरोप हामी सरकारी विद्यालयका शिक्षकमाथि लाग्ने गरेको छ । यो आरोप तोड्न २०६२ सालदेखि हामी सबै शिक्षकले आफ्ना छोराछोरी आफ्नै विद्यालयमा पढाउने अभियान शुरू ग¥यौं । ‘शैक्षिक सुधारका लागि पहिलो काम यो नै गर्नुपर्छ है साथी हो’ भनेर विद्यालय व्यवस्थापन समिति तथा अभिभावक र हामी शिक्षकहरूले बैठक बसेर निर्णय ग¥यौं । अहिले हामी शिक्षकका २३ जना बालबालिका यही विद्यालयमा पढ्छन् । अर्को कुरा अंगे्रजी माध्यम हो । यो समयको माग र अभिभावकको आकर्षण हो । यसैकारण केटाकेटीलाई निजी स्कूलमा लगिन्छ । समय अनुसार चल्न हामीले पनि अंग्रेजी माध्यममा शिक्षण सिकाइ शुरू ग¥यौं । अंग्रेजी र नेपाली दुवै भाषामा विद्यार्थीको दक्खल होस् भनेर पाँच कक्षा माथिका विद्यार्थीलाई अंग्रेजी, विज्ञान, स्वास्थ्य र कम्प्युटर विषय अंग्रेजी अनि बाँकी विषय नेपाली भाषामा पढाउँछौं ।

शैक्षिक क्षतिको अन्त्य
प्रायः सामुदायिक विद्यालयमा शिक्षक जतिखेर आए पनि हुने, पढाए पनि हुने, नपढाए पनि हुने, एकछिन पढाएर छिटो निस्किए पनि हुने अवस्था छ । त्यस्तै, विद्यार्थी कक्षामा कति छन्, सबै आए कि आएनन्, पूरै समय बसे कि बसेनन्, केही सिकाइयो कि सिकाइएन— यसमा पनि लापर्बाही हुने गरेको छ । यसलाई हटाउन शिक्षक समयमा आउनैपर्ने र पूरै समय विद्यालयलाई दिनै पर्ने परिपाटी बनायौं । विद्यार्थीलाई बरू खेलाएर राख्ने तर छुट्टीको समय नभई घर नपठाउने गर्न थाल्यौं । समयअघि विद्यार्थी घर जाँदा अभिभावकले पनि विद्यालय अस्तव्यस्त रहेछ भन्ठान्छन् । पहिलो घण्टीमा गएका शिक्षकले कालोपाटीको कुनामा मिति र विद्यार्थी संख्या लेख्ने र त्यसपछिका शिक्षकहरूले अघिल्लो घण्टीमा भएका विद्यार्थी कक्षामा छन् कि छैनन् हेर्ने र छैनन् भने खोजी गर्ने ग¥यौं । यसो गर्दा विद्यार्थी पनि पूरा समय विद्यालयमा बस्न थाले र शैक्षिक क्षति हुन रोकियो ।
यसैगरी, छरछिमेकका वा जिल्लाको कुनै कुनाका विद्यालयका शिक्षकको निधनमा पूरै दिन विद्यालय बिदा गर्नु पनि शैक्षिक क्षति नै हो । पाँच सय विद्यार्थी पढ्न आउँछन्, अनि एकछिन आँखा चिम्लेर शोक मनाएर तिनलाई बिदा दिएर हुन्छ र ? साँच्चै शोक मनाउने हो भने श्रद्धाञ्जली दिन जानु प¥यो । समवेदना प्रकट गर्न परिवारलाई भेट्न जाऔं वा एक दिनको पारिश्रमिक दिऔं । त्यसैले हामीले यस्तो बेला पूरै समय विद्यालय लगाएर अन्तिम घण्टीमा मौन धारण गर्न थाल्यौं । यसैगरी राजनीतिक पार्टी तथा विद्यार्थी संघ संगठनका नेताहरूलाई विद्यालय शान्ति क्षेत्र कार्यान्वयन प्रति लिखित रूपमा प्रतिबद्ध गराएका छौं । बन्द हड्तालका बेला पनि विद्यालय संचालन गर्छौं । यसरी विभिन्न कारण वा बहानामा हुने शैक्षिक क्षति अन्त्य गर्न हामी सफल भएका छौं ।

बालमैत्री वातावरण
विद्यालयमा बालमैत्री वातावरणका लागि २०६२ सालमा बालबाटिका बनाउन शुरू गर्दा कतिले त ‘पागल भयो कि क्या हो’ पनि भने । आर्थिक स्रोतको कमीले गर्दा त्यसबेला ५०० बिरुवा मात्र रोप्यौं । स्रोत कसरी जुटाउन सकिन्छ भनेर उपाय निकाल्दा बिरुवा दिनेको नाम बिरुवा अलि ठूलो भएपछि त्यसमा नेमप्लेट बनाएर लेखिदिन्छौं भन्यौं । त्यसपछि त रक्तचन्दन, पाउलोनिया जस्ता बहुमूल्य बिरुवाहरू ल्याएर रोपिदिन थाले । अहिले स्कूलको उद्यानमा फूलका बिरुवादेखि थरीथरीका जडीबुटीका बिरुवा समेत छन् । अहिले यो उद्यान बालबालिका रमाउने ठाउँ त भएको छ नै, शैक्षिक प्रयोजनका लागि समेत उपयोगी भएको छ र गर्मीका बेला शीतलता दिन्छ ।
यसैगरी विद्यालयलाई बालमैत्री बनाउने क्रममा नै चिप्लेटी, चाकाचुली, पीङ बनाउने त भन्यौं तर उही त हो पैसाको खाँचो परिहाल्यो । व्यवस्थापन समितिसँग छलफल भयो । मैले तपाईंहरू हुन्छ मात्र भन्नुहोस् गर्न सकिन्छ भनें । किताबको सुरक्षित प्रयोगका लागि झेला अनिवार्य ग¥यौं । पुस्तक जतन गर्न सिकाएर वार्षिक परीक्षाका बेला जुन दिन जे विषयको परीक्षा हुन्छ त्यो पुस्तक विद्यार्थीबाट फिर्ता लिन थाल्यौं । घरमा लगेर पुरानो किताब त फालिहाल्छन् । त्यही पुस्तक नयाँ शैक्षिक सत्रका लागि प्रयोग गर्न लगायौं । अनि नयाँ पुस्तकका लागि आएको दुई वर्षको पैसाले चिप्लेटी, चाकाचुली, पीङ बनायौं । किताबको पैसा खायौ कि क्या हो भनेर शुरूमा अभिभावकले शंका पनि गरे । तर उनीहरूकै केटाकेटीका लागि हो भन्ने विश्वास जगाउन सकेपछि सहयोग पाइयो अभिभावकबाट ।

विद्यार्थीबाट सुझव संकलन
बालबालिकाको सिकाइ राम्रो होस् भनेर ५, ६, ७ र ८ कक्षाका विद्यार्थीबाट हरेक वर्ष सुझव लिन्छौं । कुन विषय सबभन्दा राम्रोसँग पढाइ भयो वा बुझ्यिो, कुन विषय पढाएको बुझ्एिन वा गाह्रो भयो, विद्यालयमा के भइदिए राम्रो हुन्थ्यो, लेख भनेर सुझव संकलन गरिन्छ । बेनामी अर्थात् आफ्नो नामै नलेखिकन उनीहरूले सुझव दिन्छन् । यी सुझवका आधारमा राम्ररी पढाउने सिकाउने शिक्षक को हुन् भन्ने थाहा हुन्छ । कसरी राम्रो गर्न सकिन्छ भनेर उनको अनुभव अरू शिक्षकले सुन्छन् र राम्रो गर्ने काइदा सिक्न पाउँछन् । जुन शिक्षकको शिक्षण विद्यार्थीले त्यति रूचाएका हुँदैनन्, ती शिक्षकलाई पनि यसरी राम्रो गर्न सकिन्छ भनेर सुझव दिइन्छ ।

आर्थिक रूपमा आत्मनिर्भर बन्ने प्रयास
गाउँघरमा विपन्न वर्गका अभिभावक पनि छन् । किताब सरकारले दिए पनि तिनका केटाकेटी कापीकलम किन्न नसक्ने अवस्थामा हुन्छन् । त्यस्ता बालबालिकाका लागि कापीकलम उपलब्ध गराउने उद्देश्यले गएको वर्ष २५ हजार रुपैयाँ जम्मा गरी १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छु । यसमा सालाना १० हजार रुपैयाँ जम्मा गरी आठ वर्षमा १ लाख पु¥याउने सोचेको छु ।
सूचनाप्रविधिको अहिलेको युगमा कम्प्युटर इन्टरनेटसहितको शिक्षा अनिवार्य भइसकेको छ । हाम्रो विद्यालयमा जम्मा ४ वटा मात्र कम्प्युटर छन् । दरबन्दी अभाव पनि छँदैछ । थरीथरीका शिक्षक, सबै तालीमप्राप्त पनि छैनन् । यो सब व्यवस्थापनका लागि सरकारी साधनस्रोतले मात्र पुग्दैन । त्यसैले विद्यालय आर्थिक रूपले आफैं आत्मनिर्भर हुनुपर्छ भनेर मैले पौडी पोखरी (स्वीमिङ्ग पुल) निर्माण गर्ने सपना अघि सारेको छु । विद्यालयको १ विगाहा जमीन छ । १००Š५० फुटको पौडी पोखरी बनाउने काम शुरू पनि भइसकेको छ । यस्तो कामको लागि महत्वाकांक्षी योजना भनेर सजिलै बजेट पनि नपाइने रहेछ । हाललाई शिक्षा विभागबाट पाएको तीन लाख रुपैयाँबाट निर्माण कार्य शुरू गरेका छौं । बोरिङ्गबाट आउने पानी पहिला पौडी पोखरीमा प्र्रयोग गर्ने र हरेक दिन फेरेको पानी माछापोखरीमा पठाउने योजना छ । पौडीपोखरी र माछापोखरी दुवै भाडामा दिएर आर्थिक रूपमा आत्मनिर्भर बन्ने प्रयासमा हामी जुटिसकेका छौं । त्यो भेगमा कतै पौडी पोखरी नभएकोले हाम्रो पोखरी राम्रैसँग चल्ने र त्यसबाट विद्यालयलाई भरपर्दो आम्दानीको स्रोत जुट्ने विश्वास छ । विद्यालयको निम्ति एउटा गहना त थपिई नै हाल्छ ।

चूडामणि सुवेदी
प्रअ, गणेश मावि, बलेवा, बाग्लुङ
ड्रपआउट जिरो’ विद्यालय

644035_370372129704017_358549856_n
हामी हाम्रो विद्यालयलाई ‘ड्रपआउट जिरो’ विद्यालय बनाउन सफल भएका छौं । यसमा मितेरी बालक्लबको भूमिका समेत प्रशंसनीय छ । यो क्लबका विद्यार्थीहरू निकै सक्रिय छन् । उनीहरू शिक्षाको महŒवबारे सचेतना कार्यक्रम लिएर दलित बस्तीमा पुग्छन् । साथीहरू विद्यालय आएनन् भने उनीहरूलाई सम्झइ–बुझइ ल्याउँछन् । कमजोर विद्यार्थीले लेखाइ–पढाइमा सुधार गर्न सकेन भने पनि उसलाई विद्यालय आउन मन लाग्दैन । त्यसैले कमजोर वा अलि पछिपरेका विद्यार्थीका लागि हामीले सहयोगी कक्षाको पनि व्यवस्था गरेका छौं । ‘ड्रपआउट जिरो’ होस् भनेर असहाय गरीब विद्यार्थीलाई छात्रावासमा निःशुल्क राखेर पढाउने व्यवस्था पनि गरिएको छ । सहयोग र स्रोतका लागि स्थानीय र अन्तर्राष्ट्रिय दाता खोजेका छौं । विभिन्न संघसंस्थासँग समन्वय गरेर अगाडि बढेका छौं ।

विद्यार्थीकेन्द्रित सिकाइ विधि
हाम्रो विद्यालयमा ‘थ्री एस’ अर्थात् ‘स्टुडेन्ट सपोर्ट सिस्टम’ अभ्यास गरिएको छ । यसअन्तर्गत कक्षाहरूमा एकदमै जान्ने विद्यार्थी, मध्यम र कमजोर विद्यार्थीको समूह बनाइन्छ । जान्ने विद्यार्थीलाई बीचमा राखेर शैक्षिक गतिविधि गराइन्छ । सामूहिक कार्य, परियोजना कार्य र प्रस्तुति जस्ता कार्य गर्दा कमजोर विद्यार्थीले पनि सिक्न पाउँछ आफ्नै साथीबाट । विद्यार्थीहरूलाई गुगल सर्च गरेर तथ्य; विवरण खोज्न सिकाउँछौं । त्यसरी खोजेको कुरा समूहमा प्रस्तुत गर्न लगाउँछौं । हाम्रो आईसीटी हल (सूचना सञ्चार प्रविधि कक्ष) छ । त्यहाँ ४५ वटा ल्यापटप कम्प्युटर जुटाएका छौं ।
विद्यार्थीलाई अक्षर राम्रो बनाऊ भनेर मात्र हुँदैन, कसरी राम्रो बनाउनु पर्छ भनेर हामीले हस्तलेखन सम्बन्धी तालीम दिएका छौं— काठमाडांैबाट विज्ञ लगेर । त्यसनिम्ति सक्ने विद्यार्थीबाट पैसा उठायौं । नसक्ने विद्यार्थीलाई निःशुल्क व्यवस्था मिलायौं । निजी विद्यालयमा तेक्वान्दो सिकाइँदो रहेछ भनेर हाम्रा विद्यार्थीहरूले पनि सिक्न मन गरे । जिल्ला विकास खेलकुद समितिलगायत केही संस्थासँग समन्वय गरेर हामीले पनि स्कूलमा तेक्वान्दो शुुरू गरेका छौं । ७० जना विद्यार्थी तेक्वान्दो सिक्दैछन् । पेशा व्यवसाय शिक्षा अन्तर्गत विद्यार्थीलाई दुना–टपरी गाँस्न र अदुवा खेती गर्न पनि सिकाउँदैछौं ।

विद्यार्थीको नेतृत्व सीप विकास
विद्यार्थीमा नेतृत्व सीप विकास होस् भनेर विभिन्न कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने गरिएको छ । विद्यालय व्यवस्थापन समितिमा पनि विद्यार्थी प्रतिनिधि हुन्छन् । निजी स्रोेतमा शिक्षक राख्दा अवलोकन कक्षा सकिएपछि विद्यार्थीलाई शिक्षक कस्तो लाग्यो भनेर सुझव लिन्छौं । बिहान हुने प्रार्थना सभा उनीहरू आफैं चलाउँछन् । त्यहाँ कोही विद्यार्थी हाजिरजवाफ प्रतियोगिता संचालन गर्छन्, कोही ताजा समाचार सुनाउँछन्, कोही कुनै शीर्षकमा अंग्रेजीमा वक्तव्य सुनाउँछन्, कोही ऊर्जाशील वा प्रेरक खालका कोटेशन सुनाउँछन् । त्यसैले पनि हाम्रा विद्यार्थी जिल्ला वा क्षेत्रगत रूपमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा अगाडि छन् ।
त्यसैगरी, जुनियर रेडक्रस सर्कलमा पनि विद्यार्थीलाई सक्रिय बनाएका छौं । केहीसमय अघि मात्र नौ कक्षाका एक विद्यार्थीको घरमा आगलागी भयो । उनीहरू नै सक्रिय भएर सहयोग तथा राहत संकलन गरी वितरण गरे । एकअर्कामा सहयोग गर्नुपर्दो रहेछ भनेर उनीहरूले सिके ।

अभिभावकको सक्रियता
अभिभावक सक्रिय भए मात्र विद्यालयप्रति उनीहरूले अपनत्व महसूस गर्न सक्छन् । आफ्ना केटाकेटीले के सिके, कति लेखे, कहाँ, गल्ती गरे अब अभिभावकले कसरी सहयोग गर्न सक्छन् भनेर उनीहरूलाई विद्यार्थीको व्यक्तिगत फाइल हेर्न विद्यालयमा बोलाउँछौं । प्रत्येक विद्यार्थीको छुट्टाछुट्टै व्यक्तिगत फाइल बनाइएको हुन्छ । त्यहाँ हरेक परीक्षाको उत्तरपुस्तिका राखिन्छ । यसैगरी अभिभावकले कक्षा अवलोकन गर्ने व्यवस्था पनि मिलाइएको छ । पढाइमा बाधा नपुग्ने गरी उनीहरू कक्षाकोठा हेर्न सक्छन् । अवलोकनपश्चात आफ्नो सुझव हामीलाई दिन्छन् ।
अभिभावककै सहयोगका कारण विद्यालयलाई तयारी खाना (जंक फूड) निषेधित क्षेत्र बनाउन सकिएको छ । अभिभावक र अन्य सरोकारवालाबीच छलफल गरी विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्वयन गरेका छौं । कुनै पनि राजनीतिक पार्टी, तिनका भ्रातृ संगठन वा जनजाति पार्टीले गरेका बन्दका बेला हाम्रो विद्यालय खुला हुन्छ । विद्यालय शान्ति क्षेत्र कार्यान्वयनका लागि हामीसँग उनीहरूले प्रतिबद्धता जनाएका छन् ।

देशकै उत्कृष्ट विद्यालय बनाउने सपना
सामुदायिक विद्यालयमा गुणस्तर सम्भव छ भनेर हाम्रो टीम लागेको छ । नयाँ नयाँ शिक्षण विधिका बारेमा आफूलाई अपडेट राख्न बेलाबेलामा हामी आफैं शिक्षण तालीमको आयोजना गर्छौं । कुनै शिक्षक कतै गएर केही सिकेर आएमा हामी त्यो सीप र अनुभव आदानप्रदान गर्छौं । त्यस्तै कहिलेकाहीं बिदाको बेलामा ‘पियर टिचिङ्ग’ को अभ्यास गर्छौं । शिक्षकहरू विद्यार्थी बन्ने र एकजना शिक्षकले पढाउने अनि उसको कक्षा कस्तो रह्यो भनेर विद्यार्थी बनेका शिक्षकले फिडब्याक दिने गर्छौं ।
पहिलोपटक २०६५ सालमा प्रवेशिका परीक्षामा सहभागी हुँदा नै हाम्रो विद्यालयबाट शतप्रतिशत विद्यार्थी प्रथम श्रेणीमा पास भएका थिए । त्यसपछि हरेक वर्ष सबै विद्यार्थी पास हुँदै आएका छन् । यसपालिको परीक्षामा पनि १३ जना ‘ए प्लस’, १४ जना ‘ए’, १३ जना ‘बी प्लस’, ५ जना ‘बी’ र १ जनाले ‘सी प्लस’ ल्याएका छन् । शिक्षा मन्त्रालयले यो वर्ष पश्चिमाञ्चलकै उत्कृष्ट विद्यालयको रूपमा हामीलाई पुरस्कृत गरेको छ । हाम्रोमा छात्रावासको सुविधा छ । अंग्रेजी माध्यममै सबै कक्षामा पढाइ हुन्छ । सर्वोच्च अदालतका रजिष्ट्रारदेखि पर्वत, म्याग्दी र कास्की जिल्लाका अभिभावकले समेत आफ्ना छोराछोरी हाम्रो विद्यालयमा पढाइरहेका छन् । देशकै उत्कृष्ट विद्यालय बनाउने हाम्रो सपना छ ।

वीणा मल्ल
प्रअ, बालमन्दिर प्रावि, लिवाङ, रोल्पा
सन्तोष लागेको काम
द्वन्द्वका बेला गाउँगाउँबाट सदरमुकाम आएका बालबालिकाका लागि ९ महीने अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्न पाउँदा मलाई साह्रै सन्तोष लागेको थियो । साना बालबालिकालाई हामीले विद्यालयमा पढाइरहँदा, १३÷१४ वर्षका बालबालिका पर्खाल र गेटबाट हेर्थे । तिनलाई पनि पढ्न मन रहेछ भन्ने लाग्यो । त्यो दृश्यले मेरो मन असाध्यै छोयो । सामुदायिक सेवा समिति र जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरेर ९ महीना अनौपचारिक कक्षा संचालनको व्यवस्था मिलाएँ । म पनि कक्षा लिन्थें, नयाँ शैक्षिक सत्रमा क्षमता हेरेर केहीलाई आफ्नो विद्यालयमा ल्याएँ । अहिलेकी प्रसिद्ध दोहोरी गीत गायिका शान्तिश्री परियार त्यसैबेलाकी विद्यार्थी हुन् । उनलाई प्राथमिकता दिएर विद्यालयको हरेक कार्यक्रममा अवसर दिन्थ्यौं । आज उनको सफलता देखेर खुशी लाग्छ ।
त्यस्तै अर्को सन्तुष्टि मिलेको काम भनेको बाल संगठनमा रहेको विद्यालय आफ्नै जग्गा किनी विद्यालय भवन बनाएर सर्दाको बेला हो । २०५७÷५८ सालको कुरा हो यो । विद्यालय स्वतन्त्र बनाउनुपर्छ भन्ने सोच थियो पहिल्यैदेखि मनमा । आफ्नो भवन नहुँदा कहिलेकाहीं त शरणार्थीजस्तो लाग्थ्यो । अभिभावक भेला ग¥यौं र हामी शिक्षकले एक महीनाको तलब दिएर शुरूआत ग¥यौं । त्यतिखेर मेरो तलब दुई हजार आठसय पचहत्तर रुपैयाँ थियो । जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरेर ४ रोपनी जग्गा किनेर आफ्नै भवनमा सरेको दिन साह्रै आनन्द लागेको थियो ।

Balmandir-Primary-school

अभिभावकको अपनत्व
गाउँगाउँबाट आएका विपन्न समुदायका केटाकेटी छन् हाम्रो विद्यालयमा । तिनका अभिभावक दिनभर ज्याला मजदूरी गर्छन् तर पनि बोलाएको बेला विद्यालयमा आउँछन् । केटाकेटी सधैं विद्यालय पठाउँछन् । बिरामी भएर आउन नसक्दा हामीलाई फोन गर्छन् । विद्यार्थी विद्यालयमा आउन् भनी खेल सामग्री जुटाएका छौं । सबै कक्षाका विद्यार्थीले खेल्न पाउन् भनी समय मिलाइएको छ । समय व्यवस्थापनको जिम्मेवारी एक जना शिक्षकलाई दिइएको छ । हामीले विस्तारै तयारी खाना जंक फूड न्यूनीकरण गरेका छौं । बरू भात नै भए पनि मकै, चना जे भए पनि भुटेर पठाइदिन अनुरोध गर्न थालेका छौं अभिभावकलाई ।

अभिभावक पनि बन्नुपर्ने रहेछ
पोहर साल एक विद्यार्थीले टाढाबाट कालोपाटीमा लेखिएको अक्षर देख्दिनँ भन्यो । पछि जँचाउँदा थाहा भयो आँखा निकै खराब भइसकेको रहेछ । हामीले अभिभावकलाई जानकारी गरायौं । अहिले ६÷६ महीनामा उसलाई काठमाडौंमा जँचाउन लानुपर्छ । समयमै थाहा पाइयो र उसको आँखाको दृष्टि गुम्नबाट जोगियो । यसपालि पनि हामीले सामुदायिक आँखा केन्द्रसँग समन्वय गरेर २५ जना विद्यार्थीको आँखा जाँच गरायौं । यीमध्ये एकजनालाई काठमाडौं ल्याउनुपर्ने भएको छ उपचारका लागि । कतिका आमाबाबु छुट्टिएर बसेका छन् । कति अभिभावकलाई स्कूलले नै सबै गर्छ भन्ने हुन्छ । हामी त अभिभावक पनि बन्नुपर्ने रहेछ ।

प्रस्तुति रोश्ना सुब्बा

Related Posts

/*sign up form*/