केले बनाउँछ स्कूल राम्रा, स्कूल नराम्रा ?

by • • स्थलगतComments (0)3328

Print Friendly, PDF & Email

ललितपुरका दुई पहाडी गाविस– नल्लु र भारदेउबीच आर्थिक–भौतिक सुविधा; भाषा–संस्कृति, जात–जाति र शैक्षिक अवस्थामा समेत धेरै समानता छ । दुवै गाविसमा तामाङ समुदायको बाहुल्य छ । तर, त्यहाँ एउटा गाउँको विद्यालय शैक्षिक दृष्टिले बर्बाद देखिन्छ भने त्यस्तै अर्को गाउँको विद्यालय निरन्तर उत्कृष्ट नतीजा दिन सफल भइरहेको पाइन्छ । प्रायः राम्रा विद्यालयमा प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले एकअर्काको परिपूरक र सहयोगी भएर काम गरेको पाइन्छ भने कमजोर विद्यालयमा ती दुई पदाधिकारी नै समस्याको जडका रूपमा भेटिन्छन् ।

भारदेउ र नल्लुका तीन वटा विद्यालयको सरसर्ती अवलोकनपछि शिक्षक को टोली– ‘जुन प्रअ विद्यालयको पठन–पाठन सुधार्न आफैं कम्मर कसेर अघि सर्छन्, त्यस्ता प्रअलाई विव्यसको अध्यक्ष र अभिभावकलगायत सबैले साथ दिंदा रहेछन्’ भन्ने निक्र्योल बोकेर कार्यालय फर्कियो ।

तर, एउटै भेगका केही विद्यालयले कसरी ‘राम्रा’ प्रअ–अध्यक्ष पाउँछन् र पढाइमा प्रगति गर्छन् अनि त्यहींका अरू विद्यालय चाहिं किन प्रअ, शिक्षक र व्यवस्थापन समितिबीच पोला–पोल र घोचाघोचको चक्रमा परेर बर्बादीतिर उन्मुख हुन्छन् ? यो प्रश्न भने अझ् पनि अनुत्तरित नै छ । यसको जवाफ पाठकहरूले लेखी पठाउनुभएमा सहर्ष प्रकाशित गरिनेछ ।

सम्पादक

IMG_5115

भारदेउस्थित गुप्तेश्वर निमावि

ललितपुरको शहरी क्षेत्रभन्दा बाहिर, दक्षिणी भेगमा अवस्थित नल्लु गाविसको गुप्तेश्वर माध्यमिक विद्यालय (प्रस्तावित) मा जेठ १० गते सोमबार बिहान ११ बजे पुग्दा ३ र ४ कक्षाका विद्यार्थी चौरमा खेलिरहेका थिए, शिक्षक नआएकोले । बाँसको सानो टहराको एउटा कोठामा निजी स्रोतकी शिक्षक सेविका श्रेष्ठ १ र २ कक्षाका विद्यार्थीलाई सँगै राखेर ‘ए’ ‘बी’ ‘सी’ ‘डी’ लेख्न सिकाउँदै थिइन् । कक्षा २ का १६ विद्यार्थी मध्ये ८ जना मात्र उपस्थित थिए । २ कक्षाका कुनै पनि विद्यार्थी ‘क’ देखि ‘ज्ञ’ सम्म लेख्न र पढ्न सक्दैनन् । ‘ए’ देखि ‘जेड’ सम्म भन्न सक्ने दुई जना भेटिए । साँवा अक्षर र अंक पढ्न र लेख्न नजानिकन पनि यहाँ विद्यार्थीलाई २ कक्षामा चढाइने गरेको छ, त्यसो नगरे कक्षा २ रित्तो हुन्छ ।

१ कक्षाको हाजिरीकापीमा १५ जनाको नाम लेखिएको भए पनि जम्मा ६ जना उपस्थित थिए । कक्षा ३ को हालत पनि उस्तै, ७ जनामध्ये कक्षामा ३ जना मात्र । कक्षा ४ मा छिर्दा १२ बजिसकेकोे थियो । अरू कक्षाको तुलनामा धेरै विद्यार्थी थिए यहाँ, १८ जना । यिनीहरू पनि ‘ए’ देखि ‘जेड’ र ‘क’ देखि ‘ज्ञ’ सम्म सहजै भन्न/लेख्न सक्दैनन् । त्यस दिन ४ कक्षाका विद्यार्थीले लगातार तीन पिरियड त्यसै बिताएका थिए । गणित, सामाजिक र नेपाली शिक्षक नआएपछि उनीहरू त्यसपछिका शिक्षकलाई कुरिरहेका थिए ।

६ कक्षामा १४ विद्यार्थीमध्ये ४ जना मात्र उपस्थित थिए । उनीहरू अंगे्रजी किताबको ‘सम वर्डस् एन्ड एनिमल्स’ पाठका फेमस, नेशनल, चाइना, एशिया, अफ्रिका, आवर, मल्टीकलर्ड जस्ता शब्द शुद्ध उच्चारण गर्न सक्दैनन् । यसै कारण होला, शिक्षक रहिता राईलाई पनि पढाउनु र नपढाउनुमा खासै फरक भएजस्तो लाग्दो रहेनछ । राई भन्छिन्, “आज आएका यी चार जनामध्ये अर्को दिन कोही आउँदैनन् । यिनको सट्टा अरू चार जना आउँछन् ।”

यहाँका प्रायः शिक्षक विद्यार्थीको अनियमितताले गर्दा नै सिकाइ उपलब्धि कमजोर भएको ठान्छन् । यहाँका अभिभावकमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना नभएर नियमित विद्यालय नपठाएको धेरै शिक्षकहरूको भनाइ छ । तर शिक्षक सेवा आयोग पास गरेर ३ महीनाअघि मात्र आएका अर्जुन सिंखडा समस्यालाई अलि फरक ढंगबाट हेर्छन् । उनी भन्छन्, “अभिभावकले बालबालिका पठाएनन् भनेर गाली मात्र गर्नुभन्दा बालबालिकालाई विद्यालय जाऊँ जाऊँ लाग्ने वातावरण बनाउनेतिर पनि हामीले सोच्नुपर्छ ।”

गुप्तेश्वर माविमा दुई जना बालविकास सहजकर्तासहित स्थायी ४, राहत ३ र निजी स्रोतका ३ गरी १० जना शिक्षक छन् । प्रधानाध्यापक शेरबहादुर तामाङ त्यस दिन विद्यालयकै कामले बाहिर रहेको शिक्षकहरूले बताए । गयल भएका अरू तीन जना शिक्षकबारे कसैलाई थाहा थिएन । एक दिन ४ जना शिक्षक अनुपस्थित हुनु भनेको विद्यार्थीको करीब २० पिरियड पढाइ नहुनु हो ।

उक्त माविको व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर स्याङतानलाई आफ्नो विद्यालयको बेथिति थाहा छ । उनी भन्छन्, “काम परे वा बिरामी भए जानकारी गराएर छुट्टीमा बस्नु भने पनि शिक्षकहरू खबर नगरी बस्छन् ।” हेडसर एकातिर आफू अर्कोतिर भएकोले यो वर्ष अभिभावक भेला पनि बोलाउन नसकिएको उनको भनाइ छ ।

शिक्षकहरूकै कथन अनुसार १२० विद्यार्थीमध्ये मुश्किलले आधा मात्रै नियमित विद्यालय आउँछन् । थोरै विद्यार्थी आएका दिन, पछि आउने विद्यार्थीलाई फेरि पढाउनुपर्छ भन्दै कति शिक्षक पुराना कुरा नै दोहो¥याएर समय कटाउँछन् । उता विद्यार्थीहरू चाहिं ‘उही पुरानो कुरा सुन्न किन बस्ने’ भनेर कक्षामा बस्नुको सट्टा घरतिर लाग्छन् ।

IMG_4827

नल्लु गाविसकै अर्को विद्यालय देवी निमाविको हालत पनि गुप्तेश्वर माविको भन्दा भिन्न देख्न पाइएन । यहाँ कक्षा २ मा उपस्थित ११ विद्यार्थीमध्ये एक जना मात्रै ‘क’ देखि ‘ज्ञ’ सम्म लेख्न सक्षम भेटिए । ‘ए’ देखि ‘जेड’ सम्म लेख्न सक्ने ५ जना भेटिए । ४ जनाले मात्र आफ्नो नाम अंग्रेजीमा लेख्न सके ।

शिक्षक नआएकाले कतिपय विद्यार्थी गफ गरेर बसिरहेका थिए । तल्लो कक्षाका केही विद्यार्थी अभिभावकसँगै ईंटा भट्टामा गएको पनि बताइयो । विद्यालय नजिकै निजी विद्यालय खुलेकोले आफ्नो स्कूलमा विद्यार्थी कम भएको सहायक प्रधानाध्यापक सुरेन्द्र घलानको भनाइ थियो ।

गुप्तेश्वर मावि र देवी निमाविमा पुस्तकालय छैन । विद्यार्थीले शैक्षिक सामग्री र खेलसामग्री देख्नै पाएका छैनन् । कुनै पनि कक्षाका आधा विद्यार्थी पनि अंग्रेजी र नेपालीका दुई वाक्य शुद्धसँग पढ्न सक्दैनन् । यहाँका विद्यार्थीको सिकाइ बर्बाद हुनुमा शिक्षकहरूले भनेजस्तो विद्यार्थीको अनुपस्थिति सँगै शिक्षकहरूको अनुपस्थिति पनि उत्तिकै प्रबल कारण रहेको देखिन्छ ।

आशलाग्दा पनि छन्

नल्लुका उपर्युक्त दुई विद्यालयको अवस्था अवलोकन पछि शिक्षक टोली छिमेकको भारदेउ गाविसको गुप्तेश्वर नै नाम भएको अर्को निमाविमा पुग्यो । यो निमाविको वातावरण पहिला दुई विद्यालयको भन्दा निकै भिन्न थियो । कर्मचारी–कक्षमा पस्नासाथ शिक्षकको परिचय, शैक्षिक योग्यता र फोटोसहितको चार्टपेपर देख्न र पढ्न पाइयो । त्यसमा सामान्य जानकारी मात्र नभई पढाइ रुटिन र कक्षागत तथा विषयगत रूपमा तयार पारिएको वार्षिक सिकाइ उपलब्धि सम्बन्धी विवरण समेत समेटिएको छ ।

यहाँ अपर्झट बाहेक बिदा बस्नु पर्दा सबै शिक्षकले अघिल्लो दिन नै जानकारी गराउँदा रहेछन् । त्यस्तो बेला कक्षा व्यवस्थापनदेखि अन्य शैक्षिक व्यवस्थापनको जिम्मा स्कूल इन्चार्ज सहायक प्रधानाध्यापक लोकनाथ घिमिरेलाई सुम्पिइएको छ । यहाँ ३२२ जना विद्यार्थी छन् । कक्षा ६ मा सामाजिक विषयकी शिक्षक ‘रोल प्ले’ गर्न लगाएर पढाइरहेकी थिइन् । विद्यार्थीले नै बनाएका चार्ट पेपर कक्षाकोठाका भित्तामा सजाइएका थिए ।

पुस्तकालय र कम्प्युटर कक्षको व्यवस्थापन एउटै कोठामा गरिएको छ । हरेक कक्षाका विद्यार्थीका निम्ति पुस्तकालय जाने र पुस्तक पढ्ने अलग अलग समय तोकेर तालिका बनाइएको छ । पुस्तकालयमा उपलब्ध सन्दर्भ सामग्री, कथा, उपन्यास जस्ता विभिन्न विधाका किताब उनीहरूले घरमा लगेर पनि पढ्न पाउँछन् । यहाँ पढ्न आउने कमजोर आर्थिक अवस्थाका विद्यार्थीलाई विद्यालयले नै स्टेशनरी अर्थात्– कापी, किताब दिने गरेको छ । अभिभावकसँग हरेक महीना विद्यार्थीको पढाइबारे छलफल गरिन्छ । कुनै विद्यार्थी लगातार अनुपस्थित भएमा तुरुन्तै सोधखोज गरिन्छ । यसले गर्दा जथाभावी बहाना बनाएर विद्यार्थी स्कूलमा अनुपस्थित हुन पाउँदैनन् । बालबालिकाको पढाइलेखाइ र विद्यालयप्रति अभिभावकको चासो बढाउन व्यवस्थापन समितिका अध्यक्ष गोपीलाल स्याङतान अभिभावकको घरमै गएर पनि छलफल गर्छन् ।

IMG_4957

स्कूल समयमै हिलो पानीमा पौडिन खोज्दै गुप्तेश्वर माविका साना नानीहरू

IMG_5426

नल्लु गाविसस्थित देवी निमाविका विद्यार्थी छुट्टीपछि घर फर्कंदै

 

 

 

 

 

 

 

 

यी तीनवटै विद्यालय भारदेउ स्रोत केन्द्र अन्तर्गत पर्छन् । यस अन्तर्गतका १८ वटा सामुदायिक विद्यालयमध्ये गुप्तेश्वर निमावि धेरै दृष्टिले अब्बल विद्यालय हो । २०७० सालमा यसले जिल्ला शिक्षा कार्यालय, ललितपुरबाट जिल्लाकै उत्कृष्ट सामुदायिक निमाविको पुरस्कार पाएको थियो । त्यतिबेलादेखिको उत्कृष्टतालाई यसले अहिले पनि निरन्तरता दिइरहेको छ ।

यस क्षेत्रका स्रोतव्यक्ति ढकबहादुर कार्की विद्यालयमा आउने साधन स्रोत पारदर्शी बनाएर कार्यक्रम–योजनाबारे अभिभावकसँग छलफल र समन्वय गर्दै अघि बढेमा नल्लुका अरू दुई विद्यालय– गुप्तेश्वर प्रस्तावित मावि र देवी निमाविले पनि आफूलाई सुधार गर्न सक्ने आशा व्यक्त गर्छन् । मूलतः प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारी सक्रिय हुँदा विद्यालयमा सकारात्मक परिवर्तन आउने उनको बुझइ छ ।

देश विदेशका अध्ययन र हाम्रो आफ्नै अनुभवबाट पनि विद्यालय उकालो लाग्नु वा ओरालो झ्र्नुमा सर्वाधिक भूमिका प्रअको हुने कुरा स्पष्ट भई नै सकेको छ । ललितपुरको ग्रामीण भेगका यी तीन विद्यालयको स्थलगत अवलोकनबाट पनि भन्न सकिन्छ; प्रअले सक्रिय भएर नेतृत्व गरेमा शिक्षक, अभिभावक र व्यवस्थापन समितिले साथ दिन्छन्, सहयोग गर्छन् र विद्यालय पनि राम्रो हुन्छ ।

रोश्ना सुब्बा, धीरज बस्नेत; तस्वीरः खड्गबहादुर मगर

Related Posts

/*sign up form*/