अन्धविश्वास चिर्न वैज्ञानिक संस्कार

by • • विज्ञान–व्याख्याComments (0)811

 

अर्मला, कास्कीमा भासिएको जमीन ।

डा. दिनेशराज भुजु
भीमसेनको क्रोध शान्त पार्न बोकाको बलि र जमीन नभासियोस् भनी नागपूजा गरेबाट स्पष्ट हुन्छ– नेपाली समाज अझ् पनि किंवदन्तीबाट मुक्त हुनसकेको छैन । वैज्ञानिक र प्राज्ञिक संस्थाको जिम्मेवारी हो– तिनले वैज्ञानिक संस्कारको उज्यालो छरुन्; न कि मौनता साधेर अन्धविश्वासलाई प्रश्रय दिइरहुन् ।

विज्ञान आर्थिक समृद्घिको इञ्जिन हो । आफ्नो परिवेश र प्रकृतिको गहन अवलोकनबाट विज्ञानका सिद्घान्त तयार हुन्छन्, ती सिद्घान्त व्यावहारिक प्रयोगमा आउँदा प्रविधि बन्दछन्, प्रविधिको प्रयोग आर्थिक विकासको सोपान बन्दछ । योभन्दा बढी विज्ञानको योगदान सामाजिक रूपान्तरणमा छ । जीव विकासको सिद्घान्त (चाल्र्स डार्विन, सन् १८५९) ले हजारौं वर्षदेखि एकाधिकार जमाएको सृष्टिवादलाई पाखा लगाइदियो र मानिसलाई उसको पुर्खा चिनाइदियो । वैज्ञानिक चिन्तनले जेलिएका प्राकृतिक नियमहरूको गाँठो फुकाउँछ । उसले अन्धविश्वासको रूपमा रहेका मान्यताहरूलाई च्यातिदिन्छ । नेपालको स्कूल पाठ्यक्रममा विज्ञान विषयले कक्षा १ देखि नै प्रवेश पाएको छ तर अवैज्ञानिक मान्यताहरू भने अझ् हट्न सकेका छैनन् ।

वेलाबखत सुन्छौं, भक्तपुरको बिस्केट जात्रामा लिङ्गो भाँचियो, साह्रै अशुभ भयो । पाटनमा मत्स्येन्द्रनाथको रथ भाँचियो, केही नराम्रो अवश्य हुन्छ, यस्तै यस्तै । केही समय अघि; पसिनाले भिजेको दोलखा भीमसेनलाई शान्त पार्न कालो बोको चढाइएको र जमीन भासिंदा पोखराको अर्मलामा नागपूजा गरिएको खबर सञ्चारमाध्यममा आए । देशका ठूलाबडाहरू सोही कार्य सम्पादन गर्न भेटी चढाउँदै पूजा अर्चनामा सरिक भए र राज्यको ढुकुटीबाटै नियम पु¥याएर बोको खरीद गरी निकासा गरे । नेपाली समाज यसरी वेलावेला अन्धविश्वासको प्रतिनिधित्व गर्दै किंवदन्तीको मुलुक बन्दछ । त्यतिखेर, हाम्रो विज्ञान कहाँ हराउँछ ?

जाडोको समयमा तपाईं बिहान बस वा माइक्रोबसको यात्रामा निस्कनुहोस्, बसभित्रको गुम्स्याइसँगै सिसाका झयालहरू धमिलो भएर भिजेका हुन्छन् । थोरै घाम लाग्नुपर्दछ, त्यही सिसामा त्यही वाफको पानी रसाएको तपाईं देख्नुहुन्छ । बसका कर्मचारीले सिसा पुछ्दै गाडी अगाडि बढाउँछन् । वैज्ञानिक व्याख्या थाहै नहुँदा पनि जाडोयाममा हुने यो सामान्य घटना र सिसाको व्यहोराबाट कोही पनि आत्तिंदैन । पहिलोपल्ट अनुभव गर्ने बालकलाई भने त्यो जिज्ञासाको विषय बन्न सक्दछ । तर उसलाई पनि दोलखा भीमसेनमा जस्तै बसको सिसामा पसिना आएछ भनी तर्साइदिएको खण्डमा त्यो जीवनभरि व्यहोरिने अन्धविश्वासमा बदलिन सक्दछ ।

काठमाडौंदेखि करीब १३५ किमी पूर्वमा रहेको दोलखा बजार पुरानो पहाडी बस्ती हो र भीमेश्वरलाई बजारकै सबभन्दा पुरानो मन्दिर मानिन्छ । महाभारतको कथाका पाण्डव दाजुभाइमध्येका माहिला भीमसेनको मूर्तिलाई व्यापारीहरू व्यवसायमा नाफा होस् भनेर पूजा गर्दछन् । दोलखा भीमसेनको मूर्ति कालो प्रस्तरबाट बनेको छ, कहिलेकाहीं त्यो भिज्दोरहेछ र त्यसैलाई मानिसहरू पसिना आएको भन्दा रहेछन् । यसरी पसिना आउँदा पुजारीले कुनै अनिष्ट नहोस् भन्दै घण्ट बजाई भक्तजनहरूलाई जानकारी गराउने चलन रहेछ । हाम्रा सञ्चार माध्यमहरूले त्यो खबरलाई जस्ताको तस्तै सम्प्रेषण गर्दछन् । अनि मानिसमा त्यस्तो किन भयो भन्ने जिज्ञासा भन्दा त्यो अनिष्टको सूचक हो भन्ने भयले बास जमाउँछ; अनि कारणपट्टि भन्दा भयको निराकरणमा ऊ जुट्दछ ।

सन् १९९५ सेप्टेम्बर २१ का दिन एउटा समाचारले बेस्सरी प्रचारप्रसार पायो । समाचार थियो गणेशजीले दूध खाएको । पहिलो घटना नयाँदिल्लीको दक्षिणमा अवस्थित मन्दिरमा श्रद्धालुहरूले गणेशको मूर्तिमा दूध चढाउँदा त्यो विलाएर गएछ अर्थात् गणेशले त्यो दूध पिएछन् ! झिसिमिसेतिर भएको त्यो घटनाले दिउँसो हुँदा नहुँदासम्म देशभरि चर्चा पाएछ र भारतबाहिर बेलायत, क्यानडा यूएई र नेपालसमेतका हिन्दू मन्दिरहरूमा मानिसको ताँती लाग्यो । दिल्लीमा मात्रै दूधको बिक्री ३० प्रतिशतले वृद्धि भएछ । घटनाको वास्तविकता पत्ता लगाउन भारतको विज्ञान मन्त्रालयबाट तत्काल एउटा टोली गठन भयो र वैज्ञानिकहरूले त्यसलाई ‘क्यापिलरी एक्सन’ भनेर व्याख्या गर्दै मूर्तिले दूध खान नसक्ने बताए । बुझन सजिलोको लागि यसरी व्याख्या गरौंः तपाईं हातमा एक टुक्रा मसिनो धागो समात्नोस् र त्यसको अर्को छेउलाई गिलासको पानीमा डुबाइदिनोस् । गिलासको पानी विस्तारै धागोमा चढ्न थाल्छ, त्यसनिम्ति त्यसलाई कुनै दैवी शक्ति चाहिंदैन । नेपालका पनि नास्टका वरिष्ठ वैज्ञानिक डा. रमेशमान सिंहको टोलीले यस्तै व्याख्या गरी आमजनताको जिज्ञासा मेटाइदिएको थियो । त्यस उप्रान्त पनि गणेशको मूर्तिले दूध निलेको कुरा कमसेकम दुईपल्ट (सन् २००६ र सन् २०१० मा) प्रचारमा आए तर पहिलेजस्तो तिनले व्यापकता पाउन सकेनन् ।

यसैबीच नेपालमा अर्को एउटा आपत् आइपरेको छ । पोखरा शहरभन्दा डेढ किलोमिटर टाढाको अर्मलाको ठूलीबेंसी फाँटमा पहिले धाँजा फाट्न थालेछ र पछि जमीन भासिंदै त्यहाँ ठूल्ठूला खाडल बने । अहिले त्यहाँ साना ठूला गरी ४० वटा जति भ्वाङ भएको र ती ५ मिटरसम्म गहिराइका भएको बताइन्छ । जमीन भासिएबाट आसपासका घर–परिवारहरू प्रभावित भएका छन् । कोही कोही त सरेर अन्यत्र पनि गइसके । यसरी जमीन भासिएर बनेको खाडललाई अंग्रेजीमा ‘सिन्क–होल’ भनिन्छ । ‘सिन्क–होल’ को समस्या संसारका धेरै देशमा छ ।

चीनको चोङछिङमा रहेको शियाओचाइ सम्भवतः संसारकै सबभन्दा गहिरो खाडल हुनुपर्दछ जसको गहिराइ ६६२ मिटर छ । चीनकै ग्वाङ्सी प्रान्तको दासिबेइ खाडलको गहिराइ पनि ६१६ मिटर छ । क्षेत्रफलको हिसाबले इजिप्टको काटारा खाडल निकै ठूलो छ, जसको लम्बाइ ८० किमी र चौडाइ १२० किमी छ । वैज्ञानिकहरूका अनुसार पानीको सतहभन्दा ठीक मुनिको भागलाई चर्को हावाले छियाछिया पार्दा काटारामा त्यस्तो खाडल बन्न पुगेको हो । मेक्सिकोमा पनि जमीन भासिएर थुप्रै खाडल बनेका छन् । संयुक्त राज्य अमेरिकामा त्यहाँको झ्ण्डै २० प्रतिशत भूभागमा खाडल उत्पत्ति हुनसक्ने अनुमान गरिएको छ । खाडलका हिसाबले फ्लोरिडा त्यहाँको सबभन्दा जोखिममा परेको राज्य हो । यस्ता धेरैजसो खाडल जमीनमुनि रहेको चुनढुङ्गा वा यस्तै प्रकारको चट्टानलाई अम्लीय वर्षाले गलाइदिंदा जमीन माथिको बोझ्लाई थाम्न नसकी बन्ने हुन् । सन् २०१० मा ग्वाटेमालामा भासिएको खाडलको कारण भने अनौठो थियो । अगाथा भनिने ठूलो आँधी पसेर ग्वाटेमाला शहरको ढल फुटेको रहेछ । फुटेको ढलबाट फोहोराजस्तो निस्केको पानीले जमीनमुनिको माटोलाई बगाइदिंदा जमीनभित्र खाल्डो बनेछ । त्यसैमाथि बनेका ठूल्ठूला भवनहरूको बोझ्ले त्यो नराम्रोसित भासिन पुगेछ ।

पोखराको हकमा अर्मलाको जमीनमा देखापरेको खाडलबारे वैज्ञानिकहरूले तीनवटा कारण प्रस्तुत गरेका छन्ः क) खुकुलो र कमेरो मिसिएको माटो हुनु, ख) निकास नपाएको लगातारको पानीले माटो बगाउनु, र ग) कमजोर ग्राभेलयुक्त जमीनमाथि बनेका अग्ला घरहरूको बोझ् पर्नु । पोखरा उपत्यकामा बस्ती विस्तार गर्न र हवाई मैदानलगायतका विकासका आधारशिलाहरू निर्माण गर्न त्यहाँको भूबनोटको अत्यन्तै ख्याल राखिनुपर्ने कुरा हो । डा. हर्क गुरुङले सन् १९६५ मा एडिन्बरा विश्वविद्यालयमा पेश गरेको विद्यावारिधिको शोधपत्र (थेसिस) पोखरा उपत्यकाको भूबनावट सम्बन्धी थियो । उनीभन्दा अघिल्ला अनुसन्धानकर्मीहरूले पोखरा उपत्यका ठूलो ताल सुकेर निर्माण भएको भनेका थिए । तर त्यहाँको भूबनोट, नदी, ताल आदिको गहिरो अध्ययनपश्चात् डा. हर्क गुरुङ के निष्कर्षमा पुगे भने पोखरा उपत्यकाको उत्पत्ति कुनै ठूलो ताल सुकेर भएको होइन, बरु एउटा असामान्य अवस्थाबाट भएको थियो । उनका अनुसार पोखरादेखि दक्षिणका डाँडाहरू उठ्न थालेपछि दक्षिणतिर बगिरहेको सेती नदी उत्तर पश्चिमबाट दक्षिणपूर्वतिर मोडियो । यसो हुँदा नदीको वेग घट्यो र अन्नपूर्ण हिमालदेखि उसले बोकेर ल्याएका ढुङ्गा, माटो, गेग्रान त्यहीं थुप्रिन थाल्यो, जुन आज पनि हामी देख्न सक्दछौं । यी सबै चट्टान हिमयुग (करीब १५ हजार वर्ष पहिले) को अन्ततिर निर्माण भएको अनुमान गरिन्छ ।

पोखरा उपत्यकाको भूबनोटबारे त्यति धेरै अनुसन्धान र गहकिला सुझवहरू भएर पनि त्यहाँको बस्ती विस्तार र विकास निर्माणमा किन हाम्रो ध्यान पुग्न सकेन ? हाम्रो बेवास्ता र असक्षमता माथिका यी प्रश्न त छँदैछन् तर अर्को उदेकलाग्दो कुरा समस्या समाधानमा वैज्ञानिक उपायतिर नलागी स्थानीयवासीहरू नागपूजा र होममा जुटे । त्यस्तो व्यवहार भय र आक्रान्तले मनमा बास लिएपछिको प्रतिक्रिया हुनुपर्दछ ।

सन् २०१० को अक्टोबर २६ को कुरा हो– काठमाडौं विश्वविद्यालयका प्राध्यापक सुबोध शर्मा लाङटाङ हिमालको छेउछाउमा रहेको नागकुण्डको अनुसन्धानमा थिए । उनको टोलीमा विद्यार्थीसमेत २० जना वैज्ञानिक र अनुसन्धानको लागि डुङ्गालगायत अन्य उपकरण पनि थिए । तर स्थानीयवासीले भन्न थाले कि नागकुण्डमा जाने कोही जिउँदै फर्केका छैनन् । मनमा केही भय हुँदाहुँदै सुबोध शर्माले आफ्नो वैज्ञानिक विश्वासलाई डगमगाउन दिएनन्, उनी आफैं डुङ्गा खियाउँदै नागकुण्ड पसे; उनलाई साथ दिने अरू तीन जना थिए । कुण्डको बीच भागतिर पुगेपछि उनीहरूले विशाल नागको टाउको जस्तो आकृति देखे । राम्ररी नियालेर हेरेपछि शर्माले पत्ता लगाए– आखिरमा, त्यो कञ्चन पानीभित्रको ठूलो शिला रहेछ जुन घाम टल्किंदा नागको आकृतिझ्ैं देखिने र अझ् पानीको हल्का छालमा चलेझ्ैं हुने । सुबोध शर्माको वैज्ञानिक खोजले यसरी एउटा अन्धविश्वास छिचोल्यो र भ्रम निवारण गरिदियो ।

सन् २०१४ को वर्षायाममा सिन्धुपाल्चोकको जुरेमा पहिरो गयो । बिहान साढे दुई बजे गएको सो पहिरोमा परी १५६ जनाको ज्यान गयो, कैयौं मानिस पहिरोमा हराए । अजय दीक्षित जो एकजना वरिष्ठ इञ्जिनियर र विपत् व्यवस्थापन विषयका विशेषज्ञ पनि हुनुहुन्छ, घटनास्थल पुग्नुभएछ । देख्नुभएछ, एकजना जटाधारी मान्छे नाग रिसाएर सल्बलाउँदा त्यहाँ पहिरो गएको भन्दै त्यसलाई शान्त पार्न नागपूजाको ढोंग गरिरहेको । वैज्ञानिक मन थाम्न नसकेर झवाँकिनुभएछ, ‘नाग कत्रो हुन्छ ?’, जवाफ आएछ, ‘१०–१२ फीट’ । अजयजीले भन्नुभएछ, ‘अनि १०–१२ फीटको नागले यत्रो पहाड खसाल्न सक्छ ?’ जटाधारी त्यहाँबाट लुसुक्क भागेछन् । अजयजीको आँटिलो प्रश्नले कैयौं मानिस ठगिन पाएनन् । उहाँलाई आँटिलो विज्ञानप्रतिको निष्ठाले बनायो ।
दोलखा भीमसेनको क्रोध शान्त पार्न पशु बलि चढाउन क्षमा पूजा र पोखरा अर्मलामा जमीन नभासियोस् भनी नागपूजा गरेबाट यही स्पष्ट हुन्छ– नेपाली समाज अझ् पनि किंवदन्तीबाट मुक्त हुनसकेको छैन । वैज्ञानिक समुदाय, विज्ञान अध्यापन हुने विद्यालयहरू र विश्वविद्यालयलगायतका प्राज्ञिक संस्थाको सर्वोपरि जिम्मेवारी यही रहनेछ कि तिनले वैज्ञानिक संस्कारको उज्यालो छरुन्; न कि मौनता साधेर अन्धविश्वासलाई प्रश्रय दिइरहुन् ।
मूर्तिले दूध खाँदैन’ भन्ने बुझन ‘क्यापिलरी एक्सन’ को अवधारणाले सघाउँछ । यसनिम्ति; तपाईं हातमा एक टुक्रा मसिनो धागो समात्नोस् र त्यसको अर्को छेउलाई गिलासको पानीमा डुबाइदिनोस् । गिलासको पानी विस्तारै धागोमा चढ्न थाल्छ । त्यसरी धागोमा पानी चढ्न कुनै दैवी शक्ति चाहिंदैन ।

Shikshya Sambad episode 140 FINAL

Related Posts

/*sign up form*/