अन्ततः मोहभङ्ग भयो

by • • Uncategorized, मनका कुरा (ब्लग)Comments (0)313

Print Friendly, PDF & Email

रामविक्रम थापा

‘त्यति राम्रो निजामती जागिर छाडेर किन यस्तो रूखो शिक्षण पेशामा आउनुभो ?’
कैयौं शुभेच्छुकहरूबाट २०६० सालमा मलाई यही प्रश्नको झटरो  आएको थियो । म खरिदारस्तरको गाविस सचिवबाट दुई तहमाथिको मावि शिक्षकमा आएको थिएँ । तैपनि त्यस्ता प्रश्नकोे जवाफ दिंदा–दिंदा म हैरान भएको थिएँ । आफ्नो ज्ञान विद्यार्थीमा प्रवाह गर्दाको आनन्द, स्वाभिमानी र वेदाग जिन्दगीको आत्मसन्तुष्टि, भविष्यका सुयोग्य कर्णधार निर्माणको …. ! यस्तै–यस्तै सुखद अनुभूतिहरू सँगाल्दै म उल्टो दिशामा बगेको रहेछु, आज विचार गर्दा ! अरूहरू शिक्षणबाट निजामतीमा जान्थे भने म निजामतीबाट शिक्षकमा आउँदा हाम्रो समाजमा एउटा ठूलै भूकम्प चलेको थियो । मावि शिक्षक छाडेर खरिदारमा जानेहरू पनि मैले देखेको छु । निजामती सेवाको यस्तो मोहाकर्षण देखेर आश्चर्यचकित हुन्थें म त्यो बेला ।

हुन त पहिले शिक्षकको पेन्सन हुँदैनथ्यो, पेन्सनको व्यवस्था भयो । कर्मचारी सञ्चय कोष पनि काट्न थालियो । खरिदारको मासिक तलब रु.९४० हुँदा प्रावि शिक्षकको रु.९०२ थियो । तलबमानमै असमानता र विभेद थियो ।

म २०४५ सालमा खरिदारको लोकसेवा आयोग पास गरेर पनि प्राविस्तरको अस्थायी शिक्षकमै झुण्डिरहेको  थिएँ । मान्छेहरू कुरा काट्थे र पनि म अविचल, टसको मस नभई चक–डस्टर छाड्दैनथें । हाजिर हुन जाने ३५ दिने सूचना निस्कँदा पनि म कानमा तेल हालेरै बसेको थिएँ । एउटा प्रस्तावित माविबाट निजी शिक्षकको प्रस्ताव आयो र त्यही गाउँ पञ्चायत (तत्कालीन) मा सचिवको नियुक्ति लिएर गएँ । विद्यालय श्री मनोकामना जनकल्याण मावि र गाउँ पञ्चायत थियो खोटाङको निर्मलीडाँडा । २०४६ सालको कुरा हो, यो । सचिव त नाम मात्र, पढाउने काममा खटिएँ म । त्यो युवा जोशमा पढाउँदा मलाई हदै मज्जा लाग्थ्यो । विद्यार्थीलाई गणित/विज्ञान पढाउँदै कविता सिर्जना गर्दै मधुपर्क, गरिमा आदिमा छपाउँदाको अपार आनन्दानुभूतिलाई म यहाँ शब्दमा व्यक्त गर्न असमर्थ छु । संसारै जितेको गर्वानुभूति हुन्थ्यो ।

तत्कालै बहुदल आयो । हेर्दाहेर्दै सँगैका खरिदार र सचिव साथीहरूका नाममा तराई र राजधानीमा निकै वटा घडेरी पास भए । रातारात टोपी खस्ने महलहरू ठडिए । अर्कै भयो उनीहरूको मान–मर्यादा । ‘क्या वात् ! हेर !… का छोराको प्रगति ! छोरो हुनु त यस्तो पो ! …. को छोरो चाहिं पानीमरुवा,…. हुतिहारा रहेछ—माखै मारेन ।’

समाज र राज्यले मात्र होइन आफन्त र आफ्नै परिवारबाट समेत यसरी तिरस्कृत र उपेक्षित हुनुको गहिरो पीडा र चोट बोकेको बबुरो शिक्षकले विक्षिप्त अवस्थामा कसरी शिक्षण गरिरहेको होला ? निजामती बनेर आएको आफ्नै शिष्यको हेपाहा प्रवृत्तिलाई उसले कसरी सहन र वहन गरिरहेको होला ? गुरुहरूकै मन भाँच्ने यस्तो मुलुकमा कस्तो जनशक्ति तयार होला ? चालककै मनोबल गिरेपछि यात्रुहरूको गन्तव्य कस्तो होला ? प्रश्नहरू अनगिन्ती छन् । यस्ता अनुत्तरित प्रश्न सुन्ने कसले र जवाफ आउने कहिले ?

कर्मचारी व्यवस्थापनको सिद्घान्त भन्छ— प्रोत्साहित गरेर कर्मचारीलाई सन्तुष्ट बनाउन सकेमा उत्पादन (आउटकम) बढ्छ । तर, शिक्षकको हकमा यो सर्वमान्य सिद्घान्त लागू गर्न किन कन्जुस्याईं गर्छ सरकार ? सरकारले उपेक्षा गरेर त हो समाजले शिक्षकलाई हेपेको । अतिरिक्त आम्दानीको परिणाम त हो खरिदार, सुब्बा र अधिकृतका गगनचुम्बी महल र चिल्ला कारहरू ! प्रथम र द्वितीय श्रेणीका मावि शिक्षकलाई निजामतीका खरिदार र सुव्बाले हेप्नुको कारण के हो त ? त्यही आर्थिक र सामाजिक मूल्य र मान्यता होइन ? पदीय हैसियतभन्दा बढी कसरी कमाउँछ मान्छेले ? उही अतिरिक्त आम्दानी, र त्यो भनेको भ्रष्टाचार र घूसखोरी । किन बुझ्पचाउँछ हाम्रो समाज ? अधिकृत स्तरको मावि शिक्षकलाई खाली हात फर्काएर खरिदारलाई छोरी दिने हाम्रा बाबुआमाको दरिद्र मानसिकतालाई के भन्ने ?

कतै पढेको छु— शिक्षकमा भिडेर फेल हुनेहरू मात्र निजामतीमा छिर्छन् रे ! जापानमा । शिक्षक भनेपछि झुकेर  साष्टाङ्ग दण्डवत् गर्छन् रे ! जापानी नागरिक । तर कसको कस्तो श्राप परेर मान्छे नेपालको शिक्षक हुन विवश हुन्छ ? उपल्लो निकायका नीति–निर्मातालाई कसले पढाएर त्यो ठाउँमा पु¥याएको हो ? कि उनीहरू भुइँफुट्टा हुन् ? खोलो तरेर लौरो बिर्सने यो कस्तो प्रवृत्ति ? बहुदल आयो, लोकतन्त्र हुँदै नेपाल गणतन्त्रमा पुगिसक्यो । तर शिक्षकको मान–मर्यादा र सेवा–सुविधा अझ् दुब्लाउँदै गयो । हुँदाहुँदा राज्यको नयाँ मर्यादाक्रममा पनि शिक्षकलाई राखिएन । अब शिक्षकले आफूलाई कहाँनेर खोज्ने ? शिक्षकलाई मर्यादाक्रममा राखिदिंदा सरकारलाई के घाटा हुन्थ्यो ? स्थान र पहिचान नै नभएको शिक्षण पेशालाई अब कुन चाहिं राम्रो र असल मान्छेले रोज्छ ? मेरा छोराछोरी समेत सबैले शिक्षण पेशालाई घृणा गरेको त्यसै होइन रहेछ ! खरिदारस्तरको गाविस सचिवबाट मावि शिक्षकमा आउँदा मेरो चर्चा–परिचर्चा भएर मतिर प्रश्नको ओइरो लागेको त्यसै होइन रहेछ ! बल्ल आज आएर मलाई चेतना भयो । अब्बल ठानेको शिक्षण पेशाप्रति आज आएर बोल्न म बाध्य भएँ ः मेरा सन्तान—दरसन्तान कोही पनि शिक्षक नबनून् !

श्री बालकन्या मावि स्रोतकेन्द्र, बराहपोखरी–४, धर्तुङ, खोटाङ
नेपाल सरकारको पछिल्लो मर्यादाक्रम

शिक्षक बाहेक सबै अटाएका छन् !
१. राष्ट्रपति
. उपराष्ट्रपति
३. प्रधानमन्त्री
४. प्रधानन्यायाधीश
५. प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष
६. पूर्व राष्ट्रपति, उपप्रधानमन्त्री
७. प्रदेश प्रमुख, मन्त्री, प्रतिनिधिसभाका विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, पूर्व प्रधानन्यायाधीश, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, व्यवस्थापिका–संसद्का पूर्व सभामुख, संविधानसभाका पूर्व अध्यक्ष, प्रतिनिधिसभाका पूर्व सभामुख, राष्ट्रिय सभाका पूर्व अध्यक्ष, पूर्व उपप्रधानमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री
. राज्यमन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका विभिन्न समितिका सभापति/अध्यक्ष, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, सहायक मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्य, पूर्व मन्त्री
९. संवैधानिक निकायका सदस्य तथा आयुक्त, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, उच्च अदालतका मुख्य न्यायाधीश, नेपाल राष्ट्र बैंकमा गभर्नर, प्रज्ञा प्रतिष्ठानका कुलपति, विश्वविद्यालयका उपकुलपति
१०. प्रदेश सभाका सभामुख, प्रदेश सरकारका मन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य
११. नेपाल सरकारका सचिव, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सर्वोच्च अदालतका रजिष्ट्रार, नायब महान्यायाधिवक्ता, उपमहालेखापरीक्षक, प्रदेश सरकारका प्रमुख सचिव, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका प्राध्यापक, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपाली राजदूत
१२. रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक (राष्ट्रिय अनुसन्धान विभाग), नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक
१३. प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका विभिन्न समितिका सभापति, उच्च अदालतका न्यायाधीश, प्रदेश लोक सेवा आयोगका अध्यक्ष, मुख्य न्यायाधिवक्ता
१४. प्रदेश सरकारका सहायक मन्त्री, प्रदेश सभा सदस्य
१५. जिल्ला समन्वय समितिका प्रमुख, महानगरपालिकाका प्रमुख, पूर्व राज्यमन्त्री, पूर्व सहायक मन्त्री, संविधान सभा÷व्यवस्थापिका–संसद्प्र/तिनिधिसभा/राष्ट्रिय सभाका पूर्व सदस्य
१६. उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक
१७. प्रदेश लोक सेवा आयोगका सदस्य, प्रदेश न्याय सेवा आयोगका सदस्य
१८. उपमहानगरपालिकाका प्रमुख, महानगरपालिकाका उपप्रमुख, नेपाल सरकारका सहसचिव, राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी, महानिर्देशक, उपमहानिर्देशक, राजपत्रांकित प्रथम श्रेणीका अधिकृत, प्रदेश सरकार सचिव, जिल्ला न्यायाधीश, विश्वविद्यालयका सहप्राध्यापक
१९. सहायक रथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, प्रदेश सरकारका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत, स्थानीय तहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत
२०. नगरपालिकाका प्रमुख, उपमहानगरपालिकाका उपप्रमुख, नेपालस्थित विदेशी कन्सल जनरल, नेपालस्थित अन्य अन्तरसरकारी संस्थाका प्रमुख
२१. गाउँपालिका अध्यक्ष, नगरपालिकाका उपप्रमुख, महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक
२२. राजपत्रांकित द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, नेपाल सरकारका उपसचिव, निर्देशक, नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक, विश्वविद्यालयका उपप्राध्यापक, गाउँपालिकाका उपाध्यक्ष
२३. सेनानी, प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत, प्रदेश सरकारका उपसचिव, स्थानीय तहका उपसचिव, प्रदेश सरकार तथा स्थानीय तहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत
२४. सहसेनानी, नेपाल सरकारका शाखा अधिकृत, राजपत्रांकित तृतीय श्रेणीका अधिकृत, विश्वविद्यालयका सहायक प्राध्यापक
२५. उपसेनानी, प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत
२६. प्रदेश सरकारका शाखा अधिकृत, स्थानीय तहका शाखा अधिकृत, प्रदेश सरकार तथा स्थानीय तहका राजपत्रांकित तृतीय श्रेणीका अधिकृत
२७. सहायक सेनानी
२६ माघ २०७४ को नेपाल राजपत्रबाट साभार

२०७५ वैशाख अंकमा प्रकाशित । 

 

Related Posts

/*sign up form*/