आगो कसरी बल्छ ?

by • • कक्षाकोठाComments (0)482

Print Friendly, PDF & Email

 

पर्यावरण शिक्षणका क्रममा शिक्षकद्वारा केटाकेटीको पूर्व–ज्ञान र अनुभवलाई महत्वपूर्ण दिएर ज्ञान निर्माण प्रक्रिया अघि बढाइएको एउटा अभ्यास

– सुनील बागवान
स्कूल जान थाल्नुभन्दा अघि र स्कूल बाहिर पनि केटाकेटीले त्यस्ता थुप्रै कुरा, थुप्रै अवधारणा सहज–स्वाभाविक तवरमा सिकिसकेका हुन्छन्, जसलाई स्कूलमा विभिन्न विषयको नामबाट बडो रूढ र शुष्क तवरमा पढाइन्छ । भन्न त स्कूलको शिक्षणमा केटाकेटीको पूर्व–ज्ञान र अनुभवलाई महत्वपूर्ण दिनुपर्छ भनिन्छ, तर प्रायः त्यसो गरिंदैन; जसरी तसरी पाठ र पाठ्यपुस्तक सिध्याउनमै बल गरिन्छ ।तथापि, कतिपय शिक्षक यस्ता भेटिन्छन्, जसले विषयवस्तु बुझउन केटाकेटीको पूर्व–ज्ञान र अनुभवलाई साँच्चै महत्वपूर्ण दिन्छन् र तिनलाई साँच्चै सिक्न मदत पु¥याउँछन् ।
यहाँ यस्तै एकजना शिक्षकले पर्यावरण–विज्ञानको एउटा पाठ पढाउन कक्षामा अपनाएको विधि र गतिविधि प्रस्तुत गरिएको छ ।

पहिलो दिन
कक्षा–४ मा सबै, २६ जना केटाकेटीको हाजिरी गरिसकेपछि शिक्षकले सोधे, ‘हिजो हामीले के गरेका थियौं ?’ केटाकेटीले भने, ‘हामीले आगो बाल्ने तरीका बारे र आगोको उपयोग कसरी गर्ने भनेर छलफल गरेका थियौं ।’ शिक्षकले ‘जस्तै ?’ भनेर एक वचन सोध्नासाथ केटाकेटीले आगो बाल्ने तरीका र आगोको उपयोगसँग सम्बन्धित थुप्रै उदाहरण दिए ।
शिक्षकले सोधे, ‘जुन वस्तु बल्छन्, तिनलाई के भनिन्छ ?’
केटाकेटीले तँछाडमछाड गर्दै जवाफ दिन थाले र शिक्षक बोर्डमा लेख्न थाले । उनीहरूले दिएको जवाफ शिक्षकले पढे, ‘काठ, पेट्रोल, कपडा, पराल, कोइला, गुइँठा, घाँस, मट्टीतेल…’ अनि सोधे, ‘यी सबैलाई एक शब्दमा भन्नुपर्दा के भन्न सकिन्छ ?’
यो प्रश्न सुनेपछि कक्षा एकछिन चकमन्न भयो, अनि एकजना छात्राले जवाफ दिइन्, ‘सर, यी सबैलाई आगोमा बल्ने कुरा भन्न सकिन्छ ।’
शिक्षकले भने, ‘ठीक भन्यौ, यी सब आगोमा बल्ने कुरा हुन् । यिनलाई एक शब्दमा ‘इन्धन’ भन्न सकिन्छ ।’ उनले थपे, ‘आज हामी आगो कसरी बल्छ र आगो बल्न के–के आवश्यक हुन्छ भन्ने सिक्छौं है त ?’
‘हुन्छ, सर !’ विद्यार्थी कराए ।

इन्धन
शिक्षकले आफू अगाडिको टेबुलमा एउटा मैनबत्ती बाले । केटाकेटी ध्यानपूर्वक हेरिरहेका थिए । शिक्षकले सोधे, ‘के बलिरहेको छ ?’
‘मैनबत्ती’, केटाकेटीले भने ।
शिक्षकले फेरि सोधे, ‘मैनबत्तीमा के बलिरहेको छ ?’
केटाकेटीले थरी–थरीका जवाफ दिए । कसैले ‘मैन बलिरहेको छ’ भन्यो, कसैले ‘धागो बलिरहेको छ’ भन्यो, कसैले ‘आगोमा मैन बलेको’ भन्यो त कसैले ‘मैन पग्लिरहेको’ बतायो ।
शिक्षकले सोधे, ‘मैनबत्तीमा धागो भएन भने मैनबत्ती बल्छ कि बल्दैन ?’
केटाकेटी एकछिन घोरिए, र भने, ‘बल्दैन ।’
शिक्षक – धागो मात्रै छ, मैन छैन भने बल्छ कि बल्दैन नि ?
केटाकेटी – बल्छ । मैन नभए पनि धागो बल्छ ।
शिक्षकले धागोको एउटा टुक्रा बालेर देखाए अनि भने, ‘धागो त एकछिन बलेर निभ्छ, मैनबत्ती किन धेरैवेर बलेको त ? अनि यो मैनबत्ती कतिवेरसम्म बल्छ ?’
केटाकेटीले भने, ‘मैन खत्तम नहुन्जेलसम्म बल्छ ।’
शिक्षकले भने, ‘तर सुरेश त मैन पग्लिन्छ मात्र, बलेको त धागो मात्रै हो भन्छ नि ?’
शिक्षकको कुरा सुन्नासाथ सुरेशले आफूले पहिले भनेको कुरा सुधा¥यो र अर्को उदाहरण दिंदै भन्यो, ‘मैनबत्तीमा मैन र धागो दुवै बल्छन् । त्यसैगरी, जसरी दियोमा तेल र बत्ती दुवै बल्छन् ।’
शिक्षक – मैनबत्तीलाई बाल्ने इन्धन के हो ?
केटाकेटी – मैन नै इन्धन हो ।
शिक्षक – मैन नभए पनि मैनबत्ती बल्दैन र ?
केटाकेटी – मैन नभएपछि मैनबत्तीमा धागो मात्र हुन्छ । त्यो एकछिन बलेर खरानी हुन्छ । मैनबत्ती जस्तो धेरैवेर बल्दैन ।
‘मैन नभएपछि मैनबत्ती नै हुँदैन नि’, एउटी छात्राले भनिन् र सबै हाँस्न थाले ।
शिक्षकले सोधे, ‘दियो बल्दा त्यसमा इन्धन के हुन्छ ?’
केटाकेटीले एक स्वरमा जवाफ दिए, ‘तेल ।’
शिक्षकले ह्वाइट बोर्डमा बलिरहेको मैनबत्ती, बलिरहेका दाउरा, बलिरहेको दियो, ग्याँसको चूलो आदिका चित्र बनाएर र तिनमा इन्धनको रूपमा मैन, काठ, तेल, ग्याँस हुन्छ भने । विद्यार्थीसँग एकछिन छलफल भयो । त्यसबाट केटाकेटी के निष्कर्षमा पुगे भने, आगो बल्न इन्धन आवश्यक हुन्छ; जबसम्म इन्धन हुन्छ तबसम्म आगो बल्छ, इन्धन सकिएपछि आगो निभ्छ ।

हावा
टेबुलमा मैनबत्ती बलिरहेकै थियो । अब शिक्षकले सबै केटाकेटीलाई बलिरहेको मैनबत्ती ध्यानपूर्वक हेर्न भने । केटाकेटीहरू हेर्न थाले । अनि उनले एउटा सीसाको गिलास घोप्ट्याएर मैनबत्ती ढाकिदिए । हेर्दाहेर्दै मैनबत्ती एक छिनमा निभ्यो ।
शिक्षकले सोधे, ‘मैनबत्ती किन निभ्यो ?’
केटाकेटीले थरी–थरीका जवाफ दिए ।
एउटाले भन्यो, ‘गिलासमा पानी थियो, त्यही पानीले मैनबत्ती निभ्यो ।’
शिक्षकले उसलाई गिलास निकालेर हेर्न भने । उसले गिलास निकालेर, सुल्टो पारेर हे¥यो । सबैले देखे— त्यसमा पानी थिएन । एक जनाले ‘घोप्ट्याएको गिलासमा पनि कहीं पानी हुन्छ त ?’ भन्यो र फेरि सबैजना हाँसे ।
शिक्षकले फेरि मैनबत्ती बाले र फेरि त्यसैगरी गिलास घोप्ट्याएर राखिदिए । फेरि हेर्दाहेर्दै मैनबत्ती निभ्यो ।
एउटी छात्राले भनी, ‘गिलासले मैनबत्ती छोपिदिएपछि त्यहाँको हावा तात्यो अनि हावा तातेपछि मैनबत्ती निभ्यो ।’ शिक्षकले अरूलाई सोधे, ‘तिमीहरूलाई कस्तो लाग्छ ?’ दुई–तीन जना केटाकेटीले भने, ‘आगो आफैं तातो हुन्छ, अनि हावा तातेर आगो कसरी निभ्छ ?’
एक छिनसम्म सबै चूप लागे । अनि एउटा बच्चाले भन्यो, ‘मैनबत्तीको धुवाँ बाहिर निस्कन पाएन । त्यही भएर मैनबत्ती निभ्यो ।’ अर्को बच्चाले तुरुन्तै असहमति जनायो, ‘मैनबत्ती बल्दा धुवाँ आएको थिएन । मैनबत्ती निभेपछि मात्र धुवाँ आएको हो ।’ अरू दुई–तीन जनाले पनि भने, ‘हो, हो ।’
शिक्षकले ‘फेरि हेर्ने है त !’ भने र दुई–तीन पल्ट मैनबत्ती बाल्दै त्यसलाई गिलास उल्टो पारेर छोप्दै गरे । सबैले देखे— गिलासले छोपेपछि पहिले मैनबत्ती निभ्दो रहेछ, त्यसपछि मात्र धुवाँ आउँदो रहेछ ।
केटाकेटीलाई शिक्षकले फेरि सोधे, ‘मैनबत्ती किन निभेको होला त ?’
फेरि एकछिन कक्षा चकमन्न भयो । अनि भूमिकाले भनी, ‘बलेको मैनबत्तीलाई गिलासले छोपिदिएपछि मैनबत्ती निसास्सियो र निभ्यो । जसरी हामीलाई झयालढोका थुनेर कोठामा बन्द गरिदियो भने हामी निसास्सिन थाल्छौं, मैनबत्तीलाई पनि त्यस्तै भयो ।’
उसको कुरामा कसैले असहमति जनाएन ।
शिक्षकले अरू केटाकेटीलाई सोधे, ‘तिमीहरूलाई के लाग्छ ? मैनबत्ती निसास्सिएको होला त ?’
मनोहरिले भन्यो, ‘हो । मलाई पनि त्यस्तै लाग्छ । मैनबत्तीले हावा पाएन र निसास्सिएर निभ्यो ।’
अब सम्पूर्ण कक्षा लगभग केमा सहमत देखिन्थ्यो भने, बलिरहेको मैनबत्तीलाई सीसाको गिलास घोप्ट्याएर छोपिदिएपछि त्यसले हावा पाएन र हावा नपाएपछि निसास्सिएर निभ्यो ।
केटाकेटीको बुझइलाई अघि बढाउन शिक्षकले सोधे, ‘हामीलाई जीवित रहन के चाहिन्छ— हावा कि अक्सिजन ?’
‘अक्सिजन ।’ केटाकेटीले भने ।
शिक्षकले सम्झए, ‘मैनबत्तीलाई पनि बल्न अक्सिजन चाहिन्छ । अक्सिजन हावामै हुन्छ । गिलासले छोपिदिएपछि मैनबत्तीले अक्सिजन पाएन र निभ्यो ।’
उनले केटाकेटीलाई सोधे, ‘अब भन, आगो बल्न के–के चाहिन्छ ?’
केटाकेटीले भने, ‘इन्धन र अक्सिजन ।’
त्यो कुरा शिक्षकले बोर्डमा लेखिदिए ।

ताप

टेबुलमा मैनबत्ती बलिरहेकै थियो । अब शिक्षकले सबै केटाकेटीलाई बलिरहेको मैनबत्ती ध्यानपूर्वक हेर्न भने । केटाकेटीहरू हेर्न थाले । अनि उनले एउटा सीसाको गिलास घोप्ट्याएर मैनबत्ती ढाकिदिए । हेर्दाहेर्दै मैनबत्ती एक छिनमा निभ्यो ।

शिक्षकले बोर्डतिर देखाउँदै फेरि सोधे, ‘आगो बल्न के चाहिंदो रहेछ त ?’
‘इन्धन र अक्सिजन’, केटाकेटीले भने ।
‘हावा होइन र ?’ एक–दुई जनाले प्रश्न उठाए ।
शिक्षकले भने, ‘मैले भनें नि, अक्सिजन हावामै हुन्छ । सजिलोका लागि अक्सिजनको सट्टा हावा भने पनि हुन्छ । हामी हावा नै भन्ने है त ?’
‘हुन्छ सर !’ सबैले सहमति जनाए ।
त्यसपछि शिक्षकले सलाईको काँटी हावामा हल्लाउँदै प्रश्न गरे, ‘सलाईको काँटी एउटा इन्धन हो र यहाँ हावा पनि छ । तर पनि यो काँटी किन नबलेको ?’
लगत्तै उनले मैनबत्ती र कागज हातमा लिए र भने, ‘आगो बल्न इन्धन र हावा चाहिन्छ भनेको होइन ? मैनबत्ती र कागज दुइटै इन्धन हुन् र यो कोठामा हावा पनि छ, तर यिनीहरू बलेका छैनन् त ?’
राजुले भन्यो, ‘सलाईको काँटी मैले समातें भने बल्छ ।’ शिक्षकले काँटी उसलाई दिए । उसले काँटी समातेर हावामा खूब हल्लायो, तर बलेन । सबैजना हाँस्न थाले । अनि उसले भन्यो— ‘यो काँटी घाममा राखें भने बल्छ …’
शिक्षकले भने, ‘आजको घण्टी सकियो । भोलि कुरा गर्ने ल, आगो बाल्न इन्धन र हावा बाहेक अरू के–के चाहिन्छ भनेर ।’

दोस्रो दिन
अर्को दिन कक्षा शुरू हुन लाग्दा राजुले शिक्षकलाई भन्यो, ‘हिजो मैले घाममा राखेको सलाईको काँटी त बलेछ ।’ प्रमाणका रूपमा उसले एउटा टुप्पो जलेको सलाईको काँटी देखायो ।
शिक्षकले सबै विद्यार्थीलाई राजुको कुरा सुनाउँदै भने, ‘हिजो हामीले आगो बल्न इन्धन र हावा बाहेक के चाहिन्छ भनेर छलफल गरेका थियौं । आज राजु भन्दैछ— घाम चाहिन्छ । उसले घाममा राख्दा काँटी बल्यो अरे । यस्तो हुन सक्छ ? घाममा राख्ता काँटी बलेको भए त्यहाँ त्यसको कुनै चिह्न पक्कै हुनुपर्छ । गएर हेर त !’
एकजना विद्यार्थी राजुसँगै गएर त्यो ठाउँ हेरेर आयो, जहाँ उसले काँटी घाममा राखेको बताएको थियो । त्यहाँ काँटी बलेको कुनै चिह्न थिएन । त्यो थाहा पाएपछि कक्षामा कोही बोलेन । राजु पनि मौन रह्यो ।
शिक्षकले भने, ‘ल ठीक छ, आज हामी फेरि हिजोकै कुराबाट शुरू गर्छौं है त— आगो बाल्न इन्धन र हावा बाहेक के चाहिन्छ भनेर । …’
उनले मैनबत्ती देखाए र भने, ‘अहिले यो बलेको छैन ।’ अनि सलाई कोरेर मैनबत्ती बाले र केटाकेटीलाई सोधे, ‘ल भन, यो मैनबत्ती कसरी बल्यो ?’
दीपाले भनी, ‘काँटीको आगो तातो छ । त्यही तातो आगोले मैनबत्ती बल्यो ।’
शिक्षकले उसको कुरा सुनेर केटाकेटीलाई भने, ‘हेर, आगो तातो त हुन्छ नै । सलाईको काँटीको आगो तातो भएको हुँदा मैनबत्ती बलेको हो भन्ने कुरा तिमीहरूलाई कत्तिको ठीक लाग्छ ?’
केटाकेटीले ठीक लाग्छ भनेर सहमति जनाए ।
अनि शिक्षकले भने, ‘आफ्ना हात बीसपल्ट जोडले रगडेर गालामा लगाऊ त !’
केही केटाकेटी हात रगड्न थाले । केहीले चाहिं शिक्षकको कुरा सुन्नासाथ भने— हात रगडेपछि तातो हुन्छ ।
एउटा बच्चाले भन्यो, हाम्रो काकाले एकपल्ट चकमक रगडेर आगो निकाल्नुभएको ।’ अर्काले भन्यो, ‘बुबाले भन्नुभएको, दुइटा काठ निकैवेर जोडले रगड्यो भने पनि आगो निस्कन्छ अरे ।’
अझ् अर्काले भन्यो, ‘सलाईको काँटी पनि रगडेपछि मात्र बल्छ ।’
त्यसपछि केटाकेटीले त्यस्ता विभिन्न उदाहरण प्रस्तुत गरे, जसबाट आगो बाल्न ताप चाहिन्छ भन्ने प्रमाणित हुन्थ्यो । त्यस्तो ताप रगडेर, घोटेर अथवा अरू विभिन्न तरीकाबाट प्राप्त गर्न सकिन्थ्यो ।
यसैबीच शिक्षकले बलेको मैनबत्ती नजिकै सलाई काँटी राखे । एकैछिनमा काँटी बल्यो । उनले सोधे, ‘ल भन, यो काँटी कसरी बल्यो ?’
‘आगोको तापले’, केटाकेटीले सजिलै भने ।
शिक्षक बोर्ड नजिकै गए र मूल प्रश्न पुनः सोधे, ‘अब भन त, आगो बल्न के–के चाहिन्छ ?’ केटाकेटीले नबिराई भने, ‘आगो बल्न इन्धन, हावा र ताप पनि चाहिन्छ ।’
शिक्षकले केटाकेटीको सिकाइ राम्रो पार्न अरू केही प्रश्न उठाए । जस्तैः सलाई कोरेर सीसाको गिलास बाल्ने प्रयास गरे र उनीहरूलाई सोधे— सीसा बल्छ त ?
केटाकेटी — सीसा बल्दैन ।
शिक्षक — खरानी नि ?
केटाकेटी — खरानी पनि बल्दैन ।
राजुले त्यसमा असहमति प्रकट गर्दै भन्यो— गुइँठाको खरानी बल्छ ।
शिक्षक — तिमीले देखेको हो ?
राजु — हो, गुइँठाको खरानी बल्छ ।
शिक्षकले एक पन्ना कागज बाले । त्यो खरानी भइसकेपछि सलाईको काँटीले खरानी बाल्न खोजे । सबैले देखे— जति गर्दा पनि खरानी बलेन ।
उनले भने, ‘हेर, सीसा र खरानी बलेनन् । सीसा र खरानी इन्धन हुन् त ?’
‘सीसा र खरानी इन्धन होइनन्’, केटाकेटीले भने ।
तर राजुले आफ्नो कुरा दोहो¥याउँदै भन्यो, ‘गुइँठाको खरानी बल्छ । मजासँग बल्छ ।’ शिक्षक उसँग छलफल गर्नतिर लागेनन् । यति मात्र भने, ‘भोलि गुइँठाको खरानी लिएर आऊ अनि कुरा गरौंला ।’
यसपछि शिक्षकले एउटा नयाँ वस्तु (म्याग्नि फाइंग ग्लास) निकालेर सोधे— यो के हो ? केटाकेटीले त्यसलाई एक प्रकारको सीसा बताए ।
शिक्षकले भने, ‘यसबाट मेरो नाक, कान, दाँत, आँखा हेर त, कस्तो देखिन्छ ?’ उनले म्याग्नि फाइंग ग्लासलाई आफ्ना नाक, कान, दाँत, आँखा आदि तिर लगे । त्यो जुन जुन अंगमा पुग्थ्यो, त्यो त्यो अंग एकदमै ठूलो देखिन्थ्यो । केटाकेटी शिक्षकका ठूलठूला दाँत, भन्टा जस्तो नाक, बडेमानको कान र बल्ढ्यांग्रे आँखा देखेर हाँस्न थाले ।
शिक्षकले बताए, ‘यसलाई म्याग्नि फाइंग ग्लास भन्छन् । यसबाट वस्तुहरू ठूला देखिन्छन् ।’
म्याग्नि फाइंग ग्लास देखेर राजुको अनुहार उज्यालो भयो । उसले उत्साहपूर्वक भन्यो, ‘मैले पनि यसैबाट आएको घामबाट सलाईको काँटी बल्छ भनेको । यसबाट काँटी मात्र होइन, कागज र घाँस पनि बल्छ । मैले देखेको छु ।’
केटाकेटी छक्क परेर राजुको मुखमा हेर्न थाले ।
शिक्षकले भने, ‘राजुले भनेको ठीक हो । हिजो त मैले पनि यसको कुरा बुझ्निँ । आज घामले काँटी कसरी बल्छ भनेर हेर्ने है त !’
शिक्षकले सबै केटाकेटीलाई बाहिर ल्याए । बाहिर टन्टलापुर घाम लागेको थियो । शिक्षकले म्याग्नि फाइंग ग्लासबाट घामलाई एक ठाउँमा केन्द्रित गरे । त्यसबाट छिरेको घाम भएको ठाउँमा हात राख्ता केटाकेटीले निकै तातो महसूस गरे । एकैछिन हात राख्नासाथ पोल्थ्यो र उनीहरू हतारहतार हात निकाल्थे । त्यसपछि शिक्षकले त्यही ठाउँमा सलाईको काँटी राखे । एकैछिनमा काँटी ह्वार्र बल्यो । केटाकेटीलाई रमाइलो लाग्यो । उनीहरू तँछाडमछाड गर्दै आफू पनि काँटी राख्न र बाल्न थाले ।
‘यसरी ठेलाठेल नगर । गोलो घेरा पारेर उभिऊ’, शिक्षकले भने । केटाकेटी त्यसैगरी उभिए । अब शिक्षकले घेराको बीचमा भुईंमा कागज र त्यसमाथि सलाईको काँटी राखे । त्यसमा म्याग्नि फाइंग ग्लासबाट छिरेको घाम केन्द्रित गरे । हेर्दा हेर्दै काँटी बल्यो र काँटीको आगोले कागज पनि बल्यो । केटाकेटीले ताली बजाए ।
शिक्षकले कुरा दोहो¥याउँदै भने, ‘बुझयौ त । आगो बल्न इन्धन, हावा र ताप तीनै थोक चाहिन्छ ।’
‘बुझयौं सर’, केटाकेटीले भने ।
कक्षाको समय सकिएको थियो । शिक्षकले भने, ‘भोलि तिमीहरूले आगो कहाँ–कहाँ बलेको देखेका छौ र केको आगो कस्तो रंगको हुन्छ भन्ने लेखेर ल्याउनू है ।’

तेस्रो दिन
आजको कक्षाको प्रारम्भ शिक्षकले अघिल्लो दिनको प्रश्नबाट गरे, ‘ल भन, आगो कस्तो रंगको हुन्छ ?’
‘आगो पहेंलो रंगको हुन्छ’, धेरैले एकसाथ भने ।
शिक्षकले खे¥याए ‘आगो पहेंलो रंगको मात्र हुन्छ त ?’
त्यसपछि केटाकेटीले पालैपालो आगो रातो, पहेंलो, सुन्तले, आकाशे नीलो, गाढा नीलो, गाढा रातो र सेतो पनि हुन्छ भनेर बताए ।
शिक्षकले ह्वाइट बोर्डमा एउटा टेबुल बनाए र भने, ‘ल अब भन, केको आगो कस्तो रंगको हुन्छ ?’ केटाकेटीले दिएको जवाफ अनुसार उनी टेबुलमा लेख्तै गएः
सबै कुराको आगो कहिलेकाहीं पहेंलो हुन्छ ।
ग्याँसको आगो प्रायः नीलो हुन्छ ।
कोइलाको आगो बढी रातो र कम पहेंलो हुन्छ ।
दाउराको आगो बढी पहेंलो र अलिअलि रातो हुन्छ ।
आरनमा बल्ने आगो शुरूमा पहेंलो र रातो, त्यसपछि नीलो र अन्त्यमा सेतो पनि हुन्छ ।
यसरी केटाकेटी आगोको रंगबारे आआफ्नो अनुभव अनुसार भन्दै थिए । यसैबीच आरजूले भनी, ‘ग्याँसको चूलोमा खाना पकाउँदा भाँडामा कालो लाग्दैन, तर दाउरामा पकाउँदा भाँडा काला हुन्छन् ।’ उसको कुरा सुनेपछि अरूको ध्यान पनि त्यतातिर गयो र उनीहरू भन्न थालेः
ग्याँस चूलोबाट धुवाँ निस्किंदैन, त्यसैले भाँडामा कालो लाग्दैन ।
दाउराबाट धुवाँ निस्कन्छ, त्यसैले दाउरामा भात पकाउँदा भाँडा काला हुन्छन् ।
कोइलाको आगो बढी रातो हुन्छ, त्यसैले दाउरामा पकाउँदा भन्दा कोइलामा पकाउँदा भाँडा कम काला हुन्छन् ।
ग्याँसको आगो बढी तेजिलो हुन्छ, त्यसैले खाना छिटो पाक्छ ।
केटाकेटीका यस्ता प्रतिक्रिया सुनेपछि शिक्षकले प्रश्न गरे, ‘ल ठीक छ । अब भन त, खाना पकाउन बढी राम्रो इन्धन कुन हो ?’
‘ग्याँस’ सबै कराए ।
शिक्षकले बताए, ‘ठीक । ग्याँसबाट धुवाँ पनि बढी निस्किंदैन र खाना पनि सजिलोसँग, छिट्टै पाक्छ । त्यसैले ग्याँसलाई खाना पकाउने राम्रो इन्धन मानिन्छ ।’
अन्त्यमा शिक्षकले बोर्डमा आदर्श इन्धनका गुणहरू लेखे र त्यसबारे चर्चा गरे

शिक्षकले म्याग्नि फाइंग ग्लासबाट घामलाई एक ठाउँमा केन्द्रित गरे । त्यसबाट छिरेको घाम भएको ठाउँमा हात राख्ता केटाकेटीले निकै तातो महसूस गरे । एकैछिन हात राख्नासाथ पोल्थ्यो र उनीहरू हतारहतार हात निकाल्थे ।

अन्त्यमा
यो प्रसंग छत्तीसगढ (भारत) को धमतरी जिल्ला, शंकरदाह गाउँको ‘अजीज प्रेमजी शाला’ (स्कूल) को हो । मैले विद्यालय निरीक्षणको सिलसिलामा त्यहाँ यसरी पढाइ भइरहेको पाएको थिएँ । छत्तीसगढको कक्षा–४ को ‘पर्यावरण अध्ययन’ पुस्तकमा ‘आगो’ नामको एउटा पाठ छ । त्यसको विषयवस्तुले, त्यो पाठ पढेपछि केटाकेटीहरू आगो बाल्ने तरीका र आगोको उपयोगका बारेमा परिचित हुनेछन् भन्ने अपेक्षा राखेको छ ।
तीन दिनका यी कक्षाको आधारमा भन्न सकिन्छः यहाँ शिक्षकले केटाकेटीको पूर्व–ज्ञान र अनुभवलाई शैक्षिक प्रक्रियामा शामेल गर्न उनीहरूलाई आफ्नो कुरा भन्ने सार्थक अवसर दिए । उनीहरूलाई पाठ्यपुस्तकमा राखिएको पाठ्यसामग्रीमा मात्र सीमित राख्न बिल्कुलै बल गरेनन् । यी कक्षाको अनुभवका आधारमा के पनि भन्न सकिन्छ भने, शिक्षण–प्रक्रियाका क्रममा केटाकेटीले पर्याप्त र सार्थक मौका पाएमा उनीहरू विना कुनै संकोच सिक्ने–सिकाउने प्रक्रियामा सक्रिय सहभागी बल्न सक्छन् । यस क्रममा यी केटाकेटीहरू एक–अर्काको विचार सुन्ने, सुनेर बुझने र बुझेर एक–अर्काका तर्कलाई चुनौती दिने, प्रश्न गर्ने, आफ्नो सहमति वा असहमति प्रकट गर्ने जस्ता सीपहरू पनि सिकिरहेका थिए । पर्यावरण–अध्ययनको यस कक्षामा शिक्षक र विद्यार्थी दुवै तार्किक संवाद एवं ससाना–सरल क्रियाकलाप सँगसँगै अवलोकन र तर्कका माध्यमबाट शब्दका नयाँ र गहन अर्थ आविष्कार गरिरहेका थिए । सापेक्षतः नयाँ अवधारणाहरू, जस्तै इन्धन, हावा, ताप आदि शब्दहरू आआफ्ना सन्दर्भसँग जोडेर केटाकेटीहरू बुझदै–सिक्तै थिए— आगो बाल्न के–के चाहिन्छ ?
दुर्भाग्यको कुरा के भने, हाम्रो विद्यालय पाठ्यक्रम विषय र पाठमा विभाजित छ र एउटा क्यालेन्डर बनाएर त्यो पाठ निश्चित समयभित्र पढाइसक्नुपर्ने कुरामा तलदेखि माथिसम्म सबैको जोड हुन्छ । केटाकेटीले बुझ्े कि बुझ्ेनन्, सिके कि सिकेनन् भन्दा पनि पाठ सकियो कि सकिएन भन्नेमा ध्यान केन्द्रित हुन्छ । समष्टिमा भन्दा हाम्रो शिक्षण प्रक्रिया विद्यार्थीकेन्द्रित नभएर पाठ्यपुस्तक–केन्द्रित बनेको छ । पाठ्यपुस्तक त पढाइसकिन्छ, तर विद्यार्थी चिल्लै हुन्छन् । तिनले आफूले पढेका कुरा आफू वरिपरिको वास्तविक दुनियाँसँग जोडिएको अनुभव गर्नै पाउँदैनन् । यो घटनाले के देखाएको छ भने, पाठ्यपुस्तक–केन्द्रित शिक्षणभन्दा अलि पर गएर केटाकेटीको पूर्व–ज्ञान र अनुभवलाई महत्वपूर्ण दिने हो भने उनीहरूको ज्ञाननिर्माण प्रक्रिया सार्थक रूपमा अघि बढ्न सक्छ र यसमा शिक्षकले नै महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

विज्ञान, शिक्षा र समाजशास्त्रका अध्येता सुनील बागवान अजीम प्रेमजी फाउन्डेसनको शिक्षक प्रशिक्षण कार्यमा संलग्न छन् ।

(सन्दर्भ, अंक १०८ बाट साभार)

भाषान्तरः शरच्चन्द्र वस्ती

Related Posts

/*sign up form*/