कार्यमूलक अनुसन्धान-किन र कसरी

by • • 2072_5, कक्षाकोठाComments (0)13213

कार्यमूलक अनुसन्धान-किन र कसरी

युवराज अधिकारी

तात्कालिक समस्याको पहिचान र ती समस्याको समाधान खोजी गरिने अनुसन्धान नै कार्यमूलक अनुसन्धान हो । ‘कार्य र अनुसन्धान’ एउटै व्यक्तिबाट गरिने भएकाले यसलाई ‘कार्यमूलक अनुसन्धान’ भनिएको हो । भइरहेको अवस्थामा सुधार गर्दै जानु यस अनुसन्धानको मुख्य पक्ष हो । यसको लक्ष्य शिक्षकको सिकाउने दक्षतामा सुधार र विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउनु नै हो ।

सिकाइ व्यावहारिक प्रक्रिया हो । पाठ्यक्रमले तोकेका सक्षमता तथा सिकाइ उपलब्धि हासिल गराउनु शिक्षकको चुनौती हो । यसका लागि हरेक शिक्षक आफ्नो पेशाप्रति प्रतिबद्ध, इमानदार र जवाफदेही हुनै पर्छ । समय र परिवेश अनुसार आएका नवीनतम सिकाइका विधि, तरीका, उपागमहरू अपनाउँदै आफूलाई पेशागत रूपले दक्ष, योग्य, सक्षम, कुशल र क्षमतावान् शिक्षकको रूपमा स्थापित गर्दै जानुपर्ने हुन्छ । एक्काइसौँ शताब्दीमा विद्यालय शिक्षामा प्रयोग गर्नुपर्ने निर्माणवाद, समालोचनात्मक सोचाइ, शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग आदि माध्यमबाट विद्यार्थीको सिकाइ उपलब्धि बढाउन शिक्षकलाई सहयोग गर्ने मुख्य साधन कार्यमूलक अनुसन्धान हो ।

तात्कालिक समस्याको पहिचान र ती समस्याको समाधान खोजी गरिने अनुसन्धान नै कार्यमूलक अनुसन्धान हो । यो प्रायोगिक एवं निर्णय केन्द्रित अनुसन्धान हो । यस्तो अनुसन्धान शैक्षिक कार्यक्रममा कार्यरत व्यक्ति वा व्यक्तिहरूबाटै गरिन्छ । यसरी, ‘कार्य र अनुसन्धान’ एउटै व्यक्तिबाट गरिने भएकाले यसलाई ‘कार्यमूलक अनुसन्धान’ भनिएको हो । भइरहेको अवस्थामा सुधार गर्दै जानु यस अनुसन्धानको मुख्य पक्ष हो । यसको लक्ष्य शिक्षकको सिकाउने दक्षतामा सुधार र विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउनु नै हो ।

कार्यमूलक अनुसन्धानका विशेषता

  • ‘पाठ्यपुस्तकमा चित्र नै स्पष्ट छैन’ भनी आलोचना गर्ने कार्य यसले गर्दैन । बरु आफै स्पष्ट चित्रको खोजी गरी विद्यार्थीलाई विषयवस्तुको धारणा स्पष्ट पार्न सहयोग गर्छ ।
  • ‘पाठ्यपुस्तकमा थोरै विषयवस्तु राखेको छ’ भनी सम्बन्धित निकायलाई आरोप लगाउने कार्य यसले गर्दैन । बरु इन्टरनेट र सन्दर्भ सामग्रीको अध्ययनबाट विषयवस्तुको ज्ञानको दायरा फराकिलो बनाई ज्ञान निर्माण गर्न सहयोग गर्छ ।
  • ‘विद्यालयमा शैक्षिक सामग्री नै छैन’ भनी गुनासो पोख्ने कार्य पनि यसले गर्दैन । बरु आफूले अध्यापन गर्ने विषयमा राखिएका विषयवस्तुको प्रकृति अनुसार मूल्य नपर्ने, कम मूल्य पर्ने र खरीद गर्नुपर्ने सामग्रीहरूको सूची बनाई विद्यार्थी, शिक्षक र विद्यालय मार्फत सामग्री जुटाउनतिर लाग्छ ।
  • ‘निरन्तर विद्यार्थी मूल्याङ्कन झ्न्झ्टिलो प्रक्रिया भयो’ भनी पन्छिने कार्य यस अनुसन्धानले गर्दैन । बरु निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रावधानलाई कसरी सरल तरीकाले प्रयोग गर्न सकिएला भनी योजनाबद्ध रूपले कार्य गरी विद्यार्थीहरूको सर्वाङ्गीण पक्षको मूल्याङ्कन गर्न सहयोग गर्छ ।
  • यस प्रकारको अनुसन्धानले ‘धेरै विद्यार्थी र साँगुरो कक्षाकोठाका कारण विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार गर्न गाह्रो भएको’ भनी प्रमाणित गर्ने काम गर्दैन । बरु धेरै विद्यार्थी संख्या र साँगुरो कक्षाकोठामा प्रभावकारी शिक्षण गर्ने क्षमताको विकास कसरी गर्न सकिएला भनी योजनाबद्ध रूपमा प्रयत्न गर्न सम्बद्ध शिक्षकलाई सहयोग र उत्प्रेरित गर्छ ।
  • ‘पढाएको पाठ विद्यार्थीले चाँडै बिर्सिए, सम्झ्एनन्’ भनी आक्षेप प्रमाणित गर्ने काम पनि यसले गर्दैन । बरु विद्यार्थीलाई दिगो रूपमा सम्झ्ने गरी सिकाइ सहजीकरणमा आएका नवीनतम विधि, उपागम, तरीकाको खोजी गरी पाठ सिकाइमा योजनाबद्ध प्रयत्न गर्न सहायता प्रदान गर्छ ।
  • ‘विद्यार्थीले दिएको गृहकार्य नै गरेर ल्याउँदैनन्’ भनी आक्षेप लगाउने काम गर्दैन । बरु सबै विद्यार्थीलाई गृहकार्य गरेर ल्याउने कसरी बनाउन सकिन्छ भनी योजनाबद्ध रूपमा प्रत्यन गर्न सहयोग गर्छ ।
  • यसले शिक्षकलाई काम गर्दै सिक्तै तथा अनुसन्धान गर्दै नयाँ उपाय खोजी गर्न सहयोग गर्छ । फलस्वरूप सिकाइ सहजीकरण प्रक्रियामा सुधार गर्न मद्दत गर्छ ।
  • शिक्षण सिकाइसँगै अनुसन्धान र अनुसन्धानसँगै सिकाइ गर्न सघाउने भई आफ्नै कार्यको प्रभावकारिता जाँच्तै, सुधार गर्दै आफूलाई आफ्नो पेशामा समर्पित र पेशागत रूपले उत्कृष्ट बनाउन सघाउ पुरयाई पेशागत क्षमता विकास गर्न सघाउ पुरयाउँछ ।
  • शिक्षकलाई अन्वेषण गर्ने बानीको विकास गरी पेशामा निखारपना ल्याउन मद्दत गर्छ ।
  • शिक्षकलाई क्रियाशील र सिर्जनशील बनाउन तथा उपयोगी ज्ञान तथा सीपको विकास गर्न सहयोग गर्छ ।
  • आफ्नो कार्यसम्पादनमा आइपरेका समस्याहरूको पहिचान गरी क्रमबद्ध तरीकाले समाधान गर्ने सीप तथा क्षमताको विकास गर्न सहयोग गर्छ ।
  • असल अभ्यासको आदानप्रदान गर्न तथा ‘सँगै सिकौँ’ र ‘एकसाथ सिकौँ’ भन्ने मान्यतालाई उजागर गर्न सहयोग गर्छ ।
  • पाठ्यक्रम, शिक्षक निर्देशिका र पाठ्यपुस्तकको समायोजन गरी सिकाइ गराउनुपर्छ भन्ने भावनाको विकास गर्दै पाठ्यक्रमले अपेक्षा गरेका सिकाइ उपलब्धि पूरा गराउन शिक्षकलाई सहयोग गर्छ । फलस्वरूप विद्यार्थीलाई ‘पढाउने’ होइन, ‘सिकाउने’ हो भन्ने भावनाको विकास हुन्छ ।
  • कक्षाकोठामा विद्यार्थीले गर्नुपर्ने क्रियाकलापलाई व्यावहारिक र विद्यार्थी केन्द्रित बनाउन सहयोग पुरयाई बालमैत्रीपूर्ण वातावरणमा सिकाइ गराउन मद्दत गर्छ ।
  • बालबालिकाको सर्वाङ्गीण पक्षको मूल्याङ्कन गर्न आधिकारिक र वास्तविक मूल्याङ्कन गरी सिकाइ उपलब्धि बढाउन सहायता प्रदान गर्छ ।
  • बालमनोविज्ञानमा आधारित बालबालिकाहरूको रुचि, चाहना र आवश्यकता अनुसार शिक्षण सिकाइ गराउन तथा कक्षाकोठामा सहयोगात्मक सिकाइ पद्धति अनुसार सहजीकरण गर्ने क्षमताको विकास गराउँछ ।

निष्कर्ष
आफ्नो पेशाप्रति गौरव गर्ने र कार्यरत संस्थाले अपेक्षा गरेका उपलब्धिहरू पूरा गराउन हरबखत भरपूर मात्रामा लागि पर्ने, आफू सबैको प्यारो बन्ने, अवसरहरूको खोजी गर्ने र पाउने कार्यमा कार्यमूलक अनुसन्धालाई अचुक औषधी मानिन्छ । यस अनुसन्धानले भइरहेको कार्यमा क्रमिक रूपमा सुधार गर्ने तथा कार्यान्वयनको क्रममा आइपरेका तात्कालिक समस्याहरूको पहिचान, कारणहरूको खोजी र समाधानका विकल्पहरूको विकास गरी समाधान गर्दै शिक्षकलाई एक अन्वेषकको रूपमा विकास गर्न सहयोग गर्छ ।

कार्यमूलक अनुसन्धान प्रतिवेदनको एक नमूना
क. अनुसन्धानको शीर्षक तालीमका सबै सहभागीलाई बालगीत लयमा गाउन कसरी सक्षम बनाउन सकिन्छ ?
ख. अनुसन्धाताको नाम युवराज अधिकारी
ग. पेशा प्रशिक्षण
घ. पद प्रशिक्षक
ङ. फोन तथा इमेल 9848023933, yubrajadhikari1976@gmail.com च. संस्था कार्यालय शैक्षिक तालीम केन्द्र, सुर्खेत
१. परिचय
प्राथमिक तहको १० महीने सेवाकालीन तालीमको पहिलो र तेस्रो चरणको तालीम शैक्षिक तालीम केन्द्रमा आमनेसामने रूपमा सञ्चालन हुने र दोस्रो चरण दूर शिक्षामा आधारित भएर सञ्चालन गर्ने प्रावधान रहेको थियो । शैक्षिक तालीम केन्द्रमा २०६५।७।१० देखि सञ्चालन भइरहेको प्राथमिक तहको तेस्रो चरणको तालीमका विभिन्न विषयवस्तुहरूमध्ये सिर्जनात्मक तथा अभिव्यक्ति कला अन्तर्गत बालगीत सहजीकरण गर्ने जिम्मा २०६५।८।१२ गते मैले पाएको थिएँ । दैलेख, सुर्खेत, जाजरकोट, बाँके र बर्दियाका गरी जम्मा ३२ जना सहभागी रहेका थिए । मेरो ल्यापटपमा विभिन्न बालगीत थिए । मैले ती गीत बजाएर सामग्रीहरूलाई सुन्न निर्देशन दिएँ । त्यसपछि सँगसँगै लयमा गाउन पनि अनुरोध गरेँ । १२ जना सहभागीले मात्र लयमा गाउन सके र बाँकीले सकेनन् । सबै सहभागीले गाउन नसक्नु मेरा लागि समस्या बन्यो । उक्त दिनको तालीम पश्चात् मैले सामना गरेको समस्या किन आएको होला भनी सोच्न थालेँ र कारणहरू पहिचान गरेँ । त्यस्ता कारणमा सबै सहभागीले बालगीत देख्ने गरी मल्टिमेडिया वा ओभरहेड प्रोजेक्टर वा कार्डसिटमा लेखेर देखाउन नसक्नु, सबै सहभागीले स्पष्ट सुन्ने गरी स्पिकरको व्यवस्था नगरिनु र पर्याप्त मात्रामा अभ्यास नगराइनु पाएँ । त्यसपछि मैले समस्या समाधानका उपायहरू खोजी गरेँ र तिनको कार्यान्वयन गरी प्रतिवेदन तयार पारेँ ।
२. उद्देश्य-अपेक्षित उपलब्धि
– तालीमका सबै सहभागीहरूलाई बालगीत लयमा गाउन सक्षम बनाउनु ।

३. अनुसन्धान प्रक्रिया, कार्यविधि र विश्लेषण
– कार्यान्वय अवधि २०६५।८।१३
– अनुसन्धान विधि गुणात्मक र परिमाणात्मक

४. सुधारका उपाय, रणनीति
१. बालगीत टाइप गरी मल्टिमिडिया प्रोजेक्टरबाट प्रदर्शन गर्ने ।
२. स्पिकरको व्यवस्था गरी बालगीत बजाउने ।
३. बालगीत गायनको लागि पर्याप्त अभ्यास गराउने ।
पहिलो चक्र पहिलो चक्रमा माथि उल्लेखित सबै उपायहरू प्रयोग गर्ने निर्णय गरेँ, किनकि ती उपाय एकअर्कोसँग अन्तरसम्बन्धित थिए ।
(क) योजना बालगीतलाई मल्टिमिडिया प्रोजेक्टरबाट प्रदर्शन गरी अडियो बजाउने र अभ्यास गराउने ।
(ख) कार्य योजानामा राखिए अनुसार निम्न अनुसार कार्य गरियो – ल्यापटपमा बालगीत टाइप गरियो र मल्टिमिडिया प्रोजेक्टरको सहायताबाट प्रदर्शन गरियो ।
– ल्यापटपमा स्पिकर जोडियो र बालगीतको अडियो बजाइयो ।
– अनुसूचीमा रहेको बालगीत पहिलो चरणमा म सहित सबै सहभागीले सँगसँगै लय हालेर दुई पटक गायौँ । दोस्रो चरणमा सहभागीहरूलाई सामूहिक रूपमा दुई पटक लयमा गाउन लगाइयो र अन्तमा हरेकलाई व्यक्तिगत रूपमा गाउने अभ्यास गराइयो ।
(ग) अवलोकन बालगीत कति जना सहभागीले लयमा गाउन सक्नुभयो र कतिले सक्नु भएन भनेर अवलोकन गरियो । त्यसबाट निम्न नतिजा प्राप्त भयो मिति जम्मा सहभागीको संख्या बालगीत लयमा गाउन सक्ने सहभागी संख्या बालगीत लयमा गाउन नसक्ने सहभागी संख्या
२०६५।८।१३ ३२ ३२ ०

(घ) प्रतिबिम्ब यसरी पहिलो चक्रमा प्रयोग गरिएका उपायद्वारा नै सबै सहभागीहरूले बालगीत लयमा गाउन सफल भएको पाइयो ।
५. सुधार, परिणाम तथा सिकाइका बुँदा शुरूको दिनमा बालगीत लयमा गाउन सिकाउने क्रियाकलाप गराउँदा ३२ सहभागीहरूमध्ये १२ जनाले मात्र लयमा गाउन सकेकोमा पहिलो चक्रमा प्रयोग गरिएका तीन उपाय सामना गर्नुपरेको समस्या पूर्ण रूपले समाधान भयो; अर्थात् बालगीत लयमा गाउन सबै सहभागीहरू सफल भए । तसर्थ सहभागीहरूलाई बालगीत गाउन सक्षम बनाउने हो भने सबैले देख्ने गरी बालगीत प्रदर्शन गर्ने, सबैले सुन्ने गरी स्पिकरको व्यवस्था गर्ने र पर्याप्त मात्रामा अभ्यास गराउनुपर्दो रहेछ भन्ने ज्ञान हासिल भयो ।
६. निष्कर्ष तथा पुनर्याजनाको अवस्था तालीममा बालगीत सहजीकरण गर्ने क्रममा मैले भोग्नुपरेको समस्या (३२ सहभागीहरूमा १२ जनाले मात्र बालगीत लयमा गाउन सक्नु) आइपर्नुका कारण र समाधानका उपाय पत्ता लगाई चक्रगत रूपमा कार्यान्वयन गर्ने क्रममा कार्यान्वयन गर्न सकिने (feasibility) उपायहरू प्रयोग गर्दै जाँदा पहिलो चक्रका अन्तरसम्बन्धित तीन उपायबाट नै मलाई आइपरेको समस्या समाधान भयो अर्थात् सबै सहभागीहरूले बालगीत ठूला अक्षरमा टाइप गरी प्रदर्शन गर्ने, सबैले सुन्ने गरी स्पिकरको व्यवस्था गर्ने र पर्याप्त अभ्यास गर्ने उपायले पूर्ण रूपमा समस्या समाधान भयो । यस कारण नयाँ उपायको खोजी गरी समाधान गर्न पुनर्योजनाको आवश्यकता परेन; अर्थात् दोस्रो चक्रमा जानु परेन ।
७. प्रतिवेदन प्रवोधीकरण प्रक्रिया तयार गरिएको प्रतिवेदन विद्यालयका अन्य शिक्षक, स्रोतव्यक्तिहरू र अन्य तालीम केन्द्रमा पठाएर प्रबोधीकरण गरिनेछ ।

Related Posts

/*sign up form*/