आमा स्कूल का आमा विद्यार्थी अक्षर चिने, घरबाट निस्कन पाए !

by • • रिपोर्टComments (0)286

Print Friendly, PDF & Email

वृद्धा आमाहरूलाई सिकाउँदै प्रशिक्षक सीता अधिकारी ।

– प्रवीण अधिकारी

“पहिले अलिअलि चिनेका अक्षर काममा नआई बिर्सिइए । फेरि शहर पसेपछि त अंग्रेजी पनि सिक्नुप¥यो !” ७० वर्षकी यमकला तिवारीले हाँस्दै भनिन् ।
“अंग्रेजी चाहिं किन सिक्नुप¥यो त आमा ?”

“मोबाइलमा नेपाली अक्षर हुन्छन् र ?”

यमकला आफ्नै जवाफसित मक्ख परेर हाँसिन् । उनका तीन भाइ छोरा दुई छोरी विदेशमा छन् । हिजोआज उनीहरूसँग दिनदिनै पालैपालो भाइबरमार्फत कुराकानी हुन्छ । उनी भन्छिन्, “अक्षर चिनेपछि भाइबर चलाउन कत्ति पनि गाह्रो छैन ।”
यो वार्तालाप काठमाडौंको कपनस्थित धोबीखोलाको आडैमा रहेको अष्टभुजा मन्दिरको एउटा कोठामा सञ्चालित ‘आमा स्कूल’ मा भएको हो । दैनिक तीन घण्टा कक्षा संचालन हुुँदै आएको यस स्कूलका विद्यार्थी ६१ वर्षदेखि ८३ वर्षसम्मका आमा–हजुरआमाहरू हुन् । ‘एजिङ नेपाल’ र अष्टभुजा समाजद्वारा संचालित आमाहरूको साक्षरता कक्षाको अहिले तेस्रो व्याच चल्दैछ । यहाँ सहभागीहरूलाई नेपाली अक्षर पढ्न र लेख्न, अंग्रेजीका अङ्क, एबीसीडी तथा विभिन्न सांकेतिक चिह्नका बारेमा सिकाइन्छ । अहिलेको कक्षामा २५ जना सहभागी छन् । करीब ८ महीना अघिदेखि कपनकै पैयूँटारमा पनि यस्तै कक्षा संचालन गरिएको छ । त्यहाँ पनि २५ जना सहभागी छन् ।

अध्ययन र अवसरको खोजी गर्दै गाउँघरबाट शहर पसेका छोराछोरीले शहरबजारमै घरजम गरेपछि उनीहरूका वृद्ध बाबुआमालाई पनि शहर पस्न करलाग्दी भएको छ । तर छोराछोरीको साथका लागि शहर छिरेका कतिपय ज्येष्ठ नागरिकको जीवन भने यहाँ गाउँको भन्दा कष्टकर हुने गर्छ । त्यसो त धेरै पाका व्यक्तिहरू जीवनशैली, मूल्यमान्यता, खानपानमा आफ्ना छोराछोरी वा अझ् नातिनातिनासित धेरै अमिल्दो नहुने गरी लचिला भएका हुन्छन् । कतिका घरमा भने ती कुराले नै समस्या उब्जाएका हुन्छन् । शहर पस्नासाथ उनीहरूको गाउँलेपन जाँदैन, तर छोराछोरीले शहरियापन सिकिसकेका हुन्छन् । उनीहरूले चिन्ने बटुको वा डबको शहरमा कचौरा भइसकेको हुन्छ । भात भुजा भइसकेको हुन्छ । उनीहरूलाई सामान्य बोलीचालीदेखि नै शहर नौलो लाग्छ ।

घरको वातावरण राम्रै भएको अवस्थामा पनि शहर ल्याइएका वृद्धवृद्धाका समस्या भने सकिएका हुँदैनन् । उनीहरूलाई अर्काको सहारा विना बाहिरफेर घुमफिर गर्न निकै समस्या हुन्छ । अझ्, उनीहरू अक्षर पढ्न पनि सक्दैनन् भने त शहर उनीहरूलाई समस्याग्रस्त भीड मात्र लाग्न थाल्छ । सबैभन्दा ठूलो समस्या, शहरमा उनीहरूका मनका कुरा सुन्ने र साट्ने साथी–सँगिनी हुँदैनन् ।

शहरमा आएर एक्लोपन महसूस गर्न थालेका वृद्धवद्धाहरू विस्तारै कम बोल्ने, खुलेर कुरा नगर्ने र एकान्त रुचाउने हुन थाल्छन् । यस्तो स्थिति दोहोरिंदै जाँदा वृद्धवृद्धालाई हीनताबोध हुने र कतिपयमा त मानसिक तथा शारीरिक रोग समेत देखिन थाल्छ । समस्या बढ्दै गएपछि उनीहरूप्रति आफ्नै परिवारबाट बेवास्ता, दुव्र्यवहार र हिंसा समेत हुनसक्ने र अन्ततः घरबाट निकालिने वा आफैं निस्कने र वृद्धाश्रममा आश्रित हुनेसम्मका घटना समेत देखिएका छन् ।

सरकारको परिभाषा अनुसार नेपालमा ६० वर्ष पूरा गरेका व्यक्तिलाई ज्येष्ठ नागरिक भनिन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्याको ८.३१ प्रतिशत अर्थात् करीब २५ लाख ज्येष्ठ नागरिक रहेका छन् । यसमा महिलाको संख्या करीब १५ लाख रहेको अनुमान छ । समग्रमा ५७.४ प्रतिशत मात्र महिला साक्षर रहेको (पुरुष साक्षरता ७७.१ प्रतिशतको तुलनामा) समाजमा अधिकांश वृद्धाहरू निरक्षर छन् ।

७५ वर्षीया धनकुमारी लामिछाने ।

आजका वृद्धवृद्धा भनेका ६०, ६५ वर्षअघि जन्मिएका नेपाली हुन् । त्यतिवेला नेपालमा विद्यालयको संख्या अत्यन्त न्यून त थियो नै, त्यसमाथि छोरीलाई पढाउने चलन झ्नै न्यून । सानैमा बिहे गरिदिने चलन पनि थियो । त्यसवेलाका प्रायः महिला उमेरै नपुगी आमा हुन्थे र धेरै सन्तान जन्माउन बाध्य हुन्थे । यी र यस्ता अनेक कारणले धेरै महिलाले अक्षर चिन्न पाएका थिएनन् । अहिले छोराछोरीसँग शहरमा बस्ने ज्येष्ठ नागरिक त्यसै उमेर समूहका हुन् ।

काठमाडौं, कपनमा रहेको आमा स्कूलका विद्यार्थीमध्येकी एक हुन् सिन्धुपाल्चोककी अम्बिका नेपाल । तीन वर्षदेखि छोराले कपनमा बनाएको घरमा बस्दै आएकी उनलाई एक दिन पनि कक्षा छाड्न मन लाग्दैन । भन्छिन्, “जीवनमा पढ्नु जस्तो ठूलो केही रहेनछ ।” गत वैशाखमा श्रीमान्को मृत्यु भएपछि एक्लो भएकी नेपाल असारदेखि कुनै पनि दिन कक्षामा अनुपस्थित छैनन् ।
वृद्धावस्थाका अनेकन् समस्या झ्ेल्दै आएका शहरका आमाहरूलाई अक्षरसम्म चिनाएर उनीहरूको जीवनलाई थोरै भए पनि सहज बनाउन काठमाडौंमा शुरू गरिएको यो साक्षरता कार्यक्रमको परिणाम राम्रो देखिएको छ । ‘कालो अक्षर भैंसी बराबर’ भन्न जानेका तर अक्षर नचिनेका केही आमाहरू अहिले आफ्नो नाम लेख्न र आफैं मोबाइल डायल गर्न सक्ने भइसकेका छन् । अक्षरसितको चिनजानका कारण उनीहरू शहरमा यताउता गर्न; अस्पतालका कोठा नम्बर पत्ता लगाउन पनि सक्ने भएका छन् । हिजोसम्म रनभुल्ल पर्नेहरू आफैं साइनबोर्ड पढेर बाटो, सडक, घरलगायतका गन्तव्य पहिल्याउन सक्छन् । सडक–गल्लीको नाम पढ्न नसक्दा घरका कोठामा बन्दीतुल्य रहनुपर्नेहरूका लागि साइनबोर्ड पढ्न सक्नु ठूलो उपलब्धि भएको छ । त्यसले उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याइदिएको छ । साक्षरताका कारण नयाँनयाँ ठाउँमा हिंडडुल गर्न उनीहरूलाई धेरै सजिलो भएको छ ।

६० वर्ष उमेर कटेका आमाहरूलाई अक्षर चिनाउन सजिलो भने नहुने प्रशिक्षकहरूको अनुभव छ । सिकेका कुरा छिट्टै बिर्सने त छँदैछ, कहिले झ्र्कने, एकोहोरिने र कहिले पढ्न लेख्नतिर ध्यानै नदिने जस्ता व्यवहार पनि कक्षामा देखिन्छन् । यसमा पनि कारणवश कोही तीन चार दिन कक्षामा आउन पाएन भने उनीहरूलाई सिकाएर अरूसितै पु¥याउनका लागि प्रशिक्षकलाई अर्को आपत् पर्छ । यद्यपि पढाइसँगै उनीहरूको खुशीलाई पनि जोड दिने गरिएकाले आमाहरूलाई पढाउन गाह्रो नभएको प्रशिक्षक सीता अधिकारी बताउँछिन् । अधिकारी भन्छिन्, “यो उमेरका आमाहरूलाई पढाउन पाउनु मेरा लागि सबैभन्दा ठूलो खुशीको कुरा भएको छ ।” आमा स्कूल का प्रशिक्षकका अनुभव मार्मिक सँगै रोचक पनि छन् । प्रशिक्षक पवित्रा अधिकारी भन्छिन्, “होमवर्क चेक गर्दा ठूलो चिह्न दियो भने खुशी हुने, हाँसेको चित्र बनाइदियो भने साथीहरूलाई देखाउने केटाकेटीको जस्तो व्यवहार पनि देखाउनुहुन्छ उहाँहरू ।”

प्रशिक्षकसँगै पढ्दै आमाहरू ।

यो कक्षा वृद्ध आमाहरूका लागि दुःख बिसाउने चौतारी पनि बनेको छ । यहाँ आमाहरू आफ्ना मनका कुरा व्यक्त गर्ने, छलफल गर्ने भएकाले खुशी पनि देखिन्छन् । भजन, कीर्तनसँगै पढाइ आमाहरूका लागि यो कक्षा रमाइलो त छँदैछ त्यसमाथि यो उमेरमा नयाँ साथी पाउँदा उनीहरू दंग नपर्ने त कुरै भएन । हाँसो ठट्टाका लागि मात्र होइन, साह्रोगाह्रो र बिरामी पर्दा समेत साथीहरूको स्नेहले आमा–हजुरआमाहरूको आत्मबल बढ्ने गरेको छ । करीब तीन महीनाअघि ७३ वर्षकी एकजना आमा पार्वती पौडेल बिरामी परिन् । तीन-चार दिन कक्षामा उनी नआएपछि सबै आमाहरू उनलाई हेर्न घर पुगे । साथीहरू आफ्नो घरमा देखेपछि पौडेल खुशी नहुने कुरै भएन । खुशी मात्र होइन बुढेसकालमा नयाँ आफन्त भेटिएको र आत्मीयता बढेको पौडेलले महसूस गरिन् । भन्छिन्, “मेरा नातेदार मात्र होइन, साथीहरू पनि आफन्त रहेछन् ।”

एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम आमाहरूमा विकास भएको यस्तो चेतना र व्यवहारले उनीहरूको आत्मबल बढेको बताउँछन् । भन्छन्, “यसले बिरामी आमाबाबुलाई हेलाको भावले हेर्ने समाजको मनस्थितिमा पनि परिवर्तन ल्याउँछ ।” यसबाहेक बोलीचालीमा झ्ल्किने आत्मविश्वास, स्वास्थ्य र सरसफाइमा देखिएको परिवर्तन यसका सकारात्मक पाटो भएको गौतमको भनाइ छ ।

यी आमाहरूको आत्मबल कतिसम्म बढेको छ भने वडा कार्यालयमा गएर आफ्नो कक्षा संचालनका लागि बजेट माग गर्न सक्ने समेत भएका छन् । उनीहरूकै मागपछि वडा कार्यालयले पनि रु.३ लाख दिएको छ । पढ्ने स्थान निःशुल्क उपलब्ध भए पनि सिकाउने प्रशिक्षकको पारिश्रमिक र सामान्य चियाखाजा त्यहीबाट धानिएकोे विद्यार्थी आमाहरू बताउँछन् ।

तस्वीरहरुः खड्गबहादुर मगर 

Related Posts

/*sign up form*/