अभिभावकलाई …

by • • पुष्तक समिक्षाComments (0)452

Print Friendly, PDF & Email

सिपी अर्याल

जापानमा दोस्रो विश्वयुद्धताका स्थापित तोमोए स्कुल अनौठो थियो । त्यो स्कुल कस्तो थियो ? त्यसबारेको चर्चाअघि यी केही समाचार शीर्षक पढौं, जो नेपाली सञ्चारमाध्यममा प्रायः पढ्न पाइन्छ
– ‘शिक्षकको पिटाइले विद्यार्थीको आँखा फुट्यो’
– ‘होमवर्क नगर्दाको सजायले बच्चाको कानको जाली फुट्यो’
– विद्यार्थीलाई शरीरभरि सुल्लैसुम्ला’
यस्तो डरलाग्दो परिपाटीको व्याख्याअघि फेरी तोमोए स्कुल, तोत्तो–चान, कोबायासी सर र दोस्रो विश्वयुद्धताकाको जापानतिर फर्कियौं ।
एउटी आमाले आफ्नी सानी छोरीलाई डोरयाएर हिँडिरहेकी छन् । चुलबुले छोरी आमाको हात समाएर हिँडिरहेकी छन्, टुकुनटुकुन । उसको आँखामा चञ्चलता झल्किरहेको छ । तर, आमाचाहिँ पीडाले भित्रभित्रै छटपटाइरहेकी छन् । उनी पीडाले आक्रान्त हुनुको कारणः छोरीले विद्यालयमा असाध्यै चकचक गरेकाले उसलाई विद्यालयले निष्कासन गरयो । र, अर्को विद्यालयमा भर्ना गरिदिने मनसायसाथ उनी हिँडदै छिन् । त्यसैबीच विद्यायय फेला पर्छ । तर, अनौठो खालको । रेलको डिब्बालाई कक्षाकोठा बनाइएको छ । त्यहाँभित्र छिर्नेबित्तिकै तोत्तोले आत्मीय अनुभव गर्छे । त्यो अनौठो विद्यालयमा पहिलोपटक प्रवेश गर्दा पनि त्यो परिचितजस्तै लाग्छ ।
जापानी लेखिका तथा टेलिभिजन प्रस्तोता तेच्चुको कुरायानागीले भोगेको बाल्यकालका अविस्मरणीय सम्झना हुन् यी । जापानी बालशिक्षामा अद्भुत योगदान पुरयाएका सोसाकु बोबायासीको विद्यालयमा प्राथमिक शिक्षाको केही समय बिताएपछि तेच्चुकोको जीवनमा कस्तो प्रभाव पर्छ, त्यसै बारेका कुरा किताबमा छन् । कोही पनि बच्चाबच्ची व्यवहारमा चकचके त हुन्छन् त तिनीहरूलाई स्वतन्त्र, प्राकृतिक र सिर्जनशील वातावरण तयार गरिदिँदा उनीहरूको जीवनमा व्यापक परिवर्तन आउँछ र बच्चाहरू शान्त र अनुशासित हुन्छन् । त्यसैबारेको बाल्यकालीन संस्मरणका पेचिला घटनाक्रमले किताबलाई रुचिपूर्ण बनाएका छन् । केटाकेटी बदमासी आफैँमा रमाइला हुन्छन् । यो किताबमा चाहिँ केटाकेटीका त्यस्तै रमाइला बदमासी पढ्न पाइन्छ ।
अघिल्लो स्कूलमा पढ्दा तोत्तो–चान सर–मिसबाट बहिष्कृतै जस्तो थिई । कक्षामा मिसले पढाइरहँदा ऊचाहिँ झयालमा उभिएर पर कतै हेरिरहन्थी, कक्षामा असाध्यै बदमासी गरिहन्थी । उसलाई गाली गरेर शिक्षकहरू थाक्थे तर बदमासी गरेर तोत्तो कति पनि थाक्दिनथी । असाध्यै भएपछि उक्त विद्यालयबाट तोत्तो–चान निकालिन्छे । तर, निष्कासन पनि उसका लागि अहोभाग्य ठहरिन्छ । त्यहींबाट उसको जीवन पुरै परिवर्तन हुन्छ । चकचके तोत्ते चान पूर्ण अनुशासित बच्ची भएर निस्कन्छे । त्यसको सबै कारण तोमोए स्कुलको वातावरण हो । परम्पारागत शिक्षा पद्धतिलाई चुनौती नै दिएर कोबायासीले सुरु गरेको उक्त विद्यालयमा बच्चाबच्चीलाई थाहै नपाइने गरी सम्मानसाथ सिकाइन्छ । पहिलो कुरा त उनीहरूलाई त्यहाँ गाली कहिल्यै पनि गरिँदैन । एकदम सम्मानसाथ पढाइन्छ ।

तोत्तोचान–झ्यालमा रमाउने त्यो सानी केटी
लेखक ः तेच्चुको कुरोयानागी
अनुवाद ः डा. सरोज धिताल
सम्पादन ः शरच्चन्द्र वस्ती
अन्वेषण/संयोजन ः राजेन्द्र दाहाल
प्रकाशक ः शिक्षक मासिक
मूल्य ः रु. ३००

नेपालको वर्तमान शैक्षिक पद्धतिसँग जापानमा आजभन्दा ७५–८० वर्षअघिको शिक्षण विधिको तुलना पनि गर्न सकिँदैन । बच्चाबच्चीमाथि डरलाग्दो व्यवहार हामी दिनहुँजसो समाचारमा पढ्न अभिशप्त छौं, जसले बताउँछन् शिक्षककको चरम दुव्यवहारले विद्यार्थीले शरीरको अंग गुमाउँछन् । प्रताडना भोग्छन् । यसका केवल शिक्षकहरूको मात्र गल्ती देखिँदैन । हाम्रो युगौंदेखिको संस्कार पनि यो कुतृत्यको भागिदार हो । विचरा शिक्षक, ऊ पनि त्यस्तै वातावारणमा हुर्कियो । गृहकार्य नगर्दा ऊ पनि आफनो शिक्षकद्वारा भम्कुमार कुटियो । र, त्यही व्यक्ति पछि शिक्षक हुँदा उसले त्यही गर्छ, जे उसले भोगेको थियो । यसकारण हामीले शिक्षक निर्माणको प्रक्रियाप्रति औंला उठाउनुपर्छ, शिक्षक भनेको व्यवस्था पनि हो ।
एउटा विद्यालयबाट निकालिएपछि तोत्तो–चान अर्को विद्यालयमा जानेबितिकै उसका बदमासीका सबै क्रियाकलाप आफसेआफ निर्मूल हुन्छन् । त्यहाँ पढाउने कोबायासी सर उसलाई अभिभावक लाग्छन् र सहपाठीहरूचाहिँ परिवारका सदस्यजस्ता । कोबायासी सरले पढाउने तरिका बिलकुल फरक खालको छ, जहाँ कहिल्यै पनि विद्यार्थीलाई अल्छी लाग्दैन । उनीहरू बदमासी गर्दैनन् । विद्यालय बिदा भएर घर पुग्दा पनि कतिखेर भोलिपल्ट होला र विद्यालय जान पाइएला भनी कुरेर बस्छन् । अनावश्यक गृहकार्यको बोझ कहिल्यै लिनुपर्दैन । त्यहाँ कोबायसी सरले दिने शिक्षा यतिसम्मको प्रयोगमूलक हुन्छ कि उनले किसानलाई नै बोलाएर कृषिको कक्षा चलाउँछन् बगैंचा र रोप्छन् बोटबिरुवा ।
त्यसरी तोमोयो स्कुलमा केटाकेटी हुर्कन्छन् र धेरै थोक सिक्छन् । त्यहाँ अपांगहरूले तिरस्कार भोग्नु पर्दैन र चकचक गरेर भनेर विद्यार्थीले गाली पनि खानु पर्दैन । कालान्तरमा त्यो विद्यालय दोस्रो विश्वयुद्धको प्रत्यक्ष सिकार हुन पुग्छ । स–साना रेलगाडीको डिब्बाका कक्षाकोठा ध्वस्त हुन्छन्, बलमे । त्यसबेला त्यहाँ पढेका विद्यार्थी कालान्तरमा ठूलो सफलता हासिल गर्छन्, कोही वैज्ञानिक हुन्छन्, कोही भौतिकशास्त्री र तोत्तो–चान स्वयंचाहि जापानकी प्रख्यात टेलिभिजन प्रस्तोता हुन्छिन् ।
जापानमा ७५ लाख प्रतिभन्दा बढी विक्री भएको भनिएको यो किताब संसारका अनेक भाषामा अनुवाद गरिएको छ । किताबलाई डा.सरोज धितालले नेपालीमा अनुवाद गरेका हुन् । शरच्चन्द्र वस्तीले सम्पादनले अनूदित भाषामा सुगन्ध थप्ने काम गरेको छ । अनुवाद आफैंमा कहिल्यै पनि पूर्ण हुन सक्दैन । किनभने, यो ‘ओरिजिनल’ लेखाइ होइन । त्यसैकारण पुस्तकमा केही कमजोरी अवश्य छन्, जुन महाभूल भने होइनन् ।
२०७२ असोज २४ आइतबार
नेपाल राष्ट्रिय साप्ताहिकमा प्रकाशित

Related Posts

/*sign up form*/