कक्षा ७ को सामाजिक अध्ययन गलत पाठ, गलत ज्ञान – रामजी दाहाल

by • • 2071_12, समाचारComments (0)2404

सञ्चारको ज्ञानै नभएका व्यक्तिले लेखेको कक्षा ७ को सामाजिक अध्ययनको एउटा पाठले कलिला बालबालिकालाई पत्रकारिताका सम्बन्धमा गलत र उल्टो कुरा सिकाउने प्रयास गरेको छ ।

पाठ्यक्रम र पाठ्पुस्तकको उद्देश्य विद्यार्थीलाई सही बाटो देखाउनु हो । विद्यार्थीको उमेर अुनसार सिकाइको लक्ष्य निर्धारण गरेर पाठ्यक्रम÷पाठ्यपुस्तक तयार गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । विद्यालय र विश्वविद्यालयका पाठ्यपुस्तक र पाठ्यक्रम सम्बन्धित विषयका विज्ञहरूले नै तयार पारेका हुन्छन् ।

तर, विषयवस्तुबारे जानकारी नै नभएका व्यक्तिले तयार पारेका पाठ्यक्रम र पाठ्पुस्तकले विद्यार्थीको ज्ञानको दायरा कतिसम्म साँघुरो बनाइदिन्छ भन्ने कुरा पाठ्यक्रम विकास केन्द्रले प्रकाशित गरेको कक्षा ७ को सामाजिक अध्ययन र जनसंख्या शिक्षा पुस्तक पढ्दा थाहा हुन्छ । पुस्तकको एकाइ ३ अन्तर्गत सामाजिक समस्या र समाधानको पाठ ७ मा गलत सञ्चार र त्यसको प्रभावशीर्षकमा एउटा घटना उल्लेख गरिएको छ । जसको उद्देश्य नै बालबालिकालाई सञ्चारबारे गलत धारणा रहेको देखिन्छ । सही सञ्चारको चर्चा नै नगरी शीर्षकै गलत सञ्चारराखिएको छ यो पाठमा । पाठको यो शीर्षकमै आपत्ति जनाउँदै वरिष्ठ पत्रकार एवं आमसञ्चार र पत्रकारिताका अध्यापक रामकृष्ण रेग्मीले संसारमा सञ्चार कहिल्यै गलत नहुने बताए । उनले भने, “सञ्चार कहिल्यै गलत हुँदैन । कुनै बेला सञ्चारको अभ्यास चाहिँ गलत हुन सक्छ ।

सञ्चारको गलत अभ्यासबारे जानकारी गराउनुअघि उक्त पाठले सञ्चारको सही परिचय दिनुपथ्र्यो भन्ने रेग्मीको भनाइ छ । हुन पनि यो हेर्दा सो पुस्तकका लेखकलाई पत्रकारिता र सञ्चारको पनि थाहा नभएको स्पष्ट झ्ल्को पाइन्छ । उनी सञ्चारलाई गलत सावित गर्न तम्सिएका छन् । १२ वर्ष उमेर समूहका बालबालिकाका लागि तयार पारिएको पाठ्यक्रमले सञ्चार नबुझई गलत सञ्चारको अभ्यासबारे सिकाउन खोजेको छ । यो पाठले बालबालिकामा पत्रकारिता, सूचना र सञ्चारप्रति गलत धारणा बाहेक अरू केही पनि शिक्षा दिन सक्ने देखिँदैन ।

सञ्चारको मुख्य तीन काम सूचना, शिक्षा र मनोरञ्जन दिनु हो । तर कुनै पनि पाठले सुसूचित गर्ने नाममा कुसूचित गर्ने, शिक्षाका नाममा कुशिक्षा दिने र मनोरञ्जनका नाममा कुमनोरञ्जन दिनु नहुने बताउँछन् अध्यापक रेग्मी ।

अवधारणा नै अस्पष्ट

पाविकेले पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्दा सञ्चारको अनुभव भएको विज्ञको खोजी गरेको भए सम्भवतः गलत पाठ तयार हुने थिएन । बिरामीको अपरेशन गर्दा सर्जन नै चाहिने अनि पत्रकारिताको पाठ्यक्रम तयार गर्दा सम्बन्धित विषयको विज्ञ नचाहिने प्रवृत्तिलाई हास्यस्पद ठान्छन् रामकृष्ण रेग्मी । सञ्चार सम्बन्धी सामान्य जानकारी समेत नदिई सञ्चारको गलत प्रयोगबारे कलिला बालबालिकालाई सिकाउनु भनेको कसैलाई खानेकुरा नदिई त्यसको विशेषता के हो भनेर सोध्नु जस्तै हो, उनी भन्छन् । १२ वर्षका केटाकेटीलाई यस्तो गलत नपढाऊँरेग्मीको भनाइ छ, “पाठ्यक्रम विकास केन्द्रले यसलाई तत्काल सुधार गर्नुपर्छ ।

पाठ्यक्रम विकास केन्द्रले २०७१ सालमा प्रकाशन गरेको यो पुस्तकका लेखक हुन् विष्णुप्रसाद अधिकारी । उनले शीर्षकमै गलत शब्द प्रयोग गरेर सञ्चार माध्यमप्रति विद्यार्थीमा नकारात्मक छाप बसाउने प्रयास गरेका छन् । उनी सञ्चार विज्ञ होइनन् ।

गलत सञ्चार पाठमा एउटा स्थानीय पत्रिकाले जिल्ला स्तरीय परीक्षामा कक्षाको पहिलो विद्यार्थी लगायत सात जना असफल भएको र ती सबैलाई गणित विषय लाग्नुको कारण शिक्षक कमजोर भएको समाचार बनाएको र त्यस घटनालाई स्थानीय रेडियो र टिभीले पनि उचालेको पुस्तकमा उल्लेख छ । यसबाट विद्यार्थीलाई के सिकाउन खोजेको हो भन्नेबारे लेखक स्पष्ट छैनन् । त्रिभुवन विश्वविद्यालयका पत्रकारिताका प्राध्यापक पी खरेल पुस्तकमा यस्तो समस्या देखिनुलाई लेखकमा विषयको ज्ञान नै नभएको परिणाम ठान्छन् । लेखकमा सञ्चारबारे ज्ञान नभएको प्रस्ट देखिन्छ, प्राध्यापक खरेल भन्छन्, “हचुवाको भरमा पुस्तक लेखिएको जस्तो छ ।

मूल लेखक विष्णुप्रसाद अधिकारी भनिए पनि पुस्तकलाई यो स्वरूपमा ल्याउने कार्यमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेल तथा डा. राजाराम सुवेदी, डा. जीवनाथ धिताल, डा. विनय कुसियत, लक्ष्मी माली, कमालदिन मिया, देवेन्द्र महर्जन, दिनानाथ गौतम, दिनेश खनाल, डिकबहादुर राई, हेमराज खतिवडा, कमला भण्डारी र मित्रप्रसाद काफ्लेको विशेष योगदान रहेको पुस्तकमा उल्लेख छ । यतिका धेरै व्यक्तिको विशेष योगदान भएको भनिए पनि पुस्तकको सबैभन्दा ठूलो कमजोरी पक्ष भनेको तथ्यगत त्रुटि हो । उदाहरणका लागि पृष्ठ १२७ को सार्क गतिविधिशीर्षकमा २९ फागुन २०६८ देखि लागू हुने गरी माल्दिभ्सका अहमद सलिम सार्कको महासचिवमा नियुक्त भएको र यसपछि नेपालको तर्फबाट सार्क महासचिव दुर्गाप्रसाद भट्टराई रहने उल्लेख छ । २०७१ सालमा प्रकाशित यो पुस्तक पढेपछि विद्यार्थीले सलिमपछि सार्कका महासचिव भट्टराई नै हुन् भनेर सिकेका छन् । जबकि सलिमको कार्यकाल १६ फागुन २०७० मा पूरा भएको भोलिपल्टै १७ फागुनमा अर्जुनबहादुर थापा महासचिवमा नियुक्त भएका छन् ।

यस्तो गलत सन्देश जाने पुस्तक पढाएर कसरी गतिला विद्यार्थी तयार पार्न सकिएला ? त्यस कारण शैक्षिक गुणस्तर सुधारका लागि पठनपाठनमा मात्र होइन, पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्दादेखि नै विशेष सजगता अपनाउन जरुरी छ ।

Related Posts

/*sign up form*/