केटाकेटीका यौनिक अभिव्यक्ति र व्यवहार के बुझ्ने, कसरी बुझ्ने ?

by • • Highlight, आवरणComments (0)176

Print Friendly, PDF & Email

– निधि गुलाटी

केटाकेटीको यौन अभिव्यक्ति हामीलाई आपत्तिाजनक लाग्छ। तर यस्ता घटना यौन–शोषण वा अनैतिक गतिविधि नभएर उनीहरूको स्वाभाविक विकाससँग गाँसिएका हुन सक्छन्।

पोहोरसाल जुलाई महीनाको कुरा हो । भारतको दक्षिणी राज्य केरलको राजधानी तिरुवनन्तपुरम्को घटना । एउटा स्कूलको किशोर छात्रले सहपाठी छात्रालाई ‘आर्ट्स फेस्टिवल’ मा उत्कृष्ट प्रदर्शन गरे बापत स्कूलको भर्‍याङ नजिकै भावातिरेकले आलिंगन गर्‍यो । स्कूलकी महिला शिक्षकले यसबारे शिकायत गरेपछि उक्त छात्रलाई स्कूलबाट निलम्बित गरियो । छात्रले आफूलाई कक्षा–१२ को परीक्षामा बस्न दिइयोस् भनेर स्कूलमा निवेदन दियो । राज्यको बाल अधिकार आयोगले छात्रको पक्षमा फैसला गर्‍यो । तर, ६ महीना पश्चात् डिसेम्बरमा त्यहाँको उच्च अदालतले छात्रको माग अस्वीकार गर्योब । अदालतको तर्क थियो— स्कूललाई त्यस्ता सबै क्रियाकलाप रोक्ने अधिकार छ, जसबाट केटाकेटीको नैतिकताको हनन हुन्छ ।

यो आलिंगन–विवादबारे त्यहाँका सञ्चारमाध्यममा निकै बहस भयो । तर त्यो बहसमा मैले ‘केटोकेटी र किशोरकिशोरीको यौनिक अभिव्यक्ति एउटा हदसम्म विकासात्मक पनि हुन सक्छ’ भन्ने तर्क भने कहीं पनि फेला पार्न सकिनँ । के यस्ता सबै व्यवहार यौन–शोषण वा यौन–आक्रमण मात्र हुन सक्छन् ? कि केटाकेटीको स्वाभाविक विकासका घटना पनि हुन सक्छन् ? यौन शोषण र स्वाभाविक विकासका मामिलालाई छुट्याउनु र फरक दृष्टिले हेर्नु जरूरी हुन्छ । तर यस्तो विवेक आजभोलि सञ्चारमाध्यम र सामाजिक सञ्जालको ‘लोकप्रिय चेतना’ मा कहीं देखा पर्दैन ।

हाम्रा वरिपरि घटित यस्तै केही उदाहरणको आलोकमा, यो लेखमा म केटाकेटीको यौनिक अभिव्यक्तिबारे चर्चा गर्दैछु । यस क्रममा यौनिकताको इतिहासमाथि सिंहावलोकन गरिएको छ र यौनिकताको दमन, केटाकेटीलाई अयौनिक रूपमा परिभाषित गरिएको कुरा तथा तिनको लैंगिक प्रतिक्रिया, यौनिक उत्सुकता एवं स्वाभाविक प्राकृतिक विकासका सन्दर्भहरू समेटिएको छ । यसले केटाकेटीको यौनिकताको ‘सल्किंदो कोइला’ लाई देख्न र स्वीकार्न हाम्रो हिचकिचाहट किंवा अनिच्छुकतामाथि प्रश्न उठाउँछ ।

केटाकेटीमा यौनिकताको अभिव्यक्ति
केटाकेटीमा यौनिक अभिव्यक्तिका घटना-व्यवहार असामान्य कुरा होइनन् । स्कूलमा, र दैनिक जीवनमा पनि, यस्ता घटना देखिइरहन्छन् । हाम्रा आँखामा नपरेका घटना−व्यवहार अझ् कति हुन्छन् कति । सामान्यतः ती स्वाभाविक हुन्छन्— केटाकेटीको स्वाभाविक विकाससँग गाँसिएका । एक हदभन्दा बढी भएपछि वा हाम्रा आँखामा परेपछि भने ती चिन्ताका विषय बन्न पुग्छन् । वर्जना र दण्डसजायबाट तिनको उपचार खोजिन्छ ।
केही वर्ष अघि म मध्य–दिल्लीको एउटा नर्सरी स्कूल अवलोकन गर्न जाँदाको घटना हो । त्यो स्कूलमा केटाकेटीको शौचालय अगाडि अलिकति खाली ठाउँ छ । म पुगेको दिन, त्यहाँ चार–पाँच वर्षको एउटा बच्चाले आफ्नै उमेरकी बच्चीलाई ठेलेर लडायो र उसमाथि घोप्टो परेर सुत्यो । एकछिन त्यसैगरी बित्यो । एकजना महिला शिक्षकले त्यो दृश्य देखिन् र उनीहरूलाई एकअर्काबाट अलग्याइन् ।

यस्तै घटना एक अर्को स्कूलकी शिक्षकले सुनाइन्ः केही दिन अघि उनको कक्षा कोठामा चार कक्षाकी एउटी बच्ची च्यातिएको र भिजेको कपडामा प्रवेश गरिन् । धेरैवेर सोधेपछि उनले बताइन्— उनकै कक्षाको एउटा केटाले रिसाएर यसो ग¥यो । उनी अरू केही भन्न चाहिरहेकी थिइनन् । एक छिन कुरा गर्दै गएपछि के थाहा पाइयो भने, एउटा केटाले उनलाई जिस्क्याएछ र समातेर गालामा म्वाई पनि खाएछ । यो देखेर उनको दाजुले त्यो केटालाई कुटेछ । तीन जनाको घम्साघम्सी हुँदा तिनको कपडा च्यातिएछ । यसैबीच त्यो केटाले उनीमाथि पानी पनि खन्याइदिएछ ।

यौनांग प्रदर्शन, ठूलाबडाको नक्कलका रूपमा गरिने यौन व्यवहार र केटी साथीको कपडा तान्ने घटना प्राथमिक र नर्सरी तहका स्कूलहरूमा पनि बारम्बार देखिने गर्छन् । उमेर बढ्दै गएपछि यस्ता व्यवहारको रूप फरक पर्दै जान्छ । दिल्लीकै अर्को निजी स्कूलको घटनाः दश वर्षीय एउटा छात्र केटीहरूको शौचालयमा च्याउँदै गरेको भेटियो । शिक्षकहरूले उसलाई गाली गरे, र केही हप्ताका लागि ऊ स्कूलबाट निलम्बित भयो ।
केटाकेटीको यौनिक अभिव्यक्तिबारे, खासगरी हामीकहाँ, ज्यादै कम लेखिएको छ । व्यवस्थित अध्ययन र गम्भीर विश्लेषण भएको छैन— सतही र एकांगी टिप्पणी बाहेक । त्यसै पनि, केटाकेटीपनको प्रचलित अवधारणा विगत दुई सय वर्षमा सुदृढ भएको हो, इतिहासका ग्रन्थहरूले केटाकेटीका बारेमा सोझै केही लेखेका छैनन् । यस अवस्थामा, यौनिकताबारे हिजोको समयमा हाम्रो दृष्टिकोण कस्तो थियो भन्ने बुझनु उपयोगी हुन्छ ।

भारतमा यौनिकताको इतिहास
तेस्रोदेखि बाह्रौं शताब्दीसम्मको भारतमा यौनिकताको दमन थिएन । दोस्रो शताब्दीतिर लेखिएको कामसूत्र मा कामना-यौनिकता (Sexualities) लाई शास्त्रीय वैधता दिइएको छ । धर्म, अर्थ र काम– तीनवटैलाई जीवनका महत्वपूर्ण पक्ष मानिएको छ । त्यस समय यौनिकताले नैतिकता र धर्मसँग सामञ्जस्य स्थापित गर्नुपर्‍यो, तर यो अवरोध थिएन । लगभग बाह्रौं शताब्दीसम्म नै उन्मुक्त, स्वतन्त्र यौनिकताका पर्याप्त प्रमाण भेटिन्छन् । त्यसमा शामेल छन्ः आठौं र नवौं शताब्दीको पहाडी चित्रकला, नवौं र बाह्रौं शताब्दीका बीच बनेका खजुराहो, बीकानेर र कोणार्कका मन्दिरका शिल्पकृतिहरू ।

चौधौं शताब्दीमा दक्षिण भारतका विनोकोन्डा बल्लभार्यद्वारा लिखित क्रिडाभीरामामू नामक तेलुगू भाषाको नाटकले पनि यसकै निरन्तरतातर्फ संकेत गर्छ । यसले वारंगल (बंगलोर) लाई यस्तो शहरका रूपमा प्रस्तुत गरेको छ, जहाँ प्रेम र यौनिक आनन्द खुला-सार्वजनिक ठाउँमा दर्शाइन्छ । आपसमा अमिल्दा पात्र र परिस्थितिहरू छन्, जस्तैः व्यभिचारी पति–पत्नी, पत्नी र वेश्याहरूका बीच तुलना, कामुक शब्दहरू बोल्दै मन्दिर गइरहेको व्यक्ति आदि । यसले देखाउँछ— त्यस वेला यौनिक र धार्मिक संसारबीच ठूलो खाडल थिएन । यसपछिको समय, अर्थात् मध्यकालीन भारतमा यौनिकताको झलक मुगल परिवारको ‘हरम’ (अन्तःपुर) बाट पाइन्छ । हरमभित्र खुल्लमखुल्ला यौनिकता र आनन्दको वातावरण हुन्थ्यो, साथै हरमलाई पवित्र स्थान मानिएको थियो । अभिलेखहरूले बताउँछन्— पाँचदेखि सात वर्षका बीचमा केटाकेटीको ‘सगाई’ गरिन्थ्यो र १२ वर्ष लागेपछि बिहा गरिन्थ्यो । त्यसवेलाका कतिपय चित्रहरूमा मुगल महिलाहरू (शाही परिवारका होइन) महँगा लुगा र गहना लगाए पनि शरीरका सबै अंगहरू प्रदर्शन गरिरहेका देखिन्छन् । अठारौं शताब्दी आइपुग्दा नपुग्दा चित्रहरूमा कतिपय परिवर्तन स्पष्ट देखिन्छन्, जस्तै— ‘हरम’ को वातावरणमा कामुकता छ, दासी−सेविकाहरूका वस्त्र पारदर्शी छन् ।

भारतमा शासन गर्ने पहिलो मुगल–शासक बाबरको इतिवृत्त ‘बाबरनामा’ मा बाबर क्याम्प–बजारको एउटा केटो ‘बाबरी’ प्रति ज्यादै आकृष्ट र आसक्त हुन पुगेको वर्णन छ । भनिन्छ, उसको प्रेममा बाबर पागल जस्तै भएको थियो होश–हवास गुमेजस्तो भएर यता र उति हिंडिरहन्थ्यो । मुगल शासनमा यौनिक शोषणका मामिलाहरूको लेखाजोखा राखिने गरेको र त्यसलाई ‘चमचोरी’ भन्ने गरिएको अभिलेख पाइन्छ । यो सबले के संकेत गर्छ भने, मुगल शासनकालमा परिवार र सम्बन्धहरूमा निकै परिवर्तन आएको थियो । यौनिक अन्तरंगता र शरीरप्रतिको ‘दृष्टिकोण’ बदलिन पुगेको थियो ।

पछिल्ला दुई सय वर्षमा भने यौनिक उन्मुक्तता बिस्तारै–बिस्तारै विलुप्त हुन पुग्यो । यो विलोपनका स्पष्टीकरण अनेकथरि पाइन्छन् । धेरैको व्याख्या अनुसार, अंग्रेजको शासन शुरू भएपछि ईसाई धर्मको प्रभावका कारण यसो भएको हो, किनभने ईसाई धर्ममा यौनिक सम्बन्धलाई पापको दृष्टिले हेरिन्थ्यो, ‘शुद्धता’ मा जोड दिइन्थ्यो अनि शरीरसँग एउटा अनौठो खालको नाता थियो । केहीले चाहिं मध्यकालीन मुस्लिम शासनलाई नै यसको जिम्मेदार मानेका छन् किन भने त्यही समयका चित्रमा शरीर पूरै ढाकिएका देखिन थाले । यद्यपि, त्यसवेला यौनिक अवरोध थिएन, कम्तीमा पुरुषहरूले आफ्नो यौनिकता लुकाउनु पर्दैनथ्यो । यसरी हेर्दा, भारतमा यौनिकतालाई लुकाउने–दबाउने मामिलामा ईसाई धर्म र मुगल साम्राज्य दुवैको (पहिलोको निकै बढी र दोस्रोको अलिक कम) प्रभाव परेको देखिन्छ । यो प्रभाव यति सशक्त थियो कि हिन्दू संस्कृतिमा पनि कामुकता−यौनिकतालाई अस्वीकृत गरियो । यसलाई लुकाउनु–दबाउनुपर्ने, वर्जित विषय जस्तो बनाइयो ।

जीवनशैलीलाई मार्गनिर्देश गर्ने दुई विपरीत विचारधाराहरू– कामुकता र योग– पहिलेदेखि नै प्रचलित थिए । कुनै समय र स्थानमा एउटा हावी हुन्थ्यो, कुनै वेला−ठाउँमा अर्को । यसका बावजूद यौनिक उन्मुक्तता बाधित थिएन । योग भने आध्यात्मिक प्रगतिका निम्ति महत्वपूर्ण मानिन्थ्यो । यसमा शरीर र चित्तवृत्तिहरू नियन्त्रित गर्न यम–नियम आदिका कठोर विधि अपनाइन्छन् । ब्रह्मचर्य अर्थात् वीर्यरक्षालाई विशेष महत्व दिइन्छ । वीर्य रगत, पसीना र हड्डीको सार–तत्व हो र त्यसलाई बचाएर राख्नुपर्छ भन्ने मानिन्छ, वीर्यनाशलाई पौरुषनाशका रूपमा लिइन्छ । वीर्यप्रतिको यो मान्यता र व्यवहार साधु−साधकहरू जस्तै पहलमानहरूमा पनि लागू भएको पाइन्छ । यसैकारण, आनन्दका लागि गरिने यौनसम्पर्कलाई खतरनाक मानिन्छ, किनभने यसमा वीर्य खेर जान्छ । यौनसम्पर्क सन्तानोत्पादनका निम्ति मात्र हुनुपर्छ भन्ने मान्यता राखिन्छ । पहलमानी सिक्न अखाडामा आउने किशोरहरूलाई केटीतिर नहेर्नू र मनमा केही ‘खराब’ विचार आयो भने हनुमानको ध्यान गर्नू भनेर सिकाइन्छ । हनुमानलाई उनको सबैभन्दा ठूलो चारित्रिक विशेषता– ब्रह्मचर्यका लागि इष्ट मानिन्छ ।

किशोर केटाहरूलाई वीर्यरक्षाका निम्ति उत्प्रेरित गरिएजस्तै खालको मान्यता ब्रिटिशकालीन मद्रास क्षेत्रमा केटी÷महिलाहरूका सन्दर्भमा पनि पाइएको छ । यौनिकता−कामुकताबाट टाढा रहेको, तर सन्तान जन्माउन अर्थात् प्रजनन्योग्य (रिप्रोडक्टिभ) शरीरलाई आदर्श र आदरयोग्य मानिन्थ्यो । थुप्रै ‘राजनीतिक’ समूहहरू प्रजनन्योग्य शरीर र ‘सेक्सुअल बडी’ (यौनिक−कामुक शरीर) लाई एक–अर्काका विरोधी र प्रतिद्वन्द्वीका रूपमा व्याख्या गर्थे ।

यसै क्रममा, भारतमा सन् १८९१ मा १२ वर्ष भन्दा कम उमेरका केटीहरूसँग यौन सम्पर्क गर्नुलाई कानूनतः अवैध घोषित गरियो । त्यसअघि त्यस्तो उमेर १० वर्ष थियो । सन् १९२९ मा आएर यौन सम्पर्कका निम्ति केटीहरूको न्यूनतम उमेर १४ वर्ष तोकियो । १९४९ मा यसलाई बढाएर १५ वर्ष, १९८२ मा १६ वर्ष र सन् २०१३ मा १८ वर्ष पुर्या इयो। केटाहरूका लागि यो उमेर १९२९ मै १८ वर्ष तोकिएको थियो ।

बालापनको ‘अयौनिक’ परिभाषा
मानव–विकासको दृष्टिले केलाउने हो भने मानिस आजीवन ‘सेक्सुअल’ अथवा कामुक हुन्छ— शिशुदेखि वृद्ध अवस्थासम्मै । यो यौनिकता अलग–अलग चरणमा अलग–अलग रूपमा व्यक्त हुन्छ । यौनिकताका जैविक र व्यावहारिक घटक हुन्छन् ।

जन्मदेखि नै केटाकेटीमा लैंगिक प्रतिक्रिया विद्यमान हुन्छ । अनेकौं शोधकर्ता, डाक्टर र अभिभावकहरूले यसको वर्णन गरेका छन् । शिशुहरू अत्यन्तै सहज र स्वाभाविक रूपले आफ्ना जनना अंगसँग ‘खेल्छन्’ । ६ देखि ९ वर्षको उमेरका बीच यस्तो खेल क्रमशः खुल्लमखुल्ला नभएर लुकेर–लुकाएर हुन थाल्छ । शिशु र साना केटाकेटी पनि कतिपय अवस्थामा कामुकताको अनुभव गर्छन् । यही उमेरमा तिनले आफ्नो सामाजिक लिंग– नारीत्व अथवा पुरुषत्वको पहिचान हासिल गरिरहेका हुन्छन् । साथै, आफ्नो समाजका कैयौं भनिएका–नभनिएका नियमहरूलाई पनि तिनले आत्मसात् गर्न थाल्छन् ।

तीनदेखि सात वर्षको उमेरका बीच यौनिकतामा केटाकेटीको रुचि बढ्छ । उनीहरूले पुरुष र स्त्रीका बीच लैंगिक अन्तरहरू हुन्छन् भन्ने बुझछन् । यही उमेरमा तिनले बिहा र लामो समयसम्म चल्ने सम्बन्धको बोध पनि पाउन थाल्छन् । यसै क्रममा घर–परिवार, आमा–बाबु, डाक्टर–बिरामीका खेलहरू मार्फत तिनले वयस्कहरूको भूमिका र उत्तरदायित्वलाई बुझन; व्यक्त गर्न थाल्छन् । बाल–विकासका क्षेत्रमा भएका अनुसन्धानहरूमा बारम्बार के निष्कर्ष निस्केको छ भने, केटाकेटीले विभिन्न खेल मार्फत एकअर्काको शरीरको ‘छानबीन’ गर्नु सामान्य र सार्वभौम कुरा हो । आफ्नो शरीरका बारेमा जिज्ञासा, खुशी र सम्मोहन लगभग सबैले महसूस गर्छन् र अर्को लिंगीको शरीरबारे जान्ने उत्सुकता पनि सबैमा हुन्छ— जुन कुरा सहज र स्वाभाविक हो । हामी सबै यस अवस्थाबाट गुज्रिएर आएका हौं । तर सामाजिक–भयले हामीले यी सबै भावनालाई कतै कुल्चिने, लुकाउने, दबाउने गरेका छौं । परिणामस्वरुप, वयस्क भएपछि हामी के ठान्छौं र मान्छौं भने, हाम्रो आफ्नो बालापनमा यस्तो केही छँदै थिएन । न हामीमा त्यस्तो भावना थियो, न व्यवहार नै ।

वस्तुतः, आधुनिक युगमा हामीले केटाकेटीको जुन छवि या बिम्ब आत्मसात् गरेका छौं, त्यो होः ऊ बिल्कुल अयौनिक (asexual) ‘निर्मल’ हुन्छ । उसमा यौनिकताको भाव रत्तिभर पनि हुँदैन । र, नाबालक अवस्थाको मेर पार गरेर १८ वर्ष लाग्नासाथ ऊ यौनिक, त्यसमा पनि विपरीत लिंगीप्रति यौनिक आकर्षण भएको−यौनिकता सम्बन्ध राख्ने (‘हेट्रोसेक्सुअल’) हुन्छ−हुनुपर्छ । ‘केटाकेटी’ र ‘वयस्क’ का बीच हामीले निर्माण गरेको यो अनौठो सीमा अथवा भेद स्पष्ट देखिन्छ र महसूस हुन्छ । १७ वर्षको उमेरसम्म यौनिकताबाट पूर्णतः उदासीन एवं असंपृक्त र १८ वर्ष लाग्नासाथ पूर्णतः यौनिक भन्ने–ठान्ने–मान्ने हाम्रो मानसिकता साँच्चिकै उदेकलाग्दो छ । यस अन्तर्गत ५ वर्ष र १७ वर्षका केटाकेटीलाई यौनिकताका दृष्टिले उस्तै मानिन्छ अनि १७ वर्ष र १९ वर्षकाहरूबीच अत्यन्त ठूलो फरक हुन्छ भन्ने ‘बुझइ’ राखिन्छ । जब केटाकेटी ‘वयस्क’ (१८ वर्षका) हुन्छन्, त्यसवेला हामी अकस्मात् उनीहरूबाट ‘जिम्मेदार’ व्यवहारको आशा गर्न थाल्छौं, खासगरी यौन सम्बन्धी मामिलामा । कुनै पनि कुरा बिस्तारै–बिस्तारै र क्रमशः सिकिन्छ भन्ने सबैलाई थाहा छ । तर यो बोध यौनिकताको मामिलामा कहीं देखा पर्दैन ।

युरोपमा यौनिकताको इतिहास
फिलिप एरिजले आफ्नो पुस्तक ‘सेन्चुरीज अफ चाइल्डहुड’ मा युरोपको बालापन र परिवारको सामाजिक इतिहासको वर्णन गरेका छन् । उनका अनुसार, बाह्रौं शताब्दीको युरोपेली कलामा बालापन देखा पर्दैन । तेह्रौं शताब्दीमा केटाकेटीका नाममा केटाहरू मात्र, त्यो पनि सानो अनुपातमा देखा परे । यसै समयमा पहिलोपल्ट बच्चाहरू ‘एन्जल’ (देवदूत) का रूपमा चित्रित गरिए । चौधौं शताब्दीको कलामा जीससको बालापन देखा पर्न थाल्यो । पन्ध्रौं र सोह्रौं शताब्दीमा आइपुग्दा मात्र कलाकृतिहरूमा केटाकेटीलाई ‘एक्लै’ पनि चित्रित गर्न थालियो । कलाको यो विकास र परिवर्तनले बृहत् युरोपेली समाजको केटाकेटीप्रतिको धारणाको झ्लक प्रतिबिम्बित गर्छ ।

अठारौं शताब्दीभन्दा पहिलेसम्म युरोपमा केटाकेटीलाई यौनिक मामिलाहरूबाट पृथक् राखिंदैनथ्यो । यसै सन्दर्भमा एरिजले फ्रान्सको शिशु राजकुमार लुई तेह्रौंको समाजीकरणको उदाहरण प्रस्तुत गरेका छन् । लुईका डाक्टर हेरोरर्डले उसका दैनिक क्रियाकलाप र गतिविधिहरूको दैनिकी (डायरी) लेख्ने गरेका थिए । त्यस अनुसार, लुईको हेरचाह गर्न थुप्रै नोकर–चाकर राखिएका थिए । तीमध्ये एउटी आयासँग ऊ खुला एवं उन्मुक्त व्यवहार गथ्र्यो । यस क्रममा ऊ विविध व्यवहारबाट आफ्नो शरीरका अनेक रहस्यको खोजी गर्दै थियो ।

हेरोरर्डको डायरीमा लेखिए अनुसार, लुई एक वर्षको नहुँदै एक दिन उसकी आयाले उसको लिंग आफ्नो औंलाले हल्लाइदिइन् । ऊ मजाले हाँस्न थाल्यो । यो खेल उसलाई मन पर्योल र स्वयं यो क्रिया दोहोर्याइउन थाल्यो । अर्को दिन एउटा नोकरलाई ठूलो स्वरले ‘यता हेर त’ भनेर लुगा उठाएर आफ्नो लिंग देखाउन थाल्यो ।

एक वर्ष पुगेपछि एक दिन यस्तै खेल खेल्दाखेल्दै उसले उत्तेजित भएर सबै नोकर–चाकरलाई आफ्नो लिंग चुम्बन गर्न भन्यो । हेरोरर्ड डायरीमा लेख्छन्— ‘अनि सबै जना हाँस्न थाले । लुई तीन वर्षको हुँदासम्म महलका सबै मानिसले ऊसँग विना हिचकिचाहट यस्ता व्यवहार गर्थे । उसले यौनिकता सम्बन्धी आफ्ना उन्मुक्त व्यवहारहरूबाट दरबारमा मानिसहरूलाई खूब हँसाएको थियो ।’

लुई लगायत त्यस समयका अन्य र आम केटाकेटीका बारेमा एरिजले दिएको विवरणबाट के स्पष्ट देखिन्छ भने, फ्रान्सको मध्यकालीन समाजमा केटाकेटीलाई यौनिक मामिलाहरूबाट छुट्याएर, पृथक् राखिंदैनथ्यो । सात वर्षसम्मका केटाहरूसँग सबै मानिस ‘मस्ती’ गर्दथे । केटाकेटीहरू ‘अबोधताको संसार’ मा रहँदैनथे । यसका विपरीत, केटाहरूले निकै सानो उमेरदेखि नै वयस्क समाजमा आफ्नो ‘स्थान’ हासिल गर्ने अपेक्षा गरिन्थ्यो । अभिभावक, आया, नोकर–चाकर र अन्य कर्मचारीहरू केटाकेटीसँग ‘उन्मुक्त’ व्यवहार गर्दथे । यौनिकतालाई जिन्दगीको प्राकृतिक र महत्वपूर्ण अंग मानिन्थ्यो । यौनसँग सम्बन्धित कुराहरू केटाकेटीबाट लुकाइँदैनन्थ्यो ।

अठारौं शताब्दीबाट भने यो वास्तविकता बदलिन थाल्यो । केटाकेटीसँग केकस्तो व्यवहार अपेक्षित छ भन्नेबारे कडिकडाउ नियमहरू स्थापित हुन थाले । केटाकेटीलाई निम्नवर्गका मानिस र नोकर–चाकरहरूबाट टाढा राख्नुपर्छ, तिनको संगतमा पर्न दिनुहुँदैन भन्ने मान्न थालियो । केटाकेटीप्रति गरिनुपर्ने व्यवहार सम्बन्धी दृष्टिकोण बदलिनुका साथै केही अन्य परिवर्तन पनि देखा पर्न थाले । स्कूली व्यवस्था सुनियोजित हुन थाल्यो; केटाकेटी र वयस्कलाई एक–अर्काबाट टाढा राख्ने (विसंयोजन) र विद्यार्थीलाई मठ अथवा आश्रमको जस्तो जीवनशैलीमा राख्ने कुराले महत्व पाउन थाले ।
यस सन्दर्भमा फ्रायडको पुस्तक ‘थ्री एस्सेज अन सेक्सुआलिटी’ र डा. एम. फुस्र्टलाई उनले लेखेका पत्रहरूको सम्झ्ना सान्दर्भिक हुन्छ । पुस्तकमा, पत्रमा पनि फ्रायडले लेखेका छन्— ‘यौनिक जीवनको यथार्थलाई केटाकेटीबाट अवश्य नै लुकाउनुपर्छ ।’

फुच्चे हान्सको उपचारको घटना फ्रायडका सर्वाधिक प्रसिद्ध ‘केस’ हरू मध्ये पर्दछ । हान्सका पिता उसको अवस्था र व्यवहारबारे उल्लेख गर्दै फ्रायडलाई पत्र लेख्थे र फ्रायड त्यसको जवाफ दिन्थे । यस पत्राचारको माध्यमबाट हान्सका पिताले उसको उपचार गरेका थिए । यस सन्दर्भमा फ्रायड लेख्छन्ः “म एउटा रोचक बच्चालाई जान्दछु, जो अहिले चार वर्षको छ । उसका स्नेहशील अभिभावक उसको विकासका कुनै पक्षलाई लुकाउन–दबाउन चाहँदैनन् । हान्स कुनै नर्स-आयाप्रति आकर्षित भएको त छैन, तर उसलाई आफ्नो एउटा अंगमा विशेष रुचि छ, जसलाई ऊ ‘विद्द्लर’ भन्ने गर्छ । तीन वर्षको छँदा नै उसले आफ्नी आमालाई ‘तपाईंको पनि विद्दलर छ ?’ भनेर सोधेको थियो र आमाले ‘हो, छ’ भन्ने जवाफ दिएकी थिइन् । यही प्रश्न उसले आफ्ना पितालाई पनि गरेको थियो । लगभग त्यही उमेरमा जब उसले पहिलोचोटि कसैले गाई दुहिरहेको देख्यो, त्यसवेला जोडले चिच्यायो— ‘हेर, हेर, गाईको पनि विद्द्लर छ ।’ …. वस्तुतः हान्स आफ्नो अवलोकनका आधारमा वर्गीकरण गरिरहेको छ ।”

यस अनुच्छेद र विवरणमा हान्सको ध्यानका केन्द्र यौन अंगहरू देखिन्छन् । फ्रायड यस अवस्थालाई ‘फेलिक स्टेज’ (२–६ वर्षको उमेर) भन्छन् । यस उमेरमा केटाकेटीहरू ‘इडिपस कम्प्लेक्स’ का संकेत देखाउँछन्, जस अन्तर्गत उनीहरू आमाको प्रेम प्राप्त गर्न बाबुप्रति द्वेष महसूस गर्छन् । उनीहरूलाई लाग्छ— ‘बाबुले उनीहरूलाई आमाबाट छुट्याइदिनेछन्… यस क्रममा (यौनांग खोसेर) नपुंसकै पो बनाइदिने हुन् कि … !’ फ्रायडले के दाबी गरेका छन् भने हान्सको ‘केस’ मा उसको जिज्ञासा अत्यन्त सहज रूपमा देखा परेको छ, किनभने ऊ त्यतिन्जेलसम्म ‘उत्पीडित’ भएको छैन । ऊ ‘शिकार’ बनेको छैन र अपराधबोधबाट मुक्त छ । अपराधबोध र लज्जाबाट टाढा रहेकाले नै फुच्चे हान्समा आफ्नो शरीरप्रतिको जिज्ञासा निस्संकोच प्रकट भयो भन्ने फ्रायडको अभिमत छ ।

‘द हिस्ट्री अफ सेक्सुआलिटी’ मा माइकल फुको भन्छन्— जसलाई हामी ‘सेक्सुआलिटी’ वा यौनिकता भनेर बुझछौं त्यो वास्तवमा भिक्टोरियन बालापनको छविमा आधारित छ । त्यस्तो वर्णन गर्दै उनले भनेका छन्ः “केटाकेटीहरूमा यौन (सेक्स) हुँदैन भन्ने सबैलाई ‘थाहा’ थियो, त्यसैले केटाकेटीका लागि यौन सम्बन्धी कुरा गर्न वर्जित थियो । यसैकारण, जब उनीहरू (केटाकेटी) ले यसका विरुद्ध कुनै ‘प्रमाण’ प्रदर्शन गर्थे, त्यसवेला ‘हामी’ आफ्ना आँखा चिम्लिन्थ्यौं र आफ्ना कान बन्द गथ्र्यौं । त्यस्ता मामिलामा व्यापक एवं सुविचारित मौनता अँगालिन्थ्यो ।”
समयका क्रममा, यौनिकता सम्बन्धी मान्यता र नियमको ‘व्यवस्था’ भएपछि यसबारे हाम्रो दृष्टि र व्यवहार परिवर्तित हुन पुग्यो । आज, जब कसैको व्यवहारले ‘सामाजिक व्यवस्था’ लाई खतरा महसूस हुन्छ र यौनिक शुद्धतासँग जोडिएका मामिलाबारे चिन्ता प्रकट हुन थाल्छ, सामाजिक एवं वैयक्तिक नियन्त्रण अरू कडा र गहन हुन पुग्छ । केटाकेटीको कुनै व्यवहारबाट ‘सामाजिक व्यवस्था’ को उल्लंघन भएको देखिनासाथ सबैले बडो सहजतासाथ त्यस व्यवहारको निन्दा गर्छन् र ‘नियन्त्रण’ अझ् कसिलो बनाउने प्रयास हुन्छ ।

प्रतिक्रियाहरू
तिरुवनन्तपुरम्को अंकमाल–मामिलामा संलग्न किशोर छात्रलाई कक्षा–१२ को परीक्षामा बस्न दिइएन । मुद्दा अदालतमा पुग्यो तर अदालतले पनि छात्रलाई सहयोग गरेन । स्कूलको भनाइ स्पष्टै थियो— यस्ता गतिविधिले अनुशासन भंग हुन्छ । मध्य–दिल्लीको नर्सरी स्कूलको चार वर्षको बच्चा आफ्नी साथीलाई लडाएर उसमाथि घोप्टो परेर सुते लगत्तै यसबारे उसका अभिभावकहरूलाई खबर गरियो । सोधपूछ गर्दै जाँदा के थाहा पाइयो भने, बच्चाले जे देखेको थियो, स्कूलमा त्यही ‘गतिविधि’ दोहो¥याएको रहेछ । यी घटना÷उदाहरणले देखाउँछन्, कसरी केटाकेटीका हरेक यौनिक अभिव्यक्तिलाई बिल्कुलै असामान्य र गलत ठहर गरिन्छ र यस्ता सानाभन्दा साना घटनाको प्रतिक्रियामा वयस्कहरू एकदमै व्यग्र हुन पुग्छन् ।
खास गरी प्राथमिक कक्षाहरूमा यस्ता घटना देखिंदा त्यसले हामीलाई बढी उद्वेलित बनाउँछ । यस प्रतिक्रियाको स्रोत हाम्रो सोच हो, जस अन्तर्गत हामी केटाकेटीलाई अबुझ्, अबोध र यौनिकताबाट टाढा रहेको सम्झ्न्छिौं । आम बुझइका अनुसार केटाकेटी अज्ञानी, अबोध र दुनियाँका ‘खराब’ कुराहरूबाट, पाप तथा कामुकताबाट टाढा हुनुपर्छ ।

एकातिर केटाकेटीको जिज्ञासा छ, आफ्नो वरिपरिको दुनियाँ खोज्ने–बुझने चाहना छ, भित्री इच्छाहरूलाई मूर्त रूपमा बाहिरी दुनियाँमा प्रकट गर्नुपर्ने आवश्यकता छ भने अर्कातिर केटाकेटीहरू यौनिकताबाट पूरै टाढा हुन्छन् भन्ने वयस्कहरूको अवधारणा छ ।

यी दुईका बीच ठूलो खाडल छ । केटाकेटीले केही ‘उल्लंघन’ गरेको सुन्नासाथ वा देख्नासाथ वयस्कहरू त्यसका बारेमा साउती गर्न थाल्छन् । हाम्रो ‘नागरिकता’ सजग हुन पुग्छ र केटाकेटीहरूमा लज्जा नदेखिनु अपराधका रूपमा बुझ्नि थाल्छ । कस्तो मान्यता बनेको छ भने, केटाकेटीहरू यौनिकता र त्यसको अभिव्यक्तिबाट पूर्णतः अनभिज्ञ देखिएनन् अनि नैतिक रूपमा ‘श्रेष्ठ’ देखिएनन् भने यस्ता घटनाबाट वयस्कहरूलाई कि डर लाग्नुपर्छ अथवा केटाकेटीप्रति दया लाग्नुपर्छ ।

यस्तो अवस्थामा प्रायः कानेखुसी सुनिने गर्छ— केटाकेटीले आफ्नो वरिपरि जे देख्छ त्यही त सिक्छ, चाहे त्यो अभिभावकबाट होस्, परिवारबाट होस् अथवा सञ्चारमाध्यमबाट । यसै मेसोमा नील पोस्टम्यान आफ्नो पुस्तक ‘द डिसअपियरेन्स अफ चाइल्डहुड’ मा लेख्छन्— आजको वातावरण र मीडिया दुवैबाट केटाकेटीमा यस्तो सन्देश प्रवाहित हुन्छ, जसले उनीहरूलाई बालोचित अबोधताबाट पर पुर्‍याउँछ र यो नै बालापनको अन्त्य हो ।

सामाजिक वर्ग र यौनिकता
मध्यवर्गीय दृष्टिकोण र केटाकेटीहरू यौनिकताको प्रदूषणबाट टाढा रहनुपर्छ भन्ने मान्यता दुवैले एकअर्कालाई सुदृढ बनाउँछन् । परिणामस्वरुप, मध्यवर्गीय मानिसहरू समाजको तल्लो वर्गमा केटाकेटीको समाजीकरण (वा भनौं त्यसको अभाव) लाई घृणाको दृष्टिले हेर्छन् । मान्यता के बनाइएको छ भने, निम्न वर्गका मानिसहरू एउटा कोठाको ‘घर’ मा बस्छन् र अभिभावकहरूको यौन गतिविधि तिनका बच्चाबाट लुक्तैन । त्यसैले तल्लो वर्गका केटाकेटीले अवाञ्छित यौनिक व्यवहार गर्छन् । निम्न वर्गका मानिस नै सबै सामाजिक समस्याका कारण हुन् र तिनका केटाकेटीको ‘उत्थान’ बढी आवश्यक छ, किन भने ठूला भए पछि अधिकतर यौन–अपराध तिनैले गर्छन् भन्ने मान्यता आज पनि प्रचलित छ । शिक्षकहरूलाई पनि के लाग्छ भने, घरको वातावरण र दिन प्रतिदिन आफ्नो वरिपरि यौनिकता र हिंसा देखेर निम्नवर्गका केटाकेटीहरू त्यसमा अभ्यस्त जस्तै बन्न पुगेका हुन्छन् । त्यसैले मध्यवर्गीय अभिभावकहरूलाई सल्लाह दिइन्छ— आफ्ना केटाकेटीलाई तल्लो वर्गका केटाकेटीको संगतमा लाग्न नदिनू र नोकरचाकरहरूबाट टाढा राख्नू । नत्र उनीहरूले पनि गलत बानीबहोरा सिक्छन्; नोकरहरूले तिनलाई
मैथुन र अन्य वर्जित यौनिक क्रियाहरू सिकाइदिन्छन् ।

आधुनिक दुनियाँमा बालापनलाई अभेद्य अबोधता र नैतिकतासँग जोडेर हेर्ने गरिएको छ । केटाकेटीमा यौन (सेक्स) हुँदैन, उनीहरू यौनिक जिज्ञासा, प्रवृत्ति र व्यवहारबाट पूर्णतः असंपृक्त हुन्छन् भन्ने अंग्रेजी–ईसाई प्रभावको एक–आयामी अतिनैष्ठिक (प्युरिटन) दृष्टिकोण अपनाइएको छ । यद्यपि, हाम्रो सन्दर्भमा भने केटाकेटीको ‘दिव्य’ रूप बढी प्रचलित छ । यस भूखण्डका लगभग सबै भागमा आज पनि केटाकेटीलाई राधा–कृष्णको रूप मानिन्छ; खास गरी बच्चालाई कृष्णको दिव्य रूपमा हेरिन्छ । यो दिव्यताको स्वरुप एक–आयामी र सरल नभएर बहु–आयामी र जटिल छ, जसमा मस्ती, तोडफोड, खुशी, उत्सुकता, लाडेपल्टाइ, तेजस्विता र सृजनशीलता समेत समाविष्ट छ । यसका बावजूद, कृष्णले गोपीहरूसँग मस्ती गरेको दिव्यताको रूप केवल पूजनीयतामा सीमित रहन पुगेको छ र परिवार तथा शिक्षाका आधुनिक संस्थाहरूले हाम्रा केटाकेटीको जीवनबाट यस्तो मस्तीलाई टाढा लखेटिदिएका छन् ।

शिक्षक–सन्दर्भ
केटाकेटीको यौनिकता सम्बन्धी मामिलाहरू सामुन्ने आउँदा शिक्षकहरूले अन्योल र असमञ्जसता महसूस गरेको पाइन्छ । किन यस्तो हुन्छ त ? किन भने, केटाकेटीको यौनिकताबारे खुलेर कुराकानी गर्न ज्यादै कठिन हुन्छ । अभिभावक र शिक्षक दुवै— केटाकेटीहरू अयौनिक हुन्छन् भन्ने मानेर बसेका हुन्छन् र जुनवेला यस्ता मामिलासँग तिनको सामना हुन्छ, उनीहरू उद्वेलित हुन पुग्छन् । यस्तो किन भयो भन्ने प्रश्नको जवाफ दिन र केटाकेटीको यस्तो व्यवहारलाई सम्बोधन गर्न उनीहरू आफूलाई अक्षम अनुभव गर्छन् । त्यसमाथि, वयस्कहरू यौनिकतासँग सम्बन्धित कुनै पनि मामिलाको चर्चा खुला रूपमा होइन, बन्द कोठाभित्र गरिनुपर्छ भन्ने ठान्छन् ।

यौनिक चेतनाको सन्दर्भमा हाम्रो शिक्षक–प्रशिक्षण बिरालोको डरले आँखा चिम्लेर बसेको परेवा जस्तो छ । त्यसमा जेन्डरको विमर्श त हुन्छ तर के यौनिकताको कुरा पनि हुन्छ ? हुँदैन । कमसेकम मैले त आजसम्म कतै पाएको छैन । यस्तो मौनताले नै यौनिकताको असमझ्दारी निर्माण हुन्छ । हाम्रा पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षाशास्त्र पनि यस मामिलामा चूप छन् । केटाकेटी अयौनिक हुन्छन् र यौनिकताको सामान्य व्यवहार पनि खतराको घण्टी हो भन्ने बुझइ हाम्रो आम जिन्दगी र शिक्षामा छ । केवल निषेधमा आधारित सत्ताको निर्माण भएको छ, जसले कक्षामा केटा र केटीलाई एकसाथ बस्न र तिनीहरूबीचको आपसी कुराकानीलाई पनि निषेध गर्छ ।

यस्तो अवस्थामा, मुख्यतः शिक्षकहरूले नै संवेदनशीलताका साथ बुझन, पहिल्याउन सक्नुपर्छ— मामिला कहाँ गम्भीर छ र कहाँ केवल विकासात्मक । केटाकेटीको क्रियालाई अन्वेषणात्मक, चञ्चलता–चपलता अथवा सन्देहास्पद कुन श्रेणीमा राख्नुपर्ने हो भन्ने निक्र्योलमा पुग्नु अगावै हामी के निष्कर्षमा पुग्छौं भने, जे भयो त्यो ज्यादै गलत हो । जबकि प्रत्येक घटनामा मिहीन अध्ययन गरेर राय निर्माण गर्नु जरूरी हुन्छ । खेल–खेलमा ‘अन्वेषण’ भइरहेको हो अथवा अरू नै गम्भीर कुरा हो भन्ने विवेक र सूक्ष्म–विवेचना आवश्यक छ । मजा वा मस्ती के हो र अर्कालाई हेपेर, अपमानित गरेर, पीडित गरेर मजा पाउन सकिंदैन भन्ने कुरा खुलस्त बुझउन सक्नु पनि एकदमै जरूरी छ ।

दोस्रो कुरा, केटाकेटीको यौनिकतालाई पहिल्यैदेखि यस प्रकारले हेरिंदै–बुझिंदै आएको होइन, बालापनको ‘संरचना’ समय र स्थानमा आधारित हुने गर्छ भन्ने जानेपछि हाम्रो दृष्टिकोणमा परिवर्तन आउँछ । त्यसैले यस्ता कुरा बुझनु जरूरी छ । कुरा बुझदै गएपछि शिक्षकहरूले यस्ता मामिलामा आफ्नो सहज विवेकका साथ रचनात्मक तरीकाले प्रतिक्रिया दिनेछन्, दमित दृष्टिकोणले होइन ।

तेस्रो कुरा, शिक्षक–प्रशिक्षणको अनुभवबाट मैले के पाएकी छु भने, प्रायः हामी यस्ता मामिलालाई संज्ञानको दृष्टिकोणबाट बुझने गर्छौं । जब यस्ता ‘घटना’ अगाडि आउँछन्, वयस्कहरू प्रायः एक–अर्काबाट टाढा बस, एक–अर्कालाई नछोऊ, आपसमा कुरा नगर, केटा र केटीलाई बेग्लाबेग्लै बेन्चमा बसाउनुपर्छ’ जस्ता निधेषमूलक प्रतिक्रिया दिन्छन् । केटाकेटीको यौनिक अभिव्यक्ति चाहे जुन स्वरुपको भए पनि उनीहरू लज्जा, अस्वीकरण र निषेध अन्तर्गत नै समाधान खोज्छन् । शायद यस्ता घटनाको सामना गर्न वयस्कहरूसँग भावात्मक उपकरण नै छैनन् । एउटा बाटो के हुन सक्छ भने, यसबारे हामी केटाकेटीसँगै खुला संवाद गरौं जसले संवेदनात्मक, भावनात्मक वा सौन्दर्यपरक प्रतिक्रिया र समाधानको बाटो खोलोस् । यस्तो संवादले केटाकेटीको वास्तविक जिन्दगीलाई स्वीकार्ने र बालापनबारेको बुझइ गहिरो पार्ने मौका पनि दिनेछ ।

लेखक गुलाटी दिल्ली विश्वविद्यालयमा एलीमेन्ट्री एजुकेशन डिपार्टमेन्टमा प्राध्यापकका रूपमा कार्यरत छन् ।
साभारः ‘पाठशाला’, जुलाई–२०१८
भाषान्तर तथा सम्पादन ः शरच्चन्द्र वस्ती

Related Posts

/*sign up form*/