उम्लिँदो पानीको भुल्कामा जीवनको प्रारम्भ

by • • 2072_02, विज्ञान–व्याख्याComments (0)535

Print Friendly, PDF & Email

माधव गाडगिल

(प्रा. माधव गाडगिल प्रसिद्ध पर्यावरणविद् हुन्)

Madhav Gadgil
पृथ्वीको उत्पत्ति आजभन्दा साढे चार अर्ब वर्ष पहिले भएको मानिन्छ । ५० वर्ष अघिसम्म वैज्ञानिकहरू विश्वस्त थिए— आज पृथ्वीको जस्तो रूप र ढाँचा छ, शुरूमा पनि त्यस्तै थियो । अर्थात् युरेशिया, अफ्रिका, अमेरिका, अस्ट्रेलिया र अन्टार्कटिका महाद्वीप तथा प्रशान्त, हिन्द र एटलान्टिक महासागर त्यसवेला पनि त्यहीँ थिए, जहाँ र जुन रूपमा आज छन् । तर, जर्मन मौसम विज्ञानी अल्फ्रेड वेगनरले प्रतिपादन गरेको महाद्वीपीय विस्थापन सिद्धान्तले भूगर्भशास्त्रीका परम्परागत मान्यताहरूमा भुइँचालो ल्याइदियो । गहन अनुसन्धानपछि उनले बताए— शुरूमा यो पृथ्वी एउटै अति विशाल महाद्वीपका रूपमा थियो र आजका महाद्वीपहरू पछि आएर अलग भएका हुन् । वेगनरले आफ्नो सिद्धान्त प्रतिपादन त आजभन्दा १०० वर्ष अघि सन् १९१५ मै गरेका थिए तर आधा शताब्दीसम्म उनका कुराले कसैका कानमा बतास पनि लागेन । सन् १९६० को दशकमा, तब मात्र भूगर्भविद्हरूले यसको महŒव शिर निहु¥याएर अंगीकार गरे जब तिले पृथ्वीको सतह कैयौँ ‘टेक्टोनिक प्लेट’ हरू मिलेर बनेको छ, ती प्लेटहरू आज पनि अत्यन्त बिस्तारै तर निरन्तर चलायमान छन् र यस क्रममा आपसमा टकराइरहेका छन् भन्ने प्रमाण फेला पारे । एउटा प्लेटमा अर्को प्लेट छिरेपछि तलको भाग भित्र जान्छ, माथिको भाग उठ्छ र भुइँचालो जान्छ । (अघिल्लो महीना, वैशाख १२ गते नेपालमा आएको भुइँचालो यसै गरी इण्डियन प्लेट युरेशियन प्लेटमुनि धसिँदाको परिणाम थियो ।)
सबै महासागरका मध्यरेखामा पहाडहरूको लाम छ र तिनको चुचुरामा लामा धाँजा फाटेका छन् । यी धाँजाका दुवैतिरको समुद्रतल लगातार चलायमान छ ती धाँजाबाट आगो निस्किरहन्छ । पुराणहरूमा समुद्रको उदरमा अग्निको निवास छ भन्ने विस्तृत वर्णन छ र त्यस अग्निलाई वडवानल नाम दिइएको छ । आज आएर वैज्ञानिक अनुसन्धानले पत्ता लगाएको छ, समुद्रभित्र साँच्चै त्यस्तो आगो छ । त्यहाँ गहिराइबाट माथितिर निरन्तर फलाम–गन्धकयुक्त उम्लिँदो तातो पानीका भुल्का आइरहन्छन् । त्यहीँ समग्र विश्वका आदिम जीवहरूको उत्पत्ति भएको थियो ।
प्रश्न उठ्छ, आदिम जीवहरूको उत्पत्ति हुने काम हुँदा भयो चाहिँ के ? आखिर, जीवन भनेकै हो चाहिँ के ? जीवन हो शर्करा, न्युक्लियोटाइड्स, अमिनो अम्ल, वसा (लिपिड्स) भिटामिन, फस्फेट जस्ता सय–डेढ सय अणुहरूको एउटा सहकारी संगठन÷जीवजगत्का विशेषता हुन्— सजीवहरूको व्यवस्थित संगठन अनि यस्ता सुगठित समुदायहरूको व्यवस्थित प्रजनन । त्यसैले जीवनको प्रारम्भको मतलब हो, यी समुदायका घटक अणुहरूका अनेकानेक प्रति बनाइने प्रक्रिया गतिमान हुनु ।
जीवधारीहरूको जीवनप्रक्रियामा दुई प्रकारका अणुको ज्यादै महŒव छ— सजीवको संरचनाको जानकारीले भरिएका तथा आनुवंशिकीका आधार डीएनए (डिअक्सिराइबो न्युक्लिक एसिड); अनि आरएनए (राइबो न्युक्लिक एसिड) र समग्र रासायनिक क्रियाहरूलाई गति र दिशा दिने एन्जाइम, जो प्रोटिन हुन् । डीएनए र आरएनए न्युक्लियोटाइड एकाइहरूबाट बनेका हुन्छन् भने प्रोटिन चाहिँ अमिनो अम्लका एकाइहरूबाट । डीएनए एउटा साँचो हो भने प्रोटिनहरू औजार । पृथ्वीमा विद्यमान जीवधारीहरू न साँचो विना औजार बनाउन सक्छन् न त औजार विना साँचोमा ढाल्न नै । जीवजगत्को नाटकमा एक–अर्काका लागि पूरक भूमिका खेल्ने यी चरित्र कसरी र कहाँबाट आए भन्ने कुरा केही दशक पहिलेसम्म रहस्य नै थियो ।

03 March 2015.pmd
यिनमा मूल घटक अर्थात् न्युक्लियोटाइड्स र अमिनो अम्ल सजिलै उपलब्ध हुन्छन्— केही अन्तरिक्षमा भौँतारिइरहेका उल्कापिण्डमा पाइएका छन् त केही पानी र हावाको मिश्रणमा विद्युत् र प्रकाशको ऊर्जा प्रेषित गरेर प्रयोगशालामा बनाइएका पनि छन् । यसका अतिरिक्त, यी मूल घटक समुद्रतलमा प्राकृतिक रूपमै पनि बनिरहेका हुन्छन् । परन्तु डीएनए र प्रोटिनहरू स्वतः निर्माण भएपछि ती कसरी एउटा ठाउँमा आए र कसरी तिनको व्यवस्थित योग भयो, यो रहस्यकै रूपमा थियो ।
भर्खरैजस्तो मात्र के बुझन सकिएको छ डीएनएको सानो भाइ आरएनए बहुप्रतिभाशाली अणु हो र यसले दुवै भूमिका (संरचनाको सूचना संकलन गर्ने र त्यो सूचनाका अनुसार काम गर्ने) एक्लै खेल्न सक्छ । यसको अर्थ हो, जीवनको नाटक प्रारम्भ हुन डीएनए र प्रोटिन दुवै चरित्र उपस्थित हुनुपर्छ भन्ने जरूरी छैन÷थिएन । तिनका स्थानमा आरएनए नामको यो प्रतिभाशाली चरित्रले आफू एक्लैको भरमा जीवनको एकल नाटक शुरू गरिदियो । पछि, बिस्तारै–बिस्तारै, क्रमिक रूपमा अन्य कलाकारहरूले मञ्चमा प्रवेश गर्दै गए ।
दुई लुर्काबाट बनेको चुल्ठो जस्तो आकारको डीएनए र एकलुर्के आरएनए दुवै न्युक्लिक अम्ल जीवजगत्का सूचनाका भकारी हुन् । जसरी भाषाका केही अक्षरको उपयोग गरेर विशालभन्दा विशाल ग्रन्थ र सानाभन्दा साना लेख लेख्न सकिन्छ त्यसै गरी न्युक्लिक अम्लहरूका केवल चार घटक न्युक्लियोटाइड अणुहरूको विभिन्न प्रकारले संयोजन गरेर भाइरसदेखि बरको रूखसम्म अनि पोखरीको झयाउदेखि ह्वेल माछासम्मको जीवजगत्लाई असीम विविधता प्रदान गर्ने सूचनाको भण्डार निर्मित भएको छ ।
सूचना–भण्डारका लागि निस्सन्देह डीएनएको जोडा छैन, तर डीएनएको अणुले भिन्न–भिन्न आकार लिन सक्तैन । त्यसैले यो कुण्डलित आकारको प्रोटिन जसरी रासायनिक अभिक्रियाहरूलाई गति दिने एन्जाइमहरूको काम गर्न असमर्थ छ । यसको विपरीत, कम मात्रामै किन नहोस्, आरएनएले सूचना वहन गर्न सक्छ र एकलुर्के भएको हुँदा यसका कुण्डली बन्न सक्छन् अनि भिन्न–भिन्न आकार ग्रहण गर्दै यसले प्रोटिनको काम गर्न सक्छ— अलिकति मात्र मलुवा कार्यक्षमताका साथ । यसप्रकार, आरएनए साँचो पनि हो र औजार पनि ।
डीएनए र आरएनएमाथि तीव्र पराबैजनी (अल्ट्रा भ्वाइलेट) किरण परे भने तिनको अपघटन हुन थाल्छ । आदिम कालमा जीवन प्रारम्भ हुँदा पृथ्वीको वातावरणमा न अक्सिजन थियो न त अक्सिजनका तीन परमाणुहरूबाट बनेको, परावैजनी किरणहरूलाई रोक्ने ओजोन नै । तर, समुद्रको पानीले पराबैजनी किरणलाई सोस्छ र निस्तेज बनाइदिन्छ । यसैकारण समुद्रको पानीको गहिराइमा जीवन फल्न–फुल्न सम्भव भयो । समुद्रको पीँधका धाँजाहरूबाट निस्कने फलाम र गन्धकयुक्त उम्लिँदो पानी जब त्यहाँको अत्यधिक चीसो पानीसँग मिसिन्छ, त्यसवेला लौह सल्फाइड खनिजका, सानाठूला गाग्राजस्ता आकृति बन्न जान्छन् । यिनै गाग्राहरूमध्ये कुनै एउटाको सतहमा रहेका रसायनहरूमा अवस्थित अणु संयोगवश परस्परमा जोडिए र तिनको व्यवस्थित संगठन हुन पुग्यो । यस प्रक्रियाका लागि आवश्यक ऊर्जा हाइड्रोजन सल्फाइटको अपघटनबाट प्राप्त भयो । आज पनि समुद्रको अँध्यारो पीँधमा कैयौँ जीवधारी यस ऊर्जाको उपयोग गरेर फल्दै–फुल्दै छन् । यसरी उम्लिँदो पानीका भुल्कामा जीवनको प्रारम्भ हुन पुग्यो । यसप्रकार धेरै अघि, आजभन्दा पौने चार अर्ब वर्ष पहिले समुद्रको गहिरो— अन्धमुष्टि पीँधमा, विना अक्सिजन, मिथेन–अमोनियायुक्त पानीमा कुहिगन्धे हाइड्रोजन सल्फाइडबाट प्राप्त ऊर्जाद्वारा, बहुप्रतिभाशाली आरएनएका मायावी गतिविधिबाट यस पृथ्वीमा, र शायद समग्र विश्वमै, आदिम जीवधारीहरूको उत्पत्ति भयो । त्यसपछि यिनकै चमत्कारबाट पृथ्वीको वातावरणमा अक्सिजनको मात्रा बढ्यो, ओजोन पनि बढी बन्न थाल्यो र त्यसले अन्तरिक्षबाट पृथ्वीमा आउने पराबैजनी किरणहरूलाई सोस्न थाल्यो । यसको फलस्वरूप जीवधारीहरू समुद्रको गहिराइबाट पृथ्वीतलमा आउन सम्भव भयो; जीवन जमीनमा बसाइँ स¥यो र फल्न–फुल्न थाल्यो । यसै क्रममा जैव विकासको सुदीर्घ यात्रा तय गर्दै हामी आजको अवस्थामा आइपुगेका छौँ ।
जैव विकासको कुरा उठाउनासाथ हाम्रो दिमागमा विशालकाय डाइनासोरहरूको चित्र उपस्थित हुन्छ । पृथ्वीमा विद्यमान जीवधारीहरू बिस्तारै–बिस्तारै बदलिइरहन्छन् । जैव विकासको प्रक्रियामा बढी जटिल शरीर रचना भएका जीवधारी बन्दै जान्छन्, जसको सबैभन्दा ठोस प्रमाण हो डाइनासोर जस्ता जीवधारीहरूको जीवाश्म (फोसिल) । यो सत्य बाइबलको त्यस मान्यता÷अवधारणाभन्दा विपरीत छ, जसअनुसार ईश्वरले सम्पूर्ण देहधारीहरूलाई शुरूमा त्यही रूपमा सृष्टि गरेका हुन्, जुन रूपमा उनीहरू आज देखिन्छन् ।

03 March 2015.pmd
जैव विकास सम्बन्धी अध्ययन–अनुसन्धानबाट के देखिएको छ भने, पृथ्वीको माथिल्लो सतहका चट्टानमा पाइने जीवाश्मभन्दा बढी गहिराइका चट्टानमा पाइने जीवाश्मको शरीर रचना बढी सरल हुने गरेको छ । यसबाट शुरूमा सरल शरीर संरचनाका जीवधारी र त्यसपछि क्रमशः जटिल शरीर संरचनाका जीवधारी पृथ्वीमा उत्पन्न हुँदै गएको देखिन्छ । तर यस्ता जीवाश्महरू समग्र जैव विकासका दृष्टिले पछिल्लो समय अर्थात् वितेका ६० करोड वर्षभित्रका छन् । प्रश्न उठ्छ, त्यसभन्दा अघिका अर्बौं वर्षमा विद्यमान सरल संरचनावाला जीवधारीहरू खोइ त ? के तिनको अवशेष वा जीवाश्म अब बिल्कुलै बाँकी छैन त ?
होइन । आजभन्दा पाँच दशक अघि यस्ता अवशेष फेला परेका छन् जो साइनोब्याक्टेरिया नामक सूक्ष्म जीवधारीका जीवाश्म हुन् । अत्यन्तै सरल शरीर संरचना भएका साइनोब्याक्टेरिया आकारमा त एक मिलिमिटरको सय खण्डको एक खण्ड मात्र हुन्छन् तर तिनका लामा–लामा शृंखलाहरू बालुवाका कण र अन्य जीवधारीहरूसँग टाँसिएर गुन्द्री जस्ता संरचना बन्न पुग्छन् । यस्ता गुन्द्रीहरूबाट समुद्रका किनारमा स्ट्रोमेटोलाइट नामक चट्टान बन्दछन् । साइनोब्याक्टेरियाबाट साढे तीन अर्ब वर्ष पहिले बनेका स्ट्रोमेटोलाइट फेला परिसकेका छन् । र, यस्ता स्ट्रोमेटोलाइट चट्टान अस्ट्रेलियाको उत्तर–पूर्वमा अवस्थित ग्रेट ब्यारियर रीफ नामक टापूमा आज पनि बनिरहेका छन् ।
साइनोब्याक्टेरियाले पृथ्वीमा पहिलोपटक क्लोरोफिल नाम हरियो पदार्थको सहयोगबाट प्रकाशको ऊर्जाको उपयोग गरेर शर्करा बनाउन शुरू गरेको थियो । यसै प्रक्रियामा अक्सिजन पनि बन्न प्रारम्भ भयो । यो प्रारम्भिक समयमा पृथ्वीको वातावरण र पानीमा अक्सिजनको मात्रा अति नै कम थियो । यस प्रक्रियाबाट जति–जति अक्सिजनको मात्रा बढ्दै गयो, साइनोब्याक्टेरियामा त्यस्ता इन्जाइमबाट भरिन थाले जो अक्सिजनबाट आफ्नो बचाउ गर्दै व्यवस्थित रूपले त्यसको उपयोग गर्थे । अक्सिजनको उपयोगको परिणाम के भयो भने शर्कराको प्रत्येक अणुबाट पहिलेभन्दा ज्यादै बढी ऊर्जा प्राप्त हुन थाल्यो । यस सफल प्रणालीको बलमा साइनोब्याक्टेरिया ती जीवधारीहरूभन्दा एकदमै उन्नत हुन पुग्यो जसले अक्सिजनको उपयोग गर्न सक्तैनथे ।
जीवधारीहरूको अध्ययन गर्नेहरूका सामु ठिंग उभिएको ठूलो प्रश्न हो— जीवन आपसी सहयोगले अघि बढ्ने यात्रा हो कि एक अर्काको घाँटी निमोठ्ने (‘कट थ्रोट’) प्रतिस्पर्धाले भरिएको संघर्ष ? नहच्किई भन्न सकिने कुरा के हो भने जीवनमा सहयोग पनि छ र संघर्ष पनि । आजसम्मका सारा सिद्धान्तले संघर्षकै भूमिकामा बल दिँदै आएका छन् । संघर्षमा अरूलाई जितेर, उछिनेर, पछारेर, विजयी भएर अघि बढ्नु नै जिन्दगीलाई बचाएर अघि बढाउने मेलो हो भन्ने तिनको एकसूत्रीय निष्कर्ष रहने गरेको छ । तर जीव विज्ञानको ज्ञान जति–जति गहिरो हुँदै छ उति–उति के स्पष्ट हुँदै गएको छ भने, व्यापक परिधिमा जीवन भन्ने कुरा सहयोगले भरिएको उपक्रम पनि हो । जैव विकासको बाटोमा अघि बढ्दा जीवन लगातार फैलिरहन्छ, नयाँ–नयाँ संसाधनको उपयोगमा प्रवृत्त भइरहन्छ, विविधताबाट भरिँदै गइरहन्छ । यसका साथसाथै जीवनका तानाबाना र आपसी सम्बन्ध बढीभन्दा बढी जटिल हुँदै जान्छन् । त्यसको सामना गर्न ज्यादाभन्दा ज्यादा जटिल सूचनाको उपयोग गर्नुपर्छ । सूचनाको अधिकाधिक उपयोग गर्ने यो क्षमता पैदा त संघर्षको चुनौतीबाटै हुन्छ तर सहयोगका आधारमा ।

03 March 2015.pmd
दुई अर्ब वर्षअघि पृथ्वीमा अक्सिजनको मात्रा निकै बढिसकेपछि भएका घटनाहरू संघर्ष र सहयोगको युगलबन्दीका चाखलाग्दा उदाहरण हुन् । साइनोब्याक्टेरियाभन्दा अघि आर्किया नामक एउटा अर्को समूहका सूक्ष्म जीवधारीहरू पृथ्वीमा देखा परिसकेका थिए । एकातिर साइनोब्याक्टेरियाहरू प्रकाशको ऊर्जाको दोहन गर्न थाले भने अर्कातिर यीभन्दा अलिक बढी सक्षम आर्कियाहरू अन्य जीवधारीको शिकार गर्न थाले । कतिपय आर्किया साइनोब्याक्टेरियालाई आफ्नो शिकार बनाउँथे । परन्तु, संयोगवश, आर्कियाले निलेका सबै साइनोब्याक्टेरिया पूरै पचेनन् र ती आर्कियाकै कोशिकाहरूको अंग बनेर उसको जीउमा रहन थाले । यी नवनिर्मित ‘जोडी’ मध्ये ठूलो आकारका कोशिकाहरूले आफूभित्र रहेको साइनोब्याक्टेरियाको मद्दतले प्रकाशको ऊर्जाको उपयोग गर्न थाले । यिनैबाट एककोशिकीय शैवालको उत्पत्ति भयो । शैवालका कोशिकाहरूमा जुन क्लोरोफिलधारी अंग (क्लोरोप्लास्ट) हुन्छन् ती मूल रूपमा साइनोब्याक्टेरिया नै हुन् । यसै क्रममा पछि गएर जैव विकासको धारामा बहुकोशिकीय वनस्पति पृथ्वीमा देखा परे । यसरी, सबै वनस्पतिहरूको हरियो रंग अर्थात् क्लोरोप्लास्टको मूल स्रोत साइनोब्याक्टेरिया नै हुन् । अर्थात् पृथ्वीलाई हरियो रंगको बर्को ओढाएको यिनैले हो ।
साँच्चै भन्ने हो भने, आधुनिक रूख–बिरुवाको तुलनामा साइनोब्याक्टेरिया निकै सफल छन् । तिनको संख्या धेरै बढी छ, ती प्रजनन–क्षमतामा प्रशस्त अगाडि छन् अनि गहिरो समुद्रदेखि लिएर सुक्खा चट्टानसम्म ढुक्कसँग फैलिएका छन् । अर्थात् जैव विकासको अर्थ सबै दृष्टिले पिछडिएका, हीन गुणवाला प्रजातिहरूबाट नै बढीभन्दा बढी उन्नत प्रजाति बन्दै जान्छन् भन्ने कदापि होइन । यस्ता कैयौँ प्राचीन सरल प्रजाति छन् जो निकै सक्षम र सफल छन् ।
तथापि, जैव विकासको धारा एकदम दिशाहीन नै छ भन्ने पनि होइन । कतिपय मापदण्डबाट हेर्ने हो भने आधुनिक प्रजातिहरू प्राचीन प्रजातिभन्दा निश्चित रूपले उन्नत छन् । यिनको संरचना, तिनका जीवन–क्रियाहरू बढी जटिल र मिश्रित छन्; ती जानकारीले युक्त छन् अनि तिनमा सूचनाको बढी भण्डार छ । उदाहरणार्थ, धानको एउटा बोट निर्माण गर्न एउटा साइनोब्याक्टेरियाको निर्माण गर्नभन्दा बढी सूचना चाहिन्छ ।
कुराको चुरो के भने, जैव विकास प्रगतिशील त छ तर यसको धारा सोझे भ¥याङ चढे जस्तो छैन । बरू जैव विकास रूख जस्तो छ जसको वृद्धि अलग–अलग उचाइमा हाँगा निस्कँदै गएका कारणले भइरहेको छ । यस रूखका जरा जीवनका ती प्रारम्भिक अवस्था हुन्, जसमध्ये कैयौँको अस्तित्व आज समाप्त भइसकेको छ । शाखा र उपशाखाहरू ती जैविक कुल (फेमिली) हुन् जो जैव विकासको धारामा विभिन्न समयमा देखा परेका छन् । तीमध्ये केही लुप्त भइसकेका छन् भने केही आज पनि जीवित छन् । पातहरू चाहिँ ती प्रजाति हुन् जो आज जीवित, क्रियाशील छन् । यस ज्ञान–वृक्षलाई साकार बनाउने कुल र प्रजातिहरू जति बढी सूचना–सम्पन्न हुन्छन् त्यति नै बढी उनीहरू जमीनबाट ज्यादा उचाइमा हुन्छन् ।
सूचनाको यो भण्डार नौ चरणमा अधिकाधिक बढ्दै गयो । प्रारम्भदेखि लिएर आजसम्मको पृथ्वीको ४५० करोड वर्षको आयुलाई २४ घण्टा बराबर मान्ने हो भने, अहिले भन्दा २० घण्टा अघि (३७५ करोड वर्ष पहिले) आरएनएका सूचना–प्रचुर अणुहरू आदिम कोशिकाका रूपमा व्यवस्थित भए र जीवनको वृक्ष प्रारम्भ भयो । भर्खरै भनिएझ्ैँ आरएनए अणुले सूचना भण्डार पनि गर्न सक्थ्यो र तदनुसार कार्यसम्पादन पनि गर्न सक्थ्यो । जैव विकासको दोस्रो चरणमा ती दुई भूमिका निर्वाह गर्न दुइटा बेग्लाबेग्लै अणु देखा परे ः सूचनावाहक डीएनए अणु र चलायमान कार्यकारी प्रोटिन अणु । तेस्रो चरणमा सूचनायुक्त अणु एक सूत्रमा व्यवस्थित भए र सूचनाको भण्डार बढी सुसंगठित भयो । चौथो चरण लैंगिक प्रजननको थियो जसमा दुई फरक–फरक स्रोतको सूचना एक ठाउँमा ल्याइन र सूचनाको सम्मिश्रण गरिन थाल्यो । पाँचौँ चरणमा आर्किया र साइनोब्याक्टेरिया जस्ता बिल्कुल बेग्लाबेग्लै प्रकारका जीवधारी परस्परमा मिले र ठूला कोशिका बने जसमा सूचनाको निकै ठूलो भण्डार थियो । छैटौँ चरणमा एककोशिकीय जीवधारीबाट बहुकोशिकीय जन्तु र वनस्पतिहरूको सृष्टि भयो । सातौँ चरणमा यस्ता जन्तु पैदा भए जोसँग तन्त्रिका–तन्त्र थियो र यसैकारण सूचनाको नयाँ धाराको उद्गम हुन पुग्यो ।
पृथ्वीको इतिहासमा, एक घण्टा अघि मात्र, आठौँ चरणमा यस्ता जीवधारीको विकास भयो जसका सदस्यहरूबीच श्रम विभाजन सम्भव थियो । जैव विकासको नवौँ चरण त अहिलेभन्दा जम्माजम्मी एक सेकेन्ड अघि मात्र शुरू भएको हो जब भाषाको उपयोग गर्न सक्ने मानवले पदार्पण ग¥यो । भाषा सय–डेढ सय ध्वनिहरूलाई व्यवस्थित ढंगले मिलाएर बनेको ज्ञानको भण्डारको अद्भुत र त्यसलाई निरन्तर वृद्धि गर्दै जाने माध्यम हो । यसैकारण, ज्ञानले भरिपूर्ण तथा भाषाको उपयोग गर्न सक्ने मानव, स्तनधारी जन्तुहरूको शाखामा सबैभन्दा माथि फर्फराउने पात हो ।

03 March 2015.pmd
मान्छे स्वयंमा अनौठो जन्तु हो । यसले मूसा जसरी घाँसका बीउ खान सक्छ, सुँगुर जसरी कन्दमूल उदरस्थ गर्न सक्छ, बकुल्लो जसरी गँगटा र माछा खपाखप भ्याइदिन सक्छ, सिंह जसरी हरिणको शिकार गर्न सक्छ र अरू त अरू त्यो विशालकाय ह्वेल माछालाई पनि सफाचट पार्न सक्छ, जसलाई संसारमा अरू कसैले मार्न सक्तैन । मानिस भूमध्यरेखामा अवस्थित जंगलदेखि ध्रुवीय प्रदेशका हिममय मरुभूमिसम्म फैलेको छ ।
ज्ञान प्राप्त गर्ने अथक पिपासा नै मानिसको यस सफलताको रहस्य हो । मानवद्वारा सिक्ने प्रक्रिया झ्ण्डै ६० हजार वर्षदेखि निरन्तर चल्दै आएको छ, जबदेखि उसले भाषाको उपयोग गर्न थाल्यो । हाम्रा वरिपरि जे हुन्छ त्यसका पछाडि केकस्ता नियम छन्, त्यसका कारण के हुन् भन्ने कुराको खोज हामी लगातार गरिरहेका हुन्छौँ । घटनाहरूको अवलोकन गर्नु र त्यसका आधारमा परिकल्पना निर्माण गर्नु मानिसको अनौठो सोख हो । प्राचीन मानवले त यो काम आफू सुरक्षित रहने हेतुले मात्र गरेको थियो, तर पृथ्वीमा स्थिर र सुरक्षित भइसकेपछि स्वार्थका निम्ति नभएर आफ्नै ज्ञानको अभिवृद्धि गर्ने हेतुले उसले भाँती–भाँतीका प्रश्न गर्दै तिनको उत्तर खोज्न थाल्यो । हामी को हौँ ? कहाँबाट आएका हौँ ? कहाँ जान्छौँ ? —मूलभूत प्रश्न यस्तै खाले छन् । पूर्वदेखि पश्चिमसम्मका सारा मानव समाजहरू प्राचीन कालदेखि यिनै प्रश्नको उत्तर खोजिरहेछन् । विभिन्न ज्ञानपरम्परामा यी प्रश्नका फरक–फरक उत्तर पाइन्छन् । विष्णुपुराणका अनुसार, जीवसृष्टि अत्यन्तै प्राचीन र सतत परिवर्तनशील छ । यसको यात्रा मन्द गतिमा, पहिले उद्भिज (भूमिलाई भेदन गरेर निस्कने वनस्पति), त्यसपछि स्वेदज (पसीनाबाट उत्पन्न हुने कृमि), त्यस उप्रान्त अण्डज (अन्डाबाट जन्मिने माछा, छेपारा, पक्षी आदि), त्यसभन्दा पनि पछि जरायुज अर्थात् गर्भधारक पशु, त्यसपछि मानिस र त्यसभन्दा पनि अगाडि यक्ष, अनि देवता— यस्तो चढ्दो÷विकसित हुँदो क्रममा सतत गतिमान छ । यसका विपरीत, बाइबल र कुरानका अनुसार चाहिँ समस्त जीवजगत्लाई ईश्वरले सृष्टिको प्रारम्भमै त्यस्तै बनाएका थिए जस्ता ती आज छन् । यी उत्तरहरूमध्ये कसलाई स्वीकार र कसलाई अस्वीकार गर्ने, अनि कुन आधारमा ?
यी प्रश्नहरूको उत्तर खोज्दाखोज्दै मानिसको ज्ञानको भण्डार बढ्दै गयो । यसबाट एउटा प्रभावशाली कार्यप्रणाली विकसित भयो जसलाई हामी विज्ञानको कार्यप्रणाली भन्छौँ । जीवजगतको उत्पत्ति र त्यसपछिको उसको यात्राबारेमा आज हामीसँग गहिरो ज्ञान छ । यस ज्ञानलाई पुष्ट गर्न उन्नाइसौँ शताब्दीका ख्यातनामा प्रकृति÷जीवविज्ञानी चाल्र्स डार्विन (१८०९–१८८२) ले सबैभन्दा बढी योगदान दिएका छन् ।
डार्विनलाई युवावस्थामा बीगल नामक अन्वेषण–डुङ्गामा प्रकृतिको अध्ययनकर्ताका रूपमा काम गर्ने सुनौलो मौका प्राप्त भयो । यस समुद्री यात्राको शुरूमा डार्विनका मनमा पनि त्यस समयको रूढ युरोपेली धारणा दरोसँग जमेको थियो । त्यो धारणाका अनुसार, आज संसारमा भएका र देखिएका सम्पूर्ण प्रजातिको निर्माण ईश्वरले सृष्टिको प्रारम्भमा एकसाथ, आजकै जस्तो रूपमा त्यही स्थानमा गरेका थिए जहाँ ती प्रजाति आज विद्यमान छन् । त्यसवेलादेखि आजसम्म ती त्यही स्थानमा रहँदै आएका छन् । यसैसँग सम्बद्ध धारणा के पनि थियो भने प्रत्येक प्रजातिको सृष्टि गर्दा ईश्वरले आफ्नो मनमा त्यसको एउटा आदर्श शरीरको परिकल्पना गरेका थिए । हरेक प्रजातिको शरीर त्यसै अनुरूपको हुनुपर्छ; त्यसभन्दा फरक केही देखिन्छ भने त्यो दोष अथवा कमजोरी हो । कुनै पनि प्रजातिका जीवहरू एक समान, एकै खाले हुनुपर्छ; कसैमा केही पृथकता वा विचित्रता देखिन्छ भने त्यो विकृति हो ।
तर, यात्राका क्रममा डार्विनले जब जीव जगतका असीमित विविधता देख्न र बुझन थाले, भिन्न–भिन्न महाद्वीप र टापूहरूमा त्यस विविधताको विस्तृत स्वरूपको दर्शन गर्न थाले, उनका मनमा अनेकौँ प्रश्न उठ्न थाले ः ईश्वरले सबै प्रजातिलाई आज ती जहाँ छन् त्यहीँ बेग्लाबेग्लै सृष्टि गरेका हुन् भने दक्षिण अमेरिकी महाद्वीपमा पाइने प्रजाति र त्यस वरपरका टापूहरूमा पाइने प्रजातिका बीच यति धेरै समानता कसरी ? अनि अफ्रिका महाद्वीप नजिकै रहेका विभन्न टापूहरूमा पाइने प्रजातिका बीच चाहिँ यति धेरै भिन्नता कसरी ? खानेपानीको भण्डार भएका समुद्री टापूहरूमा पाइने छेपाराका प्रजाति समुद्रको पानीमा आरामसँग पौडिन सक्छन् भने त्यही पानीमा बसोबास गर्ने पातलो छाला भएका भ्यागुता चाहिँ समुद्रको पानीमा पौडिन नसक्ने किन ? आदि ।
घुम्दै–फिर्दै–हेर्दै–बुझदै–अध्ययन गर्दै–गम्दै जाँदा डार्विनलाई लाग्न थाल्यो ः सत्य त्यो होइन, जो परम्परागत रूपमा उनलाई बताइएको थियो; सत्य त के हो भने पहिले ठूला महाद्वीपमा प्रजातिहरूको विकास भयो, त्यसपछि तिनीहरू संयोगवश वा दुर्घटनावश टाढाका टापूहरूमा पुगे र त्यहाँको परिस्थिति अनुरूप समायोजित भए । भ्यागुताहरू समुद्रको नुनिलो पानीमा जीवित रहन सक्तैनन् त्यसैले टाढाका टापूहरूमा गएनन्÷पुगेनन तर समुद्रको पानीमा जीवित रहन र पौडिन सक्ने छेपाराहरू त्यहाँ पुगे । यी सारा परिवर्तनहरूको मूल आधार चाहिँ प्रजातिहरूमा पाइने विविधताको भण्डार नै हो । यस प्राकृतिक विविधताबाटै कालान्तरमा नयाँ–नयाँ रूप–नक्सावाला, नवीन शरीरवाला र प्रकृतिमा नयाँ÷बेग्लै भूमिका खेल्न सक्ने खालका प्रजाति विकसित हुँदै गए ।
डार्विनले प्राकृतिक चयन (नेचुरल सेलेक्शन) को अवधारणालाई थप विस्तार दिँदै भने— सबै जीवधारीका क्रियाकलापको मूलमा दुई प्रेरणाले काम गर्छन् ः आत्मरक्षा र प्रजनन । सबै जीवधारीहरू आफूलाई सुरक्षित राख्तै आफ्ना सन्तानहरू संसारमा सफलतापूर्वक बाँच्तै जान सकुन् भन्ने प्रयास निरन्तर गरिरहेका हुन्छन् ।
उदाहरणका रूपमा ब्याक्टेरियालाई नै हेरौँ, जसको शरीर रचना एकदमै सरल हुन्छ । यसको प्रजनन हुन्छ— एक सरल रेखाको माध्यमबाट एउटा ब्याक्टेरियाका दुइटा ठ्याक्कै मिल्ने ‘फोटोकपी’ बनेर; त्यसपछि दुईबाट चार, चारबाट आठ गर्दै केही दिनमै लाखौँ सन्तान उत्पन्न भएर । तथापि, एउटै ब्याक्टेरियाबाट फोटोकपीकै तालमा बनेका ती सन्तान साराका सारा ठ्याक्कै उस्तै, बिल्कुलै समान गुणधर्मका चाहिँ हुँदैनन् । जीवधारीहरूको आनुवंशिकताका आधार अर्थात् जीनका प्रतिहरू बन्ने क्रममा कहिलेकाहीँ लाख–दश लाखमा एकाध गल्ती भइहाल्छ । यसप्रकार संयोगवश भएका गल्तीलाई उत्परिवर्तन भन्छन् र यसका कारण त्यसपछिको पुस्तामा केही अलग गुणधर्म प्रकट हुन सक्छन् । यस्ता नयाँ गुणधर्म प्रायः दोषका रूपमा देखा पर्छन् तथापि आक्कलझ्क्कल झ्न् उत्कृष्ट र उत्कृष्टतर अवस्था पनि प्रकट हुन सक्छ । यस्ता उत्कृष्टतर उत्परिवर्तनका कारण त्यो जीवधारी बढी सक्षम बन्न पुग्यो र उसका सन्तानको संख्या बढ्न सक्यो भने समुदायमा यस्ता उत्कृष्टतर उत्परिवर्तनवाला जीवधारीहरूको संख्या बढ्न थाल्छ र बिस्तारै–बिस्तारै, शायद सयौँ पुस्तापछि, सम्पूर्ण समुदायमा ती उत्कृष्टतर परिवर्तित जीनहरू हावी हुन पुग्छन् ।
दोस्रो विश्वयुद्ध पश्चात् चिकित्सा जगत्मा त्यसवेला ठूलो क्रान्ति भएको थियो जब मानिसले एन्टिबायोटिकको उपयोग शुरू गरे । यस मार्फत क्षयरोग जस्ता कैयौँ खतरनाक रोगव्याधिमाथि नियन्त्रण गर्न सकियो । पेन्सिलियम र योजस्ता अन्य केही ढुसीहरूले ब्याक्टेरिया नष्ट गर्ने पदार्थ उत्पादन गर्छन् । तिनको प्रयोग गरेर हामी पनि रोग पैदा गर्ने ब्याक्टेरियाको उछित्तो काढ्न सक्छौँ । तर ब्याक्टेरियामा यस्ता उत्परिवर्तन भइदिन्छन् जसले तिनलाई एन्टिबायोटिक ओखतीहरूबाट जोगाउन काँध थाप्छन् । जुन ब्याक्टेरियामा एन्टिबायोटिक ओखतीहरूको सामना गर्न सक्ने जीन हुँदैन ती त ओखतीबाट मारिन्छन् तर जुन ब्याक्टेरियासँग प्रतिरोधी जीनको सेना तम्तयार हुन्छ तिनलाई त्यस्ता ओखतीले रौँ पनि हल्लाउन सक्तैनन् र ब्याक्टेरिया–समुदायमा तिनको संख्या तीव्र गतिले बढ्न थाल्छ । यसको परिणाम के हुन्छ भने, शुरूमा जुन रोग सजिलै नियन्त्रण गर्न सकिन्थ्यो तिनको उपचार गर्न महाभारत पर्छ ।
यही हो, डार्विनको प्राकृतिक चयनको प्रक्रियाको एउटा नमूना । यस प्रक्रिया अन्तर्गत एन्टिबायोटिक ओखतीहरूले असर पार्न नसक्ने, परिवर्तित परिस्थिति अनुरूप बाँच्न र प्रजनन गर्न बढी सक्षम जीवधारी केवल संयोगवश तर लगातार पैदा भइरहन्छन् ।
डार्विनले आफ्नो सिद्धान्त सन् १८५० मा द ओरिजिन अफ स्पिशीज नामक पुस्तक मार्फत प्रकाशित गरे । यसले वैज्ञानिक जगत्मा ठूलो तहल्का मच्चायो र यसको विरोध पनि उत्तिकै भयो । तर त्यसपछिका डेढ सय वर्षमा जैव विकास सम्बन्धी नयाँ–नयाँ प्रमाण हाम्रा सामु आउँदै गए र डार्विनको सिद्धान्त वैज्ञानिक जगत्मा मान्यताप्राप्त सिद्धान्तका रूपमा स्थापित भयो । हामी को हौँ, कहाँबाट आएका हौँ, कहाँ गइरहेका छौँ आदि प्रश्नका आजसम्म जेजस्ता उत्तर प्राप्त भएका छन् ती निकै समृद्ध र ठोस छन् । तैपनि विज्ञानमा अन्तिम सत्य भन्ने कुनै कुरा हुँदैन । जीवन सम्बन्धी मानव मनका मूलभूत प्रश्नहरूका उत्तर पनि, समयका क्रममा, नयाँ रूप र आयामका साथ हाम्रा सामु उपस्थित हुँदै जाने नै छन् ।

(साभार : स्रोत विज्ञान एवं टेक्नोलोजी फिचर्स, मार्च २०१५)
भाषान्तर : शरच्चन्द्र वस्ती

Related Posts

/*sign up form*/