केलाई विज्ञान भन्ने त?

by • • 2072_5, विज्ञान–व्याख्याComments (0)3255

Print Friendly, PDF & Email

विज्ञान दर्शन

रोबिन डनबारRobin Dunbar

लेखक अक्सफोर्ड विश्वविद्यालयमा इभोल्यूसनरी साइकोलोजीका प्रोफेसर हुन् । (साभार शैक्षणिक सन्दर्भ, पूर्णाङ्क ९३–९५)

हामीसँग भएको, ज्ञानसम्म पुग्ने एक मात्र साधन प्रयोग र परीक्षण हो । बाँकी सबै काव्य हो, कल्पना हो ।
— म्याक्स प्लाक

केलाई विज्ञान भन्ने त? ? वैज्ञानिकहरू आफूले गरेको कामलाई केले परिभाषित गर्छ भन्ने प्रश्न गर्न शायदै कहिल्यै रोकिन्छन् । उनीहरू व्यावहारिक हुन्छन् त्यसैले यस्ता प्रश्नमा अल्झ्नितिर नलागी केही गरिरहनुमा विश्वास गर्छन् । अर्कातिर, दार्शनिकहरूले भने बढी समय विज्ञानलाई कसरी परिभाषित गर्ने, र (त्यसो गर्न सकिएमा) धर्म र विज्ञानबीचको अन्तर कसरी बुझने भन्ने कुरामै विचार गर्न लगाएका छन् । दुवैको सरोकार चाहिँ अन्ततः एउटै केन्द्रीय मामिलासँग छ र त्यो हो— हाम्रो ज्ञानको निश्चितताको प्रश्न । तर दुवैका कोण र परिप्रेक्ष्य ज्यादै फरक रहिआएका छन् । वैज्ञानिकहरूको चिन्ता संसारका बारेमा तिनले निकालेका खास निष्कर्षहरूको मान्यतासँग सम्बन्धित हुन्छ भने दार्शनिकहरू समग्र वैज्ञानिक प्रक्रियाको प्रकृति के हो भन्नेबारे चिन्तित रहने गर्छन् ।

बेकनको दृष्टि
आधुनिक विज्ञानको प्रारम्भ सत्रौँ शताब्दीको पूर्वार्ध (सन् १६३२) का वैज्ञानिक ग्यालिलियोबाट मानिन्छ भने विज्ञान–दर्शनको शुरूआत पनि लगभग त्यही समयका अंग्रेज दार्शनिक तथा साहित्यकार फ्रान्सिस बेकनबाट भएको मान्न सकिन्छ । सन् १६०६ देखि १६२६ मा आफ्नो मृत्यु हुँदासम्म; पुस्तकहरूको एउटा शृंखला मार्फत बेकन प्रयोग या अनुभव सिद्ध विज्ञान (इम्पिरिकल साइन्स) को पक्षमा उभिए । उनको दृष्टिमा मध्ययुगीन दार्शनिकका थोत्रा धर्मशास्त्रीय कुरा तुच्छ, बेकम्मा र समय बर्बाद गर्ने जिनिस थिए र तिनको उनले जमेर आलोचना गरे । मध्ययुगीन विद्वान्हरूमाथि बेकनको त्यस हमलाको केन्द्रमा ज्ञानको निश्चितताकै प्रश्न थियो।

उनीहरूले प्रतिपादन गरेको ज्ञान पूर्णरूपेण विश्वसनीय हो भनेर कसरी भन्न सकिन्छ ? सुकरात र उनीपछिका युनानी दार्शनिकहरूद्वारा स्थापित परम्पराले कार्य–कारण सम्बन्धका आधारमा तर्कसंगत निष्कर्षलाई प्रमुखता दिएको थियो । बेकन भन्थे लगभग ६ शताब्दीसम्म मध्यकालीन दर्शनलाई सताउने साराका सारा असमाधेय झ्गडाहरूको मूल कारण त्यही हो ।

बेकनको विचारमा, अनुभवमा आधारित अवलोकन तथा विधिवत्, व्यवस्थित प्रयोगको माध्यमबाट नै कुनै पनि परिकल्पना (हाइपोथेसिस) लाई ठीक ढंगले परीक्षण गर्न सकिन्छ । परीक्षणको एक मात्र सही तरीका नै यही हो भन्ने उनको धारणा थियो । उनका यस्ता तर्क त्यसपछिका २०० वर्षसम्म पेशागत वैज्ञानिकहरूका लागि एकदमै प्रभावशाली सिद्ध भए ।

अनुचित आलोचना
त्यसो त मध्ययुगमै पनि निकोलस ओरेस्मे, ग्रोस्टेन्ट, डन्स स्कोट्स, विलियम अफ आकम, रोजर बेकन जस्ता विद्वान्हरू दाबी र जिकिरहरूलाई तर्कको कसीमा ज्यादै कडाइका साथ घोट्नुपर्छ भन्थे । उनी परिकल्पनालाई अनुभव आधारित प्रयोगबाट नै सही तवरमा जाँच्न सकिन्छ भन्ने दृढ मान्यता राख्थे । तर, तिनका कुरा दार्शनिकहरूका सामु टिक्न सकेका थिएनन् । बेकनले ईसापूर्व चौथो शताब्दीका दार्शनिक अरस्तूको पनि घोर आलोचना गरेका थिए जुन एकदमै अनुचित थियो । आफ्नो अगाध ज्ञान र अद्भुत विश्लेषण क्षमताका आधारमा त्यतिअघि अरस्तूले जे हासिल गरे त्यो उल्लेखनीय मात्र होइन चमत्कार सरह नै थियो । अरस्तू पनि मूलतः प्रयोग सिद्ध विज्ञानकै सिद्धान्तमा विश्वास गर्थे । आफ्ना पूर्ववर्तीहरूको काम लापरवाही साथ गरिने अवलोकनको शिकार भएको थियो भन्ने उनको शिकायत थियो । अरस्तू एउटा अर्को सन्दर्भमा आधारभूत रूपमै ती सबैभन्दा फरक थिए । उनी परिकल्पनालाई जाँच्न अनुभव आधारित अवलोकनको महत्वमा जोड दिन्थे । उनीभन्दा अघिका दार्शनिकहरू चाहिँ अवलोकनलाई केवल अनुमान लगाउनका निम्ति प्रस्थानबिन्दुका रूपमा प्रयोग गर्नुपर्ने ठान्थे । अरस्तू आफ्ना सिद्धान्तहरूको परीक्षण प्रकृतिको कसीमा गर्न तयार रहन्थे । अवलोकन र प्रेक्षणबाट प्राप्त तथ्यहरूको महत्व सिद्धानन्तहरूको भन्दा बढी हुन्छ भन्नेमा उनको जोड हुन्थ्यो ।Arsatoo (1)Fransis Backon (1)

अरस्तू र बेकन दुवैका दृष्टिकोणको केन्द्रमा परिकल्पनाहरू जाँच्न–परीक्षण गर्न जोड दिने कुरा छ । तर बेकनपछिका शताब्दीहरूमा ‘वैज्ञानिक प्रणाली’ को अर्थ ‘प्रायोगिक प्रणाली’ हुन पुग्यो । यसको एउटा मुख्य कारण प्रयोगमा आधारित विज्ञानलाई बेकनको जोडदार समर्थन नै थियो । दुर्भाग्यवश, यसो गर्नुको अर्थ हो— सामान्यलाई विशेषसँग गाँजेमाजे पारिदिनु । प्रयोग परिकल्पना (हाइपोथेसिस) जाँच्ने–परीक्षण गर्ने एउटा विशेष तरीका अवश्य हो तर त्यसो गर्ने यो नै एक मात्र विधि हो भन्ने चाहिँ होइन । परिकल्पनालाई प्रेक्षण–अवलोकनका आधारमा पनि जाँच्न सकिन्छ (जसरी अरस्तूले गर्थे) । अनि तिनलाई आन्तरिक तार्किक संगति एवं सामञ्जस्यको मूल्यांकनका आधारमा पनि परीक्षण गर्न सकिन्छ (जसरी युक्लिडदेखि लिएर पाइथागोरससम्मका महान् युनानी ज्यामितिज्ञहरूले गरेका थिए । तथापि, प्रायोगिक तथा अवलोकन–आधारित परीक्षणमा अन्तर हुन्छ जसबारे बेकनलाई निकै राम्ररी थाहा थियो । त्यो अन्तर के हो भने, अवलोकन–आधारित तथ्य–समूहमा कैयौँ किसिमका अनियन्त्रित परिवर्तनशील कारकहरूको खतरा हुन्छ । तर प्रयोग–आधारित परीक्षणमा वैज्ञानिकले आफूलाई विशेष रुचि भएको परिवर्तनशील कारकलाई यथावत् रहन दिई अन्य अधिकतर परिवर्तनशील कारकहरूलाई नियन्त्रित गर्न सक्छ ।

मथिँगल रन्थन्याउने कारक
संसारमा लगभग सबै कुरा अनेक किसिमका काराकहरूद्वारा प्रभावित हुन्छन् । यसैले, मथिँगल रन्थन्याउने परिवर्तनशील कारक कुनै पनि वैज्ञानिकका निम्ति अहितकारक हुन्छन् । एउटा सामान्य खालको समस्यालाई नै हेरौँ अन्नबालीको विकास कुन कुराबाट निर्धारित हुन्छ ? सम्भावित कारकहरूको निकै लामो तपसील तयार हुन सक्छ वर्षाको मात्रा, तापमान, हावा, माटोको प्रकार, जमीनको ढलान र रूप–आकार, रोप्ने महीना, रोपाइँको समयको राशि, वसन्त ऋतुमा प्रवास गर्ने पक्षीको संख्या, देवीदेउतालाई चढाइएको बलिको संख्या र प्रकार, संसार सृष्टि भएदेखि आजसम्म बितेका दिनको संख्या….? यीमध्ये कुनै पनि कारक आन्तरिक तवरमा गलत छैनन्, सबै नै खास्सा वैज्ञानिक पूर्वाधार हुन् । हाम्रो समस्या चाहिँ के निर्णय गर्नु हो भने— कुन कुन कारकले वास्तवमा बालीको विकासलाई प्रभावित पार्छन् अनि कुन कुन कारक चाहिँ यस्ता आकस्मिक परस्पर–सम्बन्धको घेरामा पर्छन् जसको बाली–विकासँग कुनै सम्बन्ध छैन ।

आजभोलि हामीलाई राम्रैसँग थाहा छ, शुरूका पाँच कारकले बालीको विकासलाई वास्तवमै प्रभावित पार्छन् । छैटौँ, सातौँ र आठौँ कारक बाली विकाससँग सम्बन्धित छैनन् तर तिनको सम्बन्ध यस्ता परिवर्तनशील कारकहरूसँग छ जसले त्यो विकासलाई प्रभावित पार्छन् । र, अन्तिम दुई कारक त लगभग पक्कापक्की नै असान्दर्भिक छन् । तर वस्तुतथ्य के हो भने हामीलाई पहिलेदेखि नै यस कुराको ज्ञान हुँदैन । बाली विकास भएको आधारमा हामीले कुनै एउटा पूर्वधारणालाई मात्र परीक्षण गर्यौँ भने पनि के सम्भव छ भने यी सबै पकिल्पनाका लागि भविष्यवाणी र यथार्थका बीच राम्रो तालमेल हुन पुगोस् । उदाहरणका लागि, बाली रोप्ने वेलाको राशिलाई रोपाइँका निम्ति मार्गदर्शकका रूपमा प्रयोग गर्दा ईसापूर्वका अन्तिम शताब्दीहरूमा युनानमा प्रतिवर्ष ज्यादै विश्वसनीय परिणाम प्राप्त भएको पनि त हुन सक्छ !

यस्तो किन हुन्छ त भन्दा, यद्यपि बाली विकासमा ग्रहहरू स्वयंको कुनै प्रभाव पर्दैन तर आकाशमा हुने तिनका गतिविधिसँग बाली विकासलाई प्रभावित पार्ने कतिपय कारकहरूको (जस्तै उल्लेखनीय तवरमा वर्षा र तापमानको मौसमी तानाबाना) निकट सम्बन्ध त हुन्छ नै । तर यही नियमलाई त्यसवेला दक्षिण अफ्रिकामा लागू गर्नु घातक सिद्ध हुन्थ्यो । र, त्यस नियमबाट आज पनि हामीलाई बाली विकासमा कुनै मदत मिल्दैन, युनानमै पनि । किनभने, राशिहरूको परिभ्रमण र समय निर्धारण अरस्तूको वेलाभन्दा आज आनका तान फरक परिसकेको छ ।

छोटा जुँघा र अल्सर
अर्को एउटा उदाहरण हेरौँ । इजरायलको तेल अवीव विश्वविद्यालयका शोधकर्ताहरूले हालै के निष्कर्ष निकालेका छन् भने, छोटा–छाँटिएका जुँघा राख्नेहरूलाई अल्सर हुने सम्भावना बढी हुन्छ । यसले मलाई आफ्ना छाँटिएका जुँघा हत्तनपत्त सफाचट पार्न प्रेरित गर्न सक्छ जसबाट म अल्सर हुने सम्भावना घटाउन सकूँ । तर यसो गर्नु व्यर्थ हो । अझ् यसो गर्दा विपरीत प्रभाव परेर मलाई अल्सर हुने सम्भावना बढ्न पनि सक्छ । किनभने बिचरो जुँघा स्वयंले अल्सरको सम्भावना वा विकासलाई प्रभावित पार्दैन । राम्ररी जुँघा छाँट्नु भनेको मेरो सामान्य बानी वा व्यवहार मात्र हो । अँ, अत्यन्त झवाँकी, झ्र्काहा र अताल्लिइरहने मानिस छ र उसले जुँघा छाँट्ने गरेको छ भने उसलाई चाहिँ अल्सर हुने बढी गुन्जाइस हुन्छ । यो कुरा बेग्लै हो, शोधकर्ताहरूको कुरा सुनेर मैले जँघा छाँट्न छोडेर तिनलाई जथाभाबी बढ्न दिँदै गएँ अथवा दिनदिनै सफाचट पार्न थालेँ भने त्यसले शायद मलाई बढी असहज र झ्र्काहा बनाउँदै लैजाला र मलाई अल्सर हुने सम्भावना पनि बढ्ला । कुराको चुरो के भने कारक र परिणामबीचको परस्पर सम्बन्ध मात्रले कारणको संकेत प्राप्त हुँदैन । विज्ञानको मूल समस्या भनेकै एकतर्फ वास्तविक कारणात्मक प्रभाव र अर्कातर्फ दिमाग अल्मल्याउने परिवर्तनशील कारकहरूका कारण उत्पन्न भ्रमात्मक प्रभावहरूका बीच फरक कसरी छुट्याउने भन्ने हो । तथापि, विगत शताब्दीको उत्तरार्धमा विभिन्न कारकका प्रभावहरूलाई छुट्याउन गणितीय प्रविधिको प्रयोग गर्ने सटीक विधि विकसित भइसकेको छ र त्यसले गैर–प्रायोगिक अनुभव आधारित अध्ययनहरूको संख्यामा नाटकीय वृद्धिलाई सम्भव तुल्याएको छ ।

विज्ञान भन्ने कुरा कुनै विशेष सिद्धान्तको कलेवर नभएर विश्वका बारेमा जानकारी हासिल गर्ने एउटा भरपर्दो प्रणाली हो । विज्ञानलाई जसरी प्रयोग गरिए पनि त्यसको मुख्य उद्देश्य कारणहरूलाई स्थापित गर्नु नै हो । अमेरिकी दार्शनिक जर्ज गेलको शब्दावलीमा भन्ने हो भने यो बोध र अनुभूतिले कतिपय दार्शनिकलाई ‘कुकबूक विज्ञान’ र ‘कारण स्थापित गर्ने विज्ञान’ का बीच अन्तर स्थापित गर्न प्रवृत्त गरेको छ । यस अन्तरले के बुझछ भने विज्ञान अन्तर्गत दुई स्पष्ट, पृथक् कदम समाहित हुन्छन् क. अनुभव–आधारित अवलोकनहरूको सञ्चय (जसले सामान्य नियमहरूको पोकाको रूप ग्रहण गर्छ), ख. त्यस्ता कारणहरूको खोज जसले यी सामान्य नियम किन अस्तित्वमा छन् भन्ने बुझउँछन् ।

अन्तर ‘कसरी’ र ‘किन’ को
माथिको परिभाषाले हामीलाई ‘कसरी’ भन्ने जान्नु र ‘किन’ भन्ने जान्नुका बीचको त्यस्तो अन्तरलाई स्मृतिपटलमा उपस्थापित गरिदिन्छ जसतर्फ प्रतिष्ठित दार्शनिक गिल्बर्ट राइलले आफ्नो पुस्तक ‘द कन्सेप्ट अफ माइन्ड’ मा सबैको ध्यान आकृष्ट गरेका थिए । राइलका मुताबिक “‘क’ लाई कसरी गर्ने भन्ने मलाई थाहा छ” र “‘क’ छ भन्ने मलाई थाहा छ, किनभने….” भन्नुका बीच ठूलो अन्तर छ । पहिलोले प्रविधिगत दक्षतातर्फ संकेत गर्छ भने दोस्राले ‘क’ ले किन त्यसरी काम गर्छ भन्ने कुरा उसलाई थाहा छ भन्ने अर्थ दिन्छ । म राइलको कुरालाई अलिकति फरक किसिमले भन्न चाहन्छु ‘कसरी’ भन्ने जान्नु र ‘किन’ भन्ने जान्नु फरक भए पनि कुराको चुरो चाहिँ उही हो ।Gillburt Rile (1)The concept of mind book (1)

बाली के कारणले गर्दा सप्रिन्छ भन्ने उदाहरणतर्फ फक्र्यौं भने हामीलाई ‘कसरी’ र ‘किन’ का बीचको अन्तर छर्लंग हुन्छ । राशिको उपयोग र वसन्त ऋतुमा पक्षीहरूको प्रवासार्थ आगमन— बाली कहिले लगाउने भन्ने तय गर्ने निक्कै प्रभावशाली नियम हुन सक्छ । यो ‘कुकुबूक विज्ञान’ हो जो सामान्यतः ‘यदि…. भने…’ को भाषामा संयोजित हुने गर्छ । जस्तै ‘यदि तिमीले घर वरिपरि कर्याङकुरुङको बथान देख्यौ भने काँक्रा–फर्सी रोप्ने बेला भएको ठान ।’ तर यी नियम काम चलाउन मात्र हुन्; यी त अन्तःसम्बन्ध हुन् जो प्राकृतिक संसारमा कैयौँ कैयौँ वर्षका अनुभवलाई सामान्य नियमको रूप दिइनुमा आधारित छन् । यस्तो काम चलाउ नियम दैनन्दिन उद्देश्यहरूको प्राप्ति हेतु पूर्णरूपेण पर्याप्त छन् । मिस्र (आज इजिप्ट) देशका मानिस खगोलीय क्यालेन्डरकै आधारमा नील नदीमा वर्षेनी आउने बाढीको भविष्यवाणी गर्थे । त्यो यति सटीक हुन्थ्यो, त्यसलाई आज हामी पनि शायदै चुनौती दिन सकौँला । मिस्रका बासिन्दाका निम्ति त्यो सटीकता अत्यन्तै आवश्यक थियो किनभने बाढी आउने समयावधि यति कम हुन्थ्यो कि त्यसबाट प्राप्त हुने लाभहरू हासिल गर्न आवश्यक मजदूरहरूको जमात जहिलेसुकै र जतिन्जेलका लागि पनि खडा गर्न सम्भव हुँदैनथ्यो । बाढी आउनेबारे निकै पहिले नै सटीक तवरमा थाहा पाएपछि मात्र तिनलाई यथासमय यथास्थान एकत्रित गर्न सकिन्थ्यो ।

भूगोलको भूमिका
तर न मिस्रका र न युनान (ग्रीस) कै किसानहरूलाई यी घटनाहरूबीचको सम्बन्धलाई ‘किन’ सँग जोडेर हेर्नु जरूरी छ भन्ने बोध थियो । यदि, युरोपको किसान पूर्वी अफ्रिकातिर बसाइँ स¥यो भने ऊ घोर संकटको चपेटामा पर्न सक्छ किनभने उष्णकटिबन्धहरू अर्थात् ट्रपिक्समा मौसमको क्रम त्यस्तो हुँदैन जस्तो पूर्वी भूमध्यसागर क्षेत्रमा हुन्छ । अनि, पक्षीहरू पनि त्यस क्षेत्रमाथि उड्दै त्यसरी प्रवासमा जाँदैनन्, जसरी ग्रीसमा जान्छन् । यसबाट किसान अलमलिएर गलत समयमा बाली लगाउन पुग्छ र बाली बर्बाद हुन्छ । नयाँ दुनियाँ अर्थात् अमेरिकाको पूर्वी तटमा शुरूमा पुग्ने युरोपेली प्रवासीहरूको हबिगत यस्तै भएको थियो । क्याप्टेन स्मिथको नेतृत्वमा सत्रौँ शताब्दीमा भर्जिनिया किनारमा बसाइँका लागि पुगेका मानिसले प्रारम्भिक वर्षको जाडोमा घोर संकटको सामना गर्नुपरेको थियो । किनभने, उनीहरूले त्यहाँ उत्तरी–पश्चिमी युरोपमा प्रचलित बिल्कुलै फरक खाले कृषि प्रणाली लागू गर्ने जमर्को गरे । तिनलाई त्यहीँका आदिवासी इण्डियनहरूले स्थानीय पर्यावरण अनुकूल कृषि गर्न नसिकाएका भए, अनि हरेक वर्ष गर्मीमा युरोपबाट खाद्यान्न भरिएका पानी जहाज र नयाँ प्रवासी आई नरहेका भए त्यो औपनिवेशिक प्रयासले प्रारम्भका केही वर्षमै हावा खाने थियो ।

भविष्यका बारेमा ठोकुवा गरेर कुनै कुरा त्यसवेला मात्र भन्न सकिन्छ जुनवेला प्रकृतिमा घटित हुने प्रक्रियाहरूलाई सञ्चालित गर्ने व्यवस्थाका बारेमा हाम्रो जानकारी, ज्ञान र बोध पूर्णतः ठोस होस् । त्यसैले, हामी ग्रहणका बारेमा त ठोकुवा गर्न सक्छौँ तर भुइँचालोका बारेमा त्यसो गर्न सक्तैनौँ । र यसरी, भविष्यमा हुनेवाला घटनाचक्रको भविष्यवाणी गर्न सक्ने योग्यता र जे हुन लागेको छ त्यसलाई नियन्त्रित गर्न सक्ने क्षमता विज्ञानका कसी बन्न पुगेका छन् । सारतः कारण खोज्नु विज्ञानको उद्देश्य हो अनि अनभव–आधारित तथ्य–समूह (डेटा) को प्रयोगका आधारमा परिकल्पनाको जाँच विज्ञानको केन्द्रीय पद्धति हो ।

विज्ञानका तीन चरण
बेकनपछिका शताब्दीहरूमा दार्शनिक सधैँ कुन निष्कर्षमा पुगिरहे भने, विज्ञानका सिद्धान्त त्यस्ता सामान्य नियम मात्रै हुन् जसलाई अवलोकनको एउटा शृंखलाका आधारमा हासिल गरिएको छ । उदाहरणार्थ, कुनै विशेष घटनाक्रमका कतिपय उदाहरणको अवलोकन गरेर म यस्तो निष्कर्षमा पुग्छु— ‘सबै रजहाँस सेता हुन्छन्’, अथवा ‘जब जब बिजुली चम्किन्छ तब तब सधैँ गर्जन हुन्छ’ । यसबाट के धारणा बन्यो भने विज्ञानका तीन विभिन्न चरण हुन्छन् ‘विवरण’, त्यसपछि सामान्य नियमहरूको ‘आगमन’ र पुनः त्यही परिघटना (वा कुनै प्रयोग) लाई नयाँ अवलोकनको आलोकमा ‘परीक्षण’ । यो धारणा उन्नाइसौँ शताब्दीको अन्त्यसम्मै वैज्ञानिक र दार्शनिकहरूबीच खास्सा प्रचलित रह्यो । अझ् सामाजिक विज्ञान र जीव विज्ञानका कतिपय क्षेत्रमा त्यसपछि पनि निकै समयसम्म यसको प्रभुत्व रह्यो । यसलाई प्रत्यक्षवादी दर्शन अर्थात् ‘पोजिटिभिज्म’ को नामले चिनियो जुन निकै समयसम्म यसको प्रभुत्व रह्यो । यो नाम फ्रान्सका वैज्ञानिक, दर्शनशास्त्री तथा समाजशास्त्रका निर्मातामध्ये एक आगस्ट कोम्तले दिएका थिए । जनसाधारणका लागि आज पनि विज्ञानको अर्थ ‘दुनियाँका बारेमा नयाँ तथ्यहरूको खोज’ नै हो । यही त्यो दृष्टिकोण थियो जसले भिक्टोरिया युगमा जीववैज्ञानिक तथा भूवैज्ञानिक संग्रहहरूको असाधारण प्रचुरताका निम्ति औचित्य उपलब्ध गरायो जसका कारण शताब्दीको अन्त्यतिर बडे–बडे राष्ट्रिय संग्रहालयहरूको निर्माण भयो ।

प्रत्यक्षवादलाई चुनौती
तर, विज्ञानको यस प्रत्यक्षवादी दृष्टिकोणका सामुन्ने पनि दर्शनशास्त्रीय चुनौती थिए । किनभने अठारौँ शताब्दीको मध्यमै महान् स्कटिश दार्शनिक डेभिड ह्युमले सामान्यीकरणको ‘आगमन’ मा गम्भीर समस्या छ भन्ने इशारा गरिसकेका थिए आगमनात्मक (इन्डक्टिभ) प्रणालीको सफलताको एक मात्र प्रत्यानुभूति त्यो पहिले पनि सफल भइसकेको हुनुमा निहित छ । परन्तु यो स्वयं पनि एउटा विशेष सामान्यीकरण हो, जसलाई अर्को उदाहरणले गलत सिद्ध गर्न सक्छ । फलस्वरूप हामी यस्तो चक्रव्यूहमा फस्न पुग्छौँ जस अन्तर्गत एउटा कमजोर सामान्यीकरणलाई अर्को उत्तिकै डगमगाइरहेको सामान्यीकरणको मदतबाट उचित ठह¥याउने कोशिश गर्नुपर्ने हुन्छ । त्यसैले आगमनात्मक प्रणाली घातक रूपमा त्रुटिपूर्ण छ, र यससँग जोडिएको अनुभव–आधारित विज्ञानको कुनै पनि रूप स्वभावतः कमजोर नै हुन पुग्छ । आगमनमा ज्ञानको निश्चितताको प्रत्याभूतिको अभाव हुन्छ जबकि तर्कशास्त्र र गणित जस्ता निगमनात्मक (डिडक्टिभ) विद्याहरूमा यो विद्यमान हुन्छ ।

पापरको जिकिर
यो विरोधाभासलाई सुल्झउने सबैभन्दा प्रख्यात प्रयास अस्ट्रियन दार्शनिक कार्ल पापरले गरे । सन् १९३० को दशकमा उनी विज्ञान र पराभौतिकीका कथनहरू अर्थात् बाह्य वैधताबाट उपस्थापित कथन र विशुद्ध कोरा कथनहरूबीच कसरी अन्तर छुट्याउने भन्ने विषयमा केन्द्रित थिए । विज्ञानलाई आगमनको आधार देखाएर तार्किक अर्थमा सही सिद्ध गर्ने प्रयासहरू असफल मात्र हुन सक्छन् भन्ने कुरा उनी राम्ररी बुझथे । त्यसैले यसको सट्टा उनले कुन कुरातर्फ ध्यान आकर्षित गरे भने, वैज्ञानिकले वास्तवमा कुनै निश्चित प्राकृतिक घटनाका उदाहरण मात्र एकत्रित गर्दैनन् र त्यसबाट सामान्य निष्कर्ष प्राप्त गर्दैनन् बरु उनीहरू संसारको प्रकृतिका बारेमा परिकल्पनाहरू उत्पन्न गर्छन् अनि तिनलाई कडाइका साथ परीक्षणका निम्ति समर्पित गर्छन् । पापरको जोड के कुरामा थियो भने यस्ता परीक्षण कुनै सिद्धान्तविशेषलाई सिद्ध गर्ने प्रयास हुँदैनन्; प्रत्युत यी त त्यसलाई गलत सिद्ध गर्ने प्रयास हुन्छन् । उनको जिकिर थियो, तार्किक दृष्टिले हेर्ने हो भने प्रमाण भन्ने वस्तु कहिल्यै पनि प्राप्त गर्न सकिँदैन । कुनै पनि कुरालाई सुनिश्चित रूपमा तिनै कारणबाट गलत साबित गर्न सकिन्छ जसतर्फ ह्युमले इशारा गरेका थिए कुनै पनि सामान्य निष्कर्षलाई गलत साबित गर्न खण्डनयुक्त एउटै विपरीत उदाहरण पर्याप्त हुन्छ जबकि प्रमाणका निम्ति सम्बद्ध प्राकृतिक घटनाका प्रत्येक उदाहरणलाई प्रमाणका रूपमा व्यवस्थित गर्ने असम्भव काम गर्नुपर्ने हुन्छ (शायद यसमा ती उदाहरणलाई पनि शामेल गर्नुपर्ला, जुन अहिलेसम्म देखिएकै छैनन्) । अर्को भाषामा भन्दा, प्रयोगहरू परीक्षण गरिरहेका परिकल्पनालाई असत्य साबित गर्न गरिन्छन्, तिनको सत्यलाई प्रदर्शित गर्न होइन । र, पापारको धारणा थियो, यसले आगमनका समस्याको चक्रव्यूहलाई तोड्छ । यदाकदा खण्डन गर्नेवाला विपरीत उदाहरण विज्ञानका निम्ति दुस्वप्नको सट्टा ठ्याक्य्राक्कै त्यही वस्तु हो जसको खोज वैज्ञानिकले गरिरहेका हुन्छन् । यो त विज्ञानको उत्तमताको प्रतीक हो, त्यसको विशिष्टता र शुद्धताको प्रमाण–चिह्न हो ।

यसैबाट पापरले ‘मिथ्याकरण’ (फल्सिफिकेशन) शब्द प्रस्तुत गरे । किनभने, उनका अनुसार, वैज्ञानिकले वास्तवमा गर्ने काम यही नै त थियो ! झ्न्डैझ्न्डै आधा शताब्दीसम्मै पापरद्वारा प्रतिपादित विज्ञानको यस अवधारणाले विज्ञानको दर्शनशास्त्रमा ढलीमली ग¥यो । मिथ्याकरणको प्रक्रियाका रूपमा यसको प्रभाव वैज्ञानिकहरूमा आजसम्म पनि छ । तर, अन्ततः के स्पष्ट भयो भने वास्तवमा वैज्ञानिकहरू सधैँ पापरको सिद्धान्तको अनुसरण गर्दा रहेनछन् । कैयौँ अवस्थामा उनीहरू एकदमै न्यून प्रमाण अथवा विना कुनै प्रमाण पनि परिकल्पनालाई स्वीकार गर्दा रहेछन् अनि कति–कति वेला त परीक्षणद्वारा गलत सिद्ध भैसक्ता पनि परिकल्पनालाई अस्वीकार गर्न इन्कार गर्दा रहेछन् । नअकमकाई भन्ने हो भने पापरको सिद्धान्त चाहिनेभन्दा बढी नै कडा सिद्ध हुन्छ र यसलाई साँच्चै कडाइका साथ लागू गर्ने हो भने शायद हामीले एकदमै चाँडो विज्ञानकै परित्याग गर्नुपर्ने हुन्छ; वैज्ञानिकहरूसँग परीक्षणका लागि परिकल्पना नै रहने छैनन् किनभने संसारका बारेमा तिनको ज्ञान एकदमै सीमित छ । पापरको सिद्धान्तमा दुई कमीका कारण यस्तो देखिन्छ ।

सिद्धान्तको सीमा
पापरको सिद्धान्तका निम्ति पहिलो समस्या के हो भने अधिकांशतः विज्ञान सिद्धान्तहरूलाई गलत सिद्ध गर्न होइन बरु ती सिद्धान्तले काम नगर्ने बिन्दुहरूलाई चिह्नित गरेर सिद्धान्त लागू गरिने सीमाहरूलाई परिभाषित गर्न क्रियाशील हुन्छ । भौतिकशास्त्रीहरू आजभोलि आधुनिक क्वान्टम फिजिक्सका सिद्धान्त पूरै ब्रह्माण्डमा लागू हुन्छन् अथवा ती कतिपय अवस्थामा (जस्तै, अन्तरिक्षमा ब्ल्याक होलमा विद्यमान परिस्थितिहरूमा अथवा लगभग १५ अर्ब वर्षअघि ब्रह्माण्डको उत्पत्तिका वेला ‘बिग ब्यांग’ को विस्फोटक ध्वनिका समयमा) निष्प्रभावी हुन्छन् भन्ने प्रश्नबाट निक्कै उद्वेलित छन् । ‘बिग ब्यांग’ को असाधारण र अनौठो परिस्थितिलाई फेरि जीवन्त गरी हेर्ने प्रयत्न स्वरूप नै युरोपेली देशहरूले उपलब्ध गराएको प्रभूत धनद्वारा स्विट्जरल्यान्डमा सीईआरएन जस्तो अत्यन्त महŒवाकांक्षी बृहत् परियोजना चलाइएको छ । यस अन्तर्गत पृथ्वीको सतहभन्दा धेरै तल बनाइएको विशाल गोलाकार सुरुङमा भीमकाय चुम्बकले उपपरमाणवीय कण (सब–एटमिक पार्टिकल्स) को गतिलाई लगभग प्रकाशको गतिमा वेगवान बनाएर हुत्याउँछ र तिनलाई एक–अर्कासँग ठोक्काउँछ । यस्तो टक्करबाट अत्यधिक मात्रामा ऊर्जा उत्पन्न हुन्छ । यसबाट भौतिक वैज्ञानिकहरूलाई सूर्यजस्ता ग्रहको केन्द्रमा विद्यमान प्रचण्ड पारमाणविक भट्टीमा रहेको भन्दा पनि बढी प्रचण्ड ऊर्जा सहितका परिस्थितिहरूमा ती उपपरमाणवीय कणहरूको व्यवहार तथा प्रतिक्रियाको जाँच÷परीक्षण गर्ने मौका हासिल हुन्छ । यस्तो अवस्थामा के हुन्छ वा हुनुपर्छ भनेर क्वान्टम फिजिक्सको सिद्धान्तले जुन निष्कर्ष दिएको÷भविष्यवाणी गरेको छ, त्यो यसबाट गलत सिद्ध भयो भने हामीले थाहा पाउनेछौँ— यी ‘अति’ का परिस्थितिहरूको सामना गर्न हामीले अर्को नयाँ किसिमको क्वान्टम फिजिक्सको विकास गर्नुपर्नेछ । यसबाट, यसअघिको न्युटोनियन भौतिकी जस्तै क्वान्टम फिजिक्स पनि यस ब्रह्माण्डको वास्तविक, मूलभूल फिजिक्सको एउटा अनुमान मात्रै रहेछ भन्ने साबित हुनेछ ।cern-Final (1)

अर्को समस्या के हो भने, पापरको मिथ्याकरणको कार्यविधि वास्तविक संसारमा कारणात्मक सम्बन्ध केवल ‘एक कारण, एक प्रभाव’ जस्ता प्रक्रिया हुन् भन्ने दृष्टिकोणमा अवलम्बित प्रतीत हुन्छ । तर, वास्तविकता चाहिँ के हो भने, वास्तविक संसारमा अधिकतर प्राकृतिक घटनाहरू कैयौँ परिवर्तनशील तŒवहरूका कारण हुन्छन् र तीबाट निर्णायक तवरमा प्रभावित पनि हुन्छन् । यसको दृष्टान्त हामीले किसान र बाली सम्बन्धी उपर्युल्लिखित उदाहरणमा पाइसकेकै छौँ । ‘वसन्तको वर्षा लगत्तै रोपिएका बाली सर्वोत्तम तवरमा विकसित हुन्छन्’ भन्ने तर्काधारलाई परीक्षण गर्न थाल्यौँ भने हामीले के पनि पाउन सक्छौँ भने ‘यस्तो हुँदो रहेनछ ।’ किनभने, हामीले वसन्तको वर्षाको त ख्याल गरयौँ तर जहाँ बाली लगाइएको छ त्यो माटो कस्तो हो भन्ने ख्याल गरेनौँ, अथवा त्यहाँको तापमानलाई ध्यानमा राखेनौँ, जबकि यी दुवै कुराले बालीको विकासलाई प्रभावित पार्छन्, र शायद, यिनैले त्यस ठाउँमा वसन्तको वर्षालाई प्रभावहीन बनाइदिएका हुन सक्छन् । पापर मुख्यतः न्युटोनियन भौतिकी जस्ता विद्याका शाखाबाट प्रभावित थिए जसमा अधिकतर घटनाहरूका एउटा मुख्य एवं निर्णायक कारणमा आधारित सरल स्पष्टीकरण हुन्छन् । जस्तै स्याउ रूखबाट अलग भएपछि गुरुत्कर्षणका कारण पृथ्वीमा खस्छ; सूर्य क्षितिजमा देखा परेपछि बिहान हुन्छ । वस्तुतः उनको मिथ्याकरण सिद्धान्तको अनुसरण अत्यन्त सावधानीका साथ नियन्त्रित गरिएका प्रयोगात्मक परिस्थितिमा मात्र गर्नु उचित हुन्छ । तर पनि, र यति गर्दागर्दै पनि, त्यो त्यसवेला मात्र सफल हुन सक्छ जुनवेला हामी सर्वज्ञानी भइसक्छौँ र भ्रमित गरिदिने सम्पूर्ण परिवर्तनशील कारकहरूलाई शुरूमै चिन्न सक्ने हुन्छौँ । स्पष्ट छ, हामी यस्ता भयौँ भने त्यसवेला प्रयोगको टन्टा नै किन गरिरहनुपर्ला र ?

थोमस कुनको अवधारणा
पापरको अल्झे सुल्झउने कामको प्रारम्भ सन् १९५० को दशकमा भयो । भौतिक वैज्ञानिकबाट विज्ञानका इतिहासकार बनेका अमेरिकी भौतिकशास्त्री थोमस कुनका निम्ति न्यूटनको सिद्धान्तका विरुद्ध लगातार थुप्रै प्रमाण फेला परिरहँदा पनि उन्नाइसौँ शताब्दीका वैज्ञानिकहरूले सुदीर्घ समयसम्म त्यस सिद्धान्तलाई त्याग्न किन अस्वीकार गरे भन्ने कुरा तीव्र उत्सुकताको विषय बन्न पुग्यो । भौतिक विज्ञानको इतिहासको गहन अध्ययनबाट उनी के निष्कर्षमा पुगे भने, विज्ञान एकनासको लयात्मक गतिमा नभएर फड्किँदै अघि बढ्छ । ठूलठूला अहं विचारले अन्ततः त्यसवेला ‘वैज्ञानिक क्रान्ति’ लाई जन्म दिन्छन् जब कुनै विशेष विद्या क्षेत्रका सक्रिय सदस्य अचानक कुनै नयाँ प्रतिमान वा ‘प्याराडाइम’ बारे सहमतिमा पुग्छन् । एकपल्ट ‘प्याराडाइम शिफ्ट’ भएपछि, कुनका शब्दमा, सबै सामान्य विज्ञान (नर्मल साइन्स) को एउटा समयकालमा अडिन पुग्छन् अनि नयाँ प्याराडाइमका निहितार्थलाई जाँच्न–परीक्षण गर्न प्रवृत्त हुन्छन् । यस समयकालमा तिनको उद्देश्य हुन्छ नयाँ प्याराडाइम लागू गरिने सीमाहरूको निर्धारण गर्नु, त्यसका सीमा र शर्तहरू तय गर्नु । अन्ततोगत्वा, नयाँ सिद्धान्तद्वारा गरिएका भविष्यवाणीहरू पनि गलत साबित हुन थालिहाल्छन् । तथापि वैज्ञानिकहरू शुरू–शुरूमा, त्यत्तिकै भरमा सिद्धान्तलाई त्याग्न तयार हुँदैनन् बरु त्यसको प्रतिरक्षामा मोर्चा सम्हाल्छन् । भविष्यवाणी गलत हुनुका पछाडि विशेष परिस्थिति थियो, त्यो सामान्य अवस्था होइन र त्यत्तिका आधारमा सिद्धान्तमाथि प्रश्नचिह्न लगाउनु उपयुक्त हुँदैन भन्ने तर्क अगाडि सार्न सहायक हुने खालका खास खास परिकल्पनाहरू खोजी खोजी अगाडि ल्याइन्छन् । तर, यो अथक कसरतका बावजूद, अन्ततोगत्वा गलत साबित भएका भविष्यवाणीहरूको बोझ् यति ठूलो हुन पुग्छ, सिद्धान्तलाई नै त्यागिदिनु बाहेक अरू उपाय बाँकी रहँदैन । यस्तो वेला कसै न कसैले कुनै नयाँ प्याराडाइमको सुझव दिन्छ, एउटा वैज्ञानिक क्रान्ति आउँछ अनि पूरा चक्र एकपल्ट फेरि गतिमान हुन थाल्छ ।Thomas Kuhn (1) 25-39 Robin Dunbar_Part 2.pmd

थोमस कुनको विज्ञानको अवधारणा पापरको अवधारणाभन्दा बिल्कुलै विपरीत, त्यसको विरोधमा उभिएको प्रतीत हुन्छ । धेरैले यस्तै मानेका छन् पनि । तर यस्तो ठान्नु कतिपय कुरामा ती दुवै जनाका तर्कको प्रकृतिलाई गलत बुझनु सरह हो । पापरको भनाइ ‘प्रेस्क्रिप्सन’ जस्तो हो, जसले परिस्थितिलाई ठीक अवस्थामा ल्याउन वैज्ञानिकले के गर्नुपर्छ भन्ने बताउँछ । उता, कुनको कथन मानकीय (नर्मेटिभ) हो, जसले वैज्ञानिकहरू वास्तवमा के गर्छन् भन्ने बताउँछ । वैज्ञानिकहरूको कार्यका बारेमा कुनको कथन दिइएको सिद्धान्त अथवा प्याराडाइम सही हो अथवा गलत भन्नेतिर लाग्दैन, त्यसले के मात्र भन्छ भने वैज्ञानिकहरू समूहका रूपमा त्यसलाई स्वीकार्ने अथवा अस्वीकार गर्नेतिर प्रवृत्त छन् । यस्तो किन गर्न सकिन्छ त भन्दा त्यस सिद्धान्तले पुरानो सिद्धान्तको दाँजोमा उपलब्ध प्रमाणको बढी राम्रो स्पष्टीकरण दिन सकछ । अथवा, यस्तो कुनै मनमर्जी कारणले पनि (उदाहरणका लागि राजनीतिक आस्था) गर्न सकिन्छ ।

यहाँनेर आइपुग्दा के देख्न आइतवार पर्खिनु पर्दैन भने, यस आखिरी विकल्पले, विज्ञानका सिद्धान्तहरू वैज्ञानिक हुर्केभिजेको त्यस्तो संस्कृतिका देन हुन् जसको कुनै पनि वास्तविक वैधता छैन भन्ने दृष्टिकोणतर्फ डोर्याउन सक्छ । कहिलेकाहीँ त कुन आफै पनि यस्तै सापेक्षवादी दृष्टिकोण अपनाउन इच्छुक जस्ता लाग्छन् । तर अर्को ढंगले व्याख्या गर्ने हो भने थोमस कुनका विचार यो तर्कशील दृष्टिकोण अनुकूल देखिन्छ वैज्ञानिकले नयाँ प्याराडाइमलाई त्यसवेला मात्र अंगीकार गर्छन् जब तिनले पुरानोलाई विनाशको हदसम्म परीक्षण गरिसकेका हुन्छन् अनि त्यसभन्दा उत्कृष्ट तर, त्यसको स्थान लिन सक्ने नयाँ प्याराडाइम भेटेको÷पत्ता लागेको हुन्छ ।

बेग्लैखाले मामिला
ठ्याक्कै यही व्याख्या हंगरीका विज्ञान–दार्शनिक इम्रे लकातोशले पनि दिएका छन् । उनले कुन कुरातर्फ ध्यानाकर्षण गराएका छन् भने वैज्ञानिक कहिलेकाहीँ त पापरको दृष्टिकोण मुताबिक चल्छन् तर अरू वेला कुनको दृष्टिकोण अनुसार नै अघि बढ्छन् । लकातोशको तर्क थियो, प्रकट रूपमा देखिने यो विरोधाभास दुवै स्थितिमा बिल्कुल बेग्लैखाले सिद्धान्तको मामिला थियो भन्ने कुरा विज्ञानका दार्शनिकहरूले ठम्याउन नसकेकाले मात्र उत्पन्न हुन पुगेको हो । उनले भनेका थिए, वैज्ञानिकहरू जुन संसारमा कार्यरत हुन्छन् त्यसका कैयौँ पत्र हुन्छन् । तीमध्ये केही सिद्धान्त प्रोग्रामयुक्त तवरमा क्रियाशील हुन्छन् भने अन्य सिद्धान्तको ध्यान स्वयं प्रोग्रामले कसरी कार्य गर्छ भन्ने मिहीन कुरातिर हुन्छ । प्रोग्राम सम्बन्धी सिद्धान्तले वैज्ञानिकहरूलाई कुनै विशेष प्रयोग गर्ने अथवा संसारलाई कुनै खास ढंगले हेर्ने कारण प्रदान गर्छ; त्यो कुनको प्याराडाइम जस्तो हुन्छ । यसै प्रोग्राम अन्तर्गत वैज्ञानिक सहायक परिकल्पनाहरू उत्पन्न गर्छन् जसले, विशेष तवरमा, ढाँचागत सिद्धान्तले व्यवहारमा कसरी काम गर्छ भन्ने दर्शाउँछन् । वैज्ञानिकले यिनैलाई मिहीन तवरमा जाँच गर्छन् अनि पापरको पारामा स्वीकार्छन् वा अस्वीकार गर्छन् । (क्रमश…)

(भाषान्तर शरच्चन्द्र वस्ती)

Related Posts

/*sign up form*/