एसएलसी र एसईई नाममा के छ ?

by • • आवरणComments (0)755

Print Friendly, PDF & Email

डा.हरिप्रसाद लम्साल

कक्षा १० को अन्त्यमा हुने परीक्षालाई ‘सेकेण्डरी एजुकेशन एक्जामिनेशन’, छोटकरीमा ‘एसईई’ भनी नामकरण गरिसकिएको छ । २०७३ साल चैत ३ गतेबाट सञ्चालन हुँदै गरेको परीक्षा ‘एसईई’ को नामबाट नै हुनेछ । अझ् स्पष्ट भन्नुपर्दा, विगतको ‘एसएलसी’ यस वर्षदेखि ‘एसईई’ को नामबाट सञ्चालन हुँदैछ । नाम फरक भए पनि यी दुवै परीक्षाको मूल्य, मान्यता र हैसियत एउटै रहनेछ ।

‘नाममा के छ ?’
शेक्सपियरले आफ्नो दुःखान्त नाटक रोमियो एन्ड जुलिएट  मा प्रयोग गरेको यो वाक्य अहिले पनि बेलाबेलामा सान्दर्भिक बनेर व्यवहारमा आइरहन्छ । रोमियो र जुलिएटको प्रेम यस प्रसंगमा भनिए जस्तै आफैंमा नाममा केही पनि हुँदैन तर कतिपय अवस्थामा नामले धेरै विशेषता जनाउँछ, नाम नै सर्वस्व जस्तो पनि बनिदिन्छ । कुनै पनि नामले आम जनमानसमा एउटा अमिट छापको सृजना र मूल्य-मान्यता स्थापित गरेको हुन्छ । तसर्थ मानिसहरू त्यही नामका माध्यमबाट त्यसको प्रयोग वा उपयोग गर्न सहज मान्छन् । अझ् भनौं, त्यही नाममा मात्र आमजन विश्वस्त हुन्छन् ।

जब नाम आफैंमा एउटा ब्रान्ड बन्छ, त्यसका विशेषताका लागि थप व्याख्या आवश्यक पर्दैन । वि.सं. १९९० देखि २०७२ सम्म सञ्चालित एसएलसी परीक्षा एउटा त्यस्तै नाम या ब्रान्ड बनेको छ नेपालको शैक्षिक जगतमा । कतिपयले यसलाई फलामे ढोकाका रूपमा पनि चित्रण गर्ने गर्दथे भने कतिपयले सुनौलो संसार प्रवेशको खुट्किलो मान्ने गरेका थिए । यो नामसँग परीक्षा दिने विद्यार्थी मात्र नभएर उनीहरूका अभिभावक, शिक्षक, प्राध्यापक, शिक्षाविद्, अनुसन्धानकर्ता आदि सबै उत्तिकै सुपरिचित थिए ।

गणनाका हिसाबले हालसम्म नेपालमा ८३ वटा एसएलसी (स्कूल लिभिङ सर्टिफिकेट) परीक्षा सम्पन्न भइसकेका छन् । अर्थात् ८३ वटा नियमित समूह (ब्याच) ले यो परीक्षा दिई नतीजा पाइसकेका छन् । शिक्षा ऐन–२०२८ मा भएको पछिल्लो अर्थात् आठौं संशोधनपश्चात् एसएलसीको नाममा केही फेरबदल भएको छ । त्यस्तो फेरबदलले एसएलसी र अब कायम हुने नयाँ पद्धतिका बारेमा केही प्रश्नहरू उठाएको छ । पुरानो पद्धतिबाट नयाँ प्रणालीमा प्रवेश गर्दा प्रश्न उठ्नु र चर्चा हुनु स्वाभाविक पनि हुन्छ ।

एसएलसी परीक्षामा सुधार वा परिमार्जन हुनुपर्ने बहस विगत लामो समयदेखि नै चल्दै आएको हो । त्यही बहस समेतमा टेकेर शिक्षा ऐनको आठौं संशोधन (वि.सं. २०७३ आषाढ १५ गते प्रमाणित भएको ऐन) ले एसएलसीको साविक स्वरूपमा परिवर्तन ग¥यो । उक्त परिवर्तनले एसएलसी सम्बन्धी विगतदेखिका बहसलाई पुनः एकपटक ब्यूँताइदिएको छ । पछिल्लो बहसका क्रममा सबैभन्दा धेरै सोधिएको एउटा प्रश्न– ‘अब एसएलसी परीक्षा हुन्छ कि हुँदैन ?’ भन्ने हो । अन्य प्रश्नहरूमा; अब यो परीक्षा कुन नामबाट हुन्छ ? हाल कक्षा ९ मा अध्ययन गरिरहेका विद्यार्थीले एसएलसी परीक्षा दिनुपर्छ या पर्दैन ? २०७२ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीले पुनः कक्षा १२ मा के नामबाट परीक्षा दिने ? विद्यालय तहका अन्य परीक्षा हुन्छन् कि हुँदैनन् ? साथै कक्षा ११ को अन्त्यमा हाल लिइआएको परीक्षा अब हुन्छ कि हुँदैन ? त्यसैगरी कक्षा १२ को अन्त्यमा हुने परीक्षाको नाम के हुन्छ ? यी सबै परीक्षाहरू कुन–कुन निकायले लिन्छन् ? आदि रहेका छन् ।

विद्यालय तहका परीक्षा बारेमाऐन नियम मा के नयाँ व्यवस्था भएको छ ?
शिक्षा ऐनको आठौं संशोधन, २०७३ ले विद्यालय शिक्षामा विद्यालयले नियमित रूपमा लिने परीक्षा बाहेक तीनओटा बाह्य परीक्षाको व्यवस्था गरेको छ । पहिलो, आधारभूत तह अर्थात् (कक्षा ८) को अन्त्यमा लिइने परीक्षा र प्रमाणीकरणको कार्य हो, जसको व्यवस्थापन जिल्ला तहबाट हुनेछ । दोस्रो, माध्यमिक तहको कक्षा १० को अन्त्यमा लिने परीक्षा हो । यसको व्यवस्थापन र प्रमाणीकरण क्षेत्र या प्रदेशले गर्ने व्यवस्था ऐनमा गरिएको छ । तेस्रो, विद्यालय शिक्षा (कक्षा १२) को अन्त्यमा लिइने परीक्षा र ल्याकतको प्रमाणीकरण । यसको व्यवस्थाका लागि शिक्षा ऐनमा केन्द्र अर्थात् राष्ट्रिय परीक्षा बोर्डको स्थापना गरिएको छ । शिक्षा ऐनमा कक्षा १० को अन्त्यमा हुने परीक्षाको व्यवस्थापन क्षेत्र या प्रदेशबाट गर्ने भनिएको भए तापनि हाललाई सोको व्यवस्थापन गर्ने दायित्व राष्ट्रिय परीक्षा बोर्डमा नै रहेको छ । अहिलेको विद्यमान शिक्षा ऐनले नै कक्षा १० र कक्षा १२ को अन्त्यमा लिइने दुवै परीक्षाको व्यवस्थापन र प्रमाणीकरणको दायित्व राष्ट्रिय परीक्षा बोर्डलाई सुम्पिएको छ ।

विद्यालय तहमा यी तीनओटा मात्र परीक्षा हुन्छन् भन्ने होइन । विद्यालय तहको पाठ्यक्रमले निर्धारण गरे बमोजिम हरेक कक्षामा त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षा हुने व्यवस्था कायम नै छ । यसैगरी कक्षा ५ को अन्त्यमा स्रोतकेन्द्रबाट व्यवस्थापन गरिआएको परीक्षालाई पनि यथावत् कायम राखिएको छ । यसरी, विद्यालय तहमा लिइने विभिन्न परीक्षामध्ये कतिपय परीक्षा विद्यालय आफैंले सञ्चालन र व्यवस्थापन गर्नुपर्ने प्रकृतिका छन् (जसलाई आन्तरिक परीक्षा प्रणाली भन्न सकिन्छ) भने कतिपय परीक्षा स्रोतकेन्द्र, जिल्ला, क्षेत्र र केन्द्रले व्यवस्थापन गर्ने प्रकृतिका छन्; जसलाई बाह्य परीक्षा भन्ने गरिन्छ । विद्यालयले लिने आन्तरिक परीक्षा विद्यार्थीलाई उत्तीर्ण र अनुत्तीर्ण गर्ने-गराउने उद्देश्यले भन्दा पनि विद्यार्थीको सिकाइमा सघाउ पुग्ने उद्देश्यले सञ्चालन गर्नुपर्ने हुन्छ । तर; विद्यालयले लिने आन्तरिक परीक्षालाई पनि बाह्य परीक्षा जस्तै बनाउने जुन अभ्यास रहिआएको छ, त्यसको अन्त्य गरिनुपर्छ; त्यो आवश्यक छैन । यसैगरी बाह्य परीक्षालाई जे जति मात्रामा स्तरीकृत गर्नुपर्ने हो सो हुन पनि बाँकी रहेको छ । अबका दिनमा बाह्य परीक्षालाई स्तरीकृत गरी यसका बारेमा विद्यार्थी, शिक्षक र अभिभावक समेतलाई उपयुक्त ढंगबाट जानकारी प्रदान गर्नु अति आवश्यक छ । यसका साथै आन्तरिक परीक्षा तथा मूल्यांकन पद्धतिमा पनि समयानुकूल परिमार्जन र सुधार चाहिएको छ ।

विगतमा चलिआएको एसएलसी परीक्षाकोना म र परीक्षा व्यवस्था के हुन्छ ?
शिक्षा ऐन २०२८ (संशोधनसहित २०७३) को दफा २ (छ) मा माध्यमिक तह अर्थात् कक्षा १२ को अन्त्यमा लिइने परीक्षालाई ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा’ अथवा स्कूल लिभिङ सर्टिफिकेट एक्जामिनेशन (School Leaving Certificate Examination) भनेर उल्लेख गरिएको छ । त्यस अनुसार यो परीक्षालाई छोटकरीमा ‘एसएलसीई’ (SLCE) भन्नुपर्ने देखिन्छ । त्यस अनुसार कक्षा १२ को अन्त्य अर्थात् विद्यालय शिक्षाको समापनमा हुने परीक्षालाई यसै वर्षदेखि ‘एसएलसीई’ भनिनेछ र विद्यार्थीको प्रमाणपत्र सोही नामबाट जारी गरिनेछ ।

माथि नै उल्लेख गरियो, संशोधनपछिको शिक्षा ऐनले कक्षा १० को अन्त्यमा पनि बाह्य परीक्षा हुने व्यवस्था गरेको छ; ऐनमा त्यसको नामका बारेमा भने केही उल्लेख गरिएको छैन । तर शिक्षा मन्त्रालयले कक्षा १० को अन्त्यमा हुने परीक्षालाई ‘माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेण्डरी एजुकेशन एक्जामिनेशन (Secondary Education Examination), छोटकरीमा ‘एसईई’ (SEE) भनी नामकरण गरिसकेको छ । यही महीना अर्थात् २०७३ साल चैत ३ गतेबाट सञ्चालन हुँदै गरेको कक्षा १० को अन्तिम परीक्षा ‘माध्यमिक शिक्षा परीक्षा (एसईई)’ को नामबाट नै हुनेछ र विद्यार्थीले प्राप्त गर्ने प्रमाणपत्र पनि यही नामबाट जारी हुनेछ । अझ् स्पष्ट भन्नुपर्दा विगतको ‘एसएलसी’ परीक्षा यस वर्षदेखि ‘एसईई’ को नामबाट सञ्चालन हुनेछ । नाममा फरक भए पनि यी दुवै परीक्षाको मूल्य र मान्यतामा केही फरक पर्ने छैन र दुवैको हैसियत एउटै रहनेछ ।

हालको शिक्षा ऐनले ‘एसएलसीई’ र ‘एसईई’ दुवै परीक्षा लिने व्यवस्था गरेकोले अबका दिनमा कक्षा १२ र कक्षा १० को अन्त्यमा हुने परीक्षाहरू यिनै नामबाट नियमित रूपमा भइरहन्छन् र सोही बमोजिम विद्यार्थीका प्रमाणपत्रहरू जारी हुनेछन् । भनाइको मतलब कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीले ‘एसएलसीई’ को परीक्षा र कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरूले ‘एसईई’ को नामबाट परीक्षा दिइरहनुपर्ने हुन्छ ।

कक्षा ११ को परीक्षा के हुन्छ ?
शिक्षा प्रणालीले कुन तहमा बाह्य परीक्षा लिने भन्ने विषय ऐन नियमद्वारा नै व्यवस्थित गरेको हुन्छ । हाम्रो सन्दर्भमा संशोधित शिक्षा ऐनले विद्यालय शिक्षा प्रणालीभित्रका बाह्य परीक्षाहरू कक्षा ८, कक्षा १० र कक्षा १२ को अन्त्यमा हुने व्यवस्था गरेको छ । शिक्षा ऐनको संशोधनपश्चात् धेरै सोधिनेमध्ये अर्को एउटा महत्वपूर्ण प्रश्न, ‘अब कक्षा ११ को अन्त्यमा परीक्षा हुन्छ कि हुँदैन ?’ भन्ने रहेको छ । यस सन्दर्भमा भन्नुपर्दा कुन विषयमा कति पूर्णाङ्क र अवधिको परीक्षा लिने भन्ने विषय पाठ्यक्रमले निर्धारण गर्ने कुरा हो । हाल प्रचलनमा रहेको पाठ्यक्रमले कक्षा ११ र कक्षा १२ को अन्त्यमा परीक्षा लिनुपर्ने व्यवस्था गरेको छ । तसर्थ विद्यमान पाठ्यक्रम बमोजिम अध्ययनरत विद्यार्थीले हालको जस्तै प्रणालीअनुरुप कक्षा ११ को परीक्षा पनि दिइरहनुपर्छ । पाठ्यक्रममा संशोधन नभएसम्म यो परीक्षापद्धति यथावत् रूपमा चल्नुपर्नेछ । भोलिका दिनमा, पाठ्यक्रम परिमार्जन भएमा कक्षा ११ को परीक्षा के कसरी लिने भन्ने विषय सोही पाठ्यक्रमको ढाँचाले तय गरे बमोजिम हुनेछ । तसर्थ अहिलेलाई कक्षा ११ का विद्यार्थीले विगतको जस्तै ढाँचा र प्रक्रियामा कक्षा ११ को परीक्षा दिनुपर्नेछ ।

विगत र अबका दिनमा सञ्चालन हुने कक्षा १०, कक्षा ११ र कक्षा १२ को अन्त्यमा हुने परीक्षामा परीक्षार्थीको दृष्टिकोणबाट के फरक पर्छ ?
हिजो र आजको परीक्षामा के फरक छ या भोलिका दिनमा के फरक पर्छ भन्ने विषयमा चर्चा गर्नुपूर्व यसबाट विद्यार्थी र समग्र पद्धतिमा पर्ने प्रभावका बारेमा विश्लेषण गर्नु आवश्यक हुन्छ । परीक्षार्थी अर्थात् विद्यार्थीको दृष्टिकोणबाट हेर्दा विगतमा दिइएका र अबका दिनमा दिने परीक्षामा खासै फरक छैन । विद्यार्थीले हिजो पनि परीक्षा दिनुपथ्र्यो, अबका दिनमा पनि दिनुपर्छ । हिजो पनि अध्ययन गरेर उत्तर दिनुपथ्र्यो भने अबका दिनमा पनि त्यही हो । पाठ्यक्रम र प्रश्नपत्र तयार गर्ने ग्रिड उही रहेसम्म प्रश्नपत्रको ढाँचामा पनि कुनै परिवर्तन नहुने निश्चित छ । माध्यमिक शिक्षा उत्तीर्ण (एसएलसीई) र माध्यमिक शिक्षा परीक्षा (एसईई) विगतको जस्तै ढाँचामा सञ्चालन हुन्छन् । विगतमा जस्तै प्रश्नहरू विषयगत ग्रिडबाट नै सोधिनेछन्, उत्तरपुस्तिका परीक्षण, परीक्षाफल प्रकाशन र समग्र परीक्षा व्यवस्थापन पनि पहिलेकै ढाँचामा हुन्छ । सामान्य अर्थमा भन्दा परीक्षाको नाम मात्र फरक भएको हो; अन्य व्यवस्था विगतका व्यवस्थासँग समान छन् । विद्यार्थीको दृष्टिकोणबाट गत वर्षका परीक्षा र अब हुने परीक्षामा फरक हुनेछैन ।

परीक्षाको नाम (उपाधि) परिवर्तन भएकोले विद्यार्थीले प्राप्त गर्ने प्रमाणपत्रको नाम भने अबका दिनमा फरक हुनेछ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) मा समावेश हुने विद्यार्थीले सोही नामबाट प्रमाणपत्र हासिल गर्छन् भने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा समावेश हुनेले यही नामबाट प्रमाणपत्र पाउनेछन् । विद्यार्थीले धेरै अंक वा राम्रो ग्रेड ल्याउन हिजोको दिनमा पनि राम्रोसँग पढ्नुपथ्र्यो भने अबका दिनमा पनि पढ्नुपर्छ । कक्षा ११ को परीक्षाको हकमा पनि यही कुरा लागू हुन्छ ।

‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा’ (कक्षा १२) र ‘माध्यमिक शिक्षा परीक्षा’ (कक्षा १०) मा परीक्षार्थीले कुनै फरक महसूस गर्नु नपर्ने भए तापनि शिक्षा प्रणालीले यसको व्यवस्थापनमा भने फरक महसूस गर्ने निश्चित छ, जुन विषयले परीक्षार्थी र आमजनका लागि खासै महत्व राख्दैन । विगतमा कक्षा १० को परीक्षा अर्थात् एसएलसी शिक्षा मन्त्रालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले लिन्थ्यो भने अबका दिनमा माथि उल्लेख गरिएका दुवै परीक्षाको समग्र व्यवस्थापन राष्ट्रिय परीक्षा बोर्डबाट हुनेछ । शिक्षा ऐनको भावना बमोजिम क्षेत्रस्तरमा सक्षम संरचना र जनशक्तिको व्यवस्था नहुँदासम्म कक्षा १० को परीक्षा पनि राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन र व्यवस्थापन गर्नेछ । उत्तरपुस्तिका परीक्षण र नतीजा प्रकाशनजस्ता सबै प्राविधिक कार्यहरू हिजोको दिनमा जस्तै हुनसक्छन् । कक्षा ११ र कक्षा १२ का अन्तिम परीक्षा हिजोका दिनमा तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट व्यवस्थित भइआएका थिए भने शिक्षा ऐनमा भएको संशोधनपश्चात् यी दुवै परीक्षाको व्यवस्थापन पनि राष्ट्रिय परीक्षा बोर्डको नामबाट नै हुनेछ ।

माथिल्लो तहमा भर्ना हुने योग्यता रविद्यालय छनोटमा के फरक छ ?
कुनै पनि तहको बाह्य परीक्षामा समावेश हुने विद्यार्थीले त्योभन्दा माथिल्लो तहमा भर्ना हुनका लागि आधिकारिक निकायले निर्धारण गरे बमोजिमको योग्यता हासिल गरेको हुनुपर्छ । विद्यमान शिक्षा ऐन बमोजिम कक्षा ११ मा भर्ना हुने विद्यार्थीको योग्यता निर्धारण गर्ने अधिकार राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्मा रहेको छ । यो परिषद्ले निर्धारण गरेको योग्यता (विषयगत रूपमा) बमोजिमको आधार पूरा गरेका विद्यार्थी मात्र कक्षा ११ मा भर्ना हुन योग्य मानिनेछन् । भनाइको मतलब, माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएपछि कक्षा ११ मा स्वतः भर्ना हुन पाइन्छ भन्ने होइन । कुनै पनि विद्यार्थीले कक्षा ११ मा आफूले चाहेको विषयमा भर्ना पाउन परिषद्ले निर्धारण गरे बमोजिमका विषयहरूमा तोकिए बमोजिमको ग्रेड कक्षा १० को परीक्षा अर्थात् ‘एसईई’ मा हासिल गरेकै हुनुपर्छ । हाल कक्षा ११ मा विभिन्न विषय समूहमा भर्ना हुनको लागि विषयगत रूपमा न्यूनतम ग्रेड निर्धारण गरिएको छ । उदाहरणको लागि, विज्ञान विषय समूहमा भर्ना हुनको लागि गणित र विज्ञानमा न्यूनतम ‘सी प्लस’ ग्रेड तथा अंग्रेजी, सामाजिक र नेपाली विषयमा न्यूनतम ‘डी प्लस’ ग्रेड ल्याउनुपर्ने व्यवस्था गरिएको छ । माध्यमिक शिक्षा परीक्षामा समावेश भएपछि विद्यार्थीले कक्षा ११ का कक्षा वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतका कुनै न कुनै कार्यक्रममा सहभागी हुन त पाउँछन् तर तिनले आफूले चाहेको विषय नभई ग्रेडले अनुमति दिएको विषय मात्र अध्ययन गर्न पाउँछन् ।

कक्षा १० पछि विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) अन्तर्गतको तीनवर्षे डिप्लो कोर्स अध्ययन गर्ने अवसर पनि पाउँछन् । तर त्यस्तो कोर्समा प्रवेश पाउन पनि विद्यार्थीले कक्षा १० को परीक्षामा ‘सीटीईभीटी’ ले निर्धारण गरे बमोजिमको ग्रेड ल्याएको हुनुपर्छ ।

कक्षा ११ को परीक्षा दिएपछि कक्षा १२ मा भर्ना हुन पाउने हालसम्मको परम्परा अबका दिनमा पनि निरन्तर रहनेछ । हालको पाठ्यक्रम कार्यान्वयनमा रहेसम्म कक्षा ११ को परीक्षा पूरा गरेपछि विद्यार्थीले उक्त परीक्षाको नतीजा नपर्खीकन कक्षा १२ मा भर्ना भई अध्ययन गर्न पाउनेछन् ।

विद्यालय तहका जुनसुकै बाह्य परीक्षामा विगतको एसएलसीमा जस्तै निश्चित विषयमा निश्चित उपलब्धि हासिल गरेकै हुनुपर्छ । नपढिकन न विगतमा हुन्थ्यो न अबका दिनमा हुन्छ ।

कक्षा १० को माध्यमिक शिक्षा परीक्षामा समावेश भएपश्चात् तोकिएका ग्रेड हासिल गरेका विद्यार्थीले आफूले चाहेको शैक्षिक संस्थामा भर्नाका लागि निवेदन दिन सक्छन् । आफ्नो विद्यालय (कक्षा ११ वा डिप्लोमातर्फ) कार्यक्रममा मात्र अध्ययन गर्नुपर्छ भन्ने छैन । फेरि हालका सबै माध्यमिक विद्यालय (कक्षा ९ र १० सञ्चालन गरेका) हरूले कक्षा ११ का शैक्षिक कार्यक्रम चलाउनुपर्छ वा चलाउन पाउँछन् भन्ने पनि छैन । निश्चित मापदण्ड पुगेका विद्यालयहरूले मात्र कक्षा ११ का कार्यक्रम चलाउन आवेदन दिन पाउने व्यवस्था छ र यसको आवश्यक छानबीन गरेर शिक्षा विभाग र यसअन्तर्गतका निकायहरूले कक्षा वा विषय थपको अनुमति दिन सक्छन् ।

शिक्षा मन्त्रालयले कक्षा १० को परीक्षामा अक्षरांकन पद्धति कार्यान्वयन गर्ने निर्णय गरेको समयमा नै विद्यालय शिक्षाका कक्षा १० भन्दा तल र माथिका कक्षाहरूमा पनि अक्षरांकन पद्धति क्रमशः कार्यान्वयन गर्ने भन्ने भएकोले विद्यालय शिक्षाका यी कक्षाहरूमा पनि अबदेखि अक्षरांकन पद्धतिको क्रमशः कार्यान्वयन हुन्छ र यसको लागि आवश्यक तयारी पनि भइरहेको छ ।

र, अन्त्यमा
विद्यमान ऐन नियम बमोजिम, विद्यार्थीहरू विद्यालय तहमा हुने आन्तरिक र बाह्य दुवै प्रकृतिका परीक्षामा समावेश हुनुपर्छ । वास्तविकता के हो भने, कुनै पनि विद्यार्थीले एउटा कक्षाबाट माथिल्लो कक्षामा जानका लागि अध्ययन गरेको तहमा निश्चित उपलब्धि हासिल गरेकै हुनुपर्छ । विद्यालयले लिने आन्तरिक परीक्षामा विद्यार्थीले हासिल गरेको उपलब्धिलाई विद्यालयले आफ्नै ढंगबाट व्याख्या गरेर विद्यार्थीलाई माथिल्लो कक्षामा अध्ययन गर्न दिने-दिने निर्णय गर्ने व्यवस्था शिक्षा नियमावलीमा रहेको छ । तर जब मुलुकले बाह्य परीक्षा संचालन गर्छ, त्यतिबेला परीक्षा लिने निकायले नै विद्यार्थीले हासिल गरेको उपलब्धिलाई प्रमाणीकरण र व्याख्या गर्ने गर्दछ । जुन निकायका लागि जे–जस्तो क्षमता र योग्यताका विद्यार्थी आवश्यक पर्छन् उक्त निकायले नै त्यसको आधार तय गरेर विद्यार्थी लिने-नलिने निर्णय गर्न सक्छ । कक्षा ११ को साधारण तथा व्यावसायिक धारतर्फ अध्ययन गर्नका लागि चाहिने योग्यता तय गर्ने अधिकार शिक्षा नियमावलीले राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्लाई दिएको छ । यसैगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतका कार्यक्रमको डिप्लोमा तथा अन्य कार्यक्रममा भर्ना हुन चाहिने आधार तोक्ने अधिकार यही परिषद्लाई दिएको छ । हालको व्यवस्था अनुसार कुनै पनि विद्यार्थीले कक्षा ११ मा भर्ना पाउनका लागि कक्षा १० को परीक्षामा निश्चित ग्रेड ल्याएकै हुनुपर्छ । विद्यार्थीले हासिल गरेको शैक्षिक योग्यताको हैसियत अनुसार माथिल्लो तहमा भर्ना पाइन्छ र उक्त भर्ना आफूले चाहेको शैैक्षिक संस्थामा गर्न सकिन्छ ।
(लम्साल शिक्षा मन्त्रालयका सहसचिव हुन् ।)

Related Posts

/*sign up form*/