कतै अभाव कतै फालाफाल

by • • 2072_5, आवरणComments (0)1448

शिक्षक व्यवस्थापन समस्या-कतै अभाव कतै फालाफाल

सरकारले विशेष महत्व दिएर शुरू गरेको दरबन्दी मिलान प्रभावकारी नहुँदा बढी विद्यार्थी भएका स्कूलमा कम शिक्षक र कम विद्यार्थी भएका स्कूलमा बढी शिक्षक अनुपात कायम छ ।

रोश्ना सुब्बा 

Roshna Subba
साढे छ सय विद्यार्थी रहेको धनुषाको जनकपुरस्थित सकलभवन कन्या उमाविमा प्राविदेखि माविसम्म २६ जना शिक्षकको दरबन्दी छ । विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी बढी भए पनि स्कूलले थप एक जना राहत शिक्षक पनि नियुक्त गरेको छ । प्रअ रामएकवाल साहले जिशिकासँग प्राविमा एक र निमाविमा एक पीसीएफ शिक्षक माग गरेका छन् । भएका शिक्षकलाई पर्याप्त काम दिन नसकेको यो विद्यालयमा जिशिकाले काजका शिक्षक पनि राखेको छ ।

धनुषाकै फूलगामा–२ को जनता राष्ट्रिय प्राविमा दरबन्दी र राहत कोटाका एउटै शिक्षक छैनन् । काजका प्रअ नित्यानन्द झको भरमा उक्त स्कूल चलेको छ । शिक्षक अभाव झ्लिरहेको यो विद्यालयमा २ सय छात्रछात्रा छन् । प्रअ झले पीसीएफ शिक्षक उपलब्ध गराउन जिशिकामा गरेको अनुरोध अहिलेसम्म पूरा भएको छैन । शिक्षक अभावका कारण विद्यालयले निजी स्रोतमा एक जना शिक्षक राखेको छ । निजी स्रोतका शिक्षक र प्रधानाध्यापक झले एकै पटकमा दुइटा कक्षा चलाउने गरेका छन् । त्यसो गर्दा पनि बाँकी एउटा कक्षा भने खाली हुने गरेको छ । खाली पिरियडमा विद्यार्थीलाई कक्षा बाहिर जान नदिने जिम्मेवारी मनिटरलाई दिइएको छ । धनुषाका सहायक जिशिअ दानीकान्त झ राजनीतिक दल र शिक्षक संघ–संगठनको दबाबका कारण जिल्लाभित्र दरबन्दी मिलान गर्न नसकिएको बताउँछन् । आफ्नो मान्छे राम्रो ठाउँमा होस् भन्ने शिक्षक संस्थाका नेताहरूको चाहनाका कारण आवश्यकता अनुसार शिक्षकलाई एउटा स्कूलबाट अर्कोमा सार्न नसकिएको झको भनाइ छ ।

यसै गरी ललितपुरको बालविद्याश्रम प्राविमा जम्मा २० जना विद्यार्थी छन् । शिशु कक्षामा ५ जना नानीहरू छन् । स्कूलका सबै विद्यार्थीको संख्या एउटा कक्षा बराबर पनि पुग्दैन । तर प्राविमा दरबन्दीमा ५ शिक्षक छन् भने शिशु कक्षाका लागि १ जना सहयोगी कार्यकर्ता राखिएको छ । शिक्षा नियमावलीको व्यवस्था अनुसार उपत्यकाका सामुदायिक विद्यालयमा प्रत्येक कक्षाको शिक्षक विद्यार्थी अनुपात ५० कायम छ । थोरै विद्यार्थी भएकाले बालविद्याश्रम प्रविलाई जिशिका ललितपुरले यशोधारा माविमा गाभेको जनाएको छ । तर, प्रअ प्रमिला जोशी यसबारे आफूले जिशिकाको पत्र नपाएको बताउँछिन् ।

ललितपुरकै मंगलबजारमा रहेको आदर्श कन्या उच्च माविमा १ देखि १० कक्षासम्म २ सय ६५ जना विद्यार्थी छन् । विद्यार्थीको अनुपातमा यो विद्यालयमा धेरै शिक्षक छन् । प्राविमा १२, निमाविमा ८ र माविमा ११ जनासहित यहाँ दरबन्दीका ३१ जना शिक्षक छन् । माविका ११ मध्ये आठ जना नेपाली विषयका हुन् भने बाँकी अङ्ग्रेजी, विज्ञान र सामाजिक विषयका शिक्षक छन् । तर, तुलनात्मक रूपमा कठिन मानिएको मावि गणितको दरबन्दीमा भने शिक्षक छैनन् । सहायक प्रअ आनन्दप्रसाद ढुंगाना भन्छन्— “हाम्रोमा विद्यार्थी संख्याको अनुपातमा दरबन्दी बढी छ तर माविमा भने दुई वर्षदेखि गणित शिक्षक छैनन् ।” तैपनि दरबन्दी मिलान हुन सकेको छैन । जिशिअ शिवकुमार सापकोटा भन्छन्— “आवश्यकताका आधारमा विद्यालय समायोजन र दरबन्दी मिलान प्रक्रिया अघि बढाउन सकियो भने दरबन्दीको अभाव झेलेका विद्यालयको समस्या समाधान हुन्छ ।” राजनीतिक र स्थानीय दबाब आए पनि जिशिका ललितपुरले शहरी स्कूलका २० वटा दरबन्दी ग्रामीण विद्यालयमा पठाएको छ भने जिल्लाका ३० वटा विद्यालय समायोजन गरेको छ । IMG_8282 (1)

उता काठमाडौँको धापासीस्थित तिलिङ्गाटार उमाविमा भने आदर्श कन्याको कूल विद्यार्थी संख्याभन्दा बढी विद्यार्थी मावि तहमै छन् । हरेक कक्षामा २ देखि ३ वटासम्म सेक्सन सञ्चालन हुँदै आएका छन् भने विद्यालयमा १३ सयभन्दा बढी विद्यार्थी छन् । तर यहाँ यो वर्ष थपिएको एकसहित माविमा ५ जना मात्र दरबन्दीका शिक्षक छन् । विज्ञान, लेखा, ऐच्छिक गणित र सामाजिक विषयका शिक्षक छैनन् । आवश्यकता अनुसार शिक्षक दरबन्दी नभएपछि निजी स्रोतमा शिक्षक राखिएका छन् । तिलिङ्गाटार उच्चमाविले दरबन्दीको अभावमा निजी स्रोतका शिक्षकका भरमा २३ औँ पटक एसएलसी दिइसकेको छ । उच्चमाविका प्राचार्य सरोजकुमार पाण्डे भन्छन्— “कुनै विद्यालयका शिक्षकले एक–दुई पिरियड पढाएर जागिर पकाउनु तर कुनै विद्यालयले दरबन्दीको चरम अभाव झेल्नुमा शिक्षा मन्त्रालयको चरम लापरबाहीले काम गरेको छ ।”

धेरै विद्यार्थी भएका विद्यालयमा थोरै शिक्षक र थोरै विद्यार्थी भएकोमा बढी शिक्षक रहनु दरबन्दी मिलानको ठूलो चुनौती हो । शिक्षक दरबन्दी थप नभएको १५ वर्ष भइसकेको छ । शिक्षक अभाव कम गर्न राहत शिक्षकको व्यवस्था गरिएको छ । तर, राहत कोटा पनि असमान तरिकाकाले वितरण गरेका कारण त्यसले शिक्षक अभावलाई सम्बोधन गर्न सकेको छैन ।

हालको मापदण्ड अनुसार शिक्षक विद्यार्थी अनुपात तराईमा ५०, हिमालमा ४० र पहाडमा ४५ छ । तर, यो अनुपात व्यवहारमा कायम हुन सकेको छैन । हिमाल, पहाड र तराईमध्ये सबैभन्दा बढी शिक्षकको अभाव तराईका स्कूलले झेल्नु परेको छ । निमावि र माविमा विषयगत शिक्षकको अभाव छ भने प्राविमा शिक्षक बढी भएको देखिएको छ । तथापि फ्ल्यासमा उल्लेख छात्रछात्राको संख्या कृत्रिम रूपमा बढाइएका कारण अहिलेको आवश्यकता अनुसार कति शिक्षक चाहिन्छ भनेर यकिन गर्न कठिन छ । शिक्षाविद् डा. विष्णु कार्की भन्छन्— “अहिलेको शैक्षिक तथ्याङ्कले देखाउने करीव २५–३० प्रतिशत विद्यार्थी फर्जी हुन् । त्यसैले अहिले भएकै शिक्षकबाट शिक्षक अभाव झेलिरहेका विद्यालयको समस्या समाधान हुन सक्छ ।

धेरै वर्षदेखि शुरू गरेर पनि शिक्षा मन्त्रालयले गर्न नसकेको काम दरबन्दी मिलान हो । एउटा विद्यालयमा बढी भएको दरबन्दी कम भएको विद्यालयमा सार्ने काम कठिन भए पनि शिक्षा मन्त्रालयले दरबन्दी मिलानको काम धिमा गति अघि बढाएको छ । शिक्षा विभागका निर्देशक खगेन्द्रप्रसाद नेपाल भन्छन्— “जहाँ विद्यार्थी संख्या बढी छ, त्यहाँ शिक्षक पठाउनुपर्ने आवश्यकता छ । हामीले दुई सय विद्यालय समायोजन गरिसकेका छौँ । केही जिल्लामा दरबन्दी मिलानको काम पनि भएको छ । तर एउटा जिल्लाबाट अर्को जिल्लामा दरबन्दी सार्न राजनीतिक प्रतिबद्धता र शिक्षक संघ–संगठनको सहयोग चाहिन्छ ।”

व्यवस्थापिका संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको बैठकमा केही समयअघि शिक्षा सचिव विश्वप्रकाश पण्डितले भनेका थिए— “हामी दरबन्दी मिलान गर्न सक्ने अवस्थामा छैनौँ । काठमाडौँ उपत्यकामा १ हजार २ सय प्रावि शिक्षक बढी छन् । यिनलाई उपत्यका बाहिरका विद्यालयमा पठाउनुपर्ने अवस्था छ । तर हामी उल्टै बाहिरका प्रावि शिक्षक उपत्यकामा ल्याइदेऊ भन्ने दबाब झेलिरहेका छौँ । त्यसैले राजनीतिक सहमति भयो भने मात्र दरबन्दी मिलानको काम गर्न सकिन्छ ।”

Related Posts

/*sign up form*/