केटाकेटीले झैं सोच्न पाए …!

by • • मनका कुरा (ब्लग)Comments (0)301

विष्णुमाया सिग्देल

एक हूल मान्छे पीठो कुटेर गएपछि छोरीले सोधिन्, ‘ती मान्छेले हाम्रो ढिकीमा पीठो कुटे तर किन पैसा नदिएका ?’ उनले पक्कै हामीले शहरमा जस्तै पीठो कुटेपछि त्यसको ज्याला तिर्नुपर्छ भनेर सिकेकी हुनुपर्दछ । छोरीको यो हेराइ आफैंमा सुन्दर लाग्यो ।
मेरी छोरी रुबी पाँच वर्षकी भइन् । गएको दशैंमा गाउँ जाँदा उनले गरेका कुरा र उनको बुझइ रोचक लागेर यहाँ लेख्दैछु । हाम्रो गाउँ पाल्पा रामपुर फाँटमा पर्छ । हाम्रो घरमा ढिकी छ । टोलछिमेकका मानिसहरू खासगरी दशैं–तिहारमा सेलरोटी पकाउनका लागि पीठो कुट्न हाम्रोमा आउँछन् । छोरीले ती छिमेकीलाई कसरी बुिझ्न्, हामीलाई थाहा थिएन, सोधिएन पनि । तर छोरीको एउटा चासो भने रोचक लाग्यो । एक हूल पीठो कुटेर गएपछि सोधिन्, ‘ती मान्छेले हाम्रो घरमा आएर पीठो कुटे तर पैसा नदिइकन गएका किन ?’ उनले पक्कै हामीले शहरमा जस्तै पीठो कुटेपछि त्यसको ज्याला तिर्नुपर्छ भनेर सिकेकी हुनुपर्दछ । व्यापारीको छोरी भएको भए ‘छोरी व्यापार गर्न जान्ने भइछन्’ भन्न सकिन्थ्यो होला; तर व्यापारी होइनौं हामी । उनले बुझ्ेको सरल कुरा भनेको, कुनै सेवा लिएपछि त्यसको ज्याला दिनुपर्दछ । तर गाउँघरमा त्यस्तो चलन थिएन र अझै पनि छैन ।
छोरीको यो हेराइ आफैंमा सुन्दर लाग्यो । उनको कुरापछि मेरी आमाले आफ्नो गुनासो सुनाउनुभयोे, ‘ढिकी प्रयोग गर्ने बढे । ढिकी छिटो–छिटो बिग्रन्छ, तर मर्मत गरिदिने कोही भएन ।’ ‘पोहोर साल ओखल फेर्नु प¥यो; रकम तिरेर सिकर्मी लगाउनु प¥यो ।’ आमा दुःखेसो पोख्दै हुनुहुन्थ्यो ।
आमाले नातिनीको सरल उपाय पक्कै बुझनुहुन्न अथवा बुझे पनि रुचाउनुहुन्न । पीठो कुट्न आउनेहरू दशैं, तिहार अनि कुनै विवाह तथा पर्वमा मात्रै आउने हुन्, ढिकी मर्मत गर्ने जिम्मेवारी उनीहरूले लिने कुरा पनि भएन । अनि आमाले आफ्नो मर्का राख्न पनि जान्नुहुन्न । आमाले थप खुलासा गर्नुभयो, ‘जाँतो पिस्न आउनेको भीडले दिक्क भएर जाँतो नै घरभित्र राखेपछि छिमेकीहरू आउन हिच्किचाए ।’
पुराना प्रविधि विस्थापित हुँदै हराउँदै गएका छन्, चाहिने भए पनि प्रयोगबाट हराउँदै जाँदैछन् । छोरीको बुद्धि लगाएर एक घण्टा ढिकी प्रयोग गरेको ५० रुपैयाँ लिने तथा दश मिनेटको १० रुपैयाँ लिने हो भने ढिकी मर्मत गर्न खर्च जुट्थ्यो होला । छोरीले सुझए जस्तै सरल उपाय अपनाउन सके यी प्रविधि बाँच्ने पनि थिए कि, विलाएर जाने थिएनन् कि ? त्यति भए मेरी छोरीपछिको पुस्ताले पनि देख्न पाउँथे होलान् ।
बाआमाले जाँगर गरेर दुहुना गाई पनि पाल्नुभएको छ । दशैंमा घरको ढोकामा गाईको गोबर टाँस्ने अनि त्यसमाथि टीका अनि जमरा चढाएपछि मात्र हामीले टीका लगाउने चलन छ । टीका लगाउने ठाउँमा पनि गोबरले पोत्नुपर्छ । दियो बाल्दा पनि गाईको गोबर माथि राखेर बालिन्छ । गाई पाल्न कठिन छ बाआमालाई । दशंैको दिनमा पीठो कुट्ने भन्दा बढीको संख्यामा बिहानभरि गाईको गोबर लिन मान्छेहरू आइरहे ।
आजभोलि गाउँ पनि गाउँ रहेका छैनन् । धेरैले गाई पाल्दैनन् । शहरतिर लम्किंदै छ गाउँ । नगरपालिका बनेपछि बसाइँसराइ गरेर आउनेको पनि लर्को छ हाम्रो गाउँमा । मैले पनि छोरीले जस्तै सिक्न खोजें— कम्तीमा १० रुपैयाँमा त्यसरी गोबर बेचे बाआमालाई गाई पाल्ने खर्च थोरै भए पनि उठ्थ्यो कि ? यो कुरा हामीले कुरैकुरामा सुनायौं पनि, तर आमाले कुनै जवाफ दिनुभएन । बाले पुरेत्यार्इं गर्ने हुँदा गोबर बेचेमा गाउँलेले सक्नेसम्म कुरा काट्थे होलान् ।
प्रोफेसर लेभिट तथा स्टेभेनले ‘थिङ्क लाइक अ फ्रिक’ भन्ने किताबमा ‘केटाकेटीले जस्तै सोच्न सिके हामीले धेरै समस्याको समाधान सहजै गर्न सक्थ्यौं’ भनेर थुप्रै उदाहरण दिएका छन् । कुनै सोच विकास गर्नु पर्दा होस् वा प्रश्न गर्दा आठ वर्षको बालबालिकाले जस्तो सोच्न सक्दा निकै फाइदा हुने कुरा उनले बताएका छन् । बालबालिकाको सोच्ने तरीका बारे सो पुस्तकमा अगाडि लेखिएको छ, “केटाकेटीले सरल ढंगबाट सोच्न सक्दछन् । उनीहरू कुनै पनि कुरा विना पक्षपात सोच्छन्; किनकि उनीहरू थोरै कुरा जान्दछन् र उनीहरूको दिमागमा प्रौढको जस्तो कुनै पनि कुरा ‘जस्ताको तस्तै देख्न नसक्ने’ पूर्वाग्रह हुँदैन । यो पक्ष समस्या समाधानमा साँच्चिकै नै लाभदायी हुन्छ ।” केटाकेटीले जस्तै सरल र साना–साना कुरामा सोच्दा नै धेरै समस्या समाधान हुन सक्छन् । हाम्रो मुलुकमा किन राम्रा बाटो नबनेका ? किन पढेका युवा विदेशिनु परेको ? किन विद्यालयमा नियमित पढाइ हुँदैन ? यस्ता कुरामा साना–साना केटाकेटीलाई सोधेर समाधान गरे चाँडै सुधारका संकेत देखिन्थे कि !
हाम्रो मुलुक कृषिप्रधान तर आयात गरेर खानु परेको छ । हाम्रै देशमा बिजुली उत्पादन गर्ने प्रशस्त सम्भावना हुँदाहुँदै पनि हामी विदेशीको बिजुली बालिरहेका छौं । कमै नेपालीलाई मात्रै थाहा छ होला, नेपालमै बनेको सामान प्रयोग गर्दा हामी सबै नेपालीलाई रोजगारी प्राप्त हुन सक्छ । तर यस्ता कुरा न हाम्रो शिक्षाले दिएको छ न त बुझइएको छ । सही प्रश्न गर्न सिकाएमा केटाकेटीले आफ्ना समस्या आफैं समाधान गर्न सक्छन् । तर हामी प्रायः उनीहरूका प्रश्न र जिज्ञासामा बिर्को लगाउने कोशिश गर्छौं ।
हाम्रो सरकारका कर्मचारी, सचिव, मन्त्रीले पनि केटाकेटीले सोचे जसरी सोच्न सके हाम्रा समस्याहरू अहिले जस्तो धेरै जकडिने थिएनन् होला । तर केटाकेटीले जसरी सोच्न प्रौढ हुँदै गएपछि सरल होइन, गाह्रो हुँदोरहेछ । अकबर वीरबलको कथामा एकपटक अकबरले वीरबललाई वैद्यले गोरुको दूधसँग औषधि खानुपर्ने सल्लाह दिएको भन्दै गोरुको दूध ल्याइदिन अह्राउँछन् । वीरबल मलिन अनुहार लिएर घर फर्किन्छन् । बाबुलाई चिन्तित देखेर सानी छोरीले चिन्ताको कारण सोधिन् । वीरबलले आफ्नो समस्या सुनाइनसक्दै छोरीले उपाय सुझउँछिन् । अनि छोरी आफ्ना बाउ सुत्केरी भएको खबर लिएर राजासामु उपस्थित हुन्छिन् । वीरबलकी छोरीको कुरा सुनेपछि अकबर आफ्नो हार स्वीकार गर्दै वीरबललाई दरबारमा बोलाउँछन् । अर्थात् केटाकेटीले जस्तो सरल ढंगबाट सोच्न सके कैयौं समस्या सजिलैसँग समाधान गर्न सकिन्छ ।
तर उमेर बढेसँगै एउटा ढर्राबाट सोच्ने होइँदो रहेछ । केटाकेटीले जस्तो सोच्न सक्ने क्षमता कम हुँदै जाँदोरहेछ । प्रौढ हुनु भनेको बढी घमण्ड, इगो पाल्नु, इष्र्या गर्नु पनि हुँदोरहेछ; सँगसँगै सिक्न सक्ने क्षमतामा कमी आउँदो रहेछ । मलाई थाहा छैन, पश्चिमाहरू कसरी विश्वविद्यालय गएर बुढेसकालमा पढ्दैछन् !
फेरि छोरीकै कुरातर्फ लागौं । हाम्रो घरमा गाईको बाच्छी पनि रहेछ । त्यो बाच्छी देखेर छोरीले सोधिन्, ‘हजुरआमा, बाच्छीको जन्मदिन कहिले ?’ हजुरआमा हाँस्नुभयो । उनले सबैको ‘वर्थडे’ हुन्छ, त्यसैगरी बाच्छीको पनि हुनुपर्छ भनेर सोचिन् । यसबाट उनको प्राणीप्रतिको स्नेह पनि प्रकट गरिन् । हाम्रो जीवन प्राणीजगतसँग घनिष्ट छ । दशैंअघि भक्तपुरको फ्ल्याटको कौसीमा परेवाले गुँड बनाएर अण्डा पा¥यो । छोरीको सहज प्रश्न थियो, ‘उसले अब अण्डा के गर्छ ?’ उत्तरमा हामीले भन्यौं, ‘अण्डाबाट बच्चा कोरल्छ ।’ उनले थपिन्, ‘अब उसले बच्चा जन्माउन अण्डालाई पाटन हस्पिटल लैजान्छ त ?’ उनी आफू पाटन हस्पिटलमा जन्मेकी हुनाले पाटन हस्पिटलमा बच्चा जन्मिन्छ भन्ने थाहा छ । यस्ता अन्तहीन प्रश्नको जवाफ हामीसँग थिएन, हामी हाँस्यौं मात्र ।
गाउँमै रुबीले उनको मामाको छोरा पढ्ने स्कूलको नाउँ के भनेर सोधिन् । जवाफमा ‘रामपुर इङ्गिलस स्कूल’ भन्ने सुनेपछि छोरीको अर्को जिज्ञासा यस्तो थियो, ‘त्यसो भए मैले पढ्ने स्कूलको नाउँ एसओएस हर्मन माइनर नेपाली स्कूल हो त ?’ केटाकेटीको बुझइ कति सरल छ ? नाउँमै कुन भाषामा पढाइ हुन्छ भन्ने गरी स्कूलको नाउँ राख्छौं हामी । हो; अंग्रेजी भाषा अहिलेको आवश्यकता हो, अंगे्रजी पढाउनुपर्छ तर सामाजिक शिक्षा पनि अंग्रेजीमा पढाउनाले ठूलो संख्यामा सामाजिक शिक्षामा विद्यार्थी फेल भइरहेका छन् ।
गाउँमा त अझ्ै स्कूल भन्ने वित्तिकै कि सरकारी कि बोर्डिङ स्कूल भन्ने बुझ्न्छि । बोर्डिङ भन्नाले गाउँमा निजी स्कूल अर्थात् अंग्रेजी स्कूल भन्ने बुझ्न्छि । शब्दार्थमै हेर्ने हो भने बोर्डिङ स्कूल भन्नाले आवासीय विद्यालय भन्ने बुझ्न्छि । सबै निजी स्कूल आवासीय हुँदैनन्, अनि थुप्रै सरकारी स्कूल खासगरी हिमाली क्षेत्रका स्कूल आवासीय छन् । हुन त काठमाडौंका स्कूल कलेज अमेरिकाका शहरका नाउँ र यूरोपका फूटबल क्लबको नामबाट राखिन्छन् । कमसेकम गाउँको निजी स्कूलको नाउँमा त गाउँकै नाउँ रहेछ !
प्राथमिक तह शिक्षक, काँडाघारी, काठमाडौं

शिक्षक मासिक, २०७४ साउन अंकमा प्रकाशित

 

Related Posts

/*sign up form*/