उदार कक्षोन्नतिको दुरुपयोग: सिकाउँदै नसिकाई कक्षा चढाइन्छ

by • • Uncategorized, रिपोर्टComments (0)2603

Print Friendly, PDF & Email

एउटा विद्यार्थीले कुनै कक्षा पूरा गर्दा के–के सिकेको–जानेको हुनुपर्छ ? अर्थात्, उसको सिकाइ उपलब्धि कति हुनुपर्छ भन्ने कुरा सम्बन्धित कक्षाको पाठ्यक्रममा स्पष्ट रूपमा लेखिएको हुन्छ । प्राथमिक शिक्षा पाठ्यक्रम–२०६५ र आधारभूत शिक्षा पाठ्यक्रम–२०६९ मा आवधिक लिखित परीक्षा र निरन्तर विद्यार्थी मूल्याङ्कन (क्यास) का आधारमा विद्यार्थीको सिकाइ उपलब्धि लेखाजोखा गरेर त्यही मूल्याङ्कनका आधारमा विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने व्यवस्था गरिएको छ ।
‘क्यास’ अर्थात् निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको मुख्य उद्देश्य हरेक विद्यार्थीको सिकाइ कमजोरी पत्ता लगाई त्यस्तो कमजोरी सुधार्न विद्यार्थीलाई तत्काल र तत्स्थानमै सिकाइ–सुधारको विशेष व्यवस्था गर्नु हो । विद्यार्थी कुनै पनि कमजोरी लिएर माथिल्लो कक्षामा जानु नपरोस् भन्ने यसको अभीष्ट हो । यस अनुसार पाठ्यक्रमले तोकेकोे भन्दा कम सिकाइस्तर भएका वा सिकाइ उपलब्धि हासिल गरेका विद्यार्थीका लागि सुधारात्मक शिक्षणको व्यवस्था गर्नुपर्छ । तर, दुर्भाग्य; उदार कक्षोन्नतिको नाउँमा कमजोर विद्यार्थीलाई थप सिकाउँदै नसिकाई सबल विद्यार्थी सरह स्वतः माथिल्लो कक्षामा पठाइदिने चिन्ताजनक अभ्यास देशका धेरैजसो सामुदायिक विद्यालयहरूले गरिरहेको पाइएको छ ।

– रोश्ना सुब्बा

नेपालीमा आफ्नो नामसमेत शुद्ध लेख्न नसक्ने कक्षा ५का एक विद्यार्थीको उत्तरपुस्तिका । कक्षा ४ को वार्षिक परीक्षामा नेपाली विषयमा १०० पूर्णाङ्कमा उनको प्राप्ताङ्क ३ छ ।

निरन्तर विद्यार्थी मूल्याङ्कन (क्यास)को अभ्यास र उदार कक्षोन्नतिको अवस्थालाई नजिकबाट नियाल्न शिक्षक को टोलीले काठमाडौं, नुवाकोट र रसुवाका विभिन्न सामुदायिक विद्यालय भ्रमण गरी जानकारीको निम्ति सहयोगको प्रस्ताव राखेको थियो । त्यसरी अनुरोध गरिएका मध्ये कैयौं स्कूलले हामीसँग आफ्ना विद्यार्थीका सिकाइ अवस्था र पठन–पाठनको स्थितिबारे कुरा गर्न चाहेनन् । तर काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित भीम माध्यमिक विद्यालय, ललितपुरको सानेपास्थित टीका विद्याश्रम मावि र कुपन्डोलको प्रगति शिक्षा सदन मावि, रसुवाको धुन्चेस्थित रसुवा माध्यमिक विद्यालय तथा ठूलोभार्खुको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू आफ्ना विद्यालयको शैक्षिक अवस्था र शिक्षण–सिकाइका कठिनाइबारे हामीसँग कुरा गर्न तयार हुनुभयो । हामीले ती विद्यालयका पछिल्ला परीक्षाका केही उत्तरपुस्तिका समेत हेर्न र विश्लेषण गर्न पायौं । यसनिम्ति ती विद्यालयका प्रअ तथा शिक्षकहरूलाई हामी धन्यवाद दिन्छौं
उपर्युक्त पाँच वटा सामुदायिक विद्यालयको कक्षा ४, ५, ६ र ७ को २०७३ चैतमा सम्पन्न वार्षिक परीक्षाका उत्तरपुस्तिका हेर्दा कमजोर विद्यार्थीको सिकाइस्तर अत्यन्त कमजोर र चिन्ताजनक पाइएको छ । विद्यालय र विद्यार्थीको निजी गोपनीयताको सम्मान गर्दै दृष्टान्तका रूपमा छापिएका उत्तरपुस्तिकाहरू कुन विद्यालय र कुन विद्यार्थीका हुन् भन्ने खुलाइएको छैन ।

भाग गर्न नजान्ने पनि कक्षा ८ मा पुगेका एक विद्यार्थीको उत्तरपुस्तिका । कक्षा ७ को अन्तिम परीक्षामा उनले गणितमा १०० पूर्णाङ्कमा ४ प्राप्त गरेका छन् ।

उद्देश्य र यथार्थ बीचको अन्तर
आधारभूत शिक्षा पाठ्यक्रम (कक्षा ६–८) २०६९ अनुसार, कक्षा–६ र कक्षा–७ को अध्ययन पूरा गरेका विद्यार्थीहरू भाषिक सीप अन्तर्गत पर्ने लेखाइमा निम्न कुराहरू गर्न सक्षम हुनुपर्छ । अर्थात् कक्षा–७ उत्तीर्ण एउटा विद्यार्थी तलका सीपमा निपुण हुनुपर्छ:
१. हिज्जे र वाक्यगठन मिलाई शुद्धसँग लेख्न
२. व्याकरणसम्मत वाक्य रचना गर्न
३. सुनेका र पढेका विषयवस्तुको सार लेख्न, लिखित वर्णन गर्न
४. अनुच्छेद, चिठी, निबन्ध आदि सिलसिला मिलाई लेख्न
यस्तै अंग्रेजी भाषाको लेखाइमा कक्षा–६ र कक्षा–७ को अन्त्यमा विद्यार्थीहरू सक्षम हुनुपर्ने विभिन्न सीपमध्ये केही यस्ता छन्–
१. छोटो संवाद लेख्न
२. कुनै व्यक्ति, वस्तु वा घटनाका बारेमा व्याख्या गर्न
३. निमन्त्रणा पत्र, धन्यवाद ज्ञापन पत्र आदि लेख्न
सामुदायिक विद्यालयहरूमा नेपाली र अंग्रेजी अनिवार्य विषय मात्र नभई अरू विषय पढाइने माध्यम भाषा पनि हुन् । यसको अर्थ विद्यार्थीहरू हरेक घण्टीमा यी दुईमध्ये कुनै एउटा भाषामै बोलिरहेका, पढिरहेका वा लेखिरहेका हुन्छन् । यति धेरै अभ्यास हुने (विशेषतः नेपाली) भाषाका शब्द र वाक्य कक्षा–७ या कक्षा–६ उत्तीर्ण गरेको विद्यार्थीले स्वाभाविक रूपमै शुद्धसँग लेख्न सक्नुपर्ने हो । तर बिडम्वना, हामीले भेट्टाएका अधिकांश विद्यार्थीका उत्तरपुस्तिका अत्यन्त निराशा पैदा गर्ने खालका छन् ।

कक्षा ८ मा अध्ययनरत एक विद्यार्थीको कक्षा ७ को अन्तिम परीक्षाको उत्तरपुस्तिका । अनुच्छेद पढेर उत्तर लेख्नु भन्ने प्रश्न नै बुझन नसकेका यी विद्यार्थीलाई अंग्रेजीमा ७५ पूर्णाङ्कमा ४ दिइएको छ ।

कक्षा–७ को अन्तिम परीक्षामा सामाजिक अध्ययनमा सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कमा १७, अंग्रेजीमा सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कमा ४ र गणितमा १०० मा ४ अङ्क मात्र ल्याएका यी तीनै जना विद्यार्थी अहिले कक्षा–८ मा पढ्छन् ।
कक्षा–६ को अन्तिम परीक्षामा गणितमा १०० मा १४ भन्दा कम अङ्क प्राप्त गर्ने मध्येका एक विद्यार्थीले ६ अङ्क पाएका छन् । तीनैजना विद्यार्थी अंग्रेजी विषयमा पनि कमजोर छन् । अंग्रेजी विषयमा २८ भन्दा कम अङ्क ल्याउने यी तीन विद्यार्थीले जोडा मिलाएर हल गर्नेे प्रश्नको उत्तर पनि मिलाउन सकेका छैनन् ।
कक्षा–६ बाट ७ चढाइएका एक विद्यार्थी अंग्रेजीमा आफ्नो नाम लेख्न जान्दैनन् । उनी आफ्नो विद्यालय, आमा र बुबाको नाम पनि लेख्न सक्दैनन् । उनले कक्षा ६ को वार्षिक परीक्षामा अंग्रेजी विषयमा सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कमा ६ अङ्क पाएका छन् । उनी मात्र होइन अर्की विद्यार्थी पनि आफ्नो विद्यालयको नाम लेख्न सक्दिनन् । उनको ७५ मा ११ अङ्क आएको छ । विज्ञानमा ५ अङ्क प्राप्त गरेकी छन् । अर्की छात्राले अन्तिम परीक्षाको उत्तरपुस्तिकामा इङ्गलिसको स्पेलिङ लेख्न सकेकी छैनन् । उनको प्राप्ताङ्क ४ छ । सामाजिक शिक्षामा सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कमा ९ भन्दा कम अङ्क ल्याउने तीन जना विद्यार्थीले वार्षिक परीक्षामा हाम्रो देश नेपालमा खाद्यान्न उत्पादनको मुख्य प्रदेश कुन हो भन्ने अति छोटो उत्तर लेख्नुपर्ने प्रश्नको उत्तर पनि लेख्न सकेका छैनन् । यी सबै अहिले कक्षा–७ का विद्यार्थी हुन् । त्यहाँ पढाएको यिनले के कति बुझ्रिहेका होलान् आफैं अनुमान गर्न सकिन्छ ।
२०७४ वैशाखदेखि कक्षा–५ मा चढाइएका एक विद्यार्थीले कक्षा–४ को अन्तिम परीक्षामा नेपालीमा १०० पूर्णाङ्कमा ३ अङ्क ल्याएका छन् । उनी नेपालीमा आफ्नो नाम शुद्धसँग लेख्न सक्दैनन् । उनको कक्षामा राम्रो अङ्क ल्याउने विद्यार्थीको लेखाइ पनि खासै आशलाग्दो छैन ।

कक्षा ६ का एक विद्यार्थीको उत्तरपुस्तिकाः उनी के लेख्न चाहन्थे, के लेखे बुझनै कठिन पर्छ ।

लिखित परीक्षामा कम अङ्क ल्याउने अर्थात् कमजोर सिकाइ भएका विद्यार्थीले मिल्ने शब्द छानेर खाली ठाउँमा लेख्ने, ठीक या बेठीकमा चिह्न लगाउने, जोडा मिलाउने, अनुच्छेद पढेर उत्तर लेख्ने र अति छोटो उत्तर आउने प्रश्न मात्र हल गर्न सकेका छन् । धेरैले एक वाक्य पनि शुद्धसँग लेख्न सकेका छैनन् । कति विद्यार्थीले त प्रश्न सार्न मात्र सकेका छन् । सिकेका कुरा वर्णन गर्ने क्षमता मूल्याङ्कन गर्न सोधिने छोटो तथा लामो उत्तर आउने प्रश्न प्रायः सबैले छाडेका छन् । कक्षा–४ को वार्षिक परीक्षा दिंदासम्म पनि विद्यार्थीले जोड, घटाउको अवधारणा बुझन नसकेको देखिन्छ । यस्तै, कक्षा–७ को शैक्षिक सत्रको अन्त्यसम्ममा पनि भाग गर्न नजान्ने विद्यार्थी धेरै भेटिए । अध्ययन गरिएको मध्ये रसुवाका विद्यालयका कमजोर विद्यार्थीको सिकाइस्तर धेरै नै बर्बाद छ ।
“विद्यार्थीको सिकाइमा कहाँ समस्या छ, त्यो सम्बोधन गरेर विशेष सहयोग नगरेको प्रष्ट छ” कमजोर सिकाइस्तर भएका विद्यार्थीको उत्तरपुस्तिका हेर्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा भन्छन्, “यति कक्षाका विद्यार्थीले यति मात्र सिकेका रहेछन् भनेर प्रअ तथा शिक्षकले गर्नुपर्ने वास्ता नगरेको देखियो ।” माथेमाका अनुसार विद्यार्थीको कमजोरी नसुधारिकन माथिल्लो कक्षा चढाइँदा यी विद्यार्थीमा छिट्टै नैराश्यता उत्पन्न हुने र माथिका शिक्षकलाई पनि गाह्रो हुने हुन्छ । अन्ततः विद्यार्थी नै पढाइबाट पलायन हुन्छन् ।

कमजोर विद्यार्थीलाई कक्षा चढाउँदाको अप्ठ्यारो स्वयं शिक्षकहरूले पनि महसूस गर्ने गरेका छन् । टीका विद्याश्रम माध्यमिक विद्यालय, ललितपुरकी शिक्षक भवानी हमाल भन्छिन्, “कक्षा–८ मा चढाइएका केही विद्यार्थी यति कमजोर छन् कि उनीहरू कक्षामा मूकदर्शक भएर बस्ने मात्र हो । कहिलेकाहीं त ‘यस्तो नजान्ने पनि कसरी पास भयो’ भनेर अरू विद्यार्थीले नै प्रश्न गर्छन् ।”
किन यति कमजोर छ त यी विद्यार्थीको सिकाइ ? हामीले यो प्रश्न भीम माध्यमिक विद्यालय, काठमाडौंका प्रअ इन्द्रप्रसाद काप्री, टीका विद्याश्रम माध्यमिक विद्यालय, ललितपुरका प्रअ राजन राइगाइ तथा शिक्षक भवानी हमाल, कुपन्डोलस्थित प्रगति शिक्षा सदन माध्यमिक विद्यालयका प्रअ सूर्य घिमिरे र रसुवा माध्यमिक विद्यालय, रसुवाका प्रअ तेम्पा घले र शिक्षक सुजाता घले तथा रसुवाकै ठूलोभार्खुस्थित भीमसेन आधारभूत विद्यालयका शिक्षक उर्मिला लामासँग अलग–अलग भेटमा सोधेका थियौं । यस सम्बन्धमा प्रायः सबै प्रअ तथा शिक्षकहरूको बुझइ, अनुभव र जवाफ उस्तै उस्तै रहेको पाइयो ।
– अभिभावक पढेलेखेका छैनन् । पढाइलेखाइमा विद्यालयको मात्र भर भयो ।
– घरायसी कामका कारण बच्चाहरू विद्यालयमा नियमित उपस्थित हुँदैनन् ।
– अन्य विद्यालयमा तल्लो कक्षा पढेर आउने हुँदा तलैदेखि कमजोर हुन्छन् ।
– नपढे पनि पास भइन्छ, कक्षा चढिन्छ भन्ने मनोविज्ञान विद्यार्थीमा पाइन थालेको छ ।
– मातृभाषा नेपाली नभएका कारण नेपाली र अंग्रेजी भाषामा समस्या भएको हो ।
पक्कै पनि यी पक्षहरूले सिकाइमा प्रभाव पारिरहेका हुन्छन् । तर उत्तरपुस्तिका हेर्दा मातृभाषा नेपाली नै हुने र शुरूदेखि एउटै विद्यालयमै पढेका कक्षा–७ का विद्यार्थी समेत नेपाली र अंग्रेजी भाषामा एक वाक्य पनि शुद्ध लेख्न नसक्ने छन् । पढाइमा सहयोग गर्ने सदस्य घरमा हुने विद्यार्थीको सिकाइस्तर पनि एउटा विषयमा मात्र होइन, धेरै विषयमा कमजोर पाइयो । तर, यसको विपरीत, आर्थिक अवस्था अत्यन्तै कमजोर भई अरूको घरमा काम गरेर पढ्दै आएकी एक छात्रा कक्षा–७ मा पहिलो भई कक्षा–८ मा अध्ययनरत पाइयो । मातृभाषा नेपाली नभएका कतिपय विद्यार्थीको सिकाइस्तर मातृभाषा नेपाली भएकाको भन्दा राम्रो पनि पाइएको छ ।

कक्षा ४ कै एक विद्यार्थीको नेपाली उत्तरपुस्तिका । यी विद्यार्थीको लेखाइ सीप साह्रै कमजोर देखिन्छ । तर, शिक्षकले उनलाई अत्यन्त उदारतापूर्वक १०० पूर्णाङ्कमा ५८ अंक दिएका छन् ।

केही विद्यार्थीसँग कुरा गर्दा, उनीहरूलाई कुन विषयमा आफ्नो सिकाइ कस्तो छ भन्ने थाहा छैन तर आफू वार्षिक परीक्षामा पास भएको चाहिं थाहा छ । शिक्षक अगाडि नभएका अवस्थामा कतिपयले आआफ्नो विद्यालयका मन पर्ने र मन नपर्ने शिक्षकका बारेमा खुलेरै सुनाए । “नबुझेको कुरा सोध्दा कति सोधेको भनेर फलानो शिक्षक रिसाउनुहुन्छ” एक छात्राले भनिन्, “मनमा कस्तो कस्तो लाग्छ नि त्यसरी रिसाउँदा ।” अर्का विद्यार्थीको भनाइ थियो, “हाम्रो विद्यालयमा त शिक्षकहरू एकदम राम्रो हुनुहुन्छ ।” विषयवस्तु राम्ररी बुझएर पढाउने र नबुझ्ेको सोध्दा नरिसाउने वा सोध्न डर नलाग्ने शिक्षक नै राम्रो सिकाइ उपलब्धि भएका विद्यार्थी हुन् वा कमजोर, दुवै थरीका विद्यार्थीलाई धेरै मन पर्ने रहेछ ।
कम सिकेका विद्यार्थीका लागि सुधारात्मक शिक्षणको माध्यमबाट वा व्यक्तिगत रूपमा विशेष ध्यान दिई सिक्न प्रोत्साहन गर्ने उद्देश्यले कक्षा १ देखि ७ सम्म निरन्तर विद्यार्थी मूल्याङ्कन प्रक्रिया क्यासको व्यवस्था भएको छ । क्यास अन्तर्गत विद्यार्थीको व्यक्तिगत प्रगति विवरण फाइल बनाई पाठगत आधारमा विद्यार्थीले कक्षामा सिकेका कुराको प्रगति अभिलेख राख्नुपर्नेछ । कक्षा कार्य, परियोजना कार्य, सिर्जनात्मक कार्य, गृहकार्य, व्यावहारिक परिवर्तनको अवलोकन आदिका माध्यमले अद्यावधिक गर्नुपर्छ ।
तर क्यास लागू नगर्ने विद्यालयका प्रअ तथा शिक्षकहरूको भनाइ करीब करीब उही छ— ‘सबै विद्यार्थीको अभिलेख राख्ने कि कमजोर सिकाइस्तर भएका विद्यार्थीलाई उकास्नतिर लाग्ने कि कोर्स सक्ने ?’ प्रायः शिक्षकले ‘क्यास’ लाई बोझ् मानेको पाइन्छ । ‘तलका शिक्षकले जाँगर चलाएनन्’ कतै प्रअको यस्तो गुनासो छ । ‘प्रअ तथा विद्यालय प्रशासनले वास्ता नगरेपछि, फाइललगायतका स्रोत उपलब्ध नगराइदिएपछि कसरी गर्ने त ?’ कतै शिक्षकहरूको यस्तो प्रश्न छ । क्यासका बारेमा कुनै जिज्ञासा वा समस्या समाधानका लागि स्रोतव्यक्ति वा पाठ्यक्रम विकास केन्द्रमा सम्पर्क गरी सोधखोज गरेको अनुभव पनि उनीहरूको छैन । अनौठो त, ‘निरन्तर विद्यार्थी मूल्याङ्कन’ (क्यास) भनेको फेल नगराउने नीति हो भन्ने गलत बुझइ स्रोतकेन्द्र भएका विद्यालयका प्रअ तथा शिक्षकमा समेत पाइन्छ । कमजोर विद्यार्थीले सिक्न नसक्नुको मुख्य कारण पत्ता लगाई केही गर्न सकिन्छ कि भनेर प्रअ तथा शिक्षकले विशेष प्रयत्न गर्नुभन्दा पनि ‘सरकारको नीति नै विद्यार्थी फेल नगराउने भएपछि यस्तै हो’ भनेर प्रायःले परीक्षालाई समेत हलुका रूपमा लिएको भेटिन्छ । केही शिक्षकले त पास गराउनै पर्ने भएपछि अन्तिम परीक्षामा उदार भएर अङ्क दिने गरिएको समेत बताए ।

अंग्रेजीमा आफ्नो, आमाबुबा र स्कूलको नाम समेत लेख्न नसिकी कक्षा ७ मा पुगेका एक विद्यार्थीको उत्तरपुस्तिका । कक्षा ६ को वार्षिक परीक्षामा उनलाई शिक्षकले अंग्रेजीमा ७५ मा ६ अंक दिएका छन् ।

यहाँ चर्चा गरिएका पाँच विद्यालयमध्ये ललितपुरको प्रगति शिक्षा सदन माध्यमिक विद्यालयले मात्र क्यास लागू गरेको छ । यो विद्यालय आफ्नो स्रोतकेन्द्र अन्तर्गतको सामुदायिक विद्यालयहरूमा राम्रो मध्येमा पर्छ । क्यास लागू नगर्ने चारमध्ये दुई वटा विद्यालय त स्रोतकेन्द्र नै भएका विद्यालय हुन् । टीका विद्याश्रम माविमा सानेपा स्रोतकेन्द्र र रसुवा मावि, धुन्चेमा रसुवा स्रोतकेन्द्र छन् । यी मध्ये, एसएलसी तथा एसईईको परीक्षामा सबैभन्दा राम्रो परिणाम पनि प्रगति शिक्षा सदनकै छ । सो विद्यालयका प्रधानाध्यापक सूर्य घिमिरे भन्छन्, “हामीले क्यास लागू गर्दागर्दै पनि एउटा कक्षामा चार÷पाँच जना विद्यार्थी असाध्यै कमजोर हुन्छन् । यस्ता विद्यार्थीलाई नयाँ कक्षामा गएपछि अलि बढी ध्यान दिएर छुट्टै डिल गर्ने गरेका छौं ।”
रसुवा माध्यमिक विद्यालय धुन्चे स्रोतकेन्द्रका स्रोतव्यक्ति धु्रवप्रसाद लामिछाने स्रोतकेन्द्र वा शिक्षा कार्यालयबाट पनि क्यासका बारेमा सहजीकरण र अनुगमन कम भएकै हो भन्ने स्वीकार्छन् । पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक पुष्पराज ढकाल क्यास नबुझेकाहरूले पनि नबुझे जस्तो गर्दा त्यसको कार्यान्वयनमा बाधा परेको ठान्छन् । उनी भन्छन्, “विद्यार्थीले जोड नै नबुझेका छैनन् भने गुणन सिक्न सक्दैनन् । जोडको अवधारणा नबुझेकालाई शिक्षकले थप समय दिएर वा फोकस गरेर सिकाउनु प¥यो । यत्ति त हो क्यासको उद्देश्य ।” यसमा नबुझने कुरा के छ ?

उत्तरपुस्तिका जँचाइमा लापरवाही
उत्तरपुस्तिका जँचाइमा कतै अति नै लापरवाही गरिएको र कतै अति नै उदार भएर अंक दिइएको पाइन्छ । कुनै कुनै उत्तरपुस्तिका जाँचेको हेर्दा त शिक्षकको क्षमतामै पनि प्रश्न उठ्छ ।

कक्षा ४ का यी विद्यार्थीलाई गणितमा १०० मा ७२ अंक दिइएको छ । तर उनको उत्तरपुस्तिका हेर्दा कुल प्राप्तांकमध्ये आधाभन्दा बढी नम्बर त गलत उत्तर लेखिएका दिइएको छ ।

जेसुकै होस् भनेर कमजोर सिकाइस्तर भएका विद्यार्थीलाई कक्षा चढाउनु न त कक्षोन्नतिको मर्म हो न क्यासको उद्देश्यसँग मेल खाने कुरा हो । कमजोर विद्यार्थीलाई शिक्षकको थप सहयोगको खाँचो हुन्छ । विद्यालय समय अघि वा पछि, जाडो गर्मीको बिदा वा नयाँ शैक्षिक सत्र शुरू हुनुअघि यस्ता विद्यार्थीका लागि थप कक्षा चलाएर उनीहरूको सिकाइस्तर उकास्न सकिन्छ, उकास्नुपर्छ । खोटाङका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल भन्छन्, “विद्यार्थी र अभिभावकलाई दोष लगाएर होइन, उपचारात्मक शिक्षण विधिबाट विद्यार्थीको कमजोर सिकाइस्तर माथि ल्याउन सकिन्छ ।” पाँचथरमा जिशिअ छँदा; उनले कक्षा–९ को वार्षिक परीक्षामा अनिवार्य गणितमा १५ भन्दा कम अङ्क ल्याएर कक्षा–१० मा चढाइएका विद्यार्थीलाई गणित सिक्न सहयोग गरे । उनीहरूलाई उनकै सरकारी निवासमा पढाउने सिकाउने व्यवस्था समेत मिलाएका थिए ।
जिशिअको निवास आएर पढ्ने चार जना त्यसै वर्ष २०७१ सालको एसएलसी परीक्षामा पास भए । फेल हुने छात्रा पनि गणितमा चाहिं पास भइन् । “यति राम्रो गर्न सक्दा रहेछौं भनेर उनीहरूले अचम्म माने” जिशिअ नेपाल थप्छन्, “शिक्षक र उसले सिकाउने तरिकामा भर पर्छ सिकाइ उपलब्धि । शिक्षकले कमजोर सिकाइ भएका विद्यार्थी र तिनका अभिभावकलाई दोष दिएर हैन, सहयोग गरेर उत्प्रेरित गर्न सक्नुपर्छ ।”

विद्यार्थीलाई त्यसै पास वा कक्षोन्नति गर भनेर कतै भनिएको छैन । बालबालिकाको सिकाइ क्षमता र गति फरक फरक हुन्छ । यही विविधतालाई ध्यान दिंदै फरक फरक तरिकाले शिक्षण गर्नुपर्ने हुन्छ । तर पढाइमा विद्यार्थीको रुचि÷क्षमता छैन अनि अभिभावकलाई वास्ता छैन भनेर सारा दोष उनीहरूमाथि मात्र थोपर्न थालिएको छ । असाध्यै कमजोर स्तरका विद्यार्थीको सिकाइ क्षमता बढाउने उपाय अपनाउनुभन्दा पनि स्वतः कक्षोन्नति गर्नु नै सजिलो हुन थालेको जस्तो देखिन्छ । कतिपयमा त यसरी नै दश कक्षासम्म पुगिहाल्छन् अनि त्यहीं उनीहरूको पढाइमा पूर्णविराम लागिहाल्छ नि भन्ने सोच समेत पाइन्छ । कमजोर सिकाइस्तर भएका विद्यार्थीलाई सहयोग गरी उकास्नु सामाजिक न्याय हो । शिक्षकका लागि त झ्न् गर्वको विषय हो । १० कक्षासम्म पुग्ने मात्र उनीहरूको क्षमता हो भने जस्तो गरेर बेवास्ता गर्ने हो भने सामाजिक आर्थिक रूपले पछिपरेका यी बालबालिकाले भविष्यमा के अवसर पाउलान्, उनीहरूको भावी जीवन कस्तो होला ?

कक्षा १० मा पुग्दासम्म मलाई
जोड–घटाउ आउँदैनथ्योनम्बर त गलत उत्तर लेखिएका  दिइएको छ ।

सुजाता न्यौपाने, विद्यार्थी

कक्षा २ देखि म फिदिम उच्च माध्यमिक विद्यालय, पाँचथरमा पढ्न थालेकी हुँ । गणितमा केही नजानिकनै म कक्षा दशमा पुगेकी थिएँ । दशमा पुग्दा मलाई जोड, घटाउ, गुणन र भाग समेत गर्न आउँदैनथ्यो । कक्षा ९ बाट १० मा जाँदा वार्षिक परीक्षामा अनिवार्य गणित विषयमा १० नम्बर आएको थियो । गणित पढाउने सरले नजान्ने विद्यार्थीलाई ‘तिमीहरू सानैदेखि नबुझी आयौ, गोजीबाट निकालेर तिमीहरूको दिमागमा राखिदिन सकिंदैन’ भन्नुहुन्थ्यो ।
म जस्तै गणितमा असाध्यै कमजोर अरू चार जना विद्यार्थीलाई जिल्ला शिक्षा अधिकारी सर ज्ञानमणि नेपालले आफ्नो क्वार्टरमा सिकाउन थाल्नुभयो । उहाँभन्दा धेरै उहाँको म्याडमले सिकाउनुहुन्थ्यो । कहिले बिहान र कहिले स्कूल छुट्टी भएपछि अनि कहिले चाहिं बिहान र बेलुका नै सिकाउन थाल्नुभयो । जोड, घटाउ, गुणन र भाग त एक हप्तामा नै बुझ्हिालें । यसरी बिस्तारै बुझन थालेपछि कक्षामा पनि बुझन सजिलो भयो । पहिले वास्ता नगर्ने गणित पढाउने सरले पनि त्यसपछि सिकाइमाग्दा सिकाइदिन थाल्नुभयो ।
ज्ञानमणि सर र म्याडमले हामीलाई यसरी समय दिएर २०७१ सालको असार महीनादेखि एसएलसी परीक्षासम्म अर्थात् ६ महीनाभन्दा बढी सिकाउनुभयो । ९ मा मात्र होइन तल्ला कक्षाहरूमा १०÷१२ अङ्क आउने गरेकोमा एसएलसी परीक्षामा मैले ५५ अंक ल्याएँ । ११ कक्षा पनि पास गरें र अहिले १२ कक्षाको परीक्षा दिएर बसेकी छु । 

 

Related Posts

/*sign up form*/