अंग्रेजीको भूत !

by • • HighlightComments (0)131

Print Friendly, PDF & Email

निर्झरिणी बनर्जी जोशी

अंग्रेजी बोल्नु मात्र सबै जान्नु होइन भन्ने कुरा अझै पनि हामीले बुझेको देखिंदैन । कैयौं विद्यालयमा बच्चाहरूलाई अनिवार्य अंग्रेजी बोल्नुपर्ने नियम लगाइएको हुन्छ । केही स्कूलमा त नेपाली बोल्दा सजाय दिइन्छ । के यस्तो नियम लागू गर्नु वैधानिक र नैतिक दृष्टिले उचित हो त ?

लगभग तीन दशक अघि कक्षा ३ को पढाइ शुरू भएकै ताका एक दिन म दंग परेकी थिएँ । किनभने, अरूतिर कक्षा ४ मा पुगेपछि मात्र अंग्रेजी पढाइने भए तापनि हाम्रो स्कूलमा कक्षा ३ मा नै ए बी सी डी सिकाइएको थियो । घर गएर ठूला मान्छेको अगाडि कतै नरोकिई खरर्र ए बी सी डी … जेडसम्म सुनाउन पाउँदा अब अंग्रेजीमा सिक्नुपर्ने कुनै कुरा बाँकी नै छैन जस्तो लागेको थियो ।
तर मेरो त्यो मीठो भ्रम एक वर्ष पनि राम्ररी टिक्न पाएन ।

कक्षा ४ मा हामी (दिदी-बहिनी) लाई नयाँ स्कूलमा भर्ना गरियो । उसो त मन खुशी थियो नयाँ स्कूलमा जान पाएर । नयाँ साथी, नयाँ शिक्षक पाइने कुरा गुनेर म यसै यसै उत्साहित थिएँ । तर मनको त्यो उत्साह अंग्रेजीको पहिलो कक्षामा नै यथार्थको कठोर धरातलमा बजारियो । नयाँ स्कूलमा त अंग्रेजीको कति हो कति लामो एउटा वाक्य नै पो पढाएर कक्षाको शुरूआत गरियो । बल्लतल्ल ए बी सी डी खार्दै गरेकी मलाई त्यो वाक्य फलामको चिउरा भयो । घर गएर ‘म त्यो स्कूल जाँदै जान्न । त्यहाँ त के–के गाह्रो कुरा पढाउँदा रहेछन्’ भन्दै खूब रोएँ । मनमनै देउता समेत पुकारें ‘भगवान कि त्यो वाक्य सिकाइदेऊ कि त त्यो स्कूल नै छोडाइदेऊ’ । एउटी बच्चीको पुकाराले भगवानको मन पग्लेछ क्यारे हाम्रै घरमा बसेर पढ्ने एकजना विद्यार्थी दाइलाई दूत बनाएर पठाइदिए । ती दाइले ‘ए ! त्यो वाक्य मलाई आउँछ । म सिकाइदिइहाल्छु नि’ भन्दा मैले एउटा लामो र गहिरो शान्तिको सास फेरेकी थिएँ ।

त्यो अंग्रेजी वाक्य थियो— A Browny fox quickly jumps over the lazy dog. यो वाक्यमा अंग्रेजीका ए देखि जेड सम्मका सबै अक्षर हुँदा रहेछन् र विद्यार्थीले एउटै वाक्यबाट सजिलो गरी ए बी सी डी सिक्न सक्छन् भनेर उक्त वाक्य पढाइएको रहेछ भन्ने रहस्य भने मैले धेरै पछि मात्र थाहा पाएँ ।

त्यो घटना सम्झ्ँदा मलाई लाग्छ हाम्रा विद्यालयमा पढाउने (बुझाउने) तरीका सतही छ । त्यो बेला अर्थ, महत्व र उपयोगिता नजानेरै अंग्रेजीको त्यो वाक्य घोक्ने म जस्तै अहिले लगभग तीन दशक पछिकी मेरी छोरी पनि उसरी नै ‘लेसन’ कण्ठ पारिरहेकी हुन्छे । म सोध्छु ‘छोरी कण्ठ पारेको लेसनको अर्थ बुझेकी छ्यौ ?’ छोरी जवाफ दिन्छे— “अहँ ! छैन । तर अर्थ किन चाहियो र जाँचमा यही लेख्न आए पुगिहाल्यो नि !” न त तीन दशक अघिका मेरा गुरुले मलाई त्यो वाक्यको अर्थ, महत्व र उपयोगिता बताउन जरूरी ठाने न त अहिले तीन दशक पछिका मेरी छोरीका ‘टीचरले’ नै ।

यस्ता घटनाले हाम्रो शिक्षा प्रणालीका कमजोरी र त्यसमा आवश्यक रहेको (तर हुन नसकेको) सुधारका बारेमा धेरै कुरा संकेत गर्छन् । तीन दशक अघि अंग्रेजी विद्यार्थीको सातो लिने विषय थियो । तर अहिले शहर केन्द्रित र गाउँका पनि लगभग धेरैजसो विद्यालयमा अंग्रेजीको बोलवाला छ । त्यो बेला अरू सबै विषय नेपालीमा र केवल एक अंग्रेजी विषय मात्र अंग्रेजीमा पढाइ हुन्थ्यो । आजकल धेरैजसो विद्यालयमा नेपाली एक विषय मात्र नेपालीमा बाँकी सबै विषय अंग्रेजीमा पढाइ हुन्छ । तर पनि; अंग्रेजीको यो बोलवाला कति सही र कति गलत छ भन्ने कुरा अझै पनि बहसको विषय बन्न सक्छ, बनाइनुपर्छ । अंग्रेजी बोल्नु मात्र सबै जान्नु होइन भन्ने कुरा अझ्ै पनि हाम्रा विद्यालय शिक्षक र अभिभावकले बुझेको देखिंदैन । आजकल धेरै विद्यालयमा बच्चाहरूलाई अनिवार्य अंग्रेजी बोल्नुपर्ने नियम लगाइएको हुन्छ । केही स्कूलमा त नेपाली बोल्दा सजाय दिइन्छ । के यस्तो नियम बनाउनु र लागू गर्नु वैधानिक र नैतिक दृष्टिले उचित हो त ?

एक डेढ वर्ष अगाडि मेरी छोरीलाई स्कूलको कुनै नियमले अप्ठ्यारो पारेको थियो । मैले आफ्नो समस्या स्कूलमा नै राख्न भन्दा छोरीले भनेकी थिई ‘अँ ! भन्न सक्नुप¥यो नि मैले त्यो पूरै कुरा अंग्रेजीमा । स्कूलमा बुधबार मात्र नेपालीमा बोल्न पाइन्छ ।’ म स्तब्ध भएँ । स्कूलले अंग्रेजी बोल्न अनिवार्य गराएर विद्यार्थीलाई सिकाएको कि विद्यार्थीको अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको ? मैले गएर स्कूल प्रशासनमा यो कुरा राखें र ‘पछि बच्चाले अंग्रेजी बोलुन्-जानुन् भनेर यो नियम बनाएको’ भन्ने जवाफ पाएँ । थपमा, ‘किनभने अधिकांश अभिभावक नै आफ्नो बच्चाले अंग्रेजी मात्र बोलोस् भन्ने चाहन्छन्’ भन्ने थप स्पष्टीकरण पनि पाएँ ।

यहाँनेर मलाई लाग्छ, हामी अभिभावकको अंग्रेजी मोह पनि दोषी छ । नर्सरीमा पढ्ने बच्चाले पनि घरमा गएर अंग्रेजीमा ‘राइम’ गायो भने (अशुद्ध नै किन नहोस्) हामी दंग पर्छाैं र नेपालीमा गायो भने हीनताबोध गर्छाैं ।

वास्तवमा भाषा ज्ञान र अभिव्यक्तिको एउटा माध्यम हो र भाषा ज्ञान प्रमुख र अत्यावश्यक ज्ञानहरूमध्येको एउटा हो । ज्ञान लिनु नराम्रो कुरा होइन तर आधा अधुरो र गलत ज्ञान अनुपयोगी मात्र होइन, कहिलेकाहीं प्रत्युत्पादक पनि हुनसक्छ । त्यसैले आफ्नो बच्चाको सिकाइ प्रक्रियालाई विद्यालय र शिक्षकका जिम्मा दिएर मात्र पुग्दैन, उनीहरू कस्ता कुरा र कसरी सिकिरहेका छन् भन्ने कुरामा सँगसँगै अभिभावक स्वयं पनि केही सचेत भने हुनै पर्दछ ।

अंग्रेजीको ज्ञान र अभिभावकको भूमिकाको कुरा गर्दा मलाई मेरो बाल्यकालको अर्काे घटना पनि याद आउँछ । हामी स्कूलमा पढ्दा अंग्रेजीको स्पेलिङ (हिज्जे) र त्यसको अर्थ घोकेर कण्ठ पार्ने गथ्र्यौं । एकदिन म कुनै पाठको स्पेलिङ र अर्थ घोक्दै थिएँ ‘बी ए यल यल— बल, बल माने भकुण्डो ।’ बुबा नजिकै हुनुहुन्थ्यो उहाँले मलाई रोकेर भन्नुभयो, ‘तैंले पढेको भएन । गलत पढिस् तैंले ।’ म छक्क परें । रिस पनि उठ्यो । के–के न जाने भनेर मनमनै फुलेन भइरहेको बेला ‘भएन’ भनेको सुन्नु निकै कष्टकर थियो । मैले प्रतिवाद गरें— ‘किन भएन ? हामीलाई सरले त यही सिकाउनुभएको छ ।’ (विद्यार्थीलाई सर-मिसले पढाएको गलत हुँदै हुँदैन भन्ने छाप परेको हुन्छ) । तर आफैं पनि शिक्षक पेशामा आवद्ध मेरो बुबाले मान्नु भएन । भन्नुभयो ‘तेरो उच्चारण गलत भयो । ‘यल’ होइन ‘एल’ उच्चारण गर्नुपर्छ ।’ मैले फेरि पनि मानिनँ र भनें, ‘अँ हाम्रो सरले त यस्तै भन्नुहुन्छ ।’ (मानौं सरको कुुरा ढुंगामा खोपिएको अक्षर हो) । बुबाले मेरो छेउमा बस्दै भन्नुभयो अंग्रेजीमा SLC लेख त । मैले SLC लेखें । अब यसैलाई तैंले उच्चारण गर्ने ‘नेपालीमा लेख ।’ मैले यस यल सी लेखें । बुबाले प्रश्नवाचक चिह्न लिएर मेरो आँखामा हेर्नुभयो । मैले कुरा बुझ्सिकेकी थिएँ, गल्ती भएकै रहेछ । सबैले बोल्दा पनि यस यल सी नभनेर एस एल सी भनेको सुनेकी नै थिएँ । बुबाले धेरै सम्झउनै परेन । यो घटना पछि मैले उच्चारणमा गल्ती गरिनँ पनि ।

यस घटनाबाट के बुझन सकिन्छ भने सचेत अभिभावकले आफूले जानेको कुरा आफ्ना बच्चाहरूलाई सजिलो गरी सिकाउन सक्दछन् वा सिकाउनुपर्दछ र त्यो प्रभावकारी पनि हुन्छ । आफ्नो व्यस्तताका कारण आजकल हामी आफ्ना बच्चाहरूलाई स्कूलको भरमा मात्र छोडिदिन्छौं जुन हाम्रो बाध्यता पनि हो । तर आफ्नो व्यस्तताबाट पनि केही समय निकालेर हामीले आफ्ना बच्चाहरूको पढाइ वा सिकाइलाई दिन सक्यौं भने त्यो निकै नै फलदायी सावित हुन जान्छ ।

अंग्रेजीमा गलत प्रयोगको कुरा गरिरहँदा अर्काे एउटा कुरा पनि थप्नु जरूरी लाग्यो । आजकल हाम्रो अंग्रेजी बोलाइ पनि सीधै आयातित रूपमै प्रयोग भइरहेको छ । त्यसको शुद्धतामा हामी उति ध्यान दिंदैनौं । म मैले पढाउने कलेजमा बच्चाहरूले बोलेको सुन्छु— ओए भोलि तेरो नोट्सहरू ल्याइदे है । ‘बोइजहरूले धेरै हल्ला गरे ।’ ‘मसँग त बुक्सहरू नै छैन ।’ सुन्दा सामान्य लागे पनि यो प्रयोग गलत छ । अंग्रेजीमा वा हिन्दीमा प्रयोग गरिएका अंग्रेजी शब्दलाई हामीले सीधै ल्याएर नेपालीमा प्रयोग ग¥यौं । वास्तवमा नोट्स, बोइज, बुक्स आफैंमा बहुवचन (प्लुरल) जनाउने शब्द हुन् र त्यसमा फेरि नेपालीको बहुवचन जनाउने ‘हरू’ पद थपेर हामी कस्तो अंग्रेजीको प्रयोग गरिरहेका छौं ?

घटना र उदाहरणहरू प्रस्तुत गरेर मैले अंग्रेजी भाषाको प्रयोगमा भएका गल्तीहरू मात्र थोपर्न खोजेकी भने आवश्य हैन । बरू ती गल्तीहरूमा सुधारको अपेक्षा गरेकी हुँ । सानो प्रयासले गल्ती सुधार्न सकिन्छ भने त्यसको थालनी आफैंबाट किन नगर्ने भन्ने मेरो आग्रह हो । मैले माथि प्रस्तुत गरेका उदाहरणहरू हाम्रो अंग्रेजी प्रयोगमा हुने साह्रै सामान्य गल्तीहरू हुन्, तर सामान्य भनेर गलतलाई गलत नै चल्न दिइरहनु भन्दा त्यसको सुधारमा उन्मुख हुनु बुद्धिमत्तापूर्ण कार्य हो भन्ने मेरो मान्यता हो । शिक्षा र ज्ञान भनेका अद्यावधिक गराइरहनुपर्ने विषय हुन् । हामीले पनि हाम्रो ज्ञानलाई अद्यावधिक गराउनुपर्दछ र यसमा सबै निकाय र सरोकारवाला व्यक्ति वा संघसंस्थाहरू जस्तै सरकार, विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबैले सचेत र सजग भई कार्य गर्नुपर्दछ । साँच्चै भन्ने हो भने अबका दिनमा सरकार, विद्यालय, विद्यार्थी र अभिभावक सबैले ‘कति’ पढियो-पढाइयो वा जानियो भन्ने भन्दा पनि ‘कस्तो’ पढियो-पढाइयो वा जानियो भन्ने कुरामा सचेत हुनु जरूरी देखिन्छ ।

२०७५ जेठ अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/