एउटा कविताको कथा

by • • HighlightComments (0)187

Print Friendly, PDF & Email

– दुर्गा कार्की
सजायको एउटा न एउटा कथा नबोकिकन स्कूल सकेका मेरो उमेरका को पो भेटिएलान् र ? तर एउटा कथा यस्तो पनि छ जसको दुखाइ पाइपका सुम्लाभन्दा कैयौं गुणा चर्को थियो— जुन सम्झदा मलाई आज पनि आँशु आउँछ ।

म हिजोआज कामविशेषले हुम्ला आएकी छु । अदानचुली गाउँपालिकाको हामी बस्ने घरैअगाडि अंग्रेजी माध्यममा पढाइ हुने एउटा ‘प्रि–प्राइमरी स्कूल’ छ । बिहान कक्षामा पस्नुअघि करीब पन्ध्र मिनेटको ड्रिल गरेपछि ड्रम बजाउने ५–६ वर्षका भाइले भन्छन्, “नाउ वी आर गोइङ टु क्लास रुम, आर यु रेडी फ्रेन्डस् ?”

स-साना बालबालिकाले अनेक भावभङ्गिमामा आ-आफ्नो पाराले गर्ने ड्रिल हामीलाई खूब रमाइलो लाग्छ र हेरिबस्छौं । तर कहिलेकाहीं उनीहरूको एसेम्ब्लीलाई हेर्नलायक (होइन, नालायक) बनाउने अर्को कुरा पनि हुन्छ, विभिन्न निहुँमा दुईहाते लौराले उनीहरूलाई गरिने धुलाइ ।

हरेकपटक चार-पाँच वर्षे केटाकेटी एक हातले पिटेको ठाउँमा सुम्सुम्याउँदै अर्को हातले आँखा र नाक पुछिरहँदा मलाई भने सम्झ्नाले उडाएर लमजुङ पु¥याउँछ ।

केहीअघि काठमाडौंमा मेरी एउटी स्कूले साथीसँग जम्काभेट भयो । सामान्य हालखबर सोध्नासाथ उसले पुराना कुरा कोट्याइहाली, “त्यो … मुर्दाले कति पिट्थ्यो है हाम्लाई ! ?”

मेरा आँखा झ्ट्ट उसको कपालतिर गए । कक्षा दश पढ्दा ट्वाइलेट जान्छु भनेर बाटैमा एकछिन निद्रा पु¥याउनपट्टि लागेकी उसलाई सरले भेट्टाएर एक मुठ्ठी कपाल लुछिदिएका थिए । रातिको पढाइ सकेर हामी होस्टेलमा सुत्न जाँदा टाउकोबाट कपालका रौं सँगाल्दै उसले आँशु खसाल्नुभन्दा धेरै कपाल लुछिदिनेलाई सरापेकी थिई ।

उसका गोरा पिडौंलामा सयौंपटक पाइपका गुलाबी सुम्ला उठे र मेटिए । पाइप नखाने र गिट्टीमा घुँडा नटेक्ने हाम्रो कक्षामा एउटै प्राणी पनि थिएन । होमवर्क गरेर वा पढ् भनेको कुरा पढेर आउँदैमा कुटाइ नखाने भन्ने हाम्रोमा हुँदैनथ्यो । लगभग हरेकजसो कुरा सरको मूडमा भर पथ्र्यो । तर ऊ मात्र एक त्यस्ती जब्बर विद्यार्थी थिई जो तीनतले भवन माथिदेखि गिट्टी विछ्याएको भुईंसम्म नाङ्गो घुँडाले टेकेर हिंड्नुपर्दा समेत फिटिक्कै गल्दिनथी । प्रसिद्ध हिन्दी फिल्म तारे जमीन पर मा जस्तै ऊ कक्षामा कम, ढोकाबाहिर ज्यादा भेटिन्थी । हामी शौचालय वा अन्त कतैबाट कक्षामा पस्दा कर्के आँखा पारेर ङिच्च दाँत देखाएर हाँस्थी । जब कक्षामा हुन्थी, धेरैजसो समय बसेकी हुँदैनथी । लाग्थ्यो, पिटाइको उसलाई बानी परिसक्यो । पिटाइ खाँदाखाँदा उसका शरीरका अङ्गहरू नै मरिसकेका थिए ।

“सरले कुटीकुटीकन पढाएको थियो र आज यहाँ आइपुगें भनेर सम्झेलास् कुनै दिन भाते !” पाइपले भकुर्दै शिक्षकहरू भन्थे ।
आज आठ वर्षपछि हामी सबैको जीवनको आधाउधी टुङ्गो लगभग लागिसक्यो । करीब डेढ दर्जन केटीहरूमध्ये मुश्किलले आधा दर्जनले मात्र ब्याचलर सक्यौं । केटाहरूको त त्यति पुग्न पनि मुश्किलै होला । कतिपयका त केटाकेटी पनि हुर्किसके । तर जो जो ‘यहाँ आइपुगें’ भन्ने ठाउँसम्म पुगेका छन्, तिनले कहिल्यै पनि ती पाइप र पाइप बोक्नेहरूका लागि पढेनन् । ज–जसले पाइपका लागि मात्र ‘पढिदिए’, स्कूले जीवनलाई सम्झिदा उनीहरूका मनमा शिक्षकको अनुहार पहिले आउँछ कि पाइपको र त्यसरी तिनलाई सम्झेका बेला उनीहरू के सोच्दा हुन् भन्ने शिक्षाका नाममा दिइने यन्त्रणा भोगेका सबैले अनुमान गर्न सक्ने कुरा हो ।
यो त भयो भौतिक सजायको कुरा । यस्तो सजायको एउटा न एउटा कथा नबोकिकन स्कूल सकेका मेरो उमेरका को पो भेटिएलान् र ? तर एउटा कथा यस्तो पनि छ जसको दुखाइ पाइपका सुम्लाभन्दा कैयौं गुणा चर्को थियो— जुन सम्झ्ँदा मलाई आज पनि आँशु आउँछ, तर हिजोआज त्यसमा हाँसो पनि मिसिन थालेको छ ।

यो कथा एउटा कविताको कथा हो ।
यो कुरा म कक्षा ७ मा पढ्दाको हुनुपर्छ । स्कूलमा म धेरैजसोकी प्यारी थिएँ । बिहानको एसेम्ब्ली गराउने जिम्मा मेरो थियो । नियमित ड्रिल अभ्यास सकिएपछि अगाडि गएर विद्यार्थीहरूले पालैपालो आ-आफ्ना लेखरचना सुनाउनुपथ्र्यो । अरूलाई ‘ला ! भोलि मेरो पालो’ भनेर दिक्क लाग्ने यो काम मलाई भने कहिले आउला जस्तो लाग्थ्यो । अहिले दिमागमा झट्ट केही नवीन विचार आउँदा यो चाहिं फेसबूक वा ट्विटरमा लेख्छु भनेजस्तै त्यतिबेला यो चाहिं एसेम्ब्लीको लागि भनेर कोरिटोपल्थें ।

कवितामा भर्खरभर्खर रस बसेको बेला थियो त्यो । कक्षामा थरीथरीका शिक्षकले पढाउँथे । कोही हामीलाई कक्षाकार्य दिएर कक्षाको एउटा कुनाबाट अर्को कुनासम्म एक्लाएक्लै मुस्कुराउँदै डुलिबस्थे । कोही मुखबाट फुत्कने हरेक शब्दमा अंग्रेजी ‘एस’ लगाएर प्लुरल मा बोल्थे र हामीलाई अंग्रेजी कमजोर भएकोमा निम्नस्तरको महसूस गराउँथे । कसैकसैको गुड मर्निङ मा दाँतमा अड्किएको सागको टुक्रो पनि हाँस्थ्यो । कोही भर्खरभर्खर सर्ट बाहिरबाट ब्राको फित्ता देखिन थालेका कलिला ढाडहरूमा घरीघरी धाप मार्ने अनेक निहुँ खोजिरहन्थे । कोही कक्षामा विद्यार्थी ढिला आए वा स्कूल नआए सजायस्वरूप जिउँदै शोक मनाएर आफ्नो मानसिक रोग प्रदर्शन गर्थे । कोही यति सुन्दर, सरल र प्रिय थिए, सबै शिक्षक उनीहरूजस्तै भइदिउन् जस्तो लाग्थ्यो ।

एक दिन यी विभिन्न थरी शिक्षकहरूसँग झेंक चलेर मैले एउटा कविता लेखें । झेंक चलेकाहरूलाई मात्रै टार्गेट गर्दा ठ्याक्कै थाहा हुने डरले रमाइला किस्सा जोडिएका केही अरूलाई पनि कविताका पात्र बनाएँ । लेखेकी त झेंक चलेर थिएँ, तर कविता पढिसक्दा आफैंलाई हाँसो उठेर आयो । भोलिपल्ट राम्रा अक्षरमा डायरीको पानामा सारेर एसेम्ब्ली जानुअघि साथीहरूलाई सुनाएँ । उनीहरूले पनि मरीमरी हाँसेर स्वीकृति दिएपछि लाग्यो, यत्तिको कविता सुनाउँदा फरक पर्दैन ।

एक पारिलो बिहान, छिमेकी मध्यमस्र्याङ्दी जलविद्युत् परियोजनाका कामदारहरूले सधैं झैं तारजालीमा अडेस लागेर हाम्रो बिहानी प्रस्तुति हेरिरहेको बेला मैले माइकको भरपूर उपयोग गरेर आफ्नो कविता कहें । कवितासँगै केही रमाइला किस्सा र धेरै मजस्तै विद्यार्थीका गुनासा कहें । एसेम्ब्ली सकेर लाइनमा मिसिन आउँदा केही साथीहरू हातले नाक मिचेजस्तो गरी अझै हाँस्दै थिए । मैले कस्तो भयो भनेर सोध्ने जरुरतै परेन ।

अघिल्तिर उभिनेले ड्रिल ठोक्यो । तर त्यो दिन शिक्षकका आँखाबाट छेलिने ठाउँ पनि नपुग्दै हाम्रो लाइन एकैठाउँ गुजुल्टो प¥यो । एसेम्ब्ली जानुअघि कविता सुनेर हाँस्दै गज्जब छ भनेका साथीहरू अहिले ‘ओइ, तैंले के कविता सुनाको ?’ भन्न थाले । लाइनको पुछारमा बस्नेहरूले कवितामा टार्गेट गरिएका शिक्षकहरू भेला भएर के–के गफ गरिरहेको सूचना दिए । कसैले कुनै सर एकदमै रिसाएको, कसैले हेडसरसित कुरा गर्नुपर्छ भन्दै गरेको सुनेको खबर दिए । कक्षामा नपुग्दै मेरो घाँटीमा थुक निल्नै नसक्ने गरी डल्लो जमिसकेको थियो ।

मैले त्यस दिन बिहानै रेडियोमा राशिफल सुनेकी थिएँ । राशिफल सुन्नु हामी केटीहरूमा चलनजस्तै थियो । बिहान त्यति सुनेपछि हामी दिनभरिमा कुटाइ खाने नखाने तय गथ्र्यौं । स्कूल छिर्ने बाटैको घरका भित्तामा लागेको भित्ते लहरोका मुन्टा लहराइरहेका हुन्थे । कहिल्यै फूल नफुल्ने त्यस लहराका पातलाई किन हो हामी बडो लच्छिनको मान्थ्यौं र दिनको एउटा पातको दरले ‘हे भगवान, आज कुनै पिरियडमा कुटाइ खानु नपरोस्’ भनेर दुईचुल्ठी बाटेको कपालमुनि घुसाथ्र्यौं । कसैले कुनैदिन कपालमा पात घुसार्न बिर्सेको रहेछ भने अर्कोेसँग मागेर भए पनि नघुसारेसम्म दिनभरिलाई ढुक्क हुन सक्दैनथ्यो ।

त्यस दिनको राशिफल राम्रो थियो । कपालमा पात घुसार्न पनि बिर्सेकी थिइनँ । तैपनि कविता भन्नुअघि एकपटक मलाई मनपर्ने सरसँग सोध्छु भन्ने चाहिं मनमा थियो । सधैं भेट हुनुहुने उहाँ त्यही दिन चाहिं प्रार्थनाअघि भेट हुनुभएन । हुने हार दैव नटार भनेको के रहेछ, मैले त्यसै दिन बुझें ।

प्रार्थना सकिएको धेरै बेरसम्म त्यस दिन शिक्षकहरू कक्षामा आएनन् । हाम्रो कक्षामा मात्र होइन, वरपरका कक्षामा समेत चर्को हल्ला नरोकिएको सुन्दा शिक्षकहरूको ठूलै मिटिङ बस्यो भन्ने सोचेर मेरो मनले यता ढ्याङ्ग्रो ठोकिसकेको थियो । के भन्ने हुन् भन्ने डरले शिक्षकको अनुहार हेर्नै नचाहँदा र बरू केही न केही खबर त ल्याए हुन्थ्यो भन्ने व्यग्रताले अनुहार हेरिहाल्न चाहँदाको दोधारको क्षण कस्तो हुँदोरहेछ भन्ने पनि मैले त्यसै दिन थाहा पाएँ ।

घडीको प्रत्येक पलसँगै मेरो घाँटीमा अड्केको डल्लो सहनै नसक्ने गरी दुख्थ्यो । डेस्कमा घोप्टो परेर रोएर त्यो डल्लो जानेवाला थिएन । आधा घण्टा बितिसक्दा पनि त्यस दिन कक्षामा कुनै शिक्षक आएनन्, बरु गार्ड दाइ चाहिं आए, मलाई बोलाउन ।
गह्रौं पाइला चालेर म ढोकाबाट लुरुलुरु निस्केको पूरै कक्षाले चुँइक्क आवाज ननिकाली हे¥यो । सरमिसले सधैं भन्ने गरेको पिन ड्रप साइलेन्स कस्तो हुँदोरहेछ भन्ने पनि मैले त्यसै दिन बुझें ।

तनावका बेला ‘मेरो पेट पोल्यो नि ….’ भन्दै हजुरआमा एक्लै बर्बराउनुहुन्थ्यो, छटपटाउनुहुन्थ्यो । म सोच्थें, कहीं नपाएर पेट पनि पोल्छ ? पेटमा आगो हुन्छ र पोल्नलाई ?

हजुरआमाले भनेजस्तो पेट पोल्नु के रहेछ भन्ने पनि मैले त्यसै दिन बुझें ।
प्रिन्सिपलको कोठाबाहिर पुगेर मैले मुसाको जत्रो स्वरमा ‘मे आई कम इन सर ?’ भन्दा अघि माइकमा कविता फलाक्दाको आफ्नै आवाजले मलाई गिज्याइरहेको थियो । भित्र सोफामा गजधम्म भएर टनाटन बसेका मेरा कविताका पात्रहरूको एकएक आकृति मलाई ग्लानिबोध गराउन पर्याप्त थियो ।

म ढोकैनेर उभिएँ । हेडसरले अलिकति हाँसेर भन्नुभो, “काली कविता त गजबै लेखिचेस् त !”
मेरा आँखाबाट अलिकति राहत र धेरै ग्लानिका बडेमानका दुई ढिक्का आँशु सीधै तल झ्रे र निमेषभरमै हेडसरको कार्पेटमा विलाए । ती आँशुको मायामा अर्का दुई थोपा आँशु उसैगरी खसे ।

बुवासित राम्रै आवतजावत चल्ने भएर हो वा के हो हेडसरले मेरो कवितालाई उति गम्भीर रूपमा लिनुभएन । नत्र कुनै सामान्य विद्यार्थीले यत्तिको धृष्टताबापत चुकाउनुपर्ने मूल्यको अनुमान लगाउन सकिन्थ्यो । “यस्ता कुरा त मसित सुटुक्क पो भन्ने हो त, एसेम्ब्लीमा गएर भन्छन् त लाटी ?” भन्नुभो । सहानुभूतिको हरेक शब्दसँगै मेरो रुवाइ झन्झन् चर्कन्थ्यो, हिक्कहिक्क झनै बढ्थ्यो ।
“सरी भनेर क्लासमा जा !” हेडसरले आदेश दिनुभो ।

कुनै पनि कविले कहिल्यै पनि आफ्ना कविताका पात्रहरूकै सामुन्ने रूँदै माफी मागेको छैन होला । अझ् म त एकदुईवटा कविताका मुना हालेर पलाउँदै गरेकी कलिली थिएँ, कमली कवि ! माफी माग्दिनँ भन्न सक्ने उमेर, अवस्था केही थिएन । ‘सरी’ भनें ।
माफी त मागें, तर त्यस दिन दिनैभरि मेरा आँखाले विश्राम पाएनन् । आँशु नरोकिनुका प्रमुखतः दुई कारण थिए ।
पहिलो, मैले माफी मागिसकेपछि पनि मेरा कविताका कुनै पनि ‘कु’ पात्रहरू मसँग बोलेनन् ।

दोस्रो, थोरै सही तर मेरो मनमा गहिरो छाप छोडेका मेरा कविताका ‘सु’ पात्रहरूले पनि मलाई सान्त्वना दिने कुनै आवश्यकता देखेनन् ।

त्यति लामो समयसम्म त हजुरआमाको पेट पनि पोलेको थिएन होला ।
त्यति लामो समयसम्म त कुनै कविता पनि दुखेको थिएन होला । मैले घर गएर कसैलाई केही भनिनँ । ‘कसै’ मतलब ममी र हजुरआमा । हजुरआमा यस्ता कुरा बुझनुहुन्नथ्यो, ममीसँग त्यतिबेला यस्ता कुरा सेयर गर्ने गरी निकट सम्बन्ध थिएन ।
म बुवा कुरिबसेकी थिएँ ।

गाउँमा भर्खरभर्खर सीडीएमए फोन अइपुगेको थियो । पूरै गाउँको लागि एउटा । कसैको फोन आउनासाथ घरको एउटा मान्छे चप्पल लगाएर खबर पु¥याउन दगुरिहाल्नुपथ्र्यो । हाम्रोमा त्यस्तो मान्छे नहुँदा बुवाले फोन नजिकै ठूलीआमाको घरमा राख्नुभएको थियो ।

साँझ्पख ठूली आमाले बोलाउनुभयो, “दुर्गा ! बुवाको फोन आ’ छ ।”
बुवाको फोन भन्नासाथ मेरा आँखा फेरि सरर्र रसाएर आए । शरीरमा थोरै सास पलाएजस्तो भयो तर चप्पल लाउनेबेला खुट्टा थरर्र काँपें । खुट्टा किन काँपे त्यसरी ? खाजा नखाएर मात्र त मरे पनि होइन ! के मायाले मान्छेलाई यस्तरी कमजोर पनि बनाउँछ ?
ठूलीआमा कतै काममा लागिसक्नुभएको थियो । टेबलमा राखेको फोनको रिसिभर उठाएर रुन्चे स्वरमा भनें, ‘हेलो….’
‘नानी….?’

बुवाले कानैमा भन्नुभो । त्यतिन्जेल मेरो हिक्कहिक्क छुट्न थालिसकेको थियो ।
ए होइन ! त्यो त मैले बाटोदेखि कल्पना गरेको पो त ।
बुवाले एकदमै रूखो स्वरमा भन्नुभो, “खूब देवकोटा बन्नु प¥या छ है तँलाई ?”
मलाई फोनको अर्कोपट्टि मेरै बुवा बोलिरहेको भनेर पत्याउन गाह्रो प¥यो ।
बुवाले अरू केके भन्नुभो मलाई याद छैन । रुँदारुँदा डम्म भइसकेका कानले अब त सुन्न पनि छोडे जस्तो लाग्यो । जहाँबाट टिपेकी थिएँ, त्यहीं फोनको रिसिभर राखेर म निस्कें ।

छन्द मिलेका हुन् वा नहुन्, बुवा मैले कोरेका हरेक कागजका टुक्राहरूमा नाक फुलाउनुहुन्थ्यो । मैले बोलेर जितेका हरेक सानाठूला पुरस्कारका बारे छाती फुलाउँदै दुनियाँलाई भन्दै हिंड्नुहुन्थ्यो । मलाई बुवाको त्यही ऊर्जाले झ्न् लेख्न–बोल्न प्रेरित गथ्र्यो ।
हुनत बुवालाई मैले लेखेका केही पनि कुरा मन नपर्ने भन्ने हुँदैनथ्यो तर मलाई अरू धेरैले राम्रो भनेको भन्दा पनि बुवा एक्लैले राम्रो भनेको सुन्दा बढी आनन्द आउँथ्यो । अरूको लाख आमाको काख भन्थे, मेरा हकमा चाहिं अरूको लाख बुवाको काख थियो ।
त्यस दिन बुवाले ‘खास्सा लेखिस् छोरी !’ नभने पनि ‘के भो त, तैंले के बेठीक लेखेकी छस् र !’ मात्र पनि भनिदिएको भए रुँदै सही, मैले बेलुकीको भात खाँदी हुँ । अलिकति भए पनि ढुक्कले सुत्दी हुँ, निदाउँदी हुँ । लास्ट रिसोर्ट मानेका बुवाले पनि देवकोटाको छेड हानेपछि मेरो १४ वर्षे संवेदनशील मनलाई जिन्दगीको रहर पुग्यो । हिजोसम्म मलाई प्रिय ठान्ने शिक्षकहरूले आज आँखा जुध्दा पनि मुन्टो बटारेको मेरो मनले सहन सकेन । राति १० बजेतिर म हजुरआमाले थाहा नपाउने गरी ढोकाको आग्लो खोलेर निस्कें ।
गाउँमा छिटो रात पर्छ । गाउँलाई बेलुकी भोक अनि थकाइ पनि शहरलाई हेरी चाँडो लाग्छ । अरू बेला म पढ्दापढ्दै हजुरआमा निदाउनुभयो भने च्यापेको सुसु पनि सहेर सुतिदिन्थें । तर त्यस दिन अँध्यारोदेखि पनि डर लागेन ।

बाहिर वस्तुको आकृति देख्न सकिने गरी जून लागेको थियो । म बिरालोको चालमा गोठतिर लम्किएँ । भैंसीले मान्छेको उपस्थिति महसूस गरेछ क्यारे, बिस्तारै आईं … ग¥यो । ममीको निद्रा साह्रै पातलो थियो । थाहा पाउनुहोला कि भन्ने डरले एकछिन त उभिएकै ठाउँमा जमेर बसें । म उभिएको दाहिनेपट्टि ममीले बिहान घाँस ल्याएको नाम्लो झुण्डिरहेको थियो । लामो सास फेरेर नाम्लो झ्किें । डोरी छामें, पातो छामें । बाक्लो पातो भएको त्यो नाम्लो ममीले मामाघरमा हजुरबुवासित बनाइमाग्नुभएको थियो । मैले झ्लक्क बूढो हुनुभएका हजुरबुवा सम्झें, मामाघर ससम्झें । दशैंका बेला मामाका छोराछोरीसँग खेल्ने गरेको ढुङ्गा छापेको फराकिलो आँगन सम्झें । त्यसपछि फेरि कताकताबाट बुवा सम्झें, कक्षाकी मेरी मिल्ने साथी सम्झें । घर जाने बेला ‘दिदी, तेरो आँट अलिकति मलाई दे न !’ भन्ने जुनियर भाइ सम्झें । बल्लबल्ल बग्न बन्द भएका आँखामा फेरि आँशुको खोलो बग्यो । तिनै आँखाले आफ्नो र अर्काका लागि देखेका सपना सम्झें । जतिखेर सपनाको माया लागेर आयो, त्यति नै खेर अँध्यारोदेखि डर लागेर आयो । हावा चलेर हल्लिंदा कटटट गर्ने गल्लीको बाँसको झयाङदेखि डर लाग्यो । आँगनीमा उभिएका हरेक आकृतिहरूमा भूत देख्न थालें अनि हातको नाम्लो फ्याँकेर मुसाको गतिमा भित्र दौडिएँ ।

राति किस्ता किस्तामा परेको पातलो निद्रामा दिनका तिनै घटनाहरू दोहोरिइरहे ।
भोलिपल्टको दिन सधैं झैं घाम लाग्यो । स्कूल लाग्यो । एसेम्ब्लीको घण्टी लाग्यो । मैले सधैं झैं अगाडि गएर सयौं थुँगा फूलका हामी … पनि गाएँ । सबै सामान्य रह्यो । शिवाय शिक्षकहरूको आँखामा मेरो हैसियत ।

त्यसपछिका दिनहरू मेरा लागि फेरि कहिल्यै सामान्य भएनन् । बिस्तारै मलाई पनि असामान्यमै बानी पर्दै गयो ।
त्यस दिनदेखि मैले कहिल्यै पनि कपालमा पात घुसारिनँ । राशिफल सुन्न त झ्न् चटक्कै छाडिदिएँ । तर कविता लेख्न भने छोड्न सकिनँ । आँखा सरर भए पनि मन हरर भए मेरो आँतमा कविता सगसगाइहाल्थ्यो । आफू दुखेरै भए पनि कविताले मेरो ओठमा हाँसो खोजिरह्यो ।

र एकदिन, अचम्मको संयोग पारेर मेरो जीवनमा कविता आफू पनि हाँस्यो । महाकवि देवकोटाको जन्म जयन्तीको अवसरमा मैले जिल्लास्तरीय कविता प्रतियोगिता जितेको दिन बुवाले कुनैदिन छोरीलाई देवकोटा बन्न खोजेकी छेस् भनेर गाली गरेको थिएँ भन्ने पनि बिर्सिसक्नुभएको थियो ।

मैले पनि सम्झउन चाहिनँ । कति कुराहरू बिर्सनमै जाती हुन्छ ।
१४ वर्षको काँचो उमेरमा झेंकले जन्माएको एउटा कविता कति भाग काव्य थियो, कति घर सफा गर्दा बुवाका किताबमा भेटिएका भैरव अर्यालको प्रभाव, कति शिक्षकहरूमा सुधारको अपेक्षा— म अहिले पनि खुट्याउन सक्दिनँ । एउटा कुरो भने जान्दछु, मेरो कविता कमसेकम त्यतिबेला मेरा सबै गुनासाहरूको मैले जानेको एक मात्र निकास थियो । र, सबैभन्दा ठूलो कुरा, त्यो अपराध थिएन ।

यदि ती गुनासा पोख्ने भरपर्दो ठाउँ हुँदो हो त मध्यमस्र्याङ्दीका कामदार हाँस्ने गरी म माइकमा मेरा शिक्षकहरूको दाँतमा अड्केको साग कोट्याउने थिइनँ होला ।

कतिपय गल्तीहरू मान्छेले गर्नासाथै महसूस गरिसकेको हुन्छ । त्यस्तोमा तैंले गल्ती गरिस् भनेर घरीघरी भनिरहनु पर्दैन । उसलाई पाठ पढाउन थप सजाय दिइरहनु पनि पर्दैन । र सजाय भनेको लौरो वा पाइप नै हुनुपर्छ भन्ने पनि हुँदैन । कहिलेकाहीं गल्तीको सजाय आँखा जुध्दा मुन्टो बटार्नु पनि हुन सक्छ । करैले मात्र बोलेजस्तो गर्नु पनि हुन सक्छ । कसैको अस्तित्व नस्वीकार्नु पनि हुन सक्छ ।

र, कहिलेकाहीं गल्तीको सजाय एउटा मायालु शब्द मात्र पनि हुन सक्छ । एउटा न्यानो अँगालो पनि हुन सक्छ । एउटा ‘जे गरिस् गरिस्, अबदेखि विचार गर्नू’ पनि हुन सक्छ । यी सजायका प्रकार आफ्ना केटाकेटीलाई माया गर्छु भन्ने हरेक अभिभावक र शिक्षकले जानिराखेको राम्रो । र, कुन ठाउँमा कस्तो सजाय चाहिन्छ भन्ने पनि ।
त्यस दिन मेरो टाउकोमाथि झुण्डिएको नाम्लो मेरो हजुरबुवाले बुन्नुभएको हुँदैनथ्यो भने शायद यो लेख कहिल्यै नलेखिन
पनि सक्थ्यो ।

अब फेरि शुरूको कुरालाई जोड्छु । हाम्रो ब्याचलाई स्कूलबाट बिदाइ गरेको केही समयपछि हेडसरले ती सबै पाइप जलाइदिनुभयो भन्ने खबर बुवाबाट पाएँ । संसारमा ती मात्र त्यस्ता पाइप होलान् जुन जल्दा वातावरण पनि हाँस्यो होला । त्यस दिन मेरो स्कूलको हरेक कक्षाका भित्ता, बेञ्चडेस्क, सेतापाटी, बकाइनाका रूख र बाटोमा बिछ्याइएका गिट्टीले पनि राहतको लामो सास फेरे होलान् ।
हेडसरले स्कूलबाट पिटाइ खारेज गरेको सुनेबाटै मेरा उहाँप्रतिका सम्पूर्ण गुनासाहरू यसै सेलाएर गए । उहाँप्रति आदरभाव पो पलाएर आयो ।

अँ, मेरो कविता काण्डको दीर्घकालीन परिणाम अनौठो रह्यो । माथि लेखिसकें, त्यसपछि म निकै ‘जब्बर’ भएर आएछु । त्यसपछि त्यसबारेमा हेडसरले मुखले त केही भन्नुभएन, तर स्कूलमा ल्याइएका हरेक नयाँ शिक्षकको पर्फमेन्स कस्तो छ भनेर उहाँ मसित सुटुक्क सोध्नुहुन्थ्यो । मैले इमानदार भएर उत्तर दिने हुँदा कतिको जागिर नै पनि गयो । मलाई नै पछि उनीहरूप्रति सहानुभूति पनि जाग्यो, त्यो बेग्लै कुरा हो ।

म आफूलाई भाग्यमानी विद्यार्थी ठान्छु । मनमा कुरा आउँथे, व्यक्त गर्ने प्रयास गर्थेंं । मनमा कुरा आएबापत वा ती कुरा अभिव्यक्त गरेबापत त्यही एक पटक मात्र हो सजाय पाएको, बाँकी सधैं प्रशंसित नै भएँ, कैयन् पटक पुरस्कृत पनि भएँ । तर त्यो एक पटक पनि अविस्मरणीय रह्यो । त्यस दिन त्यो कविता नलेखेको भए वा त्यसरी नपढेको भए के हुन्थ्यो मलाई थाहा छैन तर अहिले लाग्छ, धन्न लेखेछु, धन्न त्यहाँ त्यसरी पढेछु ।

अहिले म एकदमै फरक कामले हुम्ला आएकी छु । तर, लागिरहन्छ— यी स–साना बालबालिकाका मनमा कसरी ‘अहँ, यो भएन, यो त यस्तो हुनुहुन्नथ्यो, त्यो त्यस्तो हुनुपथ्र्यो’ र ‘म पनि केही त गर्न सक्छु’ भन्ने भाव जगाउने होला ? कसरी यिनीहरूलाई सिर्जनशीलताको आगो बाल्न, त्यसको राप सहन र त्यसको न्यानोमा गर्व गर्न सिकाउने होला ?

शिक्षक मासिकले २०६८ सालमा संचालन गरेको देशव्यापी कथा प्रतियोगितामा कार्कीको ‘लाइट बाल्ने केटो’ शीर्षकको कथा पुरस्कृत भएको थियो ।

२०७५ वैशाख अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/